मैले नलेखेकी मेरी आमा
|मेरो कलमले
कहिल्यै कोर्न नसकेको
मात्र एक चित्र
मेरी आमा
मेरो कलमले
कहिल्यै लेख्न नसकेको
मात्र एक पात्र
मेरी आमा ।
आकाशका जून र तारा लेख्छु म
लेख्न धक लाग्दैन मलाई
भोगे अनि नभोगेका सारा लेख्छु म
लेख्न रोक लाग्दैन मलाई
कहिले आफ्ना लेख्छु
कहिले पराई लेख्छु
लेख्न संकोच लाग्दैन मलाई
तर मैले कहिल्यै लेख्न सकिन
मात्र एक पात्र
मेरी आमा ।
जब-जब म मेरी आमा लेख्न खोज्छु
शब्दहरू फिक्का लाग्छन्
वाक्यहरू छोटा हुन्छन्
हरफहरू अपूरा बन्छन्
काव्यहरू अधुरै हुन्छन्
त्यसैले मेरा कागजमा कहिल्यै लेखिइनन्
मात्र एक पात्र
मेरी आमा ।
आमा लेख्न खोज्दा
बिम्बहरू तँछाड मँछाड गर्दै नआएका होइनन्
तर मेरी आमालाई न्याय गर्ने
त्यस्तो अलौकिक बिम्ब भेट्न सकिन
मेरी आमा समान
महाशक्ति भेट्नै सकिन
त्यसैले मैले कहिल्यै लेख्न सकिन
मात्र एक पात्र
मेरी आमा ।
म भित्रको सानो ज्ञानले के धान्थ्यो र ?
मिलेछ भने कुनै दिन ज्ञानको कुञ्ज
लेख्नेछु,
मैले कहिल्यै लेख्न नसकेको
मात्र एक पात्र
मेरी आमा
म भित्रको धमिलो प्रकाशले के पुग्थ्यो र ?
भेटेछु भने कुनै रात प्रकाशको पुञ्ज
लेख्नेछु,
मैले कहिल्यै लेख्न नसकेको
मात्र एक पात्र
मेरी आमा ।