संस्मरण : धनकुटा कलेजमा चार वर्ष
|नेपालको शैक्षिक जागरणको इतिहासमा धनकुटाको आफ्नै विशिष्ट स्थान र अलग पहिचान रहेको छ । काठमाडौँपछि धनकुटा र पाल्पामा राणाकालमा नै हाइस्कुलको स्थापना भएका थिए तर कलेज स्थापना भने धेरै पछि मात्र भएको थियो । कलेज स्थापनामा धनकुटाले धेरै सकस तथा अनवरत प्रयत्न गर्नुपरेको थियो ।
मुलुकमा पहिलो कलेजका रूपमा त्रिचन्द्र कलेज (विसं १९७५) स्थापना भएको ३७ वर्षपछि २०१२ सालमा धनकुटा कलेज खुलेको थियो । सोही वर्ष विराटनगरमा मोरङ कलेज र धरानमा महेन्द्र कलेज स्थापना हुनुमा गजबकै सुखद संयोग मिलेको थियो । धनकुटामा कलेज स्थापना गर्न रामनारायण श्रेष्ठले भगीरथ प्रयत्न गर्नुभएको थियो । उहाँको कार्यलाई सहयोग गर्ने रामकृष्ण प्रधान, लप्टन पूर्णलाल श्रेष्ठ, गणेशकुमार कर्माचार्य तथा डा शिवप्रसाद पोख्रेलजस्ता समाजसेवीले धनकुटा कलेज स्थापना गर्न महत्वपूर्ण योगदान दिएका थिए ।
कलेज स्थापनार्थ तत्कालीन समयका सरकारी हाकिम, स्कुलका शिक्षक, व्यापारी तथा सर्वसाधारणले पनि तन-मन धनले सहयोग गरेका थिए । उल्लिखित सबैको उल्लेख्य भूमिका रहे पनि धनकुटा कलेज र धनकुटाको समाजसेवाको इतिहासमा रामनारायण श्रेष्ठको नाम सदासर्वदा अमर रहनेछ ।
कलेजको सञ्चालक समितिमा कोसीका अञ्चलाधीश नै पदेन अध्यक्ष रहने व्यवस्था थियो भने रामनारायण श्रेष्ठ कलेजको पहिलो सेक्रेटरी हुनुभएको थियो । मोहनबहादुर श्रेष्ठ तथा ज्ञानेन्द्रबहादुर कार्कीसमेतले कलेजका प्रारम्भका दिनमा प्राचार्य भएर कार्य गर्नुभएको थियो । कार्की पछि नेपाल सरकारका मन्त्री तथा राजदूतसमेत बन्नुभएको थियो । पञ्चायतकालीन समयमा पनि उहाँ पञ्चायतका एक स्तम्भ मानिनुहुन्थ्यो ।
विसं २०१४ सालदेखि नै धनकुटा कलेजमा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन भए । सल्लेरीवनको समीपमा हिक्मतबहादुर बस्नेत, इन्द्रबहादुर बस्नेत, रत्नदेवी खड्गी, मानिकरत्न श्रेष्ठ तथा शंखरशेर राईले उपलब्ध गराएको जमिनमा इन्द्रबहादुर बस्नेतले रु ३५ हजार खर्च गरी कलेज भवन बनाइदिनुभएको थियो । कलेज सञ्चालनका लागि कर्नेल भक्तबहादुर बस्नेतले झापा आठमौजामा सय बिगाहा जग्गा उपलब्ध गराउनुभएको थियो । यसरी धनकुटा कलेज जनसहभागिताको सुन्दर उदाहरण प्रस्तुत गर्न सफल भएको थियो । सुरुमा पटना विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको यो कलेज २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि भने यसै विश्वविद्यालयसित आबद्ध भयो ।
म धनकुटा कलेजमा २०२३ सालदेखि ०२७ सालसम्म अध्ययनरत थिएँ । त्यस समयका मेरा केही महत्वपूर्ण संस्मरण यस आलेखमा प्रस्तुत गरेको छु ।
विसं २०२२ सालमा गोकुण्डेश्वर हाइस्कुलबाट मैले प्रवेशिका परीक्षा दिएँ । उत्तीर्ण पनि गरेँ । प्रवेशिका उत्तीर्ण गरेपछि कलेज पढ्ने विषयमा घरपरिवारमा सरसल्लाह भयो । धनकुटा कलेजमा नै पढ्ने वा अन्यत्र पढ्न जाने सम्बन्धमा सामान्य छलफल घरमा भएको थियो । त्यसबेला आइएड् पढ्नेलाई छात्रवृत्ति पनि प्राप्त हुन्थ्यो, काठमाडौँको कलेज अफ एजुकेसनमा । त्यसबेला धनकुटा आयुर्वेदिक अस्पतालमा कविराज राजनिधि शर्मा कार्यरत हुनुहुन्थ्यो । उहाँले काठमाडौँमा उहाँकै घरमा बसी पढ्न सुझाउनुभएको पनि थियो तर आमालाई १४ वर्षे नाबालक छोरालाई काठमाडौँ पढ्न पठाउने मन भएन । विराटनगरमा विज्ञान पढाउने पनि कुरा चल्यो तर गणित र विज्ञानमा राम्रो अंक नआएकाले त्यतातिरको कुरा पनि टुंगियो । अर्कातर्फ मलाई घरबाहिर पठाएर पढाउने आर्थिक स्थिति पनि थिएन परिवारको । हाम्रा पारिवारिक अभिभावक कविराज नरपति शर्माले धनकुटा कलेज नै पढ्न सुझाब दिनुभयो । उहाँकै सल्लाहअनुसार धनकुटा कलेजमै भर्ना भएँ । कलेज बिहानको थियो । दिउँसो सरस्वती स्कुलमा शिक्षकको काम पनि मिल्यो ।
धनकुटा कलेजमा पढ्ने निर्णय त भयो तर कुन विषय लिएर पढ्ने भन्ने सम्बन्धमा निर्णय लिन मुस्किल प¥यो । त्यसबेला धनकुटा कलेजमा प्राध्यापकको कमीले गर्दा त्यसै पनि धेरै विषयको पठनपाठन हुँदैनथ्यो । अनिवार्य विषयबाहेक मूल विषयका रूपमा नेपाली, नागरिकशास्त्र (आइएमा नागरिकशास्त्र र बिएमा राजनीतिशास्त्र), अर्थशास्त्र र इतिहास विषयको मात्र पठनपाठन हुन्थ्यो । त्यसबेला धनकुटा क्याम्पसमा अर्थशास्त्र र इतिहास विषय मात्र छान्न पाइन्थ्यो । यी दुवै विषय मैले विद्यालयमा पढेका विषयसित त्यति मेल खाने थिएनन् । मैले प्रवेशिकामा ऐच्छिक विषयका रूपमा जीवविज्ञान, गणित र भूगोल लिएको थिएँ । अन्ततः मैले इतिहास विषय नै पढ्ने विचार गरेँ । दुर्गा दिदी (डा दुर्गा पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष)ले जुन विषय लिनुभयो मैले पनि तिनै विषय लिएको थिएँ । दुर्गा दिदीको सल्लाहले होइन, आफ्नै विचारले । यद्यपि सानैदेखि दुर्गा दिदी मेरो आदर्श हुनुहुन्थ्यो र हुनुहुन्छ पनि । अनिवार्य अंग्रेजी दुई सय पूर्णाङ्क र अनिवार्य नेपाली एक सय पूर्णाङ्क तथा ऐच्छिक विषयमा नेपाली, नागरिकशास्त्र र इतिहास दुई-दुई सय पूर्णाङ्क गरी जम्मा नौ पत्र हुन्थ्यो । दुई वर्षमा एकैपटक सबै विषयको अन्तिम परीक्षा दिनुपथ्र्यो । अन्तिम परीक्षा त्रिभुवन विश्वविद्यालयबाट लिइन्थ्यो भने तीनपटक कलेजले नै आन्तरिक परीक्षा सञ्चालन गर्दथ्यो । कलेजले लिने तेस्रो अन्तरिक परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्तिम परीक्षाका लागि योग्य भएको ठानिन्थ्यो । तर, तीनवटै त्रैमासिक परीक्षामा उपस्थित भएका सबैले अन्तिम परीक्षाको फारम भर्न पाएका थिए ।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित आइए परीक्षाका लागि परीक्षार्थीले विराटनगर वा काठमाडौँ नै जानुपर्दथ्यो, अन्यत्र परीक्षाकेन्द्र थिएनन् । विराटनगरमा पनि २०२२ सालदेखि मात्र परीक्षाकेन्द्र तोकिएको थियो । हुन त विराटनगर पनि परीक्षाकेन्द्र भएपछि कति साथीहरूले त काठमाडौँ जाने अवसर नै गुम्यो भन्ने टिप्पणी पनि गरेका थिए ।
विसं २०२४ माघमा विराटनगर परीक्षा केन्द्रबाट म परीक्षामा सहभागी भएँ । उत्तीर्ण पनि भइयो । त्यसपछि धनकुटा कलेजमा नै स्नातक तहमा भर्ना भएँ । अनिवार्य अंग्रेजी २ पत्र र अनिवार्य नेपाली एक पत्रबाहेक मूल विषयमा इतिहास र नेपालीका तीनतीन सय गरी नौ पत्र पढ्नुपथ्र्यो । विसं २०२६ सालदेखि धनकुटा कलेजमा पनि परीक्षाकेन्द्र तोकियो । मैले धनकुटा कलेजबाटै २०२७ सालमा बिए उत्तीर्ण गरेँ ।
धनकुटा कलेजमा छिमेकी जिल्ला (भोजपुर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ आदि)बाट पनि पढ्न विद्यार्थीहरू आउँथे । त्यसबेला कलेज पढ्ने छात्राहरूको संख्या भने न्यून रहन्थ्यो । त्यसमाथि पनि छिमेकी जिल्लाबाट धनकुटा पढ्न आउने छात्राहरूको संख्या शून्यप्रायः थियो । धनकुटामा आफन्त भएका परिवारबाट मात्र एकादुई छात्राहरू कलेज पढ्न पाउँथे । डेरा गरेर वा होस्टेलमा बस्ने गरी कोही पनि छात्रा कलेज पढ्न आएनन् ।
कलेजमा अध्ययन गर्नेहरूमा स्थानीयकै बाहुल्यता थियो । कलेजमा अध्ययन गर्नेमध्ये अधिकांश विभिन्न सरकारी कार्यालय तथा अन्यत्र कतै कार्यरत थिए । जागिरको सिलसिलामा धनकुटा पुगेका कर्मचारीहरू पनि कलेजमा भर्ना भएका थिए । हामी आइए पढ्दा तत्कालीन जिल्ला शिक्षा निरीक्षक मानवीर डंगोल, जिल्ला उपशिक्षा निरीक्षक लवकृष्ण श्रेष्ठ तथा सरस्वती प्राइमरी स्कुलका यादव अधिकारी, सुशीला पोख्रेल र म सहपाठी थियौँ । धनकुटा जिल्लाकै अन्यत्रबाट आएका र जिल्ला बाहिरबाट आएका प्रायः सबै छात्राबासमा नै बस्दथे । भोजपुर इन्टर कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन नपाउँदासम्म त्यहाँका विद्यार्थीहरूसमेत धनकुटा कलेज मार्फत नै परीक्षा फारम भरी परीक्षामा सरिक भएका थिए । हामी आइए पढ्दा १०–१२ जना मात्र थियौँ । धनकुटाको जलवायु र शैक्षिक वातावरण उपयुक्त मानेर विराटनगर तथा धरानबाट पनि केही विद्यार्थीहरू पढ्नका लागि धनकुटा कलेजमा भर्ना भएका थिए ।
नेपालीबाहेक अन्य विषयका प्राध्यापकहरूको भने हामीले पढुन्जेल अभाव नै रह्यो । हामी पढ्दा केही नेपाली र केही भारतीयमूलका प्राध्यापक कार्यरत थिए । आइए प्रथम वर्षमा हुँदा डा विष्णुप्रसाद पौडेल (परिमल) प्राचार्य हुनुहुन्थ्यो । प्राचार्य हुँदा नै उहाँले दिल्ली विश्वविद्यालयबाट नेपाल–तिब्बत चीन सम्बन्धमा विद्यावारिधि गर्नुभएको थियो । उहाँको नामका अगाडि डा लेखिएको नेमप्लेट देखेर नै मलाई पनि पिएचडी गर्ने तृष्णा जागेको हो । उहाँभन्दा अगाडि कालीप्रसाद रिजाल त्यहाँको प्राचार्य हुनुहुन्थ्यो । उहाँ भूमिसुधार अधिकारी भई पाल्पा जानुभएपछि केही समय रिक्त रहेको प्राचार्य पदमा विष्णुप्रसाद पौडेलको नियुक्ति भएको थियो । उहाँलाई धनकुटा ल्याउन तुलसी दिवसले पहल गर्नुभएको थियो । तर, उहाँ एक वर्षपछि नै काठमाडौँ हुँदै अमेरिका पुग्नुभयो । वरिष्ठ साहित्यकार डा पौडेल आधुनिक विचारधाराको हुनुहुन्थ्यो । उहाँमा पश्चिमी सभ्यताको प्रभाव परेको हुँदा सोहीअनुसारको आचरण थियो । उहाँपछि अंग्रेजीका प्राध्यापक जनकपुरका शिवनन्दन पाण्डेय प्राचार्य हुनुभयो । उहाँ रामस्वरूप रामसागर कलेज जनकपुरमा गएपछि भारतीय प्राध्यापक गिरीन्द्रमोहन ठाकुर केही समय प्राचार्य हुनुभयो । सञ्चालक समितिसित मतभेद हुँदा उहाँ पनि धनकुटा छाडेर हिँड्नुभयो । त्यसपछि कुलचन्द्र श्रेष्ठ धनकुटा कलेजको प्राचार्य हुनुभयो ।
हामी आइए पढ्दा धनकुटा कलेजमा इतिहासमा विमला गुर्वाचार्य, नागरिकशास्त्रमा मोहनप्रसाद पोख्रेल, अंग्रेजीमा गिरीन्द्रमोहन ठाकुर तथा हेमनारायण ठाकुर, नेपालीमा हेमचन्द्र पोख्रेल, पोषराज निरौला र कृष्णप्रसाद बस्ती लगायतका प्राध्यापक हुनुहुन्थ्यो । उहाँहरूमध्ये नेपाली विषयका प्राध्यापकहरूले भने हामीलाई स्नातक तहसम्म पनि पढाउनुभयो । पोषराज निरौला, हेमनारायण ठाकुर तथा मोहनप्रसाद पोख्रेल भने लामो समय धनकुटा बस्नुभएन ।
बिए पढ्दा इतिहासमा शिवकुमार श्रेष्ठ र कृष्णबहादुर थापा, अंग्रेजीमा गिरीन्द्रमोहन ठाकुर र शेषनाथ गुप्तालगायतका प्राध्यपक हुनुहुन्थ्यो । अर्थशास्त्रमा रामानन्द ठाकुर र राधोराम शाह तथा राजनीतिशास्त्रमा रघुनन्दनप्रसाद सिंह हुनुहुन्थ्यो । अधिकांश भारतीय प्राध्यापकहरूले नेपाल आएर नेपाली सिकेको अवस्था थियो । उहाँहरू अंग्रेजी, हिन्दी र नेपाली मिसाएर पढाउनुहुन्थ्यो । हामीले पढुन्जेल विष्णुप्रसाद पौडेलबाहेक विद्यावारिधि गरेका कुनै प्राध्यापक देखिएन । शिक्षक र विद्यार्थीबीच सुमधुर सम्बन्ध थियो । काठमाडौँबाट आउनुभएकी विमला गुर्वाचार्य अंग्रेजी माध्यमबाट पढाउनुहुन्थ्यो भने अरू सबै नेपालीमा नै पढाउनुहुन्थ्यो । कतिपय प्राध्यापकले अंग्रेजी पढाउँदा हिन्दीबाट समेत बुझाउने गरेको सम्झना छ । व्याख्यान विधिबाहेक अन्य शिक्षण विधिको प्रयोग प्रायः हुँदैनथ्यो । छलफल विधि र गृहकार्य दिने त चलन नै थिएन । कुनै पनि विषयको नोट पाइन्नथ्यो । कालोपाटी त सबै कक्षामा थियो तर यसको प्रयोग भने विरलै हुन्थ्यो ।
डा पौडेल पाइपबाट धुम्रपान गर्नुहुन्थ्यो । कतिजना अचम्म मानेर हेर्दथे । किनकि त्यसरी धुम्रपान गरेको धेरैले देखेकै थिएनन् । मेरो त कुरै भएन । प्रेमनारायण ठाकुर कक्षामा चुरोट खाँदै पढाउनुहुन्थ्यो । नेपालीमा हेमचन्द्र पोख्रेलको कक्षा ज्यादै रोचक हुन्थ्यो । विषयवस्तुका अतिरिक्त धेरै सूचनामूलक हुन्थ्यो, उहाँको कक्षा । त्यसैगरी कृष्णप्रसाद वस्तीको अध्ययन शैली दार्शनिक प्रकृतिको थियो । घुमाउरो पाराले व्यङ्ग्य गर्नुहुन्थ्यो । कुनै पनि विषयमा तुरुन्तै कविता लेख्न सक्ने आशुकवित्व थियो, उहाँमा । विमला गुर्वाचार्य करबलले मात्र धनकुटा आउनुभएको रहेछ । घरको यादले सताएका कारण चाँडै काठमाडौँ फर्कनुभयो । हामीलाई षष्टिका श्रेष्ठले पनि केही दिन अंग्रेजी पढाउनुभएको थियो ।
शिक्षक र विद्यार्थीका बीचमा सुमधुर सम्बन्ध थियो । विद्यार्थीको जिज्ञासा पूरा गर्न प्राध्यापकहरू सदैव तत्पर रहन्थे । विद्यार्थी गुरुकै घर तथा डेरामा पढ्न जान्थे । शुल्क लिएर पढाउने चलन नै थिएन ।समाजमा प्राध्यापकहरूको ठूलो इज्जत थियो । एक आदर्श पात्रका रूपमा हेरिन्थ्यो, शिक्षक प्राध्यापकलाई । यस सन्दर्भमा एकपटकको घटना सम्झन्छुःविसं २०२४ साल फागुपूर्णिमाको अवसरमा एकजना भारतीय प्राध्यापकलाई रुद्रजलको नराम्ररी असर प¥यो । उनी त बमन नै गर्न पो थाले । समाजमा प्राध्यापकले रक्सी खाएको र छादेको विषयमा अनेकौँ टीकाटिप्पणी भए । त्यस घटनापश्चात्उनलाई समेत आफूले गरेको कार्यप्रति निकै ग्लानि भयो । त्यसपछि भने उनले कहिल्यै मदिरा सेवन गरेनन् । त्यसदिन भएको के रहेछ भने कहिल्यै पनि नपिउने उनले अरू कसैको करबलले नै पिएका रहेछन् । पछि विराटनगरमा साथै कार्य गर्दा यस घटनाबारे कुरा उठ्ने गरेको थियो ।
हेमचन्द्र पोख्रेल, कृष्णप्रसाद वस्ती, शिवकुमार श्रेष्ठ, डा विष्णुप्रसाद पौडेल जस्ता गुरुहरूको निधन भइसकेको छ । विसं २०३० सालपछि राधोराम साह जनकपुर, रामानन्द ठाकुर विराटनगर र राघवेन्द्रप्रसाद सिंह धरान सरुवा हुनुभएको थियो । उहाँहरूसित २०५० पछि भेटघाट हुन सकेको छैन । शिवनन्दन पाण्डेय सरसित २०६० सालसम्म मेरो सम्पर्क थियो । विमला गुर्वाचार्य धनकुटाबाट काठमाडौँ आएपछि कुनै हवाई कम्पनीमा आबद्ध हुनुभएछ । विसं २०२९ सालमा एकपटक उहाँसित भेट भएको थियो । त्यसपछि सम्पर्क हुन सकेको छैन । भारतीय प्राध्यापकहरूमा गिरीन्द्रमोहन ठाकुर पटनामा वकालत गर्नुहुन्थ्यो भन्ने सुनेको छु । त्यस समय धनकुटा जान नेपालीहरूले उत्सुकता नदेखाउने र गए पनि अन्य केही अवसर पाउनेबित्तिकै छाड्ने गरेको देखिन्छ । मोहनबहादुर श्रेष्ठ, कालीप्रसाद रिजाल, डा विष्णुप्रसाद पौडेल, विमला गुर्वाचार्य आदिले अन्यत्र अवसर पाएकाले धनकुटा कलेज छाड्नुभएको थियो । डा विष्णुप्रसाद पौडेल धनकुटा छाडेपछि अमेरिका नै जानुभयो । उतै रमाउनुभयो । विसं २०७६ सालमा अमेरिकाको भर्जिनियामा नै बित्नुभयो । अंग्रेजीका प्राध्यापक शेषनाथ गुप्ता विराटनगरमा हुनुहुन्छ । त्यसबेला धनकुटा कलेजका लागि बिहार तथा बंगालमा विज्ञापन गरी प्राध्यापक झिकाइन्थ्यो । विसं २०३० सालपश्चात् भने धनकुटामा प्राध्यापकको अभाव हुन छाडेछ ।
धनकुटा कलेजमा प्राज्ञिक वातावरण थियो । साहित्यिक कार्यक्रमका अतिरिक्त वादविवाद हाजिरीजवाफ जस्ता कार्यक्रमहरू संचालन भइरहन्थे । विशेषगरी कलेजको वार्षिक उत्सवमा विभिन्न खेलकुद, साहित्यिक एवम् सृजनात्मक क्रियाकलाप हुन्थे । नाटक समेत मञ्चन गरिन्थ्यो । हामी पढ्दा भलिबल, टेबुलटेनिस, फुटबल, ब्याडमिन्टन सबै खेलमा प्रथम हुने निर्विकार श्रेष्ठ थिए । उनी अल्पायुमै बिते । साहित्यिक गोष्ठीमा लोकेन्द्र राय, दुर्गा पोख्रेल, गोकुल लाल सुशीला पोख्रेल, बुद्धदेवप्रसाद घिमिरेलगायतले राम्रा कविता वाचन गर्दथे । त्यतिबेला चन्द्र श्रेष्ठ, गणेश खुँजेली, ओमकार श्रेष्ठ, त्रिभुवरलाल श्रेष्ठ, राजीव पोख्रेल जस्ताका कर्णप्रिय गीत सुन्न पाइन्थ्यो । चन्द्र श्रेष्ठ त हामी पढ्दा नै अमेरिका पुगेर आएका थिए । गितार कहिल्यै छाड्दैनथे । धनकुटा कलेजको वार्षिकोत्सवमा आयोजना हुने सास्कृतिक कार्यक्रम धनकुटा जिल्लाकै आकर्षण थियो । यस कार्यक्रममा नाटक, प्रहसन, गीत, वाद्यवादनलगायतका कार्यक्रम हुन्थे । सोही सन्दर्भमा कोही किन बर्बाद होस् (विजय मल्ल), मरुभूमिका लेखक (लक्ष्मीप्रसाद देवकोटा)लगायतका नाटकहरू मञ्चन भएका थिए । नाटकका निर्देशक नारायण जोशी र हरिनारायण श्रेष्ठ हुनुहुन्थ्यो । उहाँहरू दुवै भीरगाउँको स्कुलमा कार्यरत हुनुहुन्थ्यो । दिनहुँ त्यहाँबाट धनकुटा आएर नाटकको तयारीमा जुट्नुहुन्थ्यो । चन्द्र श्रेष्ठ पारिपात्ले कृषि फार्ममा कार्यरत हुनुहुन्थ्यो । उहाँ पनि सांस्कृतिक कार्यक्रमको तयारीका लागि दिनहुँ पारिपात्लेबाट कलेज आइपुग्नुहुन्थ्यो । बिहान कलेजको पढाइ हुँदा दिउँसो कार्यक्रमको तयारीका लागि जुटिन्थ्यो । प्रायः प्रहसनमा यादव अधिकारी, उमेशचन्द्र झा र म सहभागी हुन्थ्यौँ । नाटकमा लोकेन्द्र राय तथा रूपा जोशीको प्रमुख भूमिका रहन्थ्यो । दर्शकको संख्या अधिक हुने तर हल सानो हुँदा व्यवस्थापनमा ठूलो समस्या पर्दथ्यो । त्यसबेला धनकुटामा हुने यस्ता सांस्कृतिक कार्यक्रममा सबैले सहयोग गर्दथे । हामीले अभिनय गरेको नाटक मरुभूमिका लेखक त्यसबेला चर्चाको विषय बनेको थियो ।
वार्षिकोत्सवमा पुनर्मिलन समारोह आयोजना गरिन्थ्यो । यस समारोहमा सबै पूर्वविद्यार्थीहरूलाई आमन्त्रण गरिन्थ्यो । उनीहरू सबैलाई कुनै न कुनै एउटा उपनाम दिन्थ्यो । यसरी उपनाम दिएर मनोरञ्जन गर्दा कतिलाई सुपाच्य पनि हुँदैनथ्यो । वार्षिकोत्सव समारोहको अन्तिममा सहभोज आयोजना गरिन्थ्यो । यी सबै कार्यक्रम गर्न विद्यार्थीहरू आफैँले खर्च जुटाउने गर्थे भने कलेजबाट पनि सामान्य सहयोग हुन्थ्यो ।
धनकुटा कलेजमा विद्यार्थी संगठनको निर्वाचन पनि हुने गर्दथ्यो तर त्यहाँ कुनै राजनीतिक रङ थिएन । धरान तथा विराटनगरतिर कलेजको निर्वाचनमा विद्यार्थीहरू गोबर (कांग्रेस समर्थक) र खरानी (कम्युनिस्ट समर्थक) गरी दुई खेमामा हुन्थे तर धनकुटा कलेजको युनियन राजनीतिबाट पृथक् थियो । हामी आइए पढ्दा रामकृष्ण सभापति थिए भने बिए पढ्दा सुशीला पोख्रेल र निर्विकार श्रेष्ठ सभापतिमा निर्वाचित भएका थिए । सुशीला पोखरेको भाषण रोचक, घोचक एवम् उत्साहप्रद हुन्थ्यो । प्रायः सबै राजनीतिक कार्यक्रममा उहाँलाई वक्ताका रूपमा राखिन्थ्यो । हामीभन्दा पहिले पदमबहादुर बस्नेत (राजाकाजी) पनि विद्यार्थी संगठनका सभापति निर्वाचित भएका थिए । कलेजमा विद्यार्थीको चुनाव स्थानीय प्रशासक, राजनीतिज्ञ, व्यापारी एवम् अभिभावकको चासोको विषय हुन्थ्यो ।
बेलाबेलामा धनकुटा कलेजमा विदेश घुमेर आएका तथा धनकुटामा विशेष कार्यको सिलसिलामा आएका विशिष्ट व्यक्तिहरूको प्रवचनको कार्यक्रम राखिन्थ्यो । एकपटक त उपेन्द्र दुःखी एलपी जोशी (लक्ष्मीप्रसाद)ले आफू रुस पुगेर आएपछि आफ्नो अनुभव सुनाउन एक कार्यक्रम नै आयोजना गरेका थिए ।
धरान एवम् विराटनगर कलेजबाट पनि विद्यार्थीहरू नियमित रूपले धनकुटामा शैक्षिक भ्रमणमा आउँथे । ती विद्यार्थीहरूको स्वागत तथा सम्मानमा कार्यक्रम आयोजना गरिन्थ्यो । मोरङ कलेजबाट आएका विद्यार्थीहरूमध्ये चुडामणि गौतमले गाएको गीत र महेन्द्र कलेज धरानबाट आएका रमेश खनालको चुटकिला सम्झन लायक थियो ।
धनकुटा कलेजमा म आइए पढ्दा नै साथीहरू भारतको भ्रमणमा गएका थिए तर म भने घरबाट अनुमति नपाउँदा जान सकिनँ । बिए पढ्दा एकपटक सामाजिक कार्य गर्न गुरु शिवकुमार श्रेष्ठको नेतृत्वमा हामी पाख्रीबास गएका थियौँ । सोही कार्यक्रमबाट केही बचत गरी हामीले भोजपुर, दिङ्ला र चैनपुर भ्रमण गरेको सम्झना ताजै छ । भ्रमणका क्रममा पाख्रीबासबाट हामी मुगा गयौँ, जहाँ जनार्दन घिमिरेले हामी दशजना विद्यार्थीलाई स्नेहपूर्वक भोजन गराउनुभयो । मुगाबाट हामी राईघाटमा अरुण नदी तरेर पारी गयौँ । एउटै खोला करिब सत्रअठार जँगार तरेर पारपानीको उकालो चढी पैयापानीका बाङ्गो बासको घारी हेर्दै भोजपुर पुग्यौँ । भोजपुर इन्टर कलेजमा हाम्रो खुब स्वागत भयो । हरिप्रसाद नेपाल त्यसबेला त्यही कलेजमा प्राध्यापन गर्नुहुन्थ्यो । टक्सारको चहलपहल देखियो । भोजपुर गुल्जार थियो, त्यसबेला तर पछि २०७० सालतिर जाँदा त उक्त बजार सुनसान भएको रहेछ । पूर्वमा नै तामा, पित्तल र काँसका घरायसी भाँडाकुँडा निर्माण गर्ने टक्सार अब इतिहासमा सीमित हुन पुगेछ । भोजपुरमा सहअञ्चलाधीश (प्रमुख जिल्ला अधिकारी) विष्णुप्रताप शाह हुनुहुन्थ्यो । उहाँले त्यसबेला हाम्रो राम्रो खातिरदारी गर्नुभएको थियो ।
भोजपुरबाट हामी दिङ्लातर्फ लाग्यौँ । बाटोको अनुभव नहुँदा निकै सास्ती खेप्नुप¥यो । सुन्तलेडाँडो हुँदै दिनभरि हिँडेपछि राति दिङ्ला पुगियो । बाटोमा खानपिउन केही पाइएन । त्यसबेला दिङ्लामा दयाराम श्रेष्ठ (प्राडा दयाराम सम्भव) स्कुल प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँले खुबै स्नेह र अपनत्व देखाई स्वादिष्ट भोजनसमेत गराउनुभयो । दिङ्लामा षडानन्दद्वारा स्थापित विद्यालय पनि भ्रमण ग¥यौँ ।
दिङ्लाबाट डरलाग्दो डुङ्गा (एउटै रूख खोपेर बनाएको) चढेर तुम्लिङटार पुगेपछि सभाखोला तरी चैनपुर पुग्यौँ । चैनपुरमा सिद्धकाली मन्दिर, स्कुल लगायतका स्थलहरूको भ्रमण ग¥यौँ । त्यसपछि हात्तीसुँडेको ओरालो झरी अक्करको बाटो दियाले हुँदै धनकुटा आयौँ । लोकेन्द्र राय, गंगालाल श्रेष्ठ, श्यामराजा शाह गरी हामी जम्मा नौजना थियौँ । यो २०२५ साल वैशाखतिरको घटना हो ।
विसं २०२५ साल माघमा कलेज छुट्टीको समय भारतको प्रसिद्ध स्थल आग्रा तथा नेपालको लुम्बिनी भ्रमण गर्ने कार्यक्रम बन्यो । हामी विद्यार्थी आफैँले खर्चको व्यवस्था गरेका थियौँ । हामीले शिवकुमार श्रेष्ठ सरलाई नेतृत्व गर्न अनुरोध ग¥यौँ । हामीमध्ये बिएमा अध्ययन गर्नेहरू सुशीला पोख्रेल, सीता श्रेष्ठ, चन्द्र श्रेष्ठ, गोपाल श्रेष्ठ, ईश्वरनारायण श्रेष्ठ, शिवशंकर श्रेष्ठ, उमेशचन्द्र झा, रुद्रबहादुर बस्नेत, र म तथा आइएमा अध्ययन गर्नेहरू नीरा श्रेष्ठ, विमला श्रेष्ठ, कुन्तला श्रेष्ठ, त्रिभुवरलाल श्रेष्ठ, गंगालाल श्रेष्ठ, गणेश खुँजेली, चन्द्रभक्त श्रेष्ठ र गंगालाल श्रेष्ठलगायत सम्मिलित भयौँ । हामी सबैजना निर्धारित मितिमा धरानमा जम्मा भयौँ । धरानबाट विराटनगर र विराटनगरबाट जोगबनी पुग्यौँ । त्यहाँबाट रेल चढेर गोरखपुर पुगी भैरहवा जाने कार्यक्रम बनेको थियो । रेलयात्राको अनुभव नभएका हामी धेरै थियौँ । त्यसैले धेरैपटक रेलयात्रा गरेका उमेशचन्द्र झाले नेतृत्व गरे ।
जोगबनीबाट कटिहार पुगी रेल परिवर्तन गर्नुपर्ने थियो । रेलमा खाना खाने हुँदा ठगीमा पनि परियो । कटिहारबाट अर्को रेल चढी ठेलमठेल गर्दै गोरखपुर पुगियो । रेलमा भिडभाडको त कुरै भएन । हाम्रा लागि सिट पनि आरक्षित थिएन । रेलको यात्रा कष्टकर नै भयो । गोरखपुरबाट नौतनवासम्म रेलमा गई नौतनवाबाट मोटरमा भैरहवा पुग्यौँ । सबै स्थानमा कुल्ली चाइँहरूले हामीलाई भोजन नै सम्झे । राति भैरहवा त पुग्यौँ तर बास बस्ने टुङ्गो लागेन । धनकुटामा बडाहाकिम भई भैरहवा पुगेका रत्नबहादुर गुरुङलाई सम्पर्क ग¥यौँ । उहाँकै सौजन्यमा गेस्टहाउसमा बस्यौँ । बल्ल दुईदिनको थकाइ मारियो । रत्नबहादुर गुरुङ सहअञ्चलाधीश पनि भएको र धनकुटालाई प्रेम पनि गर्ने हुँदा हामीले अभिभावकत्व पायौँ ।
सहअञ्चलाधीश गुरुङकै सदासयताबाट हामीले लुम्बिनी र कपिलवस्तुको भ्रमण गरेका थियौँ । ती दुई स्थानमा पुग्न पुरै एकदिन लागेको थियो । बाटो कच्ची हुँदा समय लाग्ने नै भयो । त्यसबेलामा भारत सरकारको सहयोगमा सुनौली–पोखरा सिद्धार्थ राजमार्ग तयार हुँदै थियो । कालीगण्डकीको राम्दीघाटमा पुलको शिलान्यास कार्यक्रम थियो । यो मार्गमा पहिलोपटक बस जाने भयो । हामीले पनि त्यसैमा जाने अवसर पायौँ । भैरहवाबाट दिउँसो हिँडेको बेलुकीपख राम्दीघाटमा पुगियो । पुलको शिलन्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत राजबहादुर सिंह आउनुभएको थियो । हामी पनि यस कार्यक्रममा सम्मिलित भयौँ । त्यस रात बसमा नै बिताइयो । जाडोको बेला निकै कष्ट भयो ।
हामी त्रिभुवन कलेज तानसेन पुग्यौँ । जाडोको समय हुँदा कलेज बिदा थियो तापनि त्यस कलेजका विद्यार्थीले हाम्रो ठूलो स्वागत गरे । भोजन तथा आवासको उत्तम प्रबन्ध गरे । कलेजमा स्वागतको कार्यक्रम पनि आयोजना गरियो । हाम्रा साथीहरूले गाना गाए । उनीहरूले कृतज्ञता व्यक्त गरे । त्यसबेला सम्पर्क भएका प्राध्यापक धीरेन्द्रप्रसाद श्रेष्ठ (स्वर्गीय)सित जीवनपर्यन्त सम्बन्ध रहिरह्यो भने विनोदप्रसाद श्रेष्ठसित अहिलेसम्म पनि यदाकदा भलाकुसारी हुन्छ । तानसेनबाट बुटवलसम्म हामीले ट्रकमा यात्रा गरेका थियौँ । र, हामीलाई बिदा गर्न बुटवलसम्म नै त्रिभुवन कलेजका केही साथीहरू आएका थिए । बुटवलमा त्रिभुवन कलेजमै पढ्ने गमला खातीसित हाम्रोभेटघाट भयो । त्यहीबेलादेखि मलाई तानसेन, पाल्पाप्रति मोह जागेको हो । र, यो मोह कहिल्यै भङ्ग भएन । अहिले पनि फुर्सद भयो कि तानसेन पुगौँ पुगौँ लाग्छ । विसं २०२५ सालबाट सुरु भएको पाल्पा यात्रा हालसम्म गणना गर्ने हो भने ५० औँ पटक भइसक्यो होला । विश्वविद्यालय सेवा र नेत्रज्योति संघमा रहँदा पाल्पाका मित्रहरूले मलाई ठूलो गुन लगाएका छन् । तानसेन पुग्दा साथी गणेश खुँजेली र ईश्वरनारायणको झोला छुट्यो । खोजतलास गर्दा पाँच दिनपश्चात्् सामान सकुशल भैरहवामा आइपुग्यो ।
भैरहवाबाट हामी गोरखपुर हुँदै लखनउ भएर आग्रा पुग्यौँ । आग्रा पुग्दा हाम्रो बजेट सकिइसकेको थियो । त्यसैले दिल्ली जाने साहस गरेनौँ । आग्राका विभिन्न ऐतिहासिक स्थल भ्रमण गरी रेलबाट जोगबनी हुँदै धनकुटा फर्कियौँ । फर्कदा रकमको अभावले गर्दा रेलमा सबैको टिकट पनि नकाटी टिटिईलाई छल्दै यात्रा गर्नुप¥यो । रेलको भीडभाड त अचम्मकै थियो । त्यसपछि पनि रेलको यात्रा पटक–पटक गरियो तर त्यस्तो भीड भने हालसम्म अनुभव गर्नुपरेको छैन ।
धनकुटा कलेजका छात्रछात्रा तथा शिक्षककर्मचारी एकै परिवारका सदस्यसरह थिए। एकअर्कालाई सहयोग गर्न सदैव तत्पर रहन्थे । हामी आइए पढ्दा हाम्रै साथी तुम्ला मास्के गम्भीर अस्वस्थ भइन् । धनकुटामा त्यसबेला पनि दुईवटा अस्पताल त थिए । डाक्टर पनि थिए । परीक्षण गराउँदा धनुष्टंकार हो कि केहो भएकाले तुरुन्त औषधि चाहियो । उक्त औषधि धनकुटामा उपलब्ध थिएन । त्यसैले हाम्रै साथीहरू राति १० बजे धनकुटाबाट हिँडी धरान पुगेर भोलिपल्ट औषधि लिएर पनि आए । यसरी तुम्लालाई बचाउन सकिएको थियो । त्यसबेला कति प्राध्यापक अविवाहित नै थिए तर कसैले पनि आफ्ना छात्रासित विवाह गरेनन् । कुनै साथीसाथीको पनि विवाह भएन । सबैजना दाजुबहिनी र दिदीभाइ जस्ता थिए ।
धनकुटा कलेजको पुस्तकालय नै थिएन । शिक्षकबाहेक प्रशासनिक कर्मचारीमा भूपेन्द्रबहादुर श्रेष्ठ र सहयोगी ठुले (टङ्क) श्रेष्ठ दुईजना मात्र थिए । कक्षाकोठामा बेन्च, टेबुल र कालोपाटी मात्र थियो । व्याख्यान विधिबाहेक अन्य शिक्षण विधि प्रयोग हुँदैन थियो । गृहकार्य दिने तथा कक्षामा विद्यार्थीले बुझेनबुझेको सोध्ने चलन नै थिएन ।
नेपाल–भारत सांस्कृतिक केन्द्रको एक पुस्तकालय थियो । यसमा केही पाठ्यपुस्तक र केही सन्दर्भपुस्तक उपलब्ध हुन्थे । त्यस पुस्तकालयका पुस्तकालयाध्यक्ष खगेन्द्रकुमार प्रधानाङ्ग र सहयोगी कैलाश (भारतीय नागरिक) दुवै विद्यार्थीहरूका शुभचिन्तक नै थिए ।
हाम्रो गाउँ कचिडेबाट धनकुटा कलेज पढ्नेहरूमा हामी आइएमा छँदा म, सुशीला पोख्रेल र रीता पोख्रेल थियौँ भने बिएमा दुर्गा पोख्रेल र उपेन्द्र पोख्रेल हुनुहुन्थ्यो । हामी बिएमा हुँदा म, सुशीला पोख्रेल र रीता पोख्रेल थियौँ भने आइएमा शान्ति पोख्रेल, बिन्दु खनाल राजीव पोख्रेल, गणेश पोख्रेल, भरत पोख्रेल र विश्वनाथ पोख्रेल थिए ।
हामी आइए पढ्दा ३० जना र बिए पढ्दा ११ जना जति थियौँ । यी साथीहरूले नेपाल सरकार, शिक्षा सेवा, बैँक तथा औद्योगिक प्रतिष्ठान, गैरसरकारी संस्था, बन्दव्यापार जस्ता विविध सेवामा रहेका छन् । विश्वविद्यालयको प्राध्यापन पेसा मैले मात्र अँगालेको हो कि जस्तो लाग्छ । कलेज पढ्दाका केही साथीबाहेक सबैसित अहिलेसम्म पनि भलाकुसारी तथा उठबस हुन्छ । यादव अधिकारी, ओमकार श्रेष्ठ, भोगेन्द्रप्रकाश श्रेष्ठ, सुशीला पोखरेल, रीता पोखरेल, ईश्वरनारायण श्रेष्ठ, बिन्दु खनाल, निरा श्रेष्ठ, गणेश पोखरेल, विश्वनाथ पोखरेल जस्ता कलेज पढ्दाका मित्रहरू अब सम्झनामा मात्र सीमित छन् । उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली !
विसं २०२७ सालमा बिए परीक्षा उत्तीर्ण गरेपछि काठमाडौँ आइयो । यतै जागिर खाइयो । धेरै यतैतरि बसियो । तर,धनकुटा कलेजमा बिताएका ती स्वर्णिम चारवर्ष मेरो मानसपटलबाट कहिल्यै मेटिनेछैनन् ।
गजबको स्मरण ! स्वर्णिम समयको राम्रो लेख