चम्चा

युग ! चम्चाको चालमा
चम्चा नाच्ने थालमा
बाँचेको छ
बाँच्नै परेको छ
चम्किलो चम्चा बनेर ।

तर
चम्चाले  खान
अथवा खुवाउन
मन नपरेको पनि
दुई हातको  आत्मसन्मानमा ठेस लाग्ने भए
नत्र फेरि
चम्चा चलाउन जान्ने कलाको कमीनै हुनुपर्छ ।

राखेको ठाउँमा बुडी औलो भेटिनु चम्चाको सट्टा
चाहिएको बेला सुइकुच्चा ठोकिदिनु नै
चम्चाको चाल हो
हराउनु र भेटिनुमै चम्चाले
आफ्नो अस्तित्व बुझेको छ

अघि
राजाहरू चाँदीको थालमा सुनको  चम्चाले खाने गर्थे
बहुमूल्य थिए ति चम्चा  कहिल्यै नहराउने
अहिले पनि खोज्नु भने  कुनै सङ्ग्रहालयमा
बडो सम्मानका साथ सजाएको भेटिन्छ ।

कुनै आश्चर्यको कुरा हैन
समय र परिवर्तन
हिजो आज थरी थरिका चम्चाले बजार ओगटेको देखिन्छ
डिस्पोजलको जमाना  यत्रतत्र फैलिएको छ
सबै चम्चाहरू नै डिस्पोजेबल छ्न्

डिस्पोजेबल भन्नु नै
सजिलो हो
धेरै सजिलो
चलायो अनि फ्याँक्यो
आहा ! आनन्दै आनन्द  !!

फ्याँकिदैछन् यसै गरी  सडक र नालीहरूमा
हरेक दिनपछिको दिन
मूल्यहीन सस्ता चम्चा
लगत्तै  नयाँ चम्चा आउँछ बजारमा
आकर्षक रूप लिएर
पहिलेकोलाई बिर्साइदिन्छ
उसले आफ्नो बजार नबसाउँदै म्याद पुर्‍याउँछ
त्यो भन्दा मनमोहक अर्को चम्चाले जमाउँछ अधिकार
त्यसै गरी राम्रो र बलियो चम्चाको आगमन
नयाँ डिजाइन र फेसन लिएर
पुरानो चम्चा  हराएर बिरानो भई समेटिन्छ
गन्दे नालाको छातीभित्र
छोपिन्छ फोहोर र मैलाहरूमा
थिचिँदै जान्छ धरतीको काखमा
कुनैदिन मुखसम्म पुग्ने चम्चा  हेर्दाहेर्दै पाइतालाको स्पर्शमा  आउँछ

भन्दिनँ कहिल्यै
चम्चै होस त यस्तो होस
पुरानो भएपछि कुनै सङ्ग्रहालयमा भेटियोस

चम्चाले खाना मात्रै कहाँ खुवाउछ र ?
कहिलेकाही त औषधी भन्दै विष पनि पिलाउँछ
के गर्‍यौँ ! जमाना चम्चाकै छ
जगजगी चम्चाकै छ

हात काट्यो
चम्चै चाहियो
अचेल मान्छेलाई मात्रै कहाँ
चम्चालाई चम्चाको खाँचो छ।

चम्चाले गर्ने काम हर्पेले कहाँ गर्न सक्छ
चम्चा कतै ताप्के बन्छ र
चम्चा चम्चा नै हो
खाँचो टार्ने
चम्चा जुन पात्रमा हुन्छ
त्यसलाई रित्याएरै छोड्छ

जतिनै मूल्यवान चम्चा नहोस किन !!

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *