नारायण जोशीको ‘यो जीवनयात्रा’को यात्रा गर्दा

नारायण जोशीको यो जीवनयात्रा शीर्षक आत्मकथा हालसालै प्रकाशित भएको छ । यस कृतिले नेपालीमा आत्मकथा लेखनको परम्परालाई निरन्तरता दिएको छ । प्राध्यापक तथा समाजसेवी जोशी कुशल स्रष्टा पनि हुन् । आफ्नो जन्मस्थललाई कार्यस्थल बनाएका धर्तीपुत्र जोशीले आफ्नो जीवनका सात दशकको हासो रोदन, सुखदुःख, आरोह-अवरोह, अवसर चुनौतीलगायतका वैयक्तिक आलोकमा उक्लने सोपान स्वरूप उक्त पुस्तक पाठकलाई सुम्पिएका छन् । कोरोनाको सन्त्रासबाट ध्यान अन्यत्र मोड्न पाठकलाई यो पुस्तक सहयोगी हुने अपेक्षा गर्न सकिन्छ ।

नेपालीबाट आत्मवृत्तान्त लेखनमा दुई दशकदेखि उत्साहजनक प्रगति भएको छ । आफ्नो अनुभव, सफलता एवम् संघर्ष र सम्झौताहरूको भोगाइ भावी पुस्तालाईहस्तान्तरण गर्ने उद्देश्यका साथ आत्मकथाका पुस्तकहरू लिपिबद्ध भएका देखिन्छन् । श्रुति परम्परामा ह्रास हुँदै गएको वर्तमान सन्दर्भमा आफ्नो अनुभव पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने सशक्त माध्यम आत्मवृत्तान्त हुन पुगेको छ ।

नेपालको आत्माकथा लेखनको इतिहास केलाउने हो भने यसको परम्परा चिरञ्जीवी पौड्यालको आत्मकथाबाट प्रारम्भ भएको देखिन्छ । यसै परम्परालाई निरन्तरता दिएका राममणि आदीको भएका कुरा, सागरमणि आदीको पुराना सम्झना, बालकृष्ण समको मेरो कविताको आराधना, टुकराज मिश्रको रिढी राँची रुँदै हाँस्दै तथा भीमबहादुर पाँडेको त्यस बखतको नेपाल जस्ता कृति राणाकालीन नेपाल हेर्ने ऐना नै साबित भए ।

विश्वेश्वरप्रसाद कोइरालाको आफ्नो कथा तथा जेल जर्नल, कृष्णप्रसाद भट्टराईको मेरो म, गणेशमान सिंहको मेरा कथाका पानाहरू, गिरिजाप्रसाद कोइरालाको आफ्नो कथन, खड्गमान सिंहको जेलमा बीस वर्ष, रामहरि जोशीको आत्मकथा, ऋषिकेश शाहको प्रारब्ध र पुरुषार्थ, नरशमशेरको जीवनी, खगराज अधिकारीको माया मारेको मान्छेजस्ता आत्मवृत्तान्तबाट तत्कालीन समाज र राजनीतिको यथार्थ जानकारी पाउन सकिन्छ ।

माओवादी आन्दोलनका विषयमा राधा पौडेलको खलंगामा हमला र नारायण सुवेदीको सय दिन माओवादीको कब्जामा जस्ता कृतिले राम्रो प्रकाश पारेका छन् । गौरा प्रसाईंको मेरो जीवनका पानाहरू तथा शान्त चौधरीको कमलरीदेखि सभासद्सम्म जस्ता आत्मकथामा नेपाली नारीको क्रन्दन पाउन सकिन्छ ।

दमनराज तुलाधरको दमनराज तुलाधर, नरपति शर्माको नरपति शर्मा, छविलाल शर्मा पोखरेलको छविलाल शर्मा पोखरेल जस्ता आत्मवृत्तान्तमा तत्कालीन समाजको सुन्दर चित्र कोरिएको छ ।

भूपालमानसिंह कार्कीको आत्मवृत्तान्तमा आफ्नो पुरुषार्थ र योगदानको बढाइचढाइ गरिएको छ भने विनोदकुमार चौधरीको आत्मकथामा व्यापारीहरूको कथाव्यथा बुझ्न सकिन्छ । रामेश्वर थापाको बारुदमा उडेको जिन्दगीमा माओवादी संघर्षको स्वरूप र प्रभावको चिरफार भएको छ ।

प्राध्यापकहरू लोकराज बरालको रोमाञ्चित जीवन र विश्वम्भर प्याकुरेलको केही छोपिएका केही उघारिएका जस्ता कृतिमा नेपालको शैक्षिक, राजनीतिक तथा बौद्धिक अवस्थाको शल्यक्रिया गरिएको छ ।

पूर्व सेनापतिहरू रुक्मांगत कटुवालको रुक्मांगत कटुवाल, छत्रमान गुरुङको जनताको छोरो, विवेककुमार शाहको मैले देखेको दरबार, सुन्दरप्रताप राणाको दरबारका दुखान्तबाट नेपालको सैनिक प्रशासन र दरबारिया राजनीतिबारे बुझ्न सकिन्छ । प्रहरी प्रमुख अच्युतकृष्ण खरेलको आत्मवृत्तान्तमा नेपालको शान्ति सुरक्षामा प्रहरीको भूमिका र प्रहरी प्रशासनमा राजनीतिको प्रभाव विषयक जानकारी उपलब्ध हुन्छ ।

पत्रकारहरूको दुर्गानाथ शर्माको छाल, किशोर नेपालको समय समय, हरिहर विरहीको आगो निभेको छैन, विजयकुमार पाण्डेको खुसी जस्ता आत्मकथाबाट नेपालमा पत्रकारिता र पत्रकार, पत्रकार र राजनीति तथा पत्रकार र सरकारजस्ता विषयको चित्र हेर्न पाइन्छ ।

पूर्व प्रधानन्यायाधीशहरू नैनबहादुर खत्रीको मेरो जीवनयात्राः अनुभव र अनुभूति, मीनबहादुर रायमाझीको न्यायपालिकामा चारदशकः मेरो सम्झनामा, सुशीला कार्कीको न्याय ररेवतीरमण खनालको अनुभूति र अभिव्यक्ति जस्ता आत्मकथाका कृतिबाट तत्कालीन नेपालको न्याय व्यवस्थाका विविध पक्षमा जानकारीमूलक सूचना उपलब्ध भएका छन् ।

(प्राडा तीर्थप्रसाद मिश्र)

महिला लेखिकाहरू झमककुमारी घिमिरेको जीवन काँडा कि फूल, भारती गौतमको अमेरिकामा आमा, आनी छोइङ डोल्माको फूलको आँखामा फूलै संसार जस्ता कृतिमा उनीहरूको जीवन संघर्षका गाथा समेटिएका छन् ।

पूर्वप्रशासक एवम् साहित्यकार मधुसुदन ढकालको मेरो जीवनका ६ दशक, शारदाप्रसाद दाहालको आफ्नै कथा, लक्ष्मणप्रसाद रिमालको आत्मवृत्तान्त तथा जगदीश घिमिरेको अन्तर्मनको यात्रा जस्ता कृति एकपटक सबैले पढ्नै पर्ने आत्मकथाका कृतिहरू हुन् ।

मदनकृष्ण श्रेष्ठको महको म तथा हरिवंश आचार्यको चिना हराएको मान्छे जस्ता आत्मकथामा नेपालको हास्यव्यंग्य क्षेत्रको समग्र वस्तुस्थिति बुझ्न सकिन्छ । डा हेमाङ्ग दीक्षितको माई जेड इनिङ, डा मणीन्द्ररञ्जन बरालको नियति र अनुभूति जस्ता कृति पनि पठनीय आत्मवृत्तान्त हुन् । आत्मवृत्तान्त लेखनको यही परम्परालाई पछ्याउदै नारायण जोशीको आत्मकथा यो जीवनयात्रा पाठकसमक्ष आइपुगेको छ ।

यो जीवनयात्रा २ सय १० पृष्ठभित्र ४३ भाग र ४ परिशिष्टमा संरचित छ । यो आत्मकथा लेखकको जन्मदेखि हालसम्मका जीवनयात्राका प्रमुख मोड, मिलन बिछोड, संघर्ष र सम्झौताको दस्तावेज हो ।

विसं २००२ सालमा धनकुटा बजारमा जन्मिएका जोशीको पुख्र्यौली घर भक्तपुर हो । भक्तपुरबाट जागिरकै सिलसिलामा धनकुटा पुगेका उनका बराजु लप्टन विष्णुमानसिंह जोशी उतैका स्थायी बासिन्दा हुन पुगे । वास्तवमा धनकुटा बजार गुल्जार गराउन नेवारहरूकै योगदान रहेको छ । उनीहरू व्यापार, जागिर तथा आपसी सम्बन्धजस्ता विविध कारणले धनकुटा पुगेका थिए । र,उतैको स्थायी बासिन्दा बनेका थिए । यस कृतिमा धनकुटाको नामकरण र धनकुटाको ऐतिहासिक रूपरेखा संक्षिप्त र सूत्रात्मक रूपमा उल्लेख गरिएको छ । यसलाई केही विस्तृत रूपमा चर्चा गरिएको भए पाठकलाई मौलिक खुराक मिल्ने थियो । धनकुटा बजार समीपमा रहेको सल्लेरीवन देवशमशेरले होइन जंगबहादुरका भाइ बमबहादुरका छोरा बमविक्रमले स्थापना गरेका हुन् । नरपति शर्माको धनकुटाको इतिहासमा यससम्बन्धी जानकारी पाइन्छ । त्यसैगरी बीच बजारमा बनेको ५२ ढोके दरबार राणाहरूको होइन, शाहको हो । ३८ सालको पर्वमा काठमाडौँबाट धनकुटा लखेटिएका शाहले उक्त दरबार बनाएका थिए ।

आफ्नो बाल्यकालमा आर्थिक संकट जेलिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्राथमिक शिक्षा एवम् धनकुटाको गोकुण्डेश्वर स्कुलमा पढ्दाका प्रतिस्पर्धी साथीहरू तथा शिक्षकहरूको स्मरण गरेका छन् । लेखकको स्कुले जीवनमा एउटै स्थानमा छात्रछात्रा पढ्ने अवस्था त छँदै थिएन । एकै ठाउँमा बसेर फोटो खिच्न पनि सुपाच्य नठहरिने त्यसबेलाको सामाजिक मनोविज्ञान पुस्तकमा उजागर गरिएको छ ।

एसएलसी परीक्षा उत्तीर्ण गरेपछि विज्ञान पढेर डाक्टर बन्ने उत्कट अभिलाषा पालेका जोशीले पनि धनकुटा कलेजमा कला विषय पढ्नुपर्दाका बाध्यता उल्लेख गरेका छन् । साथै त्यस समयमा विद्यालयमा पढाउने शिक्षक, विद्यालयको शिक्षण विधि र त्यहाँको कडा अनुशासनका विषयमा रोचक वर्णन गरेका छन् ।

कविता गोष्ठीमा आफूले मात्र कविता वाचन गरेकोमा दोस्रो भएको प्रसङ्ग, कक्षामा प्रथम नहुदाको पीडा, गोकुण्डेश्वर विद्यालय स्थापना गर्दाको सकस, धनकुटामा क्याम्पस खोल्न समाजसेवी रामनारायण श्रेष्ठले गरेको प्रयास स्मरण गरिएको छ । त्यसबेलाको पढाइ, विद्यार्थी राजनीति, प्राध्यापकहरूको व्यवहार जस्ता स्मरणमा तत्कालीन शैक्षिक स्थितिकाबारेमा महङ्खवपूर्ण सूचनाहरू प्रवाहित भएका छन् । धनकुटा कलेजमा हुने वार्षिकोत्सव कार्यक्रम र अतिरिक्त क्रियाकलापको बयान पढ्दा म स्वयंले आफूलाई त्यही भएको अनुभव गर्न पुगेँ ।

बिए पास गरेपछि धनकुटाकै जितपुर र भीरगाउँमा शिक्षक भई अध्यापन गरेको अनुभव र प्रेम प्रसंगको वर्णनबाट तत्कालीन युवाहरूको मनोविज्ञान बुझ्न सकिन्छ । धनकुटाबाट पढ्न काठमाडौँ पुगेको बेला आफ्ना पिता गुमाउनुपरेको तथा पाँच वर्षको प्रेममा पनि आघात परेको घटना मार्मिक छन् तर यी दुवै घटनाबाट उनले आफ्नो पढाइलाई कुनै नकारात्मक असर पर्न भने दिएनन् ।

काठमाडौँमा रहँदा पर्यटक पथप्रदर्शक भएको र शिक्षण अभ्यासकै सिलसिलामा जुम्ला र रारा (रारा मुगुमा पर्छ डोल्पामा होइन)को सम्झौटो पनि चाखलाग्दा छन् ।

मानविकी तथा शिक्षाशास्त्र दुवैतिर स्नातकोत्तर उत्तीर्ण गरेका जोशीले त्रिभुवन विश्वविद्यालयको सेवामा प्रवेश गरी प्राध्यापन पेसामा लामो समयव्यतीत गरेकाछन् । धनकुटा क्याम्पसमा सहायक प्राध्यपक, उपप्राध्यापक तथा सहप्राध्यापक भई कार्य गरेका उनी दुईपटक क्याम्पस प्रमुख बन्न पुगे । धनकुटा क्याम्पस बाटै सेवानिवृत्त हुनपुगेका जोशीको विश्वविद्यालय सेवामा रहँदाका अनुभव पनि रोचक छन् । उनको विवाह सन्दर्भ र वैवाहिक जीवनको अनुभव प्रेरणादायी नै छ । अमेरिका भ्रमणको सन्दर्भ र विवरण पनि रोचक लाग्छ ।

प्राध्यपन बाहेक नेपाल जेसिस, परिवार नियोजन संघ, नेपाल नेत्रज्योति संघ, सल्भ नेपाल जस्ता संघसंस्थामा आफ्नो सहभागिताको संस्मरण अनि रोचक ढंगले गरेका छन् । पुत्र प्राप्ति र उसको शिक्षादीक्षाका लागि देखाएको चासो र प्रयासका घटनाको स्मरणबाट अभिभावकहरूको आफ्ना सन्ततिप्रतिको मोह तथा स्नेहको परिचय पाइन्छ ।

विश्वविद्यालयमा हुने अवाञ्छित राजनीतिक क्रियाकलापहरूको अनुभव पनि पाठकले रुचाउने विषयवस्तु भएका छन् । विसं २००२ देखि २०७७ सालको कोरोनाको कहरसम्मको आफ्नो जीवनयात्रा प्रस्तुत कृतिमा समेटिएका छन् ।

नारायण जोशी र म दुवै म दुवै धनकुटावासी (म कचिडे र उनी सिरानबजार, यी ठाउँको दुरी २ किलोमिटर जति होला) हौँ । म गोकुण्डेश्वर स्कुलमा म ६ कक्षामा भर्ना हुँदा उनी सोही विद्यालयको १० कक्षामा पढ्थे । म कलेजमा प्रथम वर्षमा हुँदा कुनै चौथो वर्षमा अध्ययनरत थिए । उनकै निर्देशनमा नाटकमा सहभागी भएको सस्मरण अझै ताजै छ । कालान्तरमा हामी दुवै शिक्षण पेसामा नै आबद्ध भयौँ । यस अर्थमा नजिकबाट चिनेको, उठबस गरेको तथा कयौँपटक भलाकुसारी भएको व्यक्तिलाई समेत मैले पढ्न र बुझ्न सकेको रहेनछु । मलाई यस कुराको अनुभुति यो जीवनयात्रा पढेपछि मात्र भयो । जसलाई म दाइ भनेर हार्दिकतापूर्वक सम्बोधन गर्दछु, उनैको जीवनयात्राका अनेकौँ पक्षमा म अनभिज्ञ नै रहेछु । उनको जीवनका कयौँ गोप्य र व्यक्तिगत पक्ष यस आत्मवृत्तान्तमा सार्वजनिक भएका छन् । विशेषगरी जीवनका खुसी र दुःखका क्षण पुस्तकका माध्यमबाट प्रकाशित भएका छन् ।

आत्मकथामा सम्बन्धितले भोगेका, देखेका ,अनुभव गरेका र सम्पादन गरेका कार्यसम्बन्धी रोचक घटना तथा विवरण समेटिएका हुन्छन् । व्यक्तिले जीवनमा गरेका संघर्ष, सफलता र असफलता कथाहरूका अतिरिक्त गर्न खोजेका तर नसकेका कुरा र आफ्ना कमीकमजोरीले समेत उचित स्थान पाउनुपर्दछ । आत्मकथामा केवल आत्माप्रदर्शन, आत्मगौरव वा स्वप्रशंसा मात्र हुनुहुँदैन बरु आत्मनिरीक्षण र आत्मविश्लेषणको दस्तावेज हुनुपर्छ भन्ने मेरो मान्यतारहेको छ ।

नारायण जोशीले कष्टकर बाल्यकालको चित्रण गरेका छन् । ठूलो परिवार तर कमाउने एकजना मात्र हुँदा कष्ट त हुँदो हो । यद्यपि, बिहान–बेलुकाको छाक टार्न नसक्ने त अवश्यै होइन होला, त्यसबेलाका सुब्बाको परिवारमा । ६ छोरा र चार छोरी जन्माउने आमा साँच्चै महान् हुन्, जुन तथ्य आजका नवपुस्तालाई अचम्मलाग्दो कहानी लाग्न सक्छ । क्षमता भएर पनि बाहिर गएर विज्ञान पढी डाक्टर बन्ने उनको इच्छा आर्थिक अवस्थाबाट पूरा हुन नसकेको चर्चा पाइन्छ तर सानैदेखि कलेज पढ्ने र हेडमास्टर बन्ने उनको उद्देश्य रहेको हुँदा डाक्टर हुने लक्ष्य नै नभएको हो कि जस्तो पनि लाग्दछ । लेखकका पिताजीले गणेशकुमार कर्मचार्यसित २२ सय ऋण लिएको र सोही कारणबाट पिताजी रोगी भएको चर्चा त भएको छ तर उक्त ऋण के भयो पाठक जान्न चाहन्छन् (पत्रकार ऋषि धमलाको जस्तो प्रश्न पो भयो कि ?) कुन दाइको तेह्रथुममा विवाह भएको थियो ? सोको अनुमान गर्ने काम पाठकलाई नै छाडिएको छ । आर्थिक अभावकै कारण पढ्न-लेख्न सकेको र उन्नति गर्न सकेको कुरा उनले आत्मासात् गरेका छन् । यो तथ्य लेखकले धनकुटाका त्यसबेलाका धनीमानीका सन्ततिलाई हेरेर उल्लेख गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

आफ्नो प्रेमरोग अथवा प्रेम बिछोडको घटना उल्लेख गरेर आफ्नो मनको कुरा यथार्थमा नै पोखिदिएका छन् । तर, यो बिछोड हुनुमा उनी स्वयं पनि उत्तरदायी थिए भन्न सकिन्छ । आफ्नी प्रेमिकाको इच्छा नहुँदा नहुँदै विवाह हुन आँटेको खबर पाउँदा पनि वास्ता नगर्नु वा भगाउने कुरामा आदर्शका कुरा गर्नु उनका कमजोरी पनि त हुन सक्छन् । प्रेम गर्दा समाजको वास्ता नगर्ने तर भगाउन चाहिँ नचाहने उनकै विरोधाभासपूर्ण आदर्श पनि प्रेमवियोगका लागि उत्तरदायी भएको भान पाठकलाई परेको छ । जेहोस यस घटनाले उनको युवा हृदयमा ठेस त लगायो तर त्यो रोग दीर्घ भएन ।

विद्यालयमा पहिलो हुन नसकेको तथा कलेजको छात्र संगठनको निर्वाचनमा सफलता हासिल नगरेको जस्ता घटना पनि उजागर त गरेका छन् तर यी घटनाले घुमाउरो पाराले आफैँलाई अब्बल देखाउन खोजेको पनि प्रतीत हुन्छ । तत्कालीन शैक्षिक स्थिति, गुरुचेलाको सम्बन्ध, धनकुटाको शैक्षिक गतिविधि विषयक महङ्खवपूर्ण सूचना पुस्तकमा समाविष्ट भएका छन् ।

बिए उत्तीर्ण गरेपछि आर्थिक अभावकै कारण एमए पढ्न नसकेको र जितपुर र भीरगाउँ (यी दुवै विद्यालय धनकुटाका ग्रामीण क्षेत्रमा अवस्थित छन्)मा कार्य गरी काठमाडौँ पढ्न गएको तथ्य काठमाडौँमा अवसरको खोजीका लागि भएका प्रयासको सन्दर्भमा रोचक छन् । टुरिस्ट गाइडको क्षणिक अनुभव गरेका लेखकले कालन्तरमा शिक्षण पेसा नै अपनाए ।

विश्वविद्यालय सेवामा प्रवेश गरी आफ्नो जन्मस्थलमा नै सेवा गर्ने अठोट र प्रतिबद्धताबाट धनकुटाप्रतिको उनको प्रेम र स्नेह बुझ्न सकिन्छ । विश्वविद्यालय सेवामासाथै प्रवेश गरेकाहरू अवसरको खोजीमा राजधानी पुगेको सन्दर्भमाउनको धनकुटा नै बस्ने चाहना सह्रानीय छ । वास्तवमा उनले धनकुटालाई मान दिए र धनकुटाले पनि उनको सम्मान नै ग¥यो । धनकुटामा भएका सबैखाले कार्यक्रम जोशी सरको उपस्थिति विना पूर्ण नभएको प्रत्यक्षदर्शी म पनि एक हुँ । सायद यो सम्मान अन्यत्र भए पाउन दुर्लभ नै थियो कि ?

शिक्षणका साथै सामाजिक सेवाप्रति लेखकको गहिरो अनुराग देखिन्छ । नेपाल जेसिस, परिवार नियोजन संघ, नेत्रज्योति संघ, ज्येष्ठ नागरिक समाज, विश्रान्ति मन्दिर लगायत अनेकौँ सामाजिक संघसंस्थामाउनको सहभागिता भएको दृष्टान्तबाट उपर्युक्त कुरा प्रमाणित हुन्छ । Teacher, Student, Disciplane/ Attitude  शब्दको अर्थ प्रसङ्गबाट पाठक दङ्ग परेका छन् । सरस्वतीका उपासक भएका कारण लक्ष्मीसित उति प्रेम हुन नसकेको कुरा धनकुटे बसको कथाले पुष्टि गरेको छ ।

धनकुटाको शैक्षिकगतिविधिको विकास र विस्तारमा नारायण जोशीको योगदान उल्लेख्य छ । जसको वस्तुनिष्ठ मूल्यांकन धनकुटाको शैक्षिक इतिहासको अनुसन्धान कार्यबाट हुने नै छ । उक्त अनुसन्धानलाई मार्गदर्शन गर्ने दायित्व चुनौतीका रूपमा लिन पाठकले लेखकलाई नै अनुरोध गरेका छन् । यस विचारको प्रतिनिधि पात्र म पनि हुँ ।

नारायण जोशी जस्तो शिक्षक सहप्राध्यापक पदमा नै सेवानिवृत्त हुनु निश्चय पनि खड्किने कुरा हो । स्वयम् लेखकले पनि यस विषयमा शान्त आक्रोश (Sailent Cry) पोखेका छन् । यथार्थमा त्यसको कारण स्वयम् लेखक नैहुन सक्छन । क्षमता भएर पनि अनुसन्धानमूलक कार्य अपेक्षित रूपमा नहुनु तथा विद्यावारिधि गर्न चासो नदेखाउनु जस्ता कारण पनि हुन सक्लान् । मेरो विचारमा सबैभन्दा ठूलो कारण राजधानीबाट बाहिर सेवा गर्दा प्राज्ञिक कार्यको अवसरबाट वञ्चित हुनु हो । यस विषयमा पुस्तकको भूमिकामा प्राडा भूचन्द्र वैद्यको टिप्पणीप्रति सहमत हुनै पर्छ ।

पुस्तकको विषयसन्दर्भमा तस्बिरको रखाइ भने मिलेको देखिँदैन । बाल्यकालको वर्णन गर्दा आफू वयस्क हुँदाको तस्बिर राखिएको छ भने आफू कलेज पढ्दाको स्मरण गर्दा हालको क्याम्पसको तस्बिर राखिएको छ । तस्बिरहरू यथास्थानमा राखेको भए उपयुक्त हुने थियो ।

यो जीवनयात्रा लेखकको परिवारका लागि त वंशावली नै हो । आफ्ना पिताजीका हालसम्मका सन्ततिहरूको उल्लेख भविष्यका जोशी सन्ततिका लागि कोसेली हुन सक्छ । परिशिष्टमा राखिएका सामग्री पनि उपयोगी नै छन् ।

आत्माकथा लेखनको परम्परामा एउटा दोषबाट भने लेखक पनि मुक्त रहन सकेका छैनन्, त्यो हो आफ्नो प्रशंसामा धेरै शब्द खर्च गर्नु । जीवनको कमजोर पक्षको मूल्याङ्कन गरेको भए अति उत्तम हुने थियो । कमजोरी विनाको व्यक्ति हुँदैन भन्ने सत्य उनले पनि मनन गरेकै तथ्य हो ।

समग्रमा भन्नुपर्दा व्यक्ति एक प्रतिभा अनेक भएका मानवताका हिमायती नारायण जोशीको यो जीवनयात्राले अनुसन्धानकर्ताका लागि मौलिक स्रोत प्रदान गरेको छ र भविष्यका लागि नमासिने कोसेली उपलब्ध गराएको छ । ‘बूढा मरे भाका सरे’ भन्ने उखानलाई चरितार्थ पार्ने जोशी दाइबाट यस्तै अन्य कृतिको अपेक्षा पाठकले गरेका छन् ।

नेपालको आत्मकथा लेखन परम्परालाई निरन्तरता दिएकोमा लेखक बधाईका पात्र भएका छन् । अन्तमा, हार्दिक बधाई ! प्रिय नारायण जोशी दाइ ! अस्तु ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *