नेताहरुका नाममा समवेदना
|हाम्रो जनबोलीले यसो पनि भन्छ- राजा मरेर काज रोकिंदैन।तर राजतन्त्रको अन्त्यपछिको नेपालको राजनीतिमा राजनीतिक दलका नेताहरूले जिउँदो छँदा छँदै पनि आँफू पदमा वा सतामा नरहे राज्यका कामकाज नै रोकिने ठान्ने गरेका छन् । उनका गति,बिधि र मतिले पनि यही सङ्केत गर्छ । उदाहरणका लागि अन्य धेरै हुनसक्छन् तर अहिले चर्चा गरौं आदरणीय कामरेडत्रय माधब कुमार नेपाल,झलनाथ खनाल र वामदेव गौतमको । अर्को कुनै सन्दर्भमा सम्माननीयत्रय शेरबहादुर देउवा,रामचन्द्र पौडेल वा प्रचण्डको प्रसङ्ग पनि उदाहरणमा दिन प्रयास गर्नेछु ।
मदन भण्डारीको दुखद निधनपछि अपुतालिमा प्राप्त पार्टीको प्रमुख पद अर्थात महासचिबमा १५ बर्षसम्म मात्र रहनु भएन कमरेड नेपाल प्रधानमन्त्री पनि हुनुभयो । चुनाव हारेर पनि चार बर्ष चुप लाग्न वा पार्टीमा मात्र रहेर काम गर्न चाहनु भएन र सांसद बन्न सक्ने कैफियत बाटो भएर प्रधानमन्त्री पदको झण्डा पनि ओड्नुभयो । अहिले पनि मिले पार्टी अध्यक्ष,नमिले राष्ट्रपति वा प्रधानमन्त्री नै सही माधव नेपालको निष्ठा यसैमा देखेर जगत लज्जित छ ।
गत सालको संसदीय निर्वाचनमा कमरेड रामदेव गौतम पनि बर्दियामा पराजित हुनु भयो । आफ्नो पराजयका बारेमा उहाँले पछिल्लो पटक कान्तिपुरको (फ़ायर साइड) अन्तर्वार्तामा १० मिनेटसम्म जुन विश्लेषण वा उदाहरण प्रस्तुत गर्नु भयो त्यो प्रकारान्तरले उहाँ पराजित हुनु हुन्न भन्ने नै छ वा हराइयो भनेर प्रमाणित गर्न खोज्नु भएको छ । सामान्यरुपमा मैले जनताको मत पर्याप्त पाइन् र पराजित भएँ भनेर उहाँले एकै वाक्यमा भन्न सक्नु/चाहनु भएन । नेताले परिणामलाई स्विकार गर्नु पर्छ कि पर्दैन ? निर्वाचनको परिणामपछि छानबिन गर्ने भनेको के हो ? हार्नै नहुने थियो भने संविधानत यी यी नेताहरूका लागि टिके आरक्षण राखिएको छ नै भनेर व्यबस्था गर्न मिल्दैन थियो र ? अन्यथा जनमत अर्थात निर्बाचनभन्दा राम्रो छानबिन अर्को के हुन्छ ? जनताको मतको अविश्वास जनमतको अपमान हो । निर्वाचनमा भाग लिने र हारेपछि छानबिन गर्ने योभन्दा अर्को हास्यास्पद र लज्जास्पद के हुनसक्छ ? निर्वाचनमा भाग लिनु भनेको नै हार र जीत दुवै स्विकार गर्न हो । मैले जितिन त्यसैले घात अन्तरघात भो भन्ने बाल हठ गर्न बामदेब गौतमका लागि सुहाउने अभिनय होइन ।
बर्दियामा होस् वा प्युठानमा पार्टी सङ्गठन उहाँले नै गरेको कारण आजीवन चुनाव जिताउनु पर्ने जनता वा पार्टी कार्यकर्ता बामदेव गौतमका रैती/दास वा के हुन् ? क्षतिपुर्तिमा दलित महिला वा जनजाति कुनै कोटामा आफ्ना परिवार छुटाउन नहुने हो र ? हारको बारेमा त्यती लामो विश्लेषण गर्न सक्ने कमरेडले हारे पनि कुनै गुनासो छैन त्यसको क्षतिपूर्ति आफ्नै जाहान मार्फत लिएँ र मौका पर्दा यस्ता अवसर फेरि कहाँ छुटाउँथे र भन्न खै सकेको ? हुनसक्छ यदि नाबालकहरुको कोटा पनि छ भने यिनका नाति नातिनाहरू पनि छैनन् र ?
अब यहाँ नामै उल्लेख आदरणीय नेतागणले हामीले केही गर्न सकेनौं वा जनमत पनि प्राप्त गर्न सकेनौं ? हामीले सकेको जानेको आधा सताब्दीसम्म गरिसक्यौं । अब नयाँ पुस्तालाई अघि सार्छौं भनेर किन भन्न सक्नु हुन्न ? हिजो हामीले गर्दा गर्दै नभ्याएको वा हिजो नजानेको र अहिले जानेको कुनै काम पो सक्नु पर्ने छ कि ? अन्यथा अब यी नेताको सिङ्ग पुच्छर केही पलाएर थप कुनै चमत्कार पो गर्नु हुन्छ कि ? आशा यही मात्र हो !
अशोक राई,अर्को एउटा ज्वलन्त उदाहरण हुनुहन्छ-तत्कालीन अबस्थामा एमालेका वरिष्ठ नेता र उपाध्यक्ष अर्थात अहिलेका वामदेव गौतम सो सरह वा अझै अगाडि पनि । तर एमाले पार्टी छोड्नु भयो रपनि एमाले आफ्नै गतिमा छैन र ? मानेकै हो मदन भण्डारी महान हुनुहुन्थ्यो तर आकस्मिक र असामयिक निधन भयो । मदन भण्डारीको निधन पछि एमालेको नेतृत्व माधव नेपालले गर्नुभएको होइन र ? मनमोहन अधिकारी सबैको लागि आदर्श मानिनुहुन्थ्यो तर बोल्दा बोल्दै ढल्नु भयो । ढल्नु पहिले राष्ट्रलाई दिन पर्ने भन्न पर्ने त्यही पद मात्र थियो होला र ? अहिले एमाले र माओवादी पार्टीबीच एकताको सन्दर्भमा पनि हलो अड्काएर गोरु चुट्ने काम भएको देखिन्छ । पार्टी अध्यक्ष मात्र होइन प्रधानमन्त्री बनेर चमत्कार गरिसक्नु हुने झलनाथ खनालले ज़िम्मेवारी पाए राष्ट्रपति बनेर फेरि पनि आकाश पाताल जोड्ने थिएँ भन्न छोडेर दुवै पार्टीका पहिलो पंक्तिमा उभिएका हामी १० जनाले पदको मोह त्यागौं भनेर मुख खोल्न किन सक्नु हुन्न कमरेड झलनाथ खनाल ?
अर्को कुरा नेपाली सञ्चार माध्यम पनि यो आधा शताब्दीको नेपालको राजनीतिमा कुनै चमत्कार गर्न नसकेका ४-५ वटा दलका यिनै ४०-५० जना पदलोलुप नेताको वरिपरि घुमिरहेको किन होला ?! यो कान्तिपुरको बामदेव गौतमसँगको बार्ता पनि त्यसैको उदाहरण हो । नेताहरूले बिहान जे भनिरहेका छन् बेलुका त्यो हुँदैन । बेलुका जे भनिरहेका छन् बिहान त्यो हुँदैन किन ? बामदेब गौतमले यस बार्ताको शुरुका १० मिनेट आफूले हार्नै नहुने कुरा गर्नु भएको छ तर हार्नु भएको जगजाहेर छ । बाँकी कुरा बाम एकताको भ्यागुताको धार्नी पुर्याउने कुरा । यो पनि अहिलेको परिणामले देखिइसकेको
छ ।
जबसम्म राज्य वा जनस्तरका सबै अबसर प्राप्त गरेका अग्रज नेताहरूले किनारा लागेर नयाँ पुस्तालाई बाटो दिनुहुन्न देशको अग्रगति वीरबलको खिचड़ी मात्र हुनेछ । ज्ञात अज्ञात सबै पहिलो पुस्ताका नेताहरूमा एक मुष्ट समवेदना । इहलोकमा रहर पुगुन्जेल पदमा बसेर जीवन त्याग्ने सपना पुरा गर्न नसकेर परलोकमा भड्किएका ती सबै नेताहरूको आत्माको शान्तिकाको कामना । शान्ति ! शान्ति !! ॐ शान्ति !!!