‘तबेलामा घोडाहरू’ले बोकेका नारी चेतना

(कृष्णनील कार्की)

कवि परिचय : डा. इन्दु प्रभा देवीको कविता सङ्ग्रह ‘तबेलामा घोडाहरू’ असम नेपाली साहित्य सभाको मङ्गलदै ( असमको एउटा जिल्ला) मा ५ अगष्ट सन् २०१८ मा भएको कार्यनिर्वाहक सभामा कविबाटै प्राप्त भएको हो । असमेली सशक्त नेपाली कविहरूको नाम आउँदा इन्दुजीको नाम सोझै आउँछ । यो कृति उनको सातौँ कृति हो अनि कवितामा लिमारिकलाई छोड्नु हो भने तेस्रो कृति हो ।

डा. इन्दु प्रभा देवीको जन्म सन् १९६९ को १ एप्रिलमा असमको विश्वनाथ जिल्ला अन्तर्गत गमिरि गाउँमा भएको हो । बुबाको नाम पुष्प दवाडी र आमाको नाम राधिका दवाडी हो । गुवाहाटी उच्च न्यायालयका   अधिवक्ता  नित्यानन्द उपाध्याय उनका पति हुन् । उनले असमिया र नेपाली दुवै भाषामा एम. ए गरेकी छन् भने  लोकसंस्कृतिमा एम. फिल र असमिया र नेपाली भाषाको रूपतत्त्व विषयमा  विद्यावारिधि उपाधि पनि हासिल गरेकी छन् । इन्दु प्रभा गौहाटी विश्वविद्यालयको असमिया विभागकी विद्यावारिधिकी  शोध निर्देशक पनि हुन्।  यिनी नेपाली साहित्य सभा, असम साहित्य सभा, असम लेखिका संस्थाजस्ता साहित्यिक संस्थाहरूसित सङ्लग्न छिन् ।

गौहाटीको बि बरुवा कलेजमा असमीया विभागकी विभागप्रमुखको  दायित्व निर्वाहसहितै विभिन्न साहित्यिक संस्थाहरूमा पनि सक्रिय भागीदारिता रहेर आफ्नो सिर्जनालाई निरन्तरता दिइरहेकी इन्दु  प्रभाजीको सिर्जनाको मूल क्षेत्र कविता, कथा र उपन्यास हो। हालसम्म यिनका प्रकाशित कृतिहरू यस प्रकार छन् – माधव कन्दलि र रामायण ( नेपालीमा अनुवाद- २००६), सपनाको जरो पहिल्याउँदै (कविता सङ्ग्रह-२००७), शब्द-शिल्पर कारुकार्य (असमिया निबन्ध सङ्कलन- २०१०), एक सय लिमारिक- (२०११), ती पाइलाहरू ( कविता सङ्ग्रह- २०१२), प्राप्ति अप्राप्ति ( कथा सङ्ग्रह- २०१७), तबेलामा घोडाहरू (कविता सङ्ग्रह-२०१८), जलप्रपात (असमिया कविता सङ्ग्रह- २०१९), रुद्ध अनिरुद्ध ( कथा सङ्ग्रह – २०१९), अनुहारभित्रको आकाश ( उपन्यास- २०२१) । असमियामा उनका सह सम्पादित केही कृतिहरू पनि छन्। शिशु शिक्षा समिति , असमको ‘विद्या भारती संवाद’ पत्रिकाकी उनी  सम्पादिका हुन्। आफ्नो साहित्य कर्मबाट निकै पुरस्कार पनि बटुल्न सक्षम भएकी छिन् इन्दुजी । उनले प्राप्त गरेका पुरस्कारहरू हुन्-  हरिभक्त कटुवाल स्मृति पुरस्कार ( गुवाहाटी कला निकेतन- २००८), कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार ( असम नेपाली साहित्य सभा- २०१६), हाम्रो गौरव राष्ट्रिय सम्मान ( हाम्रो स्वाभिमान-२०१७), श्रीप्रसाद ओली स्मृति साहित्य पुरस्कार ( लेखनाथ पुस्तकालय, चन्द्रगढी, झापा -२०१९)।

विषय प्रवेश  : ‘तबेलामा घोडाहरू’ कविता सङ्ग्रहमा लामा- छोटा गरी कुल ५० वटा कविताहरू समाविष्ट छन् । १११ पृष्ठको यस कृतिको मूल्य १२० रुपियाँ रहेको छ । पूर्वायण प्रकाशन, गुवाहाटीमा छापिएको यस कृतिको मिल्दोजुल्दो आवरण पृष्ठ सञ्जीव बराले बनाएका छन् । आवतणको पछिल्लो पृष्ठमा कवयित्रीको फोटोसहितै परिचय राखिएको छ। वरिष्ठ सर्जक जय क्याक्टसले ‘कवि इन्दु प्रभा आफ्ना कविताहरूमा’ शीर्षक भूमिका लेखेका छन्। यिनका यस कृतिका कविताहरूले प्रतीकात्मक र बिम्बात्मक संरचनाको ढाँचा अँगालेका छन् । यसै कृतिमा पहिलो, दोस्रो र तेस्रो कविताको शीर्षक तबेलामा घोडाहरू रहेका छन् र यसै शीर्षकबाट कृतिको नामाकरण पनि गरिएको छ । कविताहरूमा रहेका शीर्षकसित सोझै विषयवस्तुको अन्त: सङ्गति रहेको पाइन्छ ।

सामाजिक विसङ्गति र अस्तित्वबोधका चेतनाका कविता लेख्न रुचाउने कवि इन्दुजीले जटिल स्थितिबोधका दोधारेपन सहितै नारी पीडा, चुनौती र अन्तस्करणको अग्निज्वाला आदिको चित्रणका माध्यमबाट युगीन यथार्थको रहस्योद्घाटन गरेकी छन् ।

विषय विस्तार  :  यस कृतिका कवितामा अभिव्यक्त नारी चेतनालाई मूल उद्देश्य बनाएर यस लेखलाई अघि बढाइने छ ।
नारीहरू पौराणिक कालदेखि नै सृष्टिकर्ताका रूपमा चिनिन्छन् । नारीहरू सन्तान उत्पादन गर्ने मसिन भन्ने गलत सोच र लैङ्गिक असमानताको कहरले गर्दा सृष्टिकर्ताका रूपमा मानिने नारी आजको समयमा पनि पीडित, शोषित हुनु लज्जास्पद कुरा हो । धर्मले लक्ष्मी, सरस्वती, दुर्गाका रूपमा पूजा गर्ने महिलाहरूलाई किन खुलेआम बलात्कार गरिन्छ ?  किन सुन्दर नारीको मुहारलाई एसिड प्रहार गरेर कुरूप बनाइन्छ, किन पुरुषसरि नारीहरू मुक्त मनले एक्लै कतै पनि सुरक्षितरूपले हिँडडुल गर्न सक्दैनन् ? किन समाजले कस्तो दोहोरो चरित्र खेलेको त? भन्नु र गर्नुमा फरक किन? पुरुषप्रधान समाजमा नारी स्वतन्त्रता केवल चर्चाको विषय मात्रै बनेको छ । वास्तव क्षेत्रमा यसको कुनै असर देखिँदैन । अहिले पनि नारी केवल पुरुषको खिलौना मात्रै रहेको कुरा सामाजिक तौरमा देख्न पाइन्छ ।

कवि इन्दु प्रभाजीका कवितामा पनि विविध रूपका नारी पीडाहरूलाई अभिव्यक्त गरिएको छ । यसै लेखमार्फत यस कृतिभित्रका कविताहरूमा नारी चेतनालाई चर्चा गरिनेछ ।

नारी एउटीले सन्तानहरूको भरसक ख्याल गर्ने गर्छन् । सन्तानको सपना साकार पार्न एउटी नारीले उठाएको यथार्थलाई कवयित्रीले अभिव्यक्त गरेकी छन् । सन्तानप्रति र  भविष्यप्रतिको दायित्वबोध कत्ति पनि कमी नहुने तर आफ्ना यी सपनाहरूबाट भाग्नु पर्ने कठोर  स्थिति कवितामा यसरी प्रकट भएको छ-

मेरापछि बग्दै आएका यी नदीहरू मबाट लहर माग्दैछन्
मेरापछि उम्रदै गरेका यी रूखहरू मबाट गीत माग्दैछन्
मेरापछि सुतेका यी बाटाहरू मबाट गति माग्दैछन्
अनि म
आफ्नै सपनाहरूबाट भागिरहेकी छु लुकिरहेकी छु
लुकिरहेकी छु भागिरहेकी छु
कस्तो कठिन यो अज्ञातवास । ” ( यो अज्ञातवास, पृष्ठ- २२)
नारी असुरक्षाको भावना विस्तारित भएर होला, दिउँसोका परिचित अनुहार पनि अँध्यारामा राक्षसजस्तै लाग्छन्। शोषण र अत्याचारको बलि आज होइन युगौंदेखि नारी भएको यथार्थलाई कवयित्रीले यसरी भन्न खोज्छिन् –

दिउँसोका परिचित रूखहरू राति राक्षसजस्तै लाग्छन् उसलाई
हावा पनि त्यहाँनेर दुर्गन्ध श्वासजस्तो गन्हाउँछ
रूखका हाँगाहरू राक्षसका हातजस्तै हुन्छन्
जुम्राले ती नै हातमा झुन्डाएर उसलाई गलल्ल हाँस्छन्
सानामा सपनामा कहालिन्थी
हिजोआज विपनामा
उसले युगौँदेखि हजारपल्ट आर्तनाद पोखेकी छे । ”   यस कवितामै  उनी लेख्छिन- कति जुम्रा त आमाले पनि मारेकी हुन्।  तर हिजो आज अजम्बरी भए जुम्राहरू,  साहसी भए जुम्राहरू, छापछाप्ती भए जुम्राहरू”।
( जुम्राले जन्माएको आर्तनाद, पृष्ठ – २४)

दु:ख- पीडा र प्रताडनामा पिल्सिएकी नारीको व्यथा केवल नारीकै मात्रै रहेको, कसैले पनि नारीहितमा नबोलेको तर रमिता मात्रै हेरेको देखेर कवयित्रीको मन सागरको ज्वारभाटाझैँ उर्लिएर आक्रोश पोख्न तत्पर भएको छ-
” वारिपारिका किनारसित अर्जी गर्छे ऊ बारम्बार
तर किनारले पनि नाङ्गो उसलाई रमिता हेरेझैँ हेरिरहन्छ
ऊ ज्वारभाटाले किचेकी सागरै हो
उर्लन्छे तर
अब उर्लन्छे । “ ( सागरै हो ऊ, पृष्ठ- ३१)

राजमार्गमा भेटिएको युवतीको लासले मानवताको तस्बिर छर्लङ्ग पार्दै दूरदर्शन, खबर कागत, सोसियल साइट सबैतिर छायो । लासलाई लिएर पनि जात- धर्मको राजनीति गर्नेहरू नैनाथ थिए लासमाथि नुन छर्न । लास भएर पनि धर नपाइकी एउटी युवतीको पीडालाई मार्मिक तरिकाले प्रस्तुत गरेकी छन् कवयित्रीले-


” लास खटपटियो रनाहामा
खोलेर उसले जीउका जोर्नीहरू
हड्डीको बीटो बनायो
गल्न लागेको आफ्नै मासु पोकामा हाल्यो र त्यहाँबाट फुत्त निस्कियो
गन्धसित खप्पिस मर्गरक्षक रक्सी पिएर बसेको थियो दैलामै
उसले करायो- हैन जा बाहिर यो मध्यराति
समात्लान् नि कसैले मार्लान् नि
छोरी मान्छे । “ ( नचिनिने लासको भाषा, पृष्ठ- ३३)

सधैँ गाईलाई डोरीले बाँधेजसरी नारीलाई पनि पुरुष शासित समाजले अनेकौँ बन्धनमा बाँधेर आफ्नो हक देखाउँदै अधीनमा राख्न खोज्छ । यस्तै नारी मनको पीडालाई कवयित्रीले अभिव्यक्त गर्न खोजेकी छन् प्रस्तुत कवितामार्फत –

आज बुढेसकालको क्षितिजनेरि टक्क उभिएर
ऊ नयाँ प्रश्न एउटा केलाउँदैछे-
ए गाई
खानै नसकिने घाँस तान्न पनि
किन सधैँभरि तेरा घाँटिमा डोरी
डोरीमा कीलो अनि
कीलोमा मुङ्ग्राको चुटाइ ? ” ( कसका हातका मुङ्ग्राले ठोकेको छ, पृष्ठ- ४०)

परिस्थितिको दास बन्दै नारीले आफ्नो पीडा लुकाएर जीवन धानिरहेका छन् । सुदिनको पर्खाइमा नारीले दुर्दिन मात्रै बढी भेटेका छन् । उज्यालो मनपर्ने नारीहरू अँध्याराको खाडलमा छोपिएका छन् । नारी अन्तरको वेदनामा कवयित्रीको मन रोएको छ । त्यसैले उनी भन्छिन् –

यसैगरी निर्मित भई तिलमाया
छाँयाको बाक्लोचाक्लो अँध्यारोसित
उसको लासलाई पनि घोच्ने आँखाहरूसित

घरको भित्ताको विवश ईश्वरको फोटोजस्तै
विवश खुल्ला ढोकासित । “ ( यसैगरी निर्मित भई तिलमाया, पृष्ठ- ५२)

अनेकौँ पीडा सहन गरेर पनि नारीले सुख- समृद्धिका लागि दिनरात खटेका हुन्छन्। आफू भोकै बसेर घरकालाई खुवाउने पक्षमा हुन्छन्। आफ्नो पीडा लुकाएर अरूको मुहारमा खुसी ल्याउन प्रयत्नरत हुन्छन्। किनकि सृष्टिकर्ताको भूमिका उसैले निर्वाह गर्नुछ । उसैले जन्माउनु छ सृष्टि थाम्ने हातहरू । त्यसैले कवयित्री भन्छिन् –

” ऊ रोपाहार हो
ऊ घाम रोप्छे
जून रोप्छे
अनि रोप्छे आफैलाई
उसकै हातमा मगमग अनन्त कालको बीउ । “ ( चर्के घाममा ऊ घाम रोप्छे, पृष्ठ- ६६,६७)

दिनभरि घरेलु काममा व्यस्त रहने नारी राति पनि मानसिक र शारीरिक  रूपमा अशान्तिकै काखमा टाउको राखेर निदाउने प्रयास गरेकी हुन्छे । उसलाई घरबाहिर र घरभित्र पनि हाप्सिलोहरूको पिर हुन्छ । त्यसैले होला कवयित्रीले एउटा नारीको संवेदनालाई प्रस्तुत गर्ने क्रममा समयको आह्वानलाई आक्रोश सहित अभिव्यक्त गरेकी छन् –

” भोलिको बिहानीमा
गङ्गामायाका आँखामा आगो हुनेछ
रुगा लागेको समयका मुखहरू
डढाउनलाई । “(गङ्गामायाको घरबाहिर घरभित्र, पृष्ठ९९)

निराशाले सताएको मुहूर्तलाई पनि कवयित्रीले कवितामा सुन्दर तरिकाले सजाएकी छन् । आशा र विश्वासको पोको लिएर कसैको प्रेम पाउन निस्किएकी नारीले जब निराशा र तकलिफ मात्रै झेल्नुपर्छ तब उसको मुहारको चम्किलोपन हराउनु स्वाभाविक हो । नारीमाथि हुने यस्ता पीडादायक अवस्थालाई इन्दुजीले कवितामा यसरी अभिव्यक्त गरेकी छन्-

” रित्ता गाग्रा बोकेर
साँझमा फर्किआएका तरुनी राधाहरूका आँखामा
अहिले पौडिरहेका छन्
मरेको नदीमा हराएका आफ्ना अनुहार। “ ( यी राधाहरू यी कृष्णहरू , पृष्ठ- ११०)

निष्कर्ष :  इन्दुजीका कवितामा नारीमुक्ति र समानताका दमित चैतन्यका प्रकाश्यरूप पनि पाइन्छ । कल्पना र चिन्तनको भरमा सिर्जिएका यिनका कवितामा निराशावादी धुन भन्दा पनि आशावादी र जीवनवादी धुन नै बढी गाइएको पाइन्छ । प्रस्तुत कृतिमा नारीलाई यिनले जननी,चेली प्रेमिका, पत्नी, खेतालाजस्ता विविध रूपमा प्रस्तुत गरेकी छन्। यस कृतिमा एउटी नारीले विभिन्न रूपमा सामना गर्नुपर्ने पीडालाई आत्मसात गरी नारीप्रतिको सम्मान र श्रद्धाभाव मुखरित गरेको पाइन्छ । नारीलाई सम्मान र श्रद्धासहित जननीको आँखाले हेर्नु र पुरुषकै झैँ समअधिकार र स्वतन्त्रता पाउनु नारीको हक-अधिकार हो भन्ने पक्षमा रहेका इन्दुजीका कविताहरूमा पाइने एउटा मूलभूत वैशिष्ट्य हो । बिम्ब र प्रतीकको तालमेलमा कलात्मक तरिकाले बनिएका हरफहरू सजिलै चाहिँ बुझिदैनन् । एक- दुईचोटि पढ्दा कविताले भन्न खोजेको कुरा अवश्य समात्न सकिन्छ। नयाँ परिपाटीमा लेखिएका कविताले नौलो काव्यिक स्वाद दिन सफल भएको देखिन्छ । तबेलामा घोडाहरूको हिनहिनाहट सुन्ने आग्रह हुँदा अवश्य यो कृति पढ्नुपर्ने हुन्छ । कृति सङ्ग्रहनीय र पठनीय बनेको छ भन्न सकिन्छ। इन्दुजीबाट अझ सुन्दर काव्यकृति पाउने आशा हामीले गर्नैपर्छ ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *