दायित्वबोधबाट भाग्दै छ मान्छे
|पारस्परिक विश्वास डगमगाएर
विभ्रान्त छ्न् पाइलाहरू
हिजोको “बसुधैव कुटुम्बकम” कसैले घोक्तैन
स्वार्थले कतै पुच्छर हल्लाउँदै छ
कसैको अनुहार सुमसुम्याउँदै छ
कोडीका पाउमा लम्पसार छ समय
स्वार्थको झोला भर्न तम्तयार छ
मैले भोगेको वर्तमान
दायित्वबोधबाट भाग्दै छ मान्छे द्रुत वेगमा
दलेर आफ्नो दोष अरूको निधारमा
शोषणको बाटो चारैतिर सफा छ
लुटिएको छ अबलाहरूको अस्मिता
कुल्चिएका छन् फुल्न नपाएका कोपिलाहरू
मेटिएका छन् दोषीका दोष कागजको नम्बरमा
धन-लोलुपता देखिँदै छ
कसैलाई कसैको चिन्ता छैन
मानवताका भजनहरू गाउन छोडे
मन्दिर मसजिदहरूले
आफ्नो दुनो सोझ्याउन मात्र कालो बजारी भइरहेको छ ईश्वर हिजोआज
संसारलाई चिरेर दुई फाल पार्ने कसरतमा
विलासीकता र मनोरञ्जनको बजार छ
अर्कोतिर पापी पेटको सवाल हल गर्न गरिबीको
हाहाकार छ
भ्रष्टाचारलाई नै शिष्टाचारको मान्नता दिन तत्पर छन्
एकहुल मुखौटाधारी
नैतिकता प्रदर्शनको बस्तु बनेर
झुन्डिएको छ दामी फ्रेमभित्र
हो, साँच्चै हो
यस्तै छ आज
सभ्यता विकासको सर्टिफिकेट भिरेर
प्रतियोगितामा कुदिरहेको समय ।
समय सान्दर्भिक कविता….