संस्मरण: विश्वविद्यालय कलेजमा दुई वर्ष
|विसं २०२७ साल चैतमा बिएको परीक्षाफल प्रकाशित भयो । जम्मा ६० जना उत्तीर्ण भएका थिए । तीमध्ये ६ जना दोस्रो श्रेणीमा र बाँकी तेस्रोमा उत्तीर्ण भए । धनकुटा कलेजबाट तीनजना उत्तीर्ण भएछन् । उत्तीर्ण भएको व्यहोरा खुलाई मित्र शिवशंकरले काठमाडौँबाट आवा (आकाशवाणी) पठाएँ । माधव मास्केका नाममा आकाशवाणी आएको थियो । जसको व्यहोरा यसप्रकार थियोः
माधव मास्के, माथिल्लो कोप्चे धनकुटा
बधाई तीर्थ र झालाई पनि –शिवशंकर ।
धनकुटाबाट बिए पास गरेका मेरा आफन्तहरू एमए पढ्न काठमाडौँ गएका थिए । मलाई पनि बिए पास हुनेबित्तिकै काठमाडौँ कैलै जाने, कुन विषय पढ्ने भनेर सोधनी गर्ने शुभेच्छुकहरू पनि धेरै थिए । घरको स्थितिले भनौँ या तात्कालिक परिवेशले खर्च पिटेर काठमाडौँ जाने अवस्था थिएन । त्यसैले पढ्ने खर्च जोहो गर्न जागिर खाने प्रबल इच्छा थियो । हुन त बिए परीक्षा दिनेबित्तिकै कामको खोजीमा झापाका विभिन्न ठाउँमा गएको थिएँ । त्यसबेला सहजै पाइने भनेको शिक्षकको जागिर नै थियो । त्यसैले तोपगाछी र झापाबजारस्थित हाइस्कुलमा शिक्षकका लागि कुरा भएको थियो । तोपगाछीमा धनकुटा कलेज नै पढेका अग्रज वेदबहादुर बस्नेत प्रधानाध्यापक थिए भने बुद्धदेवप्रसाद‘सारस्वत’ घिमिरे शिक्षक थिए । कुराकानी त भयो तर कमिजसुरुवाल लगाएको फुच्चे केटोलाई उनीहरूले पत्याएनन् । झापाबजारस्थित डिल्लीराज हाइस्कुलमा पनि कुरा चल्यो । त्यस ठाउँमा मित्र भरत पोखरेलले मेरा विषयमा बढाइचढाइ गुणानुवर्णन गरेका रहेछन् । तुरुन्त आउनू भन्ने खबर पाएँ । भद्रपुरबाट भरतले जागिर खान आउनू भनी पठाएको आवा र बिए उत्तीर्ण भएको आवा एकैपटक पाएँ । यसलाई मैले आफ्नो जीवनको एउटा सुखद संयोग मानेको छु ।
विसं २०२८ साल वैशाखदेखि डिल्लीराज स्कुल झापाबजारमा शिक्षक भएर कार्य गर्न थालेँ । उद्देश्य थियो, जागिर खाई केही रकम जम्मा पारेर एमए पढ्न काठमाडौँ जाने ।तिहारपछि काठमाडौँ जाने कुरा चल्न थाल्यो । दसैँपछि विश्वविद्यालयमा भर्ना पनि खुलेको थियो । झापामा काम गर्नुको उद्देश्य पनि केही रकम जम्मा गरी एमए पढ्नु थियो । गर्मीको छुट्टी र दशैँमा घर जाँदा भएको पैसा उतै बुझाएको थिएँ । त्यसैले एक वर्ष जति काम गरेपछि मात्र पढ्न जाने सोच बनाएँ । तर, २०२८ साल कात्तिकमा कृष्णप्रसाद पोखरेलले काठमाडौँ जाने र डा रामप्रसाद पोखरेलको क्लिनिकमा काम गर्ने व्यवस्था मिलाइदिनुभयो । जसमा दाजुले पनि सहमति जनाउनुभएको थियो । दाजु कात्तिकमै झापा आउनुभयो र काठमाडौँ पढ्न जाने सल्लाह दिनुभयो । म असमजमा परेँ । अन्ततः काठमाडौँ जाने नै निधो गरेर विद्यालय तथा शुभेच्छुकलाई खबर गरेँ । यो खबर स्कुल तथा बजारमा फैलियो । टिडी सर, रोहिणी, राइटर साहेब, लड्डुसाहेब, गङ्गा असई, शालीग्राम असई, डिल्लीराज गणेश, फागुलाल कसैले पनि मेरो बहिर्गमन रुचाएनन् । सबैले अरू १ वर्ष त्यहीँ बस्ने सल्लाह दिए । लड्डुसाहेबले त मेरो विवाह समेत गराउने सोच राख्नुभएको रहेछ । सबैतिरको अनुरोधबाट मेरो मन पग्लियो । अरू एक वर्ष बस्ने निधो गरेँ । सोही कुरा हवाई पत्रमार्फत दाजुलाई जानकारी दिन बेलुका हुलाकमा पत्र खसाएँ । एउटा मात्र मन भए पो ? धेरैवटा मन भयो । एउटाले जाने भन्छ अर्काले बस्ने भन्छ । रातभरि छटपटी भयो । अन्ततः जाने नै निधो गरेँ । बिहानै हुलाक गएर हाकिमसित अनुरोध गरी हवाइपत्र फिर्ता लिएँ । धन्न चलान भइसकेको रहेनछ ।
मैले स्कुल छाड्ने कुराले फेरि तहल्का मच्चियो । मेरो दृढ विश्वास सुनेपछि बीचमै स्कुल छाड्न पाइँदैन भन्न थालियो । शैक्षिक सत्र पूरा गर्नुपर्ने नभए तलबभत्ता नपाइने जस्ता कुरा पनि भए । सञ्चालक समितिका सचिवले पनि सोही विचार व्यक्त गरेँ । मैले राइटर साहेब र थानेदारसँग मेरा धारणा राखेँ । मैले पढ्ने दृढ इच्छा देखाएपछि दुवैजना मेरो कुरामा सहमत हुनुभयो । उहाँहरूले मलाई तलबभत्ता दिई छुट्टी दिन टिडी सर र फागुलालजीलाई सिफारिस गरिदिनुभयो । उहाँहरूले भनेपछि अरूले नमान्ने कुरै भएन । मङ्सिर १४ गते जाने तय भयो ।सबै घरबाट मेरो बिदाइ हुन थाल्यो । विशेषगरी महिला समूह (आमाहरू)ले विस्मात गर्नुभयो । झापाबजारमा आएको रौनक चाँडै अस्ताएको समेत टिप्पणी भयो । स्कुलले बिदाइ समारोहको आयोजना ग¥यो । मालसामान खासै थिएन एउटा झोला न हो । मलाई बिदा गर्न विद्यार्थीहरू शरणामतीको बिरिङ खोलासम्म आए । त्यहाँसम्म आउनेमा रोहिणी र दुर्गा सर पनि हुनुहुन्थ्यो । झापाबाट बिदाइ भएर हिँडेको दिन गोलधापमा रहेको मैयाँ दिदीको घरमा बास बसेँ । भोलिपल्ट धरान पुगेँ, सम्झनामा हृदयभरि झापाबजार सँगालेर ।
धरान पुग्दा आमा त धनकुटाबाट सेलरोटी अनर्सालगायतका खानेकुरा लिएर आउनुभएको रहेछ । छोरो सानो, नेपाल जाने भनेदेखि नै उहाँलाई ठूलो चिन्ता थियो । आमाको मन न हो । सम्बत् २०२८ साल मङ्सिर १४ गते माधव दाइसित विराटनगरबाट प्लेन चढेर काठमाडौँ उडेँ । काठमाडौँ आएपछि पनि तीन महिनासम्म त झापाको सम्झनाले पिर्नुसम्म पि¥यो । बेकारमा काठमाडौँ आएछु जस्तो पनि लाग्यो । उतै बसेर एमएको प्राइभेट परीक्षा दिएको भए पनि हुने रहेछ जस्तो पनि लाग्यो । झापाको सरस जीवन छाडेर काठमाडौँको निरस जीवनमा प्रवेश गरेझैँ लाग्यो । विश्वविद्यालयका कक्षा सुरु भएपछि बिस्तारै मन बुझ्दै गयो । निकै छोटो समय बसे पनि मेरो जीवनमा दीर्घ छाप परेको ठाउँ हो, झापाबजार । मेरो दोस्रो घर नै झापाबजार हो झैँ लाग्छ, आज पनि । यद्यपि यी सबै आज केबल सम्झनामा सीमित छन् ।
झापाबाट मङ्सिर महिनाको १० गते धरान आएँ । माधव शर्मासित मङ्सिर १२ गते विराटनगरबाट जहाजमा काठमाडौँ आएँ । भाँडा थियो, १०७ रूपियाँ ।काठमाडौँ आएर नयाँसडकमा बस्न थालियो । मैले काम गर्ने क्लिनिक र डेरा एउटै फ्ल्याटमा थियो । विश्वविद्यालयमा भर्ना गर्ने म्याद त सकिइसकेको रहेछ । पढाइ भने सुरु भएको थिएन । डा रामप्रसाद पोखरेलले इतिहास विभागका तत्कालीन प्रमुख माधवराज पाण्डे सरलाई पत्र लेखिदिनुभयो । सो पत्र लिएर पाण्डे सर खोज्दै म कीर्तिपुर पुगेँ र भेट्टाएँ पनि । चिनेजानेका कोही पनि थिएनन् । पाण्डे सरले त्यो चिठी हेरेपछि तोक लगाइदिनुभयो, रघुनाथप्रसाद चौधरीलाई । उहाँ सुपरिटेन्डेन्ट प्रशासक हुनुहुन्थ्यो । रघुनाथ सरले फारम भर्न दिनुभयो । सो बुझाएपछि नाम निस्कियो र भर्ना भएँ ।
मङ्सिर महिनामा काठमाडौँ पुगेको थिएँ । फाल्गुनदेखि मात्र पढाइ सुरु हुने हुँदा फुर्सदै फुर्सद थियो । बेलुका मात्र क्लिनिकको काम हुन्थ्यो । क्लिनिकमा पनि पसल थापे जस्तो कहिलेकाहीँ मात्र एकदुईजना बिरामी आउँथे । कहिले त शून्य नै हुन्थ्यो । बेलुकासँगै रेस्टुरेन्टमा खाना खाइन्थ्यो, बिहान आफूखुसी । त्यसबेला हामी नयाँ सडकमा रहेको क्वालिटी, चेतना नेपाल कफी हाउस, हिलभ्यु माडवारी बासा, भोटाहिटीको रिगल र यदाकदा नयाँ सडककै इन्दिरा र पारस होटलमा खाना खाने गरेको सम्झना छ । यो प्रक्रिया करिब दुई महिनासम्म चल्यो । माघ महिनामा पकनाजोल डेरा सरियो । खाना कोठामा नै खान थालियो । नरेश भन्ने एकजना सहयोगी थिए । उनी नयाँसडकको क्लिनिक बसेको घरका धनी जंगबहादुर विष्टकहाँ काम गर्दथे । कोठा सर्दा उनी पनि हामीसँग आउन राजी भए, मैले साथी पाएँ ।
त्यस समय दुर्गा दिदी धनकुटा कलेजमा पढाउन थाल्नुभएको थियो । उहाँ जाडो छुट्टीमा काठमाडौँ आउनुभएको थियो । दुर्गा दिदीको आत्मीय साथ पाएपछि मेरो एक्लोपनपूरै हट्यो । उहाँले नै मलाई विश्वविद्यालय कलेजका प्राचार्य सूर्यबहादुर शाक्य, इतिहासका विभागका प्रमुख माधवराज पाण्डे लगायतको निवासमै लगेर परिचय गराइदिनुभयो । यसैगरी प्रेमनाथ अर्याल, चिरन्जीवी वाग्ले, रामशरण महत, अर्जुननरसिंह केसी, टीका पोखरेललगायतकाव्यक्तित्वसित मेरो परिचय गराइदिनुभयो । त्यहीबेला बागलुङबाट रामबाबु पोखरेल दाइ र कृष्णप्रसाद पोखरेल दाइ पनि काठमाडौँ आउनुभयो । रमाइलो हुँदै गयो । पछि प्रेमनाथ अर्याल त मेरो अभिभावक नै हुनुभयो ।
मैले इतिहास र नेपालीमध्ये एक विषयमा एमए गर्न पाउँथे । बिए पढ्दा नै इतिहासमा एमए गर्ने उद्देश्य राखेको थिएँ ।त्यसैले इतिहासमा नै एमए गर्ने निर्णयमा पुगे । विसं २०१६ मा नेपालमा नै विश्वविद्यालय स्थापना भएपछि धनकुटाबाटएमए पढ्न काठमाडौँ जान थाले । त्यसभन्दा पहिले बनारस र इलाहाबाद जाने गर्दथे । सूर्यबहादुर थापा, रामनारायण श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की तथा गोकुल पोखरेल जस्ता धनकुटेले उतै गएर एमए पढेका थिए ।
त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि मानविकीका विषयमध्ये इतिहासको पठनपाठन सुरु भयो । प्रारम्भमा कोलम्बो योजनाअन्तर्गत भारतका विश्वविद्यालयबाट आएका प्राध्यापकसमेत विभागमा सरिक थिए । तीमध्ये विक्रमजित हसरथले हिस्ट्री अफ नेपाल र एमएस जैनले द इमर्जेन्स अफ अ न्यु अरिस्टोक्रेसी इन नेपाल नामक पुस्तक नै लेखेका थिए । हाम्रो पालामा विभागमा नेपाली प्राध्यापकहरू संलग्न थिए । त्यसबेलामा लुडबिग एफ स्टिलर पनि नेपालको नागरिक भइसकेका थिए । प्रारम्भमा त्रिपुरेश्वरस्थित सरकारी पाहुना गृहमा विश्वविद्यालयको प्रशासनिक एवम् अध्यापन सञ्चालित थियो । विसं २०२४ सालमा सबै विषयका शैक्षिक कार्यक्रमहरू कीर्तिपुरमा स्थानान्तरण भएका हुन् ।
त्यसबेला धनकुटाका त्रैलोक्यनाथ पोखरेल एमए राजनीतिशास्त्र पढ्दै थिए । उनी पहिलो वर्षको परीक्षामा लेखिदिने मानिसको खोजी गर्न थालेका रहेछन् । डापोखरेल र माधव शर्माले मेरो नाम सिफारिस गर्नुभयो । त्यसका लागि म नियमित रूपमा कीर्तिपुर गएर पढ्न थालेँ । सहयोग गर्नेमा नरबहादुर बस्नेत तथा गोपाल पोखरेललगायत हुनुहुन्थ्यो । एक महिनासम्म मैले पनि विद्यार्थी नै हुनुप¥यो । नतिजा आउँदा ५४ प्रतिशत अङ्क आयो । अर्को साल दोस्रो वर्षको परीक्षामा त्रैलोक्यदाइको महङ्खवाकाङ्क्षा बढ्यो । प्रथम श्रेणी ल्याउने सुरमा जाँच दिने मान्छे अर्कै खोज्नुभयो तर नतिजा राम्रो आएन । मुस्किलले ४५ प्रतिशत अङ्क आयो । अर्को वर्ष मैले इतिहास पढ्ने रामप्रसाद पोखरेलको जाँच लेखिदिने भएँ । उनको ६० प्रतिशत अङ्क आयो । जेहोस् नेपालबाट पहिलो र दोस्रो एमए पास गर्ने दृष्टिविहीनको परीक्षामा लेख्ने अवसर मैले नै पाएँ ।
सम्बत् २०२८ साल फागुनमा कक्षा सुरु भयो । जयन्ती मल्ल, रुक्मिणी राणा, महन्थ ठाकुर, विजय मानन्धर, कृष्ण न्यौपाने, कृष्णप्रसाद भट्टराईलगायत सहपाठी थिए । घनिष्ठता भने महन्थ ठाकुरसित रह्यो । विश्वविद्यालय क्याम्पसका क्याम्पस प्रमुख सूर्यबहादुर शाक्य थिए । शिक्षकहरूमा माधवराज पाण्डे, लुडबिग एफ स्टिलर, तुलसीराम वैद्य, त्रिरत्न मानन्धर, हेमन्तशमशेर राणा र धनवज्र वज्राचार्य हुनुहुन्थ्यो ।
प्रथम वर्षमा माधवराज पाण्डेले हिन्दु पोलिटी, धनबज्र बज्राचार्यले नेपालको प्राचीन इतिहास, त्रिरत्न मानन्धर र स्टिलरले युरोपको इतिहास, हेमन्तशमशेर राणाले सुदूर पूर्वको इतिहास तथा पञ्चायत विषय पढाउनुहुन्थ्यो । स्टिलरले टाइप गरी साइक्लोस्टायल गरेका हेन्डस् नोट दिनुहुन्थ्यो । धनवज्र बज्राचार्य सरले नेपाली माध्यमबाट पढाउनुहुन्थ्यो भने अन्य सबैले अंग्रेजीमा नै पढाउनुहुन्थ्यो । धनवज्र वज्राचार्य तथा त्रिरत्न मानन्धर सरले प्राध्यापनका क्रममा कुनै सहायक सामग्री प्रयोग गर्नुभएन । पढाउने दिनको व्याख्यानका लागि पूर्ण तयारीसाथ आएको अनुमान हुन्थ्यो । म धनकुटा कलेजमा पढेको, जहाँ अंग्रेजीका प्राध्यापकले पनि हिन्दीमा पढाउँथे । त्यसैले सुरु–सुरुमा निकै मेहनत गर्नुप¥यो । आफूमा अंग्रेजी भाषाको दख्खल हुन नसकेकामा पनि कताकता हीनताबोध पनिहुन्थ्योतर यस्तो स्थिति दीर्घकालसम्म रहेन । प्रायः सबै गुरुहरूले व्याख्यान विधि नै अवलम्बन गर्नुहुन्थ्यो । तुलसीराम वैद्य सरले छलफललाई पनि प्राथमिकता दिनुभएको सम्झना छ ।त्रिरत्न मानन्धर सर विद्यार्थी माझ सर्वाधिक प्रिय प्राध्यापकहुनुहुन्थ्यो ।त्यस्तो टिप्पणी हामीभन्दा अगाडि र पछाडिका विद्यार्थीहरूलेसमेतगरेको सुनिएकै हो ।
दोस्रो वर्षमा नेपालको इतिहास माधवराज पाण्डेले, नेपालको सामाजिक–आर्थिक इतिहास तुलसीराम वैद्यले, अन्तर्राष्ट्रिय कानुन त्रिरत्न मानन्धर, स्टिलर र मञ्जु राजभण्डारीले पढाउनुभयो । मन्जु राजभण्डारीको नियुक्ति भर्खरै भएको थियो । विजय मानन्धरले शोधप्रबन्ध तयार गर्ने भए । अरू हामी सबैले निबन्ध नै लियौँ ।निबन्धका लागि १४ विषयमध्ये बाट ५ वटा प्रश्न आउँथे । तीमध्ये कुनै एक विषयमा निबन्ध लेख्नुपथ्र्यो, पूरा चार घण्टा । शोधप्रबन्धका लागि लामो समय लाग्ने तथा अलि बढी नै समय दिनुपर्ने हुँदा त्यसतर्फ लागिएन ।
त्यसबेला विश्वविद्यालय कलेजमाव्यवस्थापन संकायमा विद्यार्थी कम थिए दिनको दुईघन्टी मात्र पढाइ हुन्थ्यो । कलातर्फ ३ घन्टी पढाइ हुन्थ्यो भनेविज्ञान संकायमा बिहान १० बजेदेखि ४ बजेसम्मनै कक्षा सञ्चालन हुन्थे ।त्यसैले व्यवस्थापन तथा कला संकायतर्फका विद्यार्थीहरू फुर्सदिलाहुन्थे।उनीहरू पढाइबाहेक अन्य क्रियाकलापमा समेत संलग्न रहन्थे । विद्यार्थी राजनीतिमा पनि उनीहरूकैवर्चस्व सो थियो ।केहीले मात्रैनिजी सवारी प्रयोग गर्थे ।प्रायः सबैले सार्वजनिक यातायातमा प्रयोग गर्दथे ।हुनेखाने बाबुआमाका छोराछोरीहरूको फुर्तीफार्ती भनेत्यसबेला निकै चर्कोदेखिन्थ्यो ।
एमए प्रथम वर्ष निकै कष्टकर भयो । परीक्षा हुने समयमा जन्डिस भयो तर ठीक पनि भयो । परीक्षा दिन पाएँ । दशैँमा घर गएका गोविन्द र श्यामसुन्दर फर्किएनन्, पेटको समस्या र घरको नियास्रोका कारणबाट । झोँछेकै डेरामा रुद्रबहादुर बस्नेत आए, साथै बस्नेगरी । सोही ठाउँमा टेकबहादुर श्रेष्ठ पनि आए । धनकुटाबाट देवहरि पनि बिकम पढ्न आए । रमाइलो हुन थाल्यो ।
एमए प्रथम वर्षको परीक्षामा प्रथम श्रेणीको नम्बर आएकाले विश्वविद्यालयका साथीहरू पनि सन्निकट हुँदै आए । अब दोस्रो वर्ष प्रथम श्रेणी आउँछ कि आउँदैन भन्ने धुन लाग्यो । छुट्टीका दिनमा महन्थ ठाकुरसित पढिन्थ्यो । महन्थ शान्त स्वभावका अनौठा मान्छे थिए । जस्तोसुकै आपत् विपत्मा पनि सजिलै सहज हुन सक्ने अति आत्मस्वाभिमानी मित्र थिए । पछि बुझ्दै जाँदा मेरोभन्दा आर्थिक स्थिति उनको नाजुक रहेछ । एकपटक आर्थिक सहयोगको आशाले सूर्यप्रसाद उपाध्याय कहाँ पनि पुग्यौँ । दोस्रो वर्षमा पुगेपछि छात्रवृत्ति पनि पायौँ । सङ्कट कम हुँदै गयो ।
दोस्रो वर्षमा मेहनत प्रशस्तै गरियो । प्रथम श्रेणी आउँछ कि आउँदैन भन्ने चिन्ता थियो । हालसम्म पनि एमए परीक्षा तयार गरिरहेको परीक्षामा लेखिरहेको सपना देख्ने गर्दछु । सायद त्यसबेलाको धङधङी अहिले पनि लाग्दै छ ।
हाम्रो ब्याच पुरानो शिक्षाको अन्तिम ब्याच थियो । विसं २०३० सालदेखि नयाँ शिक्षा (राष्ट्रिय शिक्षा पद्धतिको योजना) लागु हुने निर्णय भइसकेको थियो । प्राविधिक शिक्षामा भने २०२८ सालमा नै नयाँ शिक्षा लागु भइसकेको थियो । हामी प्रथम वर्षमा हुँदा नै यस योजनाको विषयलाई लिएर मुलुकभरकै कलेजमा हडताल जुलुस जस्ता विरोधका कार्यक्रमहरू सुरु भए । सरकारको दमनपश्चात् जनआक्रोशझनै बढेर गयो । विश्वविद्यालय त उग्र हुने नै भयो । पञ्चायतविरोधीहरू सबैले यस हड्तालमा समर्थन जनाए । सरकारले साउनभदौ (?)तिर सम्पूर्ण कलेज बन्द गरेको सूचना ग¥यो । तसर्थ हाम्रो पठनपाठन बन्द भयो ।यसरी बन्द भएका कलेज २०२९ सालको दशैँपछि मात्र चालु भए । त्रिभुवन विश्वविद्यालय कलेज विद्यार्थी युनियनका सभापति वीरेन्द्रभक्त श्रेष्ठ बन्दी नै बनाइए । धेरै साथीहरू सरकारी धरपकट बाट बँच्न भूमिगत नै भए ।
हामी दोस्रो वर्षमा हुँदा पनि विश्वविद्यालय कलेजमा समयसमयमा हड्ताल भइरहन्थ्यो । विद्यार्थीको हड्तालमा पञ्चायतका इतर पक्षसधैँ एक हुन्थे र हडतालमा खुलेरै समर्थन गर्थे । यसै कारण विद्यार्थीहरूको आन्दोलन हुनेबित्तिकै कांग्रेस र कम्युनिस्टका नेताहरूलाई सरकारले बन्दी बनाइहाल्थ्यो । हामी दोस्रो वर्षमा हुँदा नै सूर्यबहादुर शाक्य पहिले शिक्षाध्यक्ष भए जुनबेला डा त्रैलोक्यनाथ उप्रेती उपकुलपति थिए । उप्रेतीको पदावधि समाप्त भएपछि सूर्यबहादुर शाक्य उपकुलपति,डा मोहनमान सैँजु शिक्षाध्यक्ष र जगतमोहन अधिकारी रजिस्ट्रार भए । त्यसबेलामा विश्वविद्यालयको केन्द्रीय कार्यालय किर्तिपुर स्थित स्मृति भवनमा नै थियो ।
विश्वविद्यालय कलेजको युनियनले विभिन्न माग राखी स्मृति भवन पुगेर धर्ना दिएको बेला रातारात केन्द्रीय कार्यालय कीर्तिपुरबाट त्रिपुरेश्वर स¥यो । कीर्तिपुरमा स्थान अभाव भएता पनि विद्यार्थीकै कारण केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको थियो ।युनियनले आफ्ना माग सुनुवाइ गराउन त्रिभुवन विश्वविद्यालय गेटमा अनशन नै बस्ने कार्यक्रमबनायो ।युनियनका अनेकौँ मागमध्ये एउटा माग स्वतन्त्र युनियनका सभापति मछिन्द्र पाठक र सचिव विश्वम्भर प्याकुरेललाई विनासर्त रिहाइ गरिनुपर्ने थियो । उक्त अनशन कार्यक्रममा अर्जुननरसिंह केसी, वीरेन्द्रभक्त श्रेष्ठ, प्रह्लाद कार्की, कविराज न्यौपाने, चूडाराज उप्रेतीलगायत थिए । हाम्रो कार्य भने उनीहरूको रेखदेख गर्ने नै थियो । हाम्रो विभागबाटकृष्ण न्यौपाने र महन्थ ठाकुर सक्रिय भएर आन्दोलनमा सहभागी हुन्थे । कतिपय प्राध्यापकहरूको पनि विद्यार्थी आन्दोलनमा परोक्ष रूपमा समर्थन रहन्थ्यो । मलाई भने पढाइपछि क्लिनिकको काम गर्नुपर्ने भएकाले आन्दोलनका कार्यक्रममा भाग लिने समय कम हुन्थ्यो ।
हाम्रो प्रथम वर्षको परीक्षा केन्द्र रत्नराज्यलक्ष्मी कलेजमा थियो भने दोस्रो वर्षको पब्लिक (अमृत) साइन्स कलेजमा थियो । परीक्षाको समय महन्थ ठाकुरसित नै मेरो धेरै समय व्यतीत हुन्थ्यो । मैले पहिलो वर्ष उपकुलपति आंशिक छात्रवृत्ति र दोस्रो वर्ष जेहेन्दार छात्रवृत्ति पाएको थिएँ । पहिलो वर्ष आर्थिक संकट नै प¥योतर दोस्रो वर्षमा भने केही सहज भयो ।
विश्वविद्यालयमा पढ्दा राजनीतिक तथा अन्य कार्यक्रममा भाग लिने मौका नै मिलेन । स्रोत र समय दुवैको अभावको रह्यो । त्यसबेला विद्यार्थी युनियनको निर्वाचनमा मुलुककै ध्यान आकर्षित हुन्थ्यो । चुनावलाई सबै पक्षबाट महङ्खव दिइन्थ्यो । हामी प्रथम वर्षमा हुँदा युनियनको निर्वाचन भयो । मच्छिन्द्रपाठक सभापति र विश्वम्भर प्याकुरेल सचिव बने । दीपेन्द्रबहादुर क्षेत्री र माधवप्रसाद नेउपाने क्रमशः सभापति र सचिवमा पराजित भए । महन्थ ठाकुर मलाई राजनीतिमा नलाग्न सुझाउनुहुन्थ्यो । आफू भने परोक्षरूपमा सक्रिय हुनुहुन्थ्यो । हाम्रै साथी कृष्ण न्यौपानेले पनि सभापतिका लागि पहल गर्नुभएको थियो तर नेपाल विद्यार्थी सङ्गठनमा उहाँको पूर्वकार्यकलापका कारण टिकट पाउन नसकेको भन्ने चर्चा चल्यो । सोही बेलामा राष्ट्रिय शिक्षा नीतिको विरोधमा विद्यार्थी आन्दोलन भयो । मच्छिन्द्र पाठक र विश्वम्भर प्याकुरेल दुवै जेल पर्नुभयो । मच्छिन्द्र पाठक भने लामै समयसम्म जेल पर्नुभयो । मच्छिन्द्रपाठक सच्चा प्रजातन्त्रप्रेमी हुनुहुन्थ्यो । उहाँले २०४६ को परिवर्तन नै देख्न पाउनुभएन । अल्पायुमै उहाँको निधन भयो ।सबै राजनीतिक पार्टीमाथि प्रतिबन्द लागेकाले निर्दलीय पञ्चायती व्यवस्था थियो । तर, विश्वविद्यालयमा पञ्चायत पक्षधर विद्यार्थीहरू ज्यादै न्यून थिए । त्यसैले विद्यार्थी युनियनमा उठ्ने कसैले साहस नै गरेनन् । त्यसबेलामा विश्वविद्यालयमा कांग्रेस समर्थक र कम्युनिस्ट समर्थक विद्यार्थीहरूको बोलवाला थियो । विद्यार्थी युनियनमा उठ्नेहरू सरकारको तारो नै बन्थे । कांग्रेस र कम्युनिस्ट सबैतिरका नेताहरू विश्वविद्यालय छात्र संघको चुनावमा चासो लिन्थे । परोक्षरूपमा उम्मेदवार छनोटमा पनि उनीहरूको भूमिका रहन्थ्यो । हामी पढ्दा रामशरण महत, अर्जुननरसिंह केसी, मच्छिन्द्र पाठक, विश्वम्भर प्याकुरेल, महन्थ ठाकुर, हरिबहादुर कार्की, वीरेन्द्रभक्त श्रेष्ठ प्रजातन्त्रवादीसमूहका विद्यार्थीनेता थिए भने दीपेन्द्रबहादुर क्षेत्री, विदुर उपाध्याय, माधवप्रसाद उपाध्याय प्रगतिशीलतर्फका विद्यार्थीनेता थिए । चुनावको समयमा पनि स्वच्छ बहस र छलफल हुन्थ्यो, कुटाकुट हुँदैनथ्यो । विद्यार्थी युनियनको निर्वाचन गराउन विश्वविद्यालयका पदाधिकारीहरूलाई कुनै समस्या थिएन । जुनसुकै विभागका शिक्षक भए पनि सबै विद्यार्थीले आदरसम्मान गर्दथे । राजनीति गर्न भनेर कोही विद्यार्थी विश्वविद्यालय आएका थिएनन् ।त्यसैले सबैको पढाइप्रति ध्यान हुन्थ्यो ।
विश्वविद्यालयमा मेरो अधिकांश समय कक्षाकोठा र पुस्तकालयमा नै बित्थ्यो । पुस्तकालयका विष्णु ओझा साह्रै सहयोगी थिए । पुस्तकालयमा विद्यार्थीलाई अल्पकालीन कामको अवसर दिने व्यवस्था थियो । त्यस स्थानमा मैले प्रयास गरेँ । टाइप सिक्न भनियो । सिकियो पनि तर काम भने पाइएन ।
काठमाडौँमा रहँदा बानेश्वर निवासी कविराज राजानिधि न्यौपानेबाट पितृवत् स्नेह पाएको थिएँ । उहाँ धनकुटा जाँदा हाम्रो परिचय भएको थियो ।शीघ्र नै हामी घनिष्ठ भई पारिवारिक मित्र हुन पुग्यौँ । छुट्टीको दिन वा अन्य कुनै फुर्सदको बेलामा म बानेश्वर पुग्थेँ । कविराज पुत्र दुर्गानिधिभाइ साथी हुन् । उनीसित हाम्रो पारिवारिक सम्बन्ध छ । अहिले उनी निजामती सेवाको सचिवबाट अवकाश जीवनमा छन् । हाम्रो भलाकुसारी भइरहन्छ । काठमाडौँमा आफन्त कोही पनि नभएको बेलामा कविराजजीबाट मलाई जुन आत्मीयता प्राप्त भयो, यसले घरको नियास्रो मेटाइदिएको थियो ।
विश्वविद्यालयमा मेरो अधिकांश समय कक्षाकोठा र पुस्तकालयमा नै बित्थ्यो । पुस्तकालयका विष्णु ओझा साह्रै सहयोगी थिए । पुस्तकालयमा विद्यार्थीलाई अल्पकालीन कामको अवसर दिने व्यवस्था थियो । त्यस स्थानमा मैले प्रयास गरेँ । टाइप सिक्न भनियो । सिकियो पनि तर काम भने पाइएन ।
विश्वविद्यालयमा हामीलाई पढाउने सबै प्राध्यपक सहयोगी र मित्रवत् व्यवहार गर्ने हुनुहुन्थ्यो । पहिलोपटक कीर्तिपुरबाट फर्किंदा बसमा हेमन्त सरसित भेट भयो । कुराकानी गर्दा हामीसितै भर्ना भएका विद्यार्थी हुन् कि जस्तो लाग्यो । उमेरको कारणले पनि होला । आफ्नै सर भएको थाहा पाउँदा अचम्मित भएँ । भएको के रहेछ भने भर्नाका लागि विभागमा माधवराज पाण्डे सरलाई भेट्दाहेमन्त सर त्यहीँ हुनुहुँदो रहेछ ।मलाई माधवराज पाण्डे सरसित देखेकालेउहाँले बसमा भेट्दा म पनि इतिहासमा नै हो भन्नुभयो । मैले त आफ्नै साथी पो सम्झन पुगेँ । वैद्य सरले त आफ्ना नेपालसम्बन्धी पुस्तकहरू हामी सबैलाई पढ्न दिनुभएको थियो । ती पुस्तकहरू लिनका लागि महन्थ ठाकुर र म सरको घर त्रिपुरेश्वर नै गएका थियौँ । मित्रवत् व्यवहार गरे पनि आन्तरिक मूल्यांकनमा सबै ज्यादै अनुदार । हामी सबैको प्राप्ताङ्क आन्तरिक मूल्यांकनमा भन्दा अन्तिम परीक्षामा धेरै आउँथ्यो । पछि सोही आन्तरिक मूल्यांकन मर्यादा र स्वरूपविकृतहुँदा कताकता दुख लाग्दो रहेछ । लुडबिग स्टिलर सर साइकलमै कीर्तिपुरमा आउनुहुन्थ्यो ।पछि गाडीमा नै आउन थाल्नुभयो । साइकलमा आउँदा कीर्तिपुरको उकालोमा पनि ओर्लनुहुँदैनथ्यो । वैद्य सरको रसियन मोटरसाइकल थियो । अरू सबै सरहरू बसमा नै आउने जाने गर्नुहुन्थ्यो ।
मलाई कक्षामा सबैले स्नेह गर्दथे । त्यसमा पनि जयन्ती र रुक्मिणीले बढी नै चासो राख्दथे । रुक्मणी होस्टलमा बस्नेभएकाले कतिपटक त नयाँ सडकको नेपाल बैँक लिमिटेडबाट चेक साटेर नगद पनि पुर्याइदिएको छु । उनको ५५५ चुरोटको त भण्डारपाल पनि म नै थिएँ । साथीहरूमध्ये विजयकुमार मानन्धरको घरमा आउनेजाने थियो । म झोँछे र उनको घर चिकमुगल हुँदा हाम्रो बसाइ नजिक पनि थियो । यसबेला विजयका पिताजी कृष्णबहादुर मानन्धर शिक्षा सचिव हुनुहुन्थ्यो ।हामी गएपछि बैठक नै हाम्रा लागि छाडिदिनुहुन्थ्यो । साह्रै शालीन र सज्जन व्यक्तित्व । हाम्रा साथीमध्ये कृष्णप्रसाद भट्टराई र अर्का एक मित्र (शाह)ले बीचमै पढाई छाडे ।रुक्मिणी र कृष्ण न्यौपानेदिवंगत भइसकेका छन् । उनीहरूप्रति हार्दिक श्रद्धान्जली । महन्थ ठाकुर, विजय मानन्धर र जयन्ती मल्लसित हालसम्म पनि भेटघाट तथा सम्पर्क छँदै छ ।
हामी प्रथम वर्षमा हुँदाइतिहास विभागका सबै र केही पूर्वविद्यार्थी तथा शिक्षकहरूसहित भई बज्रबाराहीमा बनभोज गएका थियौँ । हेमन्तशमशेर (पुरूषोत्तम बास्कोटा र प्रदीप) सरसहित अघिल्लो राति नै शिकार पनि खेल्ने हिसाबले उतै बस्न जानुभएको थियो । हामी सबै साथी र सरहरूमा हेमन्त सर, त्रिरत्न मानन्धर सर, धनवज्र बज्राचार्य सर र गुरुआमा मञ्जु राजभण्डारी हुनुहुन्थ्यो । केही साथीहरू (नाम उल्लेख गर्न मन लागेन)ले मासुमा भाङ निकै राखेछन् । खाना खाएको एक घण्टापछि भाङले करामत देखाउन थालिहाल्यो । सबै संक्रमित भए । कोही हास्ने, कोही रूने गर्न पो थाले । गुरुवर्गलाई पनि छोएको थियो तर बढी भएनछ ।उहाँहरू सारै आत्तिनुभयो ।मासु नखानेलाई केही भएन । विजय मानन्धर र म मासु नखाने हुँदा हामीसकुसल रह्यौँ । सबै साथीहरूलाई घरमा छाड्न ठूलै सकस पर्यो । महिला साथीहरूलाई घर छाड्ने कार्य गुरुहरूले गर्नुभयो । अरूलाई हामीले । विजय र म त सबैलाई घर पुर्याउँदा पुर्याउँदै हत्तु भयौँ ।
बनभोजमा प्रथम वर्षबाट मलगायत महन्थ ठाकुर, विजय मानन्धर, कृष्ण न्यौपाने रुक्मिणी राणा रजयन्ती मल्ल थियौँ । दोस्रो वर्षबाट श्यामकृष्ण भुर्तेल, बलभद्र शमशेर, महेश भट्ट, शान्ता रायमाझी र शारदा जोशी थिए । पुरूषोततम बास्कोटा, रामप्रसाद उपाध्याय, प्रदीपशमशेर जबरा, किरण उपाध्यायलगायतकापूर्वविद्यार्थी पनि सामेल भएका थिए । बनभोजमा भएको भाङ घटनापछि विभागीय प्रमुख माधवराज पाण्डे सर साह्रै चिन्तित देखिनुभयो ।
हामी विद्यार्थी हुँदा धेरै गैर पञ्चायतका नेताहरू कीर्तिपुरगएर विद्यार्थीबीच आ–आफ्ना धारणाराख्थे । युनियनको निर्वाचनपूर्व परिचयात्मक कार्यक्रम हुन्थ्यो । त्यसबेला उम्मेदवारहरूको भाषण ज्यादै आकर्षक, आक्रामक एवम् रोचक हुने गर्थ्यो । उक्त कार्यक्रममा भाग लिन पूर्वविद्यार्थी एवम् प्रतिबन्धित राजनीतिक पार्टीका नेतासमेत आउने गर्थे । हाम्रा पालामा रामशरण महत, विश्वम्भर प्याकुरेल, विदुर उपाध्यायलगायतका भाषण रोचक हुन्थे । पञ्चायत पक्षधर विद्यार्थी भने बाहिर देखिँदैनथे ।निर्वाचनमा उम्मेदवार उठाउनेत उनीहरूको साहस नै हुँदैनथ्यो ।
हामी त्रिभुवन विश्वविद्यालय कलेजमा पढ्दा कीर्तिपुर गुल्जार भइसकेको थिएन । नयाँबजार बनेकै थिएन । चियाचमेनाका लागि कुनै सुविधा थिएन । कीर्तिपुर जाने बसको त कुरै नगरौँ । वर्तमान स्थिति हेर्दा कीर्तिपुरले गरेको अभूतपूर्व भौतिक विकास प्रस्ट हुन्छ ।
काठमाडौँमा डेराको समस्या निकै भोग्नुपरेको थियो । विद्यार्थी त्यसमाथि पनि अविवाहितलाई त भनेजस्तो डेरा पाउन मुस्किल नै थियो । सम्बत् २०२८ सालदेखि २०३३ साल बीच काठमाडौँ मा धेरै ठाउँमा डेरा सरेँ । ठेलागाडाको पछिपछि लागेर धेरैतिर पुगियो । सम्बत् २०२८ सालको मङ्सिरमा काठमाडौँ आइपुगेपछि सर्वप्रथम नयाँसडकमा बसेँ । त्यसको दुई महिनापछि पकनाजोल र वैशाखपछि पुल्चोक, झोछेँ, मरूहिटी, मरूप्याफल हुँदै जैसीदेवल पुगियो । जैसीदेवलमा तत्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी हरिभक्त रञ्जितकारको खाली घरमा बस्न पुगेँ । एमए दोस्रो वर्षको परीक्षा पनि त्यही ठाउँबाट दिएँ । जागिर पनि सोही डेराबाट सुरु गरेँ । घरबेटी रमाइला थिए तर २०३१ साल माघमा डेरा सर्नैपर्ने भयो ।
हरिभक्तजीको घरमा हामी रुद्र बस्नेत, यज्ञ बस्नेत, रुद्र कार्की, योगेन्द्रहरि श्रेष्ठ, चन्द्रहरि श्रेष्ठ, भूपेन्द्रलाल श्रेष्ठ, ईश्वरलाललगायत बस्ने गर्दथ्यौँ । धनकुटाबाट आउने जाने पनि प्रशस्तै हुन्थे । हामीसँगै सूर्यनारायण श्रेष्ठ (पाजु) पनि बस्नुहुन्थ्यो । त्यसबेला भीमनारायण श्रेष्ठ जेलमा हुनुहुन्थ्यो, विराटनगर बमकाण्डको आरोपमा । हामीमाथि सूर्यनारायणलाई त्यस घरमा नराख्न दबाब आयो । धनकुटाका सिडियोको घरमा राजद्रोहीका पितालाई नराख्ने भन्ने कुरा रहेछ । तर, हामी पाजुलाई एक्लै छोड्नेवाला थिएनौँ । त्यहीबेला राजा वीरेन्द्रको राज्याभिषेकको समय थियो । हामीलाई डेरा पाउन पनि मुस्किल भयो । गणवहालको गङ्गा लजमा चार कोठा लिई डेरा स¥यौँ । त्यसबेलाको समय नै त्यस्तै थियो । अहिले सहिद भइसकेपछि अपनत्व देखाउने त धेरै होलान् । तर, त्यस बेलामा सूर्यनारायणसँग भेटघाट र छलफल गर्न पनि मानिसहरू तर्सिन्थे ।
काठमाडौँमा विद्यार्थी डेरावालाका धेरै समस्या हुन्थे । पानीको अभाव, शौचालयको अभाव, एउटै शौचालय धेरैले प्रयोग गर्नुपर्ने अवस्था, जाडोको समयमा त झनै मुस्किल, यस्ता कयौँ समस्या झेल्नुप¥यो, हामीले । कतिपटक त सुन्धारा र बालाजु बाइसधारामा समेत गएर नुहाइन्थ्यो । सफासुग्घरको कमीले गर्दा कतिपय साथीहरूका जुम्रासमेत पर्दथे, लुतो पनि आउँथ्यो । दुवैको अनुभव गरेको छु, मैले पनि ।
गङ्गा लजपछि भोटेवहालमा भर्खरै निर्माण भएको महर्जनको घरमा डेरा सरियो । लामो समयसम्म त्यही बस्यौँ । महर्जन साहु बेस हुनुहुन्थ्यो । सोही डेराबाट म विराटनगर गएँ । केही समयसम्म हाम्रा साथीहरू त्यसै घरमा बसेका थिए ।
विराटनगरबाट काठमाडौँ सरुवा भएपछि केही महिना कालिकास्थानमा डेरागरी बसियो भने २०३५ सालदेखि २०४३ सालसम्म डिल्लीबजार तीर्थराज उप्रेतीको घरमा बस्यौँ । तीर्थराज उप्रेती स्वर्गीय भइसक्नुभएको थियो तर परिवार साह्रै सज्जन । त्यति असल घरधनी पाउनु भाग्यकै कुरा थियो । घरबहाल पनि आफूले नै बढाएर दिनुपथ्र्यो । कुनै कुरामा पनि कुनै किसिमको कचकच सहनुपरेन । डिल्लीबजारमा बस्दा हाम्रो डेरामा पाहुना कहिल्यै छुटेनन् । डिल्लीबजारबाट बत्तीसपुतली (घर निर्माण गर्दा) नर्वदा अधिकारीको घरमा केही महिना बसियो । नर्वदाजी सारै सहृदयी हुनुहुन्छ । आजसम्म पनि पुष्पाको सबैभन्दा मिल्ने साथी उहाँ नै हुनुहुन्छ ।
हामी काठमाडौँमा पढ्न बस्दाताका र सुरुसुरुमा जागिर खाँदा नयाँसडकको पीपलबोट नै काठमाडौँको केन्द्र थियो । सबै जिल्लाबाट आएका मानिस त्यहीँ भेटिन्थे । कसैसित भेट्नुप¥यो भने त्यहीँ समय दिइन्थ्यो । बाहिरबाट आएका सबैले आना ठाउँका खबर त्यहीँ पाउँथे । चिठीपत्र कसैले घरबाट लिएर आएका रहेछन् भने त्यहीँ दिन्थे । गोरखापत्रलगायत पत्रपत्रिका त्यहीँ पाइन्थ्यो । भारतीय पत्रपत्रिका साँझतिर पाइने एक मात्र ठाउँ पनि त्यही थियो । साँझ ४ बजेदेखि ७ बजेसम्म त्यहाँको रौनक नै अर्कै हुन्थ्यो । विसं १९९० को भुइँचालोबाट विनाशपछि पुनर्निर्माण भएको थियो, नयाँसडक । जुन हालसम्म पनि पुरानो भएको छैन । सानाठूला पसल त्यहीँ थिए । लुगाफाटो, चिनियाँ मालसामान, पान आदि त्यहीँ पाइन्थ्यो । नुनदेखि सुनसम्म पाइने थलो बनेको थियो, नयाँसडकको पीपलबोट । राजनीतिज्ञ, प्राध्यापक, शिक्षक, कर्मचारी, पत्रकार, साहित्यकार, बेकार र गुप्तचरहरूको सङ्ख्या उल्लेख्य हुन्थ्यो । जुलुस पनि यदाकदा त्यहीँ हुन्थ्यो ।भूगोलपार्कको भित्तामा गोरखापत्र टाँसिएको हुन्थ्यो । पत्रिका पढ्ने फोकटलालहरूको ठूलै जमात हुन्थ्यो, त्यहाँ । यदाकदा त्यहाँ त्यसबेलाको राजनीतिका विषयमा समेत चर्चा चल्थ्यो । यसरी कुरा गर्दागर्दै पनि कति समातिएका थिए । त्यसो त कहिलेकाहीँ छापामार शैलीमा भाषणबाजी पनि हुन्थ्यो ।
त्यही ठाउँमा पारस, इन्दिरा जस्ता त्यसबेलाका स्तरीय र चलेका रेस्टुरेन्टहरू थिए । कफी हाउस चाहिँ मध्यमवर्गीय र बुद्धिजीवीहरूको विमर्शस्थल थियो । आरसी, ममचा जस्ता धेरै स–साना चमेनागृह र रुद्रजल पाइने रेस्टुरा पनि त्यहीँ थिए । सङ्क्षेपमा भन्नुपर्दा सबै तह र तप्का, धनी र गरिब सबैको केन्द्र थियो, नयाँसडक । भैरव रिसालको शब्दमा पीपलबोट सानो नेपाल नै थियो (मिनी नेपाल थियो नयाँसडक पीपलबोट, हिमाल खबर ६ पुस २०७७) । बाहिरबाट आएका मानिस त्यहाँ आएर कोसेलीकारूपमा गुदपाक लिएर घर जान्थे । सञ्चारका साधनको विकास हुँदै जाँदा काठमाडौँमा तीव्र सहरीकरण भयो । टोलटोलमा नै खाद्य, पेय तथा पान पसल हुँदा नयाँसडकको रौनक कम भएको छ । अब त एकादेशको कथा जस्तो लाग्छ, नयाँसडकको यो कथा ।
विश्वविद्यालय कलेजका दुई वर्ष मेरा लागि अवसर, चुनौती, संघर्ष र सम्झौताका दिनहरू थिए । यिनै दिन मेरो भविष्यका धावनमार्ग निर्धारण गर्न निर्णायक भए ।
मित्र तीर्थ मिश्रको यो आत्मकथा केवल आत्मकथा मात्र नभएर त्यस वखतको काठमाडौं उपत्यकाको शैक्षिक, राजनीति, सामाजिक गतिविधिहरुको विस्तृत विवरण भेटे मैले । यो औपन्यासिक आख्यान जस्तो पठनिय र धाराप्रवाहिक भएकोले सारै राम्रो लाग्यो । वाहाको यस लेखनबाट मानिसमा हुने जीवनका उतार चडाव, आत्मीयता, श्रद्धा, सहृदयता र प्रेम कसरी रिट्ठो नविराईकन मानसपटलमा स्फुर्तरुपमा रहिरहन्छ भन्ने उदाहरण पनि देखेको छु । वाहा इतिहासविद भएपनि लेखाइमा साहित्यिक मिठास भएकोले पाठकलाई अँखा नझिम्क्याई कन पढन वाध्य पनि गराउने रहेछ । मित्रलाई धेरै-धेरै धन्यवाद ।