अभिशप्त युगको आत्मकथा’भित्र डुब्दा
|आमुख : ससुरालीमा गएर पनि म पुस्तकै पढ्न रुचाउने मान्छे । एकचोटि अर्थात् सन् २०२० को कुरा । ससुरालीमा ससुराजीले बुक स्लेफमा राखेका पुस्तकहरू हेर्नेक्रममा एउटा पुस्तकमा गएर आँखा अडिए । सुन्दर कवरले सज्जित पुस्तक कथाकार डिल्लीराम खनालको थियो । यसै त खनाल सरलाई राम्ररी चिन्दछु । ससुरालीकै छेउछाउको गाउँमा उनको घर छ । कोहीबेला म ससुरा जीसँग उनको घरमा गएर साहित्य सम्बन्धित थुप्रै चर्चा पनि गर्दथ्ये । अहिले पनि समयमिल्दा म खनालजीकामा जाने गर्छु । यसै त विभिन्न साहित्यिक कार्यक्रम, भेलाहरूमा बाक्लै भेट पनि हुन्छ । ससुरालीमा बसेर एकातिरबाट कथाहरू पढ्दै गएँ । कथामा रमाउँदै गएँ, कथामा हराउँदै गएँ । घर आउने बेला पुस्तक पनि लिएरै आएँ । घरमा फेरि मज्जले पढेँ । अनि यस पुस्तकमा डुब्दा पाएका केही बुँदाहरू हजुरहरूसमक्ष साँझा गर्ने विचार गरेँ ।
परिचय : डिल्लीराम खनालको जन्म ९ अक्टोबर १९५८ मा असमको शोणितपुर जिल्ला अन्तर्गत शिङ्री (खयरघारी) मा भएको हो । उनका बुबा स्व. नारायण खनाल र माताको नाम स्व. पुण्यमाया देवी हो । उनका प्रकाशित कृतिहरूमा ‘ अभिशप्त युगको आत्मकथा’ ( कथा सङ्ग्रह, सन् २००९), आरोह अवरोह ( कविता सङ्ग्रह, २०१७) । सम्पादन क्षेत्रमा पनि उनको दखल भएको कुरा सम्पादित पुस्तकहरूबाट थाहा लाग्छ । उनले सम्पादन गरेका पुस्तकहरू – नयाँ दिगन्त (संयुक्त सम्पादन, १९८०-८२), सयपत्री ( प्रस्तावना अङ्क, संयुक्त सम्पादन- १९९१), स्मृति सौरभ ( संयुक्त सम्पादन- २००१), स्वर्ण ( संयुक्त सम्पादन- २००५) आदि । यस कथा कृति ( अभिशप्त युगको आत्मकथा) ले असम नेपाली साहित्य सभाबाट प्रदान गरिने ‘जनकलाल पौडेल स्मृति साहित्य प्रभात पुरस्कार’ (पहिलो उत्कृष्ट कृतिको निम्ति) सन् २०११ मा पाइसकेको छ । त्यसैगरी सिलगढीको विचार प्रधान मासिक पत्रिकाबाट सन् २०१२ मा ‘ नर्वदा- इन्द्रदेव स्मृति साहित्यिक पुरस्कार’ पनि हासिल गरिसकेको छ । उनी थुप्रै साहित्यिक संस्थासँग पनि जडित छन् । कोलाज गोष्ठी, असम नेपाली साहित्य सभा, अखिल भारतीय नेपाली भाषा समिति, नतून साहित्य परिषद आदि संस्थामा रहेर साहित्यिक कामहरू गरेको अनुभव उनीसित मनग्गै छ । एकजना सरल, मिलनसार, कर्मठ, इमानदार तथा प्राज्ञ व्यक्तित्वका धनी खनालजीसँगको सामीप्य मेरा लागि उत्साहजनक छ ।
कृतिको संरचना : असमको शोणितपुर जिल्लास्थित भङ्गामन्दिरको अधिकारी प्रकाशनतर्फबाट प्रकाशित ‘अभिशप्त युगको आत्मकथा’ ( कथा सङ्ग्रह) गुवाहाटी, भरलुमुखको प्रधान अफसेट प्रिन्टर्समा छापिएको हो । यस कृतिको मूल्य १५०/- रुपियाँ रहेको छ । यसमा २५ वटा कथाहरू सन्निविष्ट छन् । आवरण- अलङ्करण मिलन बान्तवाले गरेका छन् भने पछिल्लो आवरण पृष्ठमा कथाकारको फोटो र परिचय राखिएको छ । कृतिको भूमिका छोटकरीमा साहित्यकार किरणकुमार राईले ‘ भूमिकादेखि परतिर’ शीर्षकमा लेखेका छन् । यस कृतिलाई कथाकारले बुबा र आमामा श्रद्धापूर्वक समर्पण गरेका छन् ।
कृतिभित्र प्रवेश गर्दा : यस कृतिको पहिलो कथा ‘घाइते इतिहासका सुस्केराहरू’ हो । आफ्ना सहकर्मी, छोरालाई बलिदान दिएर, बुहारीको सिन्दुरसमेत पुछेर पाएको स्वतन्त्रतामा रामराज्यको सट्टा रावणराज चलिरहेको र स्वतन्त्रता सेनानीहरूलाई परै थन्काएको भन्दै यस कथामा कथाकारले स्वतन्त्र भएपछिको देश, राजसत्ताको कर्मपन्था र स्वतन्त्रता सेनानीको पीडा वर्णन गरेका छन् ।
दोस्रो कथा हो ‘ शिशु दिवस’ । समाज, देशका शिशुहरूले उनीहरूको वाल अवस्था पाउनेपर्छ । हाँस्नु- खेल्नु, स्कुल जानु, भरपेट खान पाउनु, लगाउनु कपडा पाउनु, जिउ ढाक्न कपडा पाउनु आदि उनीहरूको अधिकार हो । शिशुहरूले यी सबै अधिकार पाएका देशहरूमा मात्रै शिशु दिवसको प्रासङ्गिकता आउँछ । नत्र, किन पो शिशु दिवस मनाएर, विधायक, मन्त्रीले भाषण छाँट्नु? यस कथामा पनि कथाकारले एउटा लाचार मगन्ते शिशुको करुण गाथा प्रस्तुत गरेका छन्। आमाको मुख हेरेर जसैतसै भिक्षा मागेर जीवन धानेको मगन्ते शिशु आफ्नै झाप्रोमा आगोमा जलेर मुत्युलाई अँगाल्न पुगेको मार्मिक घटना यस कथामा प्रस्तुत गरिएको छ ।
तेस्रो कथा हो ‘ पराजय’। एउटा गरिबको मार्मिक कथा हो यो । अभावहरूको पहाडमाथि विवश भई टुक्रुक्क बस्ने नै गरिब होला । उसका लागि गाँस, बास र कपास एकेकवटा सूर्य, चन्द्रझैँ हुन्छन् । त्यहाँ पुग्न सक्दैन। केवल टुलुटुलु हेरिरहन्छ । त्यसैले त ऊ गरिब। यस कथामा पनि एउटा गरिबको परिवार धान्ने सङ्ग्राम अनि त्यही सङ्ग्राममा जङ्गलमा दाउरा खोज्न जाँदा बाघबाट ज्यान गएको र त्यसपछि परिवार बिजोगमा परेको घटनालाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।
‘सहारा’ यस पुस्तकको चौथो कथा हो । कसैको लागि प्रेयसी सहारा हुन्छे भने कसैका लागि आमा- बुबा, कसैका लागि छोरा- छोरी, कसैका लागि आफन्त अथवा छर- छिमेकी आदि आदि । कोहीबेला कसैका लागि वैशाखी पनि सहारा हुन पुग्दछ । यस कथामा एउटा सैनिक घरबाट टाढिएर कर्तव्यको माला पहिरिएर युद्धभूमि पुग्छ आफ्नो देशलाई बचाउन, तर शत्रुपक्षसितको लडाइँमा ऊ गोलीबिद्ध भएर अपाङ्ग हुन्छ । अपाङ्गपछि उसको चिकित्सा हुन्छ, सम्मान भेट्छ, पैसा पाउँछ । काम गर्न असमर्थहुँदा घर फर्किन्छ घर-जमिन गडालागिले लगेको हुन्छ । हैजा महामारीले बाबुको पनि मृत्यु भएको हुन्छ। ऊ एक्लै रहन्छ वैशाखीको सहारामा । एउटा सैनिकको मार्मिक घटनालाई कथाकारले सिपालु तरिकाले प्रस्तुत गर्न सक्षम भएका छन् ।
पाँचौँ कथा हो ‘कसिङ्गर’ । एउटा शिक्षित युवकले योग्यता रहेर पनि जागिर नपाउँदा ऊ निराश हुन्छ । उसलाई सरकार अथवा सरकारी व्यवस्थादेखि नै दिक्क लाग्छ । ऊ आक्रोशित हुन्छ। तर, केही गर्न सक्दैन। छोराले जागिर भेट्छ, घर बनाउँछ, बुहारी ल्याउँछ, तीर्थ -ब्रत गराउँछ भनी बिमार अवस्थामा पनि जागिरको खबर सुन्न बसेका बुबा- आमालाई केवल जागिर नपाएकै मात्रै हाल सुनाएर दिक्क भएको युवकले रिसमा सबै प्रमाण- पत्र डढाइदिन्छ । उनी ऊ नयाँ तरिकाले जीवन जिउने प्रण लिन्छ । शिक्षित युवकले भोगेका यातनाहरू सुन्दर तरिकाले प्रस्तुत गर्न कथाकार सफल भएका छन् ।
छैटौँ कथा ‘पर्खाल’ हो । एउटी युवती थुप्रै सपनाहरू पोको पारेर पतिको घर गएकी हुन्छे । घर-जमिन संसारको सुरुवातमै पतिको वियोगहुँदा उसका सपनाका पोकाहरू सपनामै हराउँछन् । एउटी मूर्ति भएर रहन्छे । अनि उसलाई समाजले एउटा नाम दिन्छ- विधवा। तर, अनुरूप घटना कुनै पुरुषका क्षेत्रमा हुँदा उसले पत्नीको वियोगपछि अर्की एउटी भित्राइहाल्छ । उसलाई कुनै सामाजिक छेकारोले रोक्दैन । रोक्छ त केवल नारीलाई। तर, अहिले समय बदलिएको छ । पौराणिक विचारधारालाई केलाउने समय समागत छ । अहिलेको दिनमा युक्ति- तर्कहरूको मान्यता छ । यो कथा पनि यस्तै एकजना पुरोहितको मनोदशालाई लिएर केन्द्रित छ । विधवा भएर माइत बसेकी छोरी केवल भाग्यलाई दोषारोप गरेर मात्रै बसिन । उसले पढी, सामाजिक कामहरूमा मन लगाइ । अनि, छोरीको बिहेको प्रस्ताव पनि पुरोहितकै घरबाट आउँछ । केटो पनि उच्च शिक्षित। सबैको सम्मति हुन्छ । रुढिवादी सोचको पर्खाललाई भत्काउन सफल भएको यो कथाले सुन्दर वार्ता दिएको छ ।
सातौँ कथा हो ‘ पूर्णिमा’। यौवनको आगमनसँगै युवतीहरूमा अनेकौँ सपनाहरू स्वत : भित्रिन्छन् । हो, पूर्णिमाले पनि सपना देखेकी थिई । कुनै राजकुमारलाई मनमनै सोचेकी थिई । तर, सबै सपना चकनाचुर भएर गए । बुबा- आमाले मन पराएको केटोसित पूर्णिमाको बिहे हुन्छ। पूर्णिमाले फेरि अर्कै सपना देख्न थालेकी थिई । तर, उसको पतिले उसलाई पत्नीको दर्जा नदिएर केवल मात्र कामवासना पूर्तिका लागि प्रयोग गरेको थियो । यतिसम्म पनि उसले सहेकी थिई । तर, अफिसकै केटीसित उसकी पतिको सम्बन्ध रहेको कुरा पछि थाहा लाग्छ। थाहा लागेर के भयो र? उसको कुनै आपत्ति काम लागेन । पतिले अर्की स्वानी भित्राउँछ । ऊ पतिबिहीन तर, एकमात्र छोराको सहारामा जीवन व्यतीत गर्ने अठोट मनमा लिन्छे । एउटी नारीको संसार उजाडिएको मार्मिक घटना यस कथामा प्रस्तुत गरिएको छ ।
यस पुस्तकको आठौँ कथा हो ‘ विवशता’। चाड- पर्व सबैका लागि समानरूपले आउँछ । रमाउने तरिका व्यक्ति विशेषका भिन्नाभिन्ने हुन्छन्। धनीहरूले आफ्नो इच्छानुसार चाड- पर्व मनाएका हुन्छन् भने गरिबहरूका लागि चाड- पर्व एउटा ठुलै आपद बनेर आउँछ । एउटा गरिब धनबहादुर । दसैँ मनाउन, छोरा- छोरी, पत्नीलाई एकसरो पहिरन फेर्दिन,मिठो- मसिनो जोगाड गर्न लाग्छ । उसको घरमा बेच्नुपर्ने भर्खर ब्याएको गाई एउटा छ । ती गाईको दुध खान्थे छोराछोरी। छोराछोरीको मुखबाट दुध छिनेर ऊ दसैँ मनाउनका लागि महाजनलाई गाई बेच्छ । एउटा गरिबको घरमा दसैँ दशा भएर आएको घटनालाई एउटा सुन्दर कथाको रूप दिन सफल भएका छन् कथाकार ।
‘फागुन’ कथा यस कृतिको नवौँ कथा हो । जसरी फागुनमा उजाडिएको प्रकृतिमा वसन्तले हरियाली ल्याउँछ। कोहीबेला मानिसको जीवनमा पनि वसन्तरूपी खुसीहरू आउने गर्छन्। उत्तिकै फागुनरूपी पीडाले मानिसको मन उराठिलो बनाइदिन्छ । यस कथा पनि त्यस्तै एउटा घटनामा केन्द्रित छ । एउटा मेला अनि मेलाको सम्झनामा केन्द्रित छ यो कथा । मेलामा धेरै वर्षपछि भेट भएकी प्रेयसी । उसले अर्कैसित बिहे गरेकी हुन्छे । भेट भएपछि निकै रमाइला कुराहरूले उनीहरूको मनमा फेरि एकचोटि वसन्त ल्याएको थियो । मेलापछि उनीहरू आ-आफ्ना घरतिर लाग्छन् । तर, बाटामै दुर्घटना भएर उसकी प्रेयसीको र पतिको मृत्यु हुन्छ। यस्तै घटनाहरूको वर्णन गरेका छन् कथाकारले यस कथामा।
यस कृतिको दसौँ कथा हो ‘ भोलि उदाउने सूर्य’ । मानव मस्तिष्कमा दानवको बास भएर होला आतङ्कवादको पछि लागेको । भाइ- भाइको रगतले भाइको फाकु खेलेका । इतिहास साक्षी छ कति कति रगतको खोला बगाउँदा पनि कुनै समस्याको समाधान नभएको । बरु समस्या चाहिँ बढ्दै जान्छ । कश्मीरमा आतङ्कवादको कहर छ र सेनामा कर्मरत एउटा युवकको कश्मीरदेखि घर फर्किदा रेलमा बम विस्फोट भएको घटनालाई प्रस्तुत गरिएको छ। आतङ्कवादले कुनै समस्या समाधान हुँदैन। भावी पिँढीलाई आतङ्कवादको कहरबाट जोगाएर मानवताको जयगान गाउन सक्ने परिवेशको निर्माण गर्नुपर्दछ भन्ने धारणा दिन खोजेको छ यस कथाले ।
‘संसार’ यस कृतिको एघारौँ कथा हो । कसैले कसैका लागि जब सर्वस्व त्याग गर्दछ अनि प्रतिदानमा उसलाई सहयोग त होइन गुरुत्वहीन बनाइन्छ तब ऊ मानसिक रूपले प्रताडित भएको अनुभव गर्छ । हो, यस कथामा पनि आफ्ना भाइ-बैनीहरूका लागि सर्वस्व गुमाएको एउटा दाजुको कथा छ । उसले आफ्नो इच्छा, आकाङ्क्षा सबै बिर्सिएर भाइ- बैनीका खुसीका लागि जब जीवन समर्पित गर्छ अनि परिआउँदा उनीहरूबाट शून्यको पोको मात्रै फेला पार्छ । ऊ लाचार, विवश हुन्छ। उसले सबैथोक गुमाइसकेको हुन्छ। उसकी प्रेयसी पनि अर्कैसित बिहे भएर गइसकेकी हुन्छे । तर, घटनामा फेरि नयाँ मोड आउँछ । उसकी प्रेमिका पतिबाट प्रताडित भएर माइत फर्किन्छे । अनि गाउँले युवाहरूको सहयोगमा उसले उसलाई फेरि बिहे गर्छ । एउटा लथालिङ्ग भएको घर अनि भग्न हृदय जोडिन्छ । उसको संसारले पूर्णता पाउँछ । यस्तै घटनाहरूको मिश्रित रूप हो कथा ‘संसार’। कथाले त्याग र बलिदानको उचित सम्मान गर्नुपर्दछ भन्ने धारणा दिन खोजेको छ।
यस कृतिको बाह्रौँ कथा हो ‘ बाँच्न चाहनेहरू’ । दु:ख- पिर जतिले गरिबलाई नै खेदो गर्छ होला। आँधीको कहरले बेघर भएर सर्वस्व गुमाएको एउटा युवकको कथा हो ‘ बाँच्न चाहनेहरू’ । अनि यस कथामा मानवतावादी चरित्र खेल्दै शरणार्थी सहायताको अधिकारीका रूपमा आएका व्यक्तिको द्वन्द्वले कथालाई निराशावादीको ताँतीबाट झिकेर आशावादीको पङ्क्तिमा ल्याउन सकेको छ ।
तेह्रो कथा ‘ अभिशप्त युगको आत्मकथा’। यो कथाको शीर्षकबाटै कथा सङ्ग्रहको नाम जुराइएको छ । एकजना व्यक्तिको घर पत्नी- छोराछोरीले उज्यालिदिएको अनि पछि कुसङ्गतको परिणामले छोरो आतङ्कवादीको चङ्गुलमा फसेर दाजु, भाइ र आमालाई समेत बमले उडाइदिएको मार्मिक घटनाको कथा हो ‘अभिशप्त युगको आत्मकथा’। अँध्यारा बाटाहरूमा उज्यालो छर्दै , उज्यालो बाँड्दै अघिबढ्ने एकजना शिक्षक अँध्यारामा थन्किन पुगेको कथा हो यो । आजको परिस्थितिमा आदर्शवादीहरूले भोगिआएको मानसिक पीडाको धारणा दिएको छ यस कथाले ।
‘सहयात्री’ कथा यस पुस्तकको चौधौँ कथा हो । यस कथामा एउटा गरिब बाँच्नका लागि विभिन्न उपायहरूको खोज गर्छ । तर, ती खोजहरूमा सम्भावना भन्दा पनि व्यक्तिविशेषको रोकावट मात्रै हातपार्छ । वाक्क भएर ऊ बसाइँ सर्न बाध्य हुन्छ । बस पर्खेर बसेको एउटा यात्री र बसाइँ हिँडेको व्यक्तिबिचको संवादमा घुमेको यो कथाले गरिबको पीडा, सामाजिक व्यवस्थाको तस्बिर, रहल मानवतावादको छवि आदिलाई सुन्दर तरिकाले प्रस्तुत गरेको छ ।
यस कथाकृतिको पन्ध्रौँ कथा हो ‘नयाँ बिहानीको प्रतीक्षा’ । गरिबी हालतले संसार नै चल्न अफ्ठ्यारोहुँदा अर्काको गुलामी त गर्नैपर्यो । यस कथाको मूल पात्र रणबहादुरको अवस्था पनि त्यस्तै छ । उसको गरिबीले गर्दा छोराछोरी अरूकै घरमा राखेको छ । महाजनको खेती गरेर जसैतसै चलेको छ । तर, गरिबका छोराछोरीले अर्काको घरमा पनि मानसिक सहितै शारीरिक दु:ख पनि पाए । रणबहादुरको मन मानेन । उसले आफ्ना छोराछोरी घरमै फर्काउने विचार गर्छ । यस्तै घटनाको कथा हो ‘नयाँ बिहानीको प्रतीक्षा’ । सामन्तीहरूको अत्याचारमा गरिबहरू दिनौँ गरिबको खाडल भासिँदै गएको अनि अन्तिममा गरिबले पनि आफ्नो अधिकारको पक्षमा बोल्नुपर्ने धारणा यस कथाले दिन खोजेको छ ।
सोह्रौँ कथा हो’रहर’ । समयको आफ्नो गति हुन्छ । समयअनुसार मानिसमा रहरहरूको चाहना हुन्छ। विवाहित स्त्रीको गहना-आभूषणको रहर हुन्छ भने बुढेसकाल लागिपछि फेरि ती गहनाहरू आफ्नी छोरी अथवा बुहारीलाई पहिर्याउने रहर हुन्छ । यो कथामा पनि व्यस्तताको बिच आफूलाई ऐनामा हेर्न भुलेकी एउटी स्त्रीको द्वन्द्व छ । गहना पहिरिने समयमा गहना बेचेर पतिको व्यवसायमा सहयोग गर्छे । जतिखेर उनीहरू आर्थिकरूपले सम्पन्न हुन्छन् अनि विवाह वार्षिकीमा पतिले उसलाई गहनाहरू उपहारमा दिन्छ त्यतिखेर उसलाई बुढेसकालले छोएको हुन्छ। चाउरिन थालेका गालाहरूले ती सुनका गहनाहरूलाई नै निस्तेज पारिदिएको हुन्छ । त्यसैले समयछँदै रहरहरूलाई गुरुत्व दिनुपर्ने धारणा यस कथाले दिन खोजेको छ ।
यस कृतिको सत्रौँ कथा हो ‘मलामी’ । जातपातको बन्धनमा अल्झिएको सामाजिक व्यवस्थालाई यस कथाले झटारो हानेको छ । एकातिर मान्छे मङ्गल, चन्द्रमा पुग्ने सोच राख्छन् भने अर्कातिर नीच जातिको अन्त्येष्टि क्रिया अथवा मलामी जानमा पनि सङ्कोचबोध गर्छन् । यस्ता विचारधाराले कसरी मानवताको गीत गाउन सक्ने परिवेशको निर्माण हुन्छ र? तर, अब शिक्षितहरूका आँखा खुलिसकेका छन् । अबका दिन पौराणिक मान्यतालाई मात्रै समाती नराखेर युक्तिसङ्गत विचारहरूलाई प्राधान्य दिने दिन आएका छन् । यस्तै विचारहरूले सजिएको छ यो कथा ।
अठारौँ कथा हो ‘विसङ्गति यस्तो पनि’ । धनीको नजरमा गरिबको केही मूल्य हुँदैन । गरिबका अभावहरू धनीसामु गुरुत्वहीन हुन्छन् । गरिबभन्दा त धनीका घरमा पालेका कुकुरको बढी महत्व हुन्छ । ‘विसङ्गति यस्तो पनि’ मा एउटा गरिबको यस्तै कथा छ । धनीको घरमा चौकीदार बसेको गरिब आफ्नो छोरो बिरामीहुँदा पनि घर जान पाउँदैन । किनकि त्यतिखेरै धनीको घरको कुकुर बिरामी भएको हुन्छ । ऊ त्यही कुकुरको स्याहारसुसारमा लाग्नुपर्ने हुन्छ । धेरैचोटि छोरो सिकिस्त भएको कुरा आफ्नो मालिकलाई भन्दा पनि मालिकले वास्तै गर्दैन । मालिकको कुकुरलाई अलिक सन्चो भएपछि जब गरिब घर पुग्छ तब उसले छोराको लास भेट्छ । लासको छेउ आँसु पुछ्दै उसले भनेका हरफहरू यहाँ राख्न चाहेँ -” अब अर्को जन्ममा चाहिँ तैंले मजस्तो गरिब बाबुको घरमा जन्म लिन कहिल्यै नआउनु- सानु । मेरो राजा । बरु साहबको बङ्गलामा कुकुर भएर जन्मिइस् भने पनि यसरी दवाई पानीको अभावमा, खानेकुराको अभावमा अकालै मर्नुपर्ने छैन तैंले । जा, मेरो नानी जा । यो अधम् बाबुलाई माया मारेर जा । ” यस कथामा सामन्तीहरूको थिचाइमा गरिबको पीडा गुरुत्वहीन भएको धारणा व्यक्त गरिएको छ ।
उन्नाइसौँ कथा हो ‘तपस्या’। एउटी नारीको पतिप्रति रहेको अगाध प्रेम अनि प्रेम नै तपस्या भएको र अन्तिममा तपस्याको फल प्राप्त भएको घटना यस कथामा प्रस्तुत छ । पतिको पीडा- यातना सहन गरेर पनि आखिर पति परमेश्वर मान्ने मान्यताले यस कथामा ठाउँ पाएको छ । पति-पत्नीको सम-मर्यादा र नारीको हातमा एउटा घर फुलबारी बन्न सक्ने धारणा यस कथामा आएको छ ।
बिसौँ कथा हो ‘ एउटा गाउँको कथा’ । चाड- पर्वको समयमा खर्च टार्नका लागि गरिबले खसी- कुकुरा आदि पालेको हुन्छ । तर, महाजनहरूको कुदृष्टि त्यसमा पनि परेको हुन्छ । उनीहरू महाजनी रबाफ देखाएर गरिबको घरको अलिकति खुसी पनि छिनेर लाने पक्षमा हुन्छन्। महाजनलाई गरिबको खुसी सह्य हुँदैन । गरिबको आशा- आकाङ्क्षा महाजनहरूका हातमा ध्वस्त भएको धारणा यस कथामा छ ।
‘रगत- पसिनाको पसल’ हो यस पुस्तकको एक्काइसौँ कथा हो । मजदूरी गरेर जसैतसै जीवन धान्ने गरिबले पसिना मात्रै होइन परिस्थितिवश रगत पनि बेच्नुपर्ने बाध्यता आइपर्छ भन्ने धारणा यस कथाले दिन खोजेको छ ।
बाइसौँ कथा हो ‘ दिशाहीन’ । एउटा शिक्षित युवक राजनैतिक व्यवस्थाबाट जागिर पाउने आशामा मन्त्री, विधायकका पछि लागेको तर, राजनैतिक व्यवस्थाले जागिर होइन निराशाको पोको मात्रै हुत्याइदिएको कथा हो ‘दिशाहीन’। कथाले राजनैतिक ओहदामा बसेका जनताका प्रतिनिधिबाट शिक्षित युवाहरूलाई कर्मसंस्थान दिनमा असफल भएको रहेछ दिनौँ बेरोजगारको सङ्ख्या बढाउनेमा यिनै ब्वाँसारूपी राजनैतिक नेताहरूको हात छ भन्ने धारणा दिएको छ ।
तेइसौँ कथा हो ‘आहत् समय’ । यो कथामा चन्दा सङ्ग्रह गर्ने गलत तरिका र चन्दा दिन विवश भएका मानिसहरूको घटना वर्णन गरिएको छ । हिजोआज चन्दा पनि कतिपय मानिसहरूको घर चल्ने, मोजमस्ती गर्ने मेलो बनिएको छ । अनि चन्दा दिने मानिस कसैले इज्जत जोगाउनका लागि त कसैले डरले चन्दा दिइरहेका छन् । चन्दाले सामाजिक व्यवस्थामा अप- संस्कृति भित्राएको धारणा यस कथाले दिन खोजेको छ ।
चौबिसौँ कथा हो ‘आहत् अनुहारहरू’ । अबला, निर्बला,अनाथ र असहाय नारीहरूको पुनर्संस्थापन र पुनर्वासको धारणा बोकेको छ यस कथाले । समाजमा मात्रै होइन हाम्रा तीर्थस्थलहरूमा यी बाल- विधवाहरू, विस्थापित अनुहारहरू सामाजिक सहानुभूति, दया- ममताका लागि आशालु नजरले हेरिरहेका हुन्छन् । समाजले यिनीहरूलाई गरिरहेको अन्यायको प्रायश्चित कहिले गर्ला भनी कथाकारले प्रश्न तेर्साएका छन् ।
यस कृतिको अन्तिम कथा हो ‘कटुसत्य’ । एउटा असल साहित्यकारको पीडा छ यस कथामा । भाषा, साहित्य, संस्कृति र सामाजिक कामहरूमा लागिपर्ने एकजना कर्मठ र इमानदार व्यक्तिको कथा हो यो । आफ्नो पैतृक सम्पत्ति मासेर पुस्तक छापेर सित्थै उपहारस्वरूप बाँड्न विवश साहित्यकारको कथा हो यो । ठुल्ठुला साहित्यकारहरूलाई उपहारस्वरूप पुस्तक दियो तर, उनीहरू पुस्तक पढ्दै पढ्दैनन् । पुस्तक बारे दुई कुरा लेख्नु अथवा समीक्षा गरिदिनु त परै जाओस्। असल साहित्यकारहरूको यहाँ कुनै मोल छैन । तर, एकखाले धनाढ्य साहित्यकारहरू छन् जसको रुपियाँ- पैसाको अभाव छैन तर, लेखाइ चाहिँ साना नानीहरूको झैँ छ । अनि लामो बायोडाटा बोकेर सम्मान, पुरस्कार र साहित्यिक पेन्सनका लागि दगुरेका छन् । कुनै मौलिकता नभएका यी व्यक्तिहरू नै साहित्यिक, सांस्कृतिक सङ्घ,संस्थाहरूका नेतृत्वमा छन् । यिनीहरूकै सबैतिर बोलवाला छ । यस्तै विषयवस्तुलाई नै यो कथामा प्रस्तुत गरिएको छ ।
पात्र चयन : यस कृतिका कतिपय कथामा खनालजी आफै उपस्थित भएका छन् भने कतिपय कथामा वरिपरिका पात्रहरूलाई लिएर कथाहरू जीवन्त पार्ने प्रयास गरेका छन् । यी कथाहरूमा काल्पनिक पात्रहरूलाई लिएको भेटिँदैन । कथामा अधिकांश पात्रहरू सङ्घर्षशील छन् ।
भाषाशैली : कथामा प्रयुक्त भाषा सरल छ । ठाउँ ठाउँमा प्रयोग गरिएको उखान- तुक्काले कथालाई अझ मिठास बनाएको छ । खनालजीको प्रस्तुतिमा चुम्बकीय शक्ति भएको अनुभूत हुन्छ । सामाजिक यथार्थवादलाई लिएर लेखिएका कथाहरूले समाजमा घटित घटनाक्रमहरूलाई सहज रूपमा प्रस्तुत गर्न सक्षम भएका छन् ।
शीर्षकीकरण : ‘अभिशप्त युगको आत्मकथा’ शीर्षक कथा यस पुस्तकमा रहे तापनि पुस्तकका धेरैजसो कथाहरू गरिबको यथार्थलाई लिएर लेखिएका छन् । आजको समयमा पनि गाँस, बास र कपासका लागि युद्ध गर्ने गरिबको हालत सुघ्रिएन । अर्थात् गरिबी यस युगको आत्मकथा नै भइरह्यो । त्यसैले यस कथा कृतिमा समावेश गरिएको परिवेश, घटनाक्रमलाई नियाल्दा ‘अभिशप्त युगको आत्मकथा’ शीर्षक उचित ठहरिएको छ । साथै पुस्तकका धेरैजसो कथाका शीर्षकहरू विषयवस्तु अनुरूप सामञ्जस्यमूलक रहेका छन् ।
निष्कर्ष : सामाजिक यथार्थवाद, नारीसंवेदना आदि उनको लेखन विशेषता हो भने कथाकारले प्राय:जसो कथामै जीवनदर्शनलाई पनि प्रष्ट्याउने प्रयास गरेका छन् । विकृति- विसङ्गति, बेरोजगार, नातावाद, रुढिवाद आदिबाट ग्रसित नेपाली सामाजिक जीवनलाई पनि घचघच्याउने काम कथाकारले गरेका छन् । बाल मनोविज्ञानलाई पनि कथाले छोएको छ । उनका कथा कृत्रिमता र यान्त्रिकतादेखि निकै टाढा छन् । कतै कतै दार्शनिक अभिव्यक्तिहरू पनि पाइन्छ । प्रकृति वर्णन गर्नमा पनि कथाकार चुकेका छैनन् । यो कथा कृतिले नेपाली कथा विधामा कोशे ढुङ्गो थपेको छ भन्दा अत्युक्ति नहोला । समग्रमा कथाहरू पठनीय र अनुकरणीय छन् ।