घामसँग एकछिन
|मिरमिर उज्यालो छर्दै
घाम
पोखिन्छ मेरो दैलोमा
कोठामा पस्ने बाटो खोज्दै ।
सेता सेता
अग्ला हिउँका पहाडहरु नाघ्दै
आकाश ताकेर उठेका
जङ्गलका विशाल रुखहरु माथी टेकेर
निर्जन मरुभूमिका बालुवामा बग्दै
मेरो घरको दैलोमा पोखिन आएको
घाम
कोठामा पस्ने क्षिद्र नभेटेर
बिस्तारै बिस्तारै पोखिदै
फैलिदिन्छ दैलोभारी ।
उसबेलादेखि हिडेर
मेरो घरमा आएको
घाम
भोक तिर्खा
अनि थकाइले गलेर
आराम गर्न त आएन ?
माया लागेर आउँछ मलाई
तर मन भन्छ
होस अहिले
खोलौला नि दैलो
हेरौं न केहीबेर ।
बिस्तारै बिस्तारै उकालो लाग्दै
घाम
मानौं जिस्क्याउछ मलाई
नखोल दैलो तिम्रो
हिड्ने बाटो यही हो मेरो
कुनै दिन पस्नेछु तिम्रो कोठामा सुटुक्क
तिमीलाई थाहै नदिएर ।