मेरो प्रेमको उपासना
|निशब्द मौनतामा
मसँग सशब्द साउती मार्छ
‘यो अनुभूत रहस्य हो ‘
हो अनुभूत …
हृदयको मझेरीमै
चस्कन्छ मन
सुखानुभूतिको संवेग
छल्कन्छ ऑखाको नानिमा
झल्कन्छ आफ्नो बानीमा
म हरतरहसँग
तिमी समीप आइरहेकै हुन्छु
तिमीलाई आफैमा पाइरहेकै हुन्छु ।
यो हो हाम्रो प्रेम
जुनलाईझै आकाश गंगामा
सजाउदै मनमा
सिंगारेको छु आफुमा
मुस्कुराउँदा चॉदले पुर्णिमामा
तिम्रो मुखाकृति सजाएको छु
मानसपटमा
अनि चलिरहन्छ चलचित्र
छायाँ -छवि वरपर
गुन्जन्छ गित सुमधुर लयमा
संगित जुनकिरीको धुनमा
बजिरहेछ मन्द पवनमा ।
पूर्वजन्मबाट नि:सृत हो वा
आउदो जन्मकालागि अनुबन्धित
सम्बन्ध अनुप्राणित छ
निराकार भावमा पुजित
बन्दनिय स्वरमा भजित
हाम्रो प्रेमको उपासना
रनवन, चराचर, अन्तरिक्षमा
आल्हादीत छ
प्रसारित र उमंगित छ
हो ! यो युगल कथा
युगयुग प्रचलित छ ।