पुरी र कलकत्ता यात्राका केही अविस्मरणीय पलहरू
|यात्रा जीवनको महत्त्वपूर्ण हिस्सा हो । यसले तपाईंलाई व्यस्त कार्यक्रमबाट छुट्टी दिलाउनका साथसाथै एउटा नयाँ सुरुवातको लागि फेरि जीवन्त महसुस गराउँछ।
यसले तपाईंका सबै चिन्ता र तनावहरू हटाएर स्वास्थ्य र दिमागलाई बेहतर बनाउँछ।
विभिन्न स्थानको यात्रा गर्नाले हाम्रो अनुभव बढ्ने गर्छ अनि कष्ट सहन गर्ने तथा स्वावलम्बी बन्ने अवसर मिल्छ।
केही दिनको लागि दैनिकी कार्यचक्रबाट मुक्ति मिल्छ जसले गर्दा जीवनमा आनन्दको लहर दौडन्छ । यात्रा गर्दा विभिन्न जाति एवम् स्थानको रीतिरिवाज, भाषा-संस्कृतिआदिसँग परिचित हुने मौका पाइन्छ । यात्राले पारस्परिक प्रेमभाव बढाउँछ भने एक अर्काको सुखदुःख बुझ्ने अवसर यात्रा वा भ्रमण नै हो । शरीरमा फुर्ति , ताजगी र मनमा साहसका साथ काम गर्ने भावनाको उदय गराउने साधन पनि हो यात्रा । यस प्रकारको यात्राको मनुष्य जीवनमा विशेष महत्त्व रहने गर्छ । यात्रा मनोरञ्जनको सर्वोच्च साधन हो ।
जीवन स्वयं एउटा यात्रा हो । यो यात्राको जति अंश भ्रमणमा बित्छ त्यो त्यति नै हितकर हुन्छ । यात्राले निराश जीवनमा आशाको संचार गराउँछ ।
बाल्यकालमा गरेको यात्रा शिक्षाको एउटा भाग हो एवं ठुलो भएपछि अनुभवको भाग हो । कतिपय मानिसले यात्राको बारेमा अलग प्रकारले पनि सोच्ने गर्छन् । उनीहरूको लागि चर्च एवं मठमा जानु, महल एवं किल्लाहरूमा जानु, पुरातन एवं खण्डहरहरूमा जानु, पुस्तकालय अनि विश्वविद्यालयहरूमा जानु भनेको केवल समयको बरबादी हो । उनीहरू यसो पनि भन्ने गर्छन् कि मान्छेले यसको बारे पढ्न सक्छ अथवा तस्बिरहरू हेर्न सक्छ जसमा विश्वको महत्त्वपूर्ण ठाउँहरू देख्न बुझ्न सकिन्छ । किन्तु उनीहरूले यो कुरा बिर्सेका हुन्छन् कि सत्यलाई छेउबाट हेर्दा, छुँदा एवं महसुस गर्दा एउटा अलग प्रकारको सन्तुष्टि एवं रोमाञ्चक अनुभूति हुन्छ।
यिनै मान्यताहरूलाई आत्मसात गर्दै म पनि हालैमा मार्च २९, २०२१ देखि एप्रिल ५ सम्म आफ्नो परिवार सँग पुरी(ओडिसा) अनि कलकत्ताको यात्रामा गएकी थिएँ । यात्राकालमा बटुलेका आफ्नो केही अनुभवहरू सार्वजनिक गर्ने रहरले यो लेख लेख्ने प्रयास गर्दैछु ।
२९ तारिख सोमबार बिहान १० बजेको ट्रेनमा हाम्रो यात्रा सुरु भएको थियो न्यु बोङ्गाईगाउँ रेलवे स्टेसनबाट । मङ्गलबार बिहान हामी पुरी पुग्यौँ र होटलको आफ्नो रुममा गएर फ्रेस भएर समुद्र (बङ्गालको खाडी) तिर गएर समुद्रमा नुहाउन पुग्यौँ । समुद्रमा नुहाउनुको अर्कै एक आनन्द छ । यो आनन्द उठाउँदै फोटो खिचेर ती सुखद र रोमान्चक मुहूर्त केमेरामा कैद गरियो, भोलिका दिनमा पनि तस्बिर हेरेर नोस्टालजिक बन्ने लोभले। रुममा आइपुग्दा झमक्क साँझ परेको थियो। त्यसपछि खाना खाएर ट्रेनको यात्राको थकाइ मार्न आराम गर्ने निर्नय लियौँ।
भोलिपल्ट बिहानै भगवान जगन्नाथको दर्शन गर्न पुरीको प्रसिद्ध मन्दिर श्री जगन्नाथ धाम गयौं ।
जगन्नाथ मन्दिर करिब ४ लाख वर्गफिट क्षेत्रमा रहेछ । यसको उचाइ २१४ फिट रहेछ भन्ने थाहा भयो । मन्दिरको शिखरमा जुन झन्डा छ त्यसलाई लिएर पनि धेरै रहस्य रहेछ । त्यो झन्डा सधैँ बेलुका ५ बजे बदलिनु पर्छ अरे नत्र १८ वर्षको लागि मन्दिर बन्द हुन सक्छ भन्ने मान्यता रहेछ । यो झन्डा सधैँ हावाको बिपरित दिशामा उड्ने गर्दो रहेछ । मन्दिरभित्र मुख्य तीन देवताका काठका प्रतिमूर्ति राखिएको छ । यी हुन् –
भगवान जगन्नाथ(श्रीकृष्ण), भ्राता बलभद्र अनि भगिनी सुभद्रा । यो मन्दिरको ठुलो आकर्षकको केन्द्र हो यहाँको भान्सा घर । यो भान्साघर भारतको सबैभन्दा ठुलो भान्साघरको रूपमा जानिन्छ । यसमा भगवानको महाप्रसाद तयार गर्नका लागि ५ सय जना भान्से अनि ३ सय जना सहयोगी काम गर्दा रहेछ्न् जानकारी प्राप्त भयो । धेरै रहस्यले भरिएको यो मन्दिर हेर्नुपर्ने हो सबैले । त्यसपछि अर्को दिन हामी फेरि यहाँको अर्को प्रसिद्ध मन्दिर सूर्य मन्दिर गयौं । यो मन्दिर सुन्दर अनि भव्य छ । यसले हामीलाई भगवान सूर्यको साक्षात दर्शन गराउँछ । यस मन्दिरमा सूर्यका तीन प्रतिमा छन् – बाल्यकाल यानी उदितसूर्य, जसको उचाइ ८ फिट छ, युवा अवस्था यानी मध्याह्नसूर्यको उचाइ ९.५ फिट छ अनि तेस्रो अवस्था अस्तसूर्य जसको उचाइ ३.५ फिट रहेको छ ।
इसाको १२५० सनमा राजा नरसिंहले बनाएको यो मन्दिर पनि हेर्नुपर्ने रहस्यमय धरोहरभित्र एउटा पर्छ ।
यसैगरी साना ठुला अन्य धेरै मठ- मन्दिर हेर्दै तीन दिन पुरीमा बिताएर हामी चौथो दिन पुरी रेलवेव स्टेसन्बाट कलकत्तातर्फ लागौं । करिब ९ घन्टाको यात्रापछि हावडा स्टेसनमा उत्रिएर होटलमा गयौँ र केहीछिनपछि त्यहाँको प्रसिद्ध हावडा ब्रिज हेर्न निस्कौं । हुगली नदीमाथि बनिएको यो पूल भारतको सबैभन्दा चर्चित पुरानो पुल हो । यसलाई अङरेजहरूले बनाएका थिए । यति ठुलो पुल नदीको दुई किनारमा बनिएको २८०फिट उचाइका दुई पाँवको भरमा मात्र टिकेको छ।
भोलिपल्ट बिहानै फेरि हाम्रो यात्रा सुरु भयो कलकत्तामा रहेका अरू मन्दिर अनि हेर्ने अन्य ठाउँको खोजीमा।
पहिला गयौं बेलुड मठ । यो रामकृष्ण मिसन अनि रामकृष्ण मठको मुख्यालय हो । यो मठको भवनको वास्तुकलामा हिन्दू, इसाई तथा इस्लामी तत्वको संमिश्रण छ। यि धार्मिक एकताको प्रतीक हो । यसको निर्माण सन् १८९७ मा स्वामी विवेकनन्दले गरेका हुन्।
त्यसपछि हामी गयौँ कलकत्ताको अर्को प्रसिद्ध मन्दिर दक्षिणेश्वर काली मन्दिर । हुगली नदीको किनारमा स्थित यो एउटा एैतिहासिक हिन्दू मन्दिर हो । मन्दिरकी मुख्य देवी कालीमाता हुन् । बयसलाई सन् १८५४ मा जान बजारकी रानी रासमणिले बनाएकी भन्ने जानकारी प्राप्त भयो ।
अब यहाँबाट निस्केर हामी कलकत्ताको अर्को एउटा प्रसिद्ध ठाउँ भिक्टोरिया मेमोरियल पुगौँ । यसको निर्माण सन् १९०६ र १९२१को बिचमा भारतमा रानी भिक्टोरियाको शासनको २५ वर्ष पूरा भएको अवसरमा गरिएको थियो । यसलाई भारतमा ब्रिटिस शासनको याद दिलाउने सबैभन्दा ठुलो भवन हो भन्न पनि सकिन्छ । ताजमहल जस्तै यो पनि सेता मार्वलले बनिएको छ । यसभित्र एउटा म्युजियम छ भने बाहिरपछी ठुलो चउर र पार्क छ । अब हामी गयौं मनोरञ्जनले परिपूर्ण सायन्स सिटी । यो सल्टलेकको छेउमा छ। यसमा प्रमुख दुईवटा हेर्ने ठाउँ छन् – विज्ञान केन्द्र एवं सम्मेलन केन्द्र।विज्ञान नगरी परिसरमा स्पेस ओडीसी, डाइनामोसन, क्रम विकास पार्क, समुद्रवर्ती केन्द्र अनि एउटा विज्ञान पार्क छ। दर्शकहरूको शिक्षा तथा मनोरञ्जनका लागि एकदमै राम्रो हेर्नु पर्ने ठाउँ रहेछ यो विज्ञान नगरी।
हाम्रो यात्राको अन्तिमतिर आएर हामी कलकत्ताको प्रसिद्ध बजार न्युमार्केटमा पसेर हल्का बजार गरौँ अनि भोलिपल्ट ५ एप्रिल, ३ बजेको ट्रेनमा हाम्रो यात्रा सकेर हामी घर तर्फ रबाना भयौं ।
अन्तमा भन्दा – यात्रा गर्ने एउटा महँगो नशा हो किन्तु यसले आर्थीक घाटाको भरपाई गराउँछ।
यात्रा समयको सदुपयोग गर्ने सर्वोत्तम तरिका हो । जबसम्म कुनै व्यक्तिले आफ्नो निरस शारीरिक एवं मानसिक दिनचर्यालाई तोड्दैन तबसम्म उसलाई सन्तुष्टि मिल्दैन । यात्रा गरेर हामी केही दिनको लागि भए पनि दिनचर्याको यो नीरसतालाई भङग गर्न सक्छौ । एउटा व्यक्ति नयाँ ठाउँमा गएर केही जान्नका लागि उत्सुक एवं ज्ञान पाउनका लागि व्यस्त हुन्छ, रोमान्चित एवं आश्चर्यचकित गर्ने खालको स्थलले उसको उत्साहलाई जागृत राख्छ ।
यात्रामा हामी भिन्नभिन्न मान्छे भेट्ने गर्छौ । मनुष्यको स्वभावलाई बुझ्न सक्नु सर्वोत्तम शिक्षा हो । यात्राको शौक राख्न धेरै लाभदायक हो । यसमा हामी व्यस्त रहन्छौँ, शिक्षा प्राप्त हुन्छ एवं हाम्रो शरीर अनि मनलाई नयाँ उर्जा प्राप्त हुन्छ।