मेरो तन र देशको मुटु

बादल माथि-माथि
आकाशमा मन घुमेको बेला
तिम्रा लालायित शुन्य सपना
मप्रतिको तिम्रो निश्चल प्रेम
आमा !
दुर देशमा पछ्याई रहेछ
तिम्रो सम्झनाको
तरंगमा बाढुली लागीरहन्छ ।

यहाँको आकर्षणले कहिलै छोएन,
तिम्रो मायाको न्यानो अंगालो
त्यो माटोको सुगन्ध
हरेक पल बिउँझाएर पछ्याईरहन्छ ।
मैले टेकेको पदचापका डोबहरु
गोरेटो छेउको तितेपातीको झ्याँग
डिलमाथी ऐंसेलु टिप्दै खाएको
मेरो जिब्रोले स्वाद अझै
बिर्सेको छैन ।

अपनत्व ती वन पाखाहरूको
मनको आँखाले खोजीरहन्छ
चुलोमा भात बसाउँदा
आगो भर्भराएको क्षण
चामल थपेर मुसुक्क मुस्काउँदै
पाहुनाको आदर सत्कारमा
रमाउने बानी अझै गएको छैन ।

झम-झमी झरीमा चिप्लिने
रात्माटे डाडाको याद
गाई चरनमा तिम्रो सुमधुर धुन सुन्न
तिम्रो साड़ीको सप्को समातेर
पछि-पछि पछ्याईरहँदा
एक दिन मलाई वाकवाकि लाग्दा
२५ पैसाको ढ्याक
पटुकीबाट निकाली चटाउँदै
जंगल नलागोस् भनेर
कर्द सिउरीदिएको अझै ताजैछ ।

क्षितिज पारि घाम सुस्ताएको बेला
माले गाई पाटे बाख्रो धपाउँदा
मेरो हात नछोडी अर्को हातले
लठ्ठि हल्लाउँदै टाटेपाटे
बाख्रा धपाएको मेरो मानसपटलमा
त्यो स्मृति सधैं घुमिरहन्छ ।

मेरो मुटु तिम्रो कोमल हृदयसँग
सिलाएर राखी राखेका रहेछौ
समुद्र पारी भूगोलमा पनि
म अलग्गिन सकीन, आँमा !
शून्य रातमा जुनले पछ्याईरहन्छ
हरेक झिस्मीसेसँगै पहेलो सूर्य
झुलुक्क बिउँझिदा म झस्किन्छु ,
सायद,
मेरो तन
मेरो देशको मुटु
मेरै छात्ति भित्र टाँसिएको छ !

Add a Comment

Your email address will not be published. Required fields are marked *