संस्मरण : विद्यावारिधिको सकस
|एसएलसी परीक्षा सकिएको अन्तिम दिनसम्म भावी जीवनको मार्गचित्र तयार भएको थिएन । के गर्ने भन्ने विषयमा सोच नै थिएन । फुर्सद भएकाले गाउँकै सरस्वती प्राइमरी स्कुलतिर लागियो, पढाउन थालियो । बिहानले दिउँसो देखाउँछ (Morning Shows the Day)भन्ने उखान मेरो जीवनमा चरितार्थ भयो । पढाउने कामबाट सुरु भएको जागिर पढाउने कामबाटै निवृत्त भइयो ।
धनकुटा कलेजमा भर्ना भएपछि तत्कालीन प्राचार्य विष्णुप्रसाद पौडेल (परिमल)को नेमप्लेटमा डा लेखेको देखेपछि मेरो मनमा पनि पिएचडी गर्ने र डाक्टर लेख्ने रहर जाग्यो । बालहृदयमा परेकोयस प्रभावजन्य सपना पूरा गर्न निकै लामो समय र परिश्रम खर्च गर्नुप¥यो ।
विश्वविद्यालय सेवामा संलग्न हुने सबैलाई पदोन्नति तथा अन्य प्राज्ञिक कार्यमा पिएचडीको विशेष महङ्खव रहन्छ । त्यसमा अझ कीर्तिपुरमै प्राध्यापन गर्नेका लागि त पिएचडी आवश्यक नै ठानिन्थ्यो । म पनि उच्च अध्ययनकै लागि विराटनगरबाट काठमाडौँ आएको थिएँ । त्यसबेला सेमेस्टर प्रणाली लागु थियो । प्रत्येक सेमेस्टरपछि छुट्टी हुने हुँदा फुर्सद पनि थियो । भनौँ, अध्ययन अनुसन्धानका लागि उपयुक्त वातावरण थियो ।
क्याम्पस पढ्दादेखिकै सपना थियो, पिएचडी । त्यसमा पनि विश्वविद्यालय सेवामा रहेको हुँदा विद्यावारिधि हुन वाञ्छनीय थियो । विश्वविद्यालयमा त्यसबेला विदेशबाट विद्यावारिधि पूरा गरी आएका व्यक्तिहरूको फुर्ती अलि चर्कै थियो । हुन त विद्यावारिधिका लागि मलाई पनि अवसर नआएको होइन । सन् १९७४ तिरै हो, धनकुटा अर्खौलेका कुनै भट्टराई (पूरा नाम बिर्सिएँ) शिक्षा मन्त्रालयमा शाखा अधिकृत थिए । उनैले चीनबाट पिएचडीमा छात्रवृत्ति आएको सूचना दिएका थिए । तर, डाक्टर पोखरेलले चीन किन जाने बेलायत वा अमेरिका जानुपर्छ भन्ने सल्लाह दिनुभयो । सोहीअनुसार लागियो । अहिले यत्ति भनौँ, जे भयो ठीकै भयो ।
अमेरिकाबाटै उच्च अध्ययन गर्ने विचारले फुलब्राइट स्कलरसिपमा परीक्षा दिएँ । उक्त परीक्षामा पहिलो चरण पार गरेँ तर हाफब्राइट भएकाले छनौट हुन सकिएन । यो नैअमेरिका अध्ययन गर्ने मेरो पहिलो र अन्तिम प्रयास हुन पुग्यो ।
म पढ्दाखेरि नै लुड्बिग एफ स्टिलरले विद्यावारिधि गरी इतिहास विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुभएको थियो । हामी पढ्दा पढ्दै इलाहाबादबाट तुलसीराम वैद्यले डी फिल र जवलपुरबाट माधवराज पाण्डे सरले पिएचडी गर्नुभएको थियो । म शिक्षकका रूपमा विभागमा प्रवेश गर्दा कृष्णकान्त अधिकारीले नागपुर र प्रेमरमण उप्रेतीले अमेरिकाबाट पिएचडी उपाधि प्राप्त गरेर विभागमा कार्यरत हुनुहुन्थ्यो । यसैगरी त्रिरत्न मानन्धर र कृष्णबहादुर मानन्धर विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । विभागमा मलगायत केदार बास्तोला, निरञ्जन शर्मा तथा कमलराजसिंह राठौर पिएचडी गर्ने तरखरमा थियौँ ।
विसं. २०३० सालअगाडिको र पछाडिको विश्वविद्यालयको स्थिति फरक थियो । विसं. २०३० सालअघि छात्रवृत्ति वा अन्य अध्ययनका अवसरहरूमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्राध्यापकहरूले बढी प्राथमिकता पाउँथे । भने २०३० सालपछि सबै कलेजहरू विश्वविद्यालयअन्तर्गत आएपछि यस स्थितिमा परिवर्तन आएको थियो । कीर्तिपुर र अन्यत्रका प्राध्यापकहरूमा एकप्रकारका नजानिँदो द्वन्द्व थियो । विश्वविद्यालय क्याम्पसमा शैक्षिक योग्यता पुगेका मध्येबाट पनि भरसक एमएमा सर्वोत्कृष्ट भएका वा प्रथम श्रेणीमा उत्तीर्ण भएकाले प्राथमिकता पाउने हुँदा कीर्तिपुरे प्राध्यापकहरूमा अहम् भएको ठान्दथे, बाहिरका प्राध्यापकहरू । यसमा आंशिक सत्यता पनि थियो ।
मलाई विद्यावारिधिका लागि छात्रवृत्तिको आवश्यकता थियो, आफ्नै खर्चमा जाने स्थिति थिएन । विसं २०३८ तिरकै कुरा हो, भारत सरकारअन्तर्गतको विश्वविद्यालय अनुदान आयोगबाट छात्रवृत्ति आयो । उक्त छात्रवृत्तिका लागि मेरो नाम मनोनयन पनि भयो । भारतीय दूतावासका अधिकारीहरूले अङ्ग्रेजी जाँच पनि लिए । विश्वविद्यालय, शिक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा मनोनयनपत्र र अन्य आवश्यक कागजात बनाइयो । अध्ययनका लागि जाने भनेर खुट्टा पनि उचालियो तर उताबाट खबर नै आएन । हुन त रूसबाट पनि छात्रवृत्ति आएको थियो । तर, त्यसका लागि पहिले रसियन भाषाको प्रशिक्षण कक्षा लिनुपर्ने तथा रसियन भाषामै शोधप्रबन्ध तयार गर्नुपर्ने जस्ता प्रावधानहरू भएकै कारण म त्यसतर्फ लागिनँ । पछि रूसको छात्रवृत्ति पाएर अध्ययनका लागि गएका अन्य दुईजना व्यक्ति पनि आफ्नो अध्ययन पूरा नगरी नै फर्किए । यी दृष्टान्त हेर्दा ठीकै गरिएछ भन्ने लाग्छ ।
विसं. २०४० सालतिर होला विश्वविद्यालयले वृत्तिविकास कार्यक्रमअन्तर्गत भारतका विभिन्न विश्वविद्यालयमा पिएचडी अध्ययनका लागि छात्रवृत्ति दिई अध्ययनमा पठाउने व्यवस्था ग¥यो । तर, विसं. २०४० सालको छात्रवृत्तिमा मेरो नाम आएन । अर्कै एकजना मित्रको मनोनयन भयो । आफूभन्दा धेरै सेवा अनुभव भएको व्यक्ति परेकोमा चित्त बुझाएँ । अर्को वर्ष पनि मेरो नाम आएन शैक्षिक योग्यता अनुसन्धान जस्ता मापदण्डको कारणबाट मेरो नै हुनुपर्ने थियो । तर, भएन । त्यसबेला ज्यादै चिन्ता पनि लाग्यो । म तत्कालीन उपकुलपति रामचन्द्रबहादुर सिंहसमक्ष गुनासो गर्न गएँ । उहाँसित स्पष्ट रुपमा आफ्ना कुरा पनि राखेँ । उहाँले अर्को दिन आउन भन्नुभयो । म निवेदन त्यहीँ छाडेर फर्किएँ । अर्को दिन उपकुलपतिको कार्यालयमा पुग्दा त मलाई छात्रवृत्ति उपलब्ध गराउनू भनेर आदेश गरी आवश्यक कार्यवाहीका लागि समन्वय महाशाखामा पठाइसकिएको रहेछ । मलाई अचानक आश्चर्य र खुसी दुवैको एकसाथ अनुभूति भयो । उपकुलपतिले सम्बन्धित अधिकारीहरूसित बुझ्दा मेरो गुनासो ठीक भएको देखिएछ । सबै योग्यता पुगेको भए पनि निकाय प्रमुख (विभागीय प्रमुख होइन)ले दिने अंकमा मात्र मेरो अंक न्यून रहेछ । त्यसैले तुरुन्त अध्ययनमा पठाउनू भन्ने आदेश भएछ । समन्वय महाशाखाबाट टिप्पणी उठ्यो । शिक्षाध्यक्षले योजना महाशाखाको राय माग गरे । उनले परोक्ष रूपमा सकारात्मक कार्यवाही गर्न खोजेका थिएनन् । तर, एक त उपकुलपति त्यसमाथि पनि रामचन्द्रबहादुर सिंहको आदेश पालना नगर्ने सामथ्र्य पनि उनमा थिएन । तथापि मलाई कताकता डर लाग्यो किनकि योजना महाशाखा प्रमुख डा पन्नालाल प्रधान हुनुहुन्थ्यो । उहाँ कम बोल्ने र स्पष्ट जवाफ नदिने स्वभावको हुनुहुन्थ्यो । उहाँले मेरो फाइल पेन्डिङमा राखिदिनुभयो । शिक्षाध्यक्ष तथा अन्य अधिकारीको राय जेजस्तो भए तापनि उपकुलपतिको आदेश नै सर्वोपरि हुन्थ्यो । तर, फाइल नै अगाडि नबढेपछि त अन्योल नै भयो । त्यसपछि म शिक्षा मन्त्रालयका तत्कालीन सचिव डा ईश्वरप्रसाद उपाध्यायकहाँ पुगेँ । उहाँले डा पन्नालाल प्रधानलाई फोन गरिदिनुभयो । म उहाँलाई भेट्न गएँ । उहाँले तपाईँलाई अन्याय भएकै रहेछ । मैले प्रक्रिया मात्र मिलाउन खोजेको हुँ । उपकुलपति साहेबसित मेरो कुरा भइसक्यो लगायतका कुरा गर्नुभयो । अन्ततः आउने सालको कोटाबाट मिलान हुनेगरी वृत्तिविकासमा पठाउन सिफारिस गर्नुभयो । बल्ल मेरो फाइल पुनः शिक्षाध्यक्ष हुँदै उपकुलपति कहाँ पुग्यो । सदर पनि भयो । रामचन्द्रबहादुर सिंहले मप्रति ठूलो सदासयता देखाउनुभयो । र, मलाई न्याय पनि दिलाउनुभयो । म उहाँप्रति कृतज्ञ छु र सदा रहनेछु पनि । पितृहरूलाई तर्पण दिँदा उहाँको नाम पनि स्मरण गर्ने गरेको छु । समयमा नै उहाँले मप्रति सहानुभूति नदेखाएको भए मेरो पिएचडी सपना त्यति चाँडै पूरा हुने थिएन ।
वृत्तिविकासबाट छात्रवृत्ति पाउनुभन्दा अगाडिदेखि नै मैले विद्यावारिधिको विषय चयन गर्ने कार्यको थालनी गरिसकेको थिएँ । प्रारम्भमा १९००० देखि १९३० सम्म नेपालको विदेश सम्बन्ध विषयमा अनुसन्धान कार्य गर्ने मोटामोटी उद्देश्य राखी सोही विषयमा सामग्री सङ्कलन गर्ने कार्य प्रारम्भ गरेको थिएँ ।उक्त विषयको छनौट गुरु त्रिरत्न मानन्धरको रायसल्लाहअनुसारको थियो । सोहीअनुसार परराष्ट्र मन्त्रालय अभिलेखालय (जैसीकोठा)मा रहेका सामग्री अध्ययन गर्न थालेँ । जैसीकोठामा रहेका कागजपत्र दरबारको अनुमति पाएर चित्तरञ्जन नेपाली, लियो ई रोज र आजाद हुसैनले अध्ययन गरेका थिए । त्यसपछि अन्य अनुसन्धानकर्ताको त्यहाँ पहुँच भएन । विसं २०३७ सालतिर गुरु हेमन्त राणाको विशेष प्रयासबाटत्रिरत्न मानन्धर,कृष्णकान्त अधिकारी, प्रेमरमण उप्रेती तथा हेमन्त राणाले ती कागजपत्र हेर्ने मौका पाउनुभयो । विसं २०३९ सालमा नेपाल र एसियाली अनुसन्धान केन्द्रको अनुसन्धान कार्यको सिलसिलामा मैले पनि जैसीकोठामा प्रवेश पाएँ । विसं २०३९ देखि २०४१ सालसम्म कागजपत्र अध्ययन गर्दा नेपाल–तिब्बत सम्बन्ध (१९००देखि १९३०) विषयमाशोध गर्न सामग्री पर्याप्त हुने देखियो । पुराना कागजपत्र कपडाले बाँधेर पोका पोका बनाएर राखिएको थियो । पूरै अव्यवस्थित रूपमा रहेका ती सामग्रीको सुरक्षा गर्नेतर्फ कसैको चासो देखिएन । कुमार खड्गविक्रमले पहल सुरु मात्र गर्नुभएको थियो, २०४६ सालको आन्दोलन भयो । त्यसपछि उक्त कुरा त्यसै सेलायो । विसं २०४४ पश्चात् कसैले पनि ती सामग्री हेर्न पाएका छैनन् । महङ्खवपूर्ण ती प्रलेखहाल कहाँ र कस्तो अवस्थामा छन्भन्ने कसैलाई जानकारी छैन ।
नेपाल–तिब्बत सम्बन्धका विषयमाशोध गर्ने निश्चय भएपछि शाही जंगी अड्डा भद्रकालीमा रहेका कागजपत्र पनि विश्वविद्यालयको सिफारिसमा अध्ययन गर्ने अवसर पाएँ । त्यहाँका सामग्री व्यवस्थित थिए । छालाको जिल्ला लगाई सिलाइएकाले कागजपत्र सुरक्षित थिए । त्यहाँ विशेषतः नेपाल भोट युद्धका तयारीका विषयमा महङ्खवपूर्ण सामग्री फेला परे । राष्ट्रिय अभिलेखालयमा रहेका गोरखापत्र एवम् कमान्डरी किताबखानाबाट अध्ययन गरी सामग्री सङ्कलन भइसकेको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय तथा केशर पुस्तकालयबाट पनिविषयसित सम्बन्धित सामग्री सङ्कलन प्रायः पूरा गरिसकेर शोधप्रस्ताव पनि तयार पारिसकेको थिएँ । मैले विश्वविद्यालयमा कक्षा लिई सामग्री सङ्कलनलाई सर्वाधिक प्राथमिकता दिएको थिएँ ।त्यसैबेला मैले वृत्तिविकास छात्रवृत्तिसहित तीन वर्षको अध्ययन बिदा पाएँ ।
छात्रवृत्ति प्राप्त भएपश्चात् सर्वप्रथम अनुसन्धानप्रस्ताव तयार गरियो (नेपाल टिबेट रिलेसन्स १९०० देखि १९३०) । यस शोधप्रस्तावमा सुपरिवेक्षक तथा अनुसन्धान समितिबाट कुनै संशोधन भएन । नेपालमा उपलब्ध हुने प्रकाशित तथा अप्रकाशित सामग्री प्रायः सङ्कलन गरिसकेको थिएँ । थप सामग्रीका लागि भारतको नयाँदिल्ली स्थित राष्ट्रिय अभिलेखालयमा रहेका सामग्री सङ्कलन गर्नु थियो । सोहीअनुसार पत्राचार गरियो तर १९१२ पश्चात्का कागजपत्र अध्ययन गर्ने अनुमति प्राप्त भएन ।
वृत्तिविकास कार्यक्रमअन्तर्गत पिएचडीको छात्रवृत्ति पाएपछि विश्वविद्यालय र सुपरिवेक्षकको खोजी सुरु भयो । त्यसबेला डा ईश्वर बराल (लीलानाटेश्वर बराल) जबाहरलाल नेहरू विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो । उहाँसित परामर्श गर्न केही शुभचिन्तकहरूले सुझाए । तर, मैले नै त्यहाँ जान उपयुक्त ठानिनँ । एक त बरालजी श्रीमतीको माताका काका पर्ने र अर्को त्यहाँ एमफिल गर्नुपर्ने भएका कारणबाट । कोलम्बो योजनाअन्तर्गत इतिहास विभागमा आएका र त्जभ भ्mभचनभलअभ या ल्भध ब्चष्कतयअचबअथ ष्ल ल्भउबपिुस्तक पनि लेखेका एमएस जैन जयपुरमा थिए । उनैसित सम्पर्क गरियो । तर, उनले मेरो शोध विषयमा आफू विज्ञ नभएको कुरा गरे । पन्छिएका हुन् वा अरू कुनै कारण थियो, उनै जानून् । तुलसीराम वैद्य र त्रिरत्न सरहरूको सल्लाहमा पटना विश्वविद्यालयका प्राध्यापक वीरेन्द्र बर्मासित सम्पर्क गर्न निरञ्जन शर्मा र म पटना गयौँ । उनले पनि सुरुमा त निकै आनाकानी गरे । पहिले पहिले नेपालबाट आएकाहरूको विषयमा अनेकौँ टीकाटिप्पणीसमेत गरे । हामी दुवैले पहिलो अध्याय हेरेर निर्णय गर्न अनुरोध ग¥यौँ । उनले हामी दुवैलाई मन्जुरीपत्र दिए । पत्रको आधारमा तीन वर्षको अध्ययन बिदा स्वीकृत भयो । निरञ्जनजीले पनि अध्ययन बिदा लिनुभयो ।अन्यत्रको तुलनामा पटना जान मलाई पनि सजिलो थियो । पुष्पा, दुई छोरी, एक छोरा तथा दाजुका दुई छोरीको अभिभावकत्व त्यतिबेला मसितै थियो । त्यसैले टाढा जाने परिस्थिति पनि थिएन ।
मैले विश्वविद्यालयबाट अध्ययन बिदा लिएपछि प्रथम मस्यौदा तयार गर्न प्रारम्भ गरेँ । यस विषयमा मैले परराष्ट्र मन्त्रालय, शाही जंगी अड्डालगायतबाट आवश्यक सामग्री सङ्कलन गरिसकेको थिएँ । भारतको नयाँदिल्लीस्थित राष्ट्रिय अभिलेखालय पनि जानु थियो, सामग्री सङ्कलनका लागि । त्यसबेलासम्म पहिलो अध्याय तयार गरेँ ताकि दिल्ली जाने क्रममा सुपरिवेक्षकलाई आफूले गरेको कार्य देखाउन सकियोस् । त्यसपछि हामीले पटनामा सुपरिवेक्षक वीरेन्द्र बर्मासित भेट गरी दिल्ली जाने योजना बनायौँ । जसका लागि म र निरञ्जनजी काठमाडौँमा तयारीमा लाग्यौँ । पटना हुँदै दिल्ली गइयो । त्यहाँ जबाहरलाल नेहरू विश्वविद्यालयमा बरालजीसित भेटघाट पनि भयो । राष्ट्रिय अभिलेखालय तथा सप्रुभवनतिर सामग्री सङ्कलन पनि गरियो । टिपोट गर्नुपर्ने जति टिपोट गरियो । केही सामग्री प्रतिलिपि उतार गर्न दियौँ । सय पृष्ठभन्दा बढी प्रतिलिपि उतार गर्न नपाइने नियम थियो, त्यहाँ । फर्कने क्रममा दिल्लीबाट बनारस हुँदै विमला र वत्सला तथा उनीहरूका सम्धी प्रभात (त्यहाँ सिपी मैनालीकी पत्नी सीता खड्का गुप्तवासमा रहिछन्)सित भेट गरी भैरहवा हुँदै ढोढ्ना पुगेँ । जाडोको छुट्टीमा केटाकेटी सबै उतैतिर थिए । निरञ्जनजी र म नारायणगढबाट छुट्टिएका थियौँ । एकमहिनाको दिल्ली बसाइमा हामीले अध्ययनबाहेक अन्य कार्य गरेर पनि शोधप्रबन्धका लागि आवश्यक पर्ने सबै प्रलेख अध्ययन गर्न पाएकामा ठूलो सन्तोष मिल्यो ।
अनुसन्धानको क्रममा २ वटा प्रकाशित पुस्तक सिचलर क्यामेनन्को ट्रेड थ्रु दी हिमालयन, १९५१ तथा राहुल सांकृत्यायनको तिब्बेत मे सवा बरस, १९९० र रामप्रसाद राजवाहकको विद्यावारिधि शोधप्रबन्ध (नेपाल–इन्डिया–टिबट ट्रेड, पटना विश्वविद्यालय १९६०) प्राप्त गर्न निकै ठूलो सकस परेको थियो भने समय र परिश्रम पनि अधिक खर्च गर्नुपरेको थियो । पटना विश्वविद्यालय पुस्तकालयका प्रमुखबाट राजबाहकको शोधप्रबन्ध उपलब्ध हुन सक्यो । जुन सम्बन्धित विभागको पुस्तकालयमा नै थिएन । अन्य २ पुस्तक डा राजेन्द्र रामको अथक् प्रयासबाट उपलब्ध भए । यद्यपि ती कृति तथा शोधप्रबन्ध मेरो अनुसन्धानका क्रममा खासै ठूलो सहयोगी साबित हुन सकेनन् तथापि नभेटिएको भए उपयोगी हुन्थ्यो कि भन्ने मनमा सधैँ परिरहने थियो ।
नेपाल–तिब्बत सम्बन्धमा भोट र चीनतिर रहेका अप्रकाशित सामग्रीहरू अध्ययन गर्न स्रोत र पहुँच दुवै पुगेन । त्यसैले ती सामग्री सङ्कलन कार्य सम्भव भएन । हुन त चिनियाँ स्रोत प्रयोग गरी दुई देशको सम्बन्धमा प्रकाश पार्ने सिल्भा लेभी र लियो ई रोजबाहेक अन्य विद्वान् हालसम्म देखा परेका छैनन् । यसकारण पनि मेरो शोधप्रबन्ध जुन हिसाबको हुनुपर्ने हो सो हुन सकेन । चिनियाँ तथा तिब्बती भाषा नजान्नु र नबुझ्नु पनि मेरो कमजोरी नै भयो ।यद्यपि जति हुन सक्दथ्यो त्यति त गरेँ तापनि पूर्ण रूपमा सन्तुष्ट भने हुन सकिनँ ।सङ्कलित सामग्रीहरूको उपयोग कहाँ र कसरी गर्ने, प्रकाशित ग्रन्थहरूमा प्रवाहित सूचनालाई कसरी व्यवस्थित गर्ने, अध्यायहरूको व्यवस्थापन कसरी गर्ने तथा अनुसन्धानको ढाँचा कसरी निर्धारण गर्ने जस्ता विषयमा निकै ठूलो समस्या परेको थियो । अनुसन्धान विधिका पुस्तक तथा विद्यावारिधिका शोधप्रबन्ध प्रशस्त अध्ययन गरेपछि एवम् गुरुहरूको आत्मीय परामर्शबाट बल्ल अनुसन्धानका लागि आत्मबल प्राप्त भयो ।
शोध लेखनका क्रममा म पहिला खेस्रा लेखन गरी तीन प्रति टाइप गराउँथेँ । अहिलेको जस्तो कम्प्युटर थिएन । एकप्रति वैद्य सरलाई, एकप्रति मानन्धर सर र अर्को एकप्रति बर्मा सरलाई देखाउँथेँ । सबैको सल्लाह सुझाबअनुसार साफी लेखन गर्दथेँ । प्रत्येक अध्याय सकिनेबित्तिकै पटना जान्थेँ । यसोगर्दा वर्षको तीन चारपटक पटना जानुपर्दथ्यो । पटना जाने क्रममा पेशलजी र निरञ्जनजीबाट साथ पनि पाएको थिएँ । पेशलजीसित बनारस गएर काशीबासमा रहनुभएका भानिज दाइ नरपति पौडेलसित पनि भेट गरेको सम्झना छ ।
पटनामा रहँदा कै कुरा हो ।उक्त घटना सम्झँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ । सन् १९८४ अक्टोबर ३१ का दिनदिउँसो म र शान्ता राणा दुवैजना हाम्रा सोध सुपरिवेक्षकसित पटना विश्वविद्यालयको आवासगृहमा छलफल गर्दै थियौँ ।त्यति नै बेला इन्दिरा गान्धीको हत्या भएको खबर आयो । हामीबीच सोही प्रसङ्गको चर्चा–परिचर्चा हुँदा हुँदै पटना सहरमा आन्दोलन तथा जुलुस सुरु भयो । विशेषगरी सरदारजीहरूको पसलमा तोडफोड भएको खबर आयो । हामी हतार–हतार आफ्नो निवासतर्फ लाग्यौँ । बाटोमा हुलदंगा थियो । जताततै आगजनी, होहल्ला र तोडफोड भइरहेको देखिन्थ्यो । आन्दोलनकारीको नजरमा हामी म, शान्ता, शान्ताकी फुपू र पुष्पा प¥यौँ । अनेक अभद्र व्यवहार हुने संकेत देखा प¥यो । अब ती तीन महिलालाई कसरी डेरामा पु¥याउने भन्ने समस्या प¥यो । आन्दोलनकारीकै नेता जस्तो एउटा व्यक्तिलाई मैले हामी नेपाली हौँ, पटना विश्वविद्यालयमा पिएचडी गर्दै छौँ । हाम्रो निवास पटना मार्केटसम्म पु¥याइदिनुप¥यो भनी अनुरोध गरेँ ।अनुरोधठीक ठाउँमा परेछ । उनले दुईजना व्यक्ति खटाइदिए । उनीहरूले नै हामीलाई अगुवाइ गर्दै निवासपु¥याए । त्यसपछि त कर्फ्यु लाग्यो । बाहिर निस्कने कुरै भएन । जीवनमा पहिलोपटक कर्फ्युको अनुभव भयो । यही कर्फ्युको समयमा पुलिसको हाकिमसित कुरा गरी हाम्रो परिचय बतायौँ ।उनीहरूलाई हामीलेहाम्रा आफन्त पनि नेपाल प्रहरीमा भएको पनि जानकारी गरायौँ । कर्फ्युकै बीचमा ती पुलिसका हाकिमले हामीलाई अगुवाइ गरी बसपार्क पु¥याए । उनले हामीलाई बसमा चढाई बसचालकको फोन नम्बर लिई रक्सौल पुगेर खबर गर्न निर्देशन दिए । बाटोमा कुनै मुस्किल परेमा फोन गर्न हामीलाई आफ्नो नम्बर पनि दिए । पटनाबाट छुटेको बससिधै रक्सौल पुगेर रोकियो । हामीले नेपालीभूमिमाप्रवेश गरेपछिबल्ल लामो सासफे¥यौँ । भारतीय पुलिसको उक्त सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नै पर्छ । पटनामा एक प्राध्यापकले टिप्पणीगर्नुभएको सम्झना छ– हिन्दुस्तानमा सबै करोडमा छन्, फटाहा पनि असल पनि । उक्त घटनाबाट असल पनि करोडमै रहेको अनुभूति हामीले ग¥यौँ ।
पटनामा पञ्जाबीहरू कुटिएका, लुटिएकार उनीहरूका पसल तोडफोडगरी आगजनी गरेको देखियो । कति सरदारजीहरूले पहिचान लुकाउन दारी कपाल काटेको घटना पनि देखियो । धेरै सरदारजीहरूको धनजनको क्षति भयो । यस घटनापश्चात्पटनाबाट प्रायः सबैसरदारजी पलायन भए ।
पटना जाने क्रममा तीनपटक त पुष्पा पनि साथै गएकी थिइन् । र, प्रत्येक पटक पुष्पालाई बर्मा सरबाट उपहार मिलेको थियो । बर्मा सरबाटै हामीले धेरै उपहार तथा स्नेह पाएका थियौँ । यसलाई हामी आजीवन भुल्ने छैनौँ । पटना बसाइका क्रममा डा राजेन्द्र रामबाट पनि आत्मीय सहयोग पाएको थिएँ । डा रामसित हाम्रो पारिवारिक सम्बन्ध नै कायम भएको थियो । पटनामा रहँदा त्यहाँ बसेर विद्यावारिधि गरिरहनुभएका त्रिविकै मित्र निर्मलकुमार विष्ट र फोणिराज पाठकबाट यथेष्ट सहयोग पाएको थिएँ ।
शोधप्रस्ताव दर्ता गरेको दुई वर्षमा नै मैले शोधप्रबन्ध बुझाएँ । श्राद्ध गर्न त सजिलो रहेछ तर सिधा पु¥याउन गाह्रो रहेछ भन्ने उखान शोधप्रबन्ध बुझाउनेहरूले पटना विश्वविद्यालयमा भोगेको नियतिसित मेल खाने हुन्छ । पटना विश्वविद्यालयबाट निर्धारित अनुसन्धान प्रविधि एवम् अन्य तोकिएको ढाँचा ठीक छ कि छैन भन्ने कुरा त्यसबेला अनुसन्धान विभागका प्रमुखले नै हेर्ने गर्थे ।उनले सबै हेरिसकेपछि मात्र शोधप्रबन्ध दर्ता हुन्थ्यो । कुनै सानोतिनो कुरा नमिलेको भए पनि पुनः सच्याई बुझाउनुपथ्र्यो । शोधप्रस्तावको स्वीकृतिपत्र, पहिलो र अन्तिम निर्धारित समय, पटनाविश्वविद्यालयमा बसेको प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र जस्ता विषयका कागजात पनि एकएक गरी केलाउने गर्थे । एउटा शोधप्रबन्ध दर्ता गर्न पनि निकै समय लगाउँथे । अन्य मित्रको गति हेरेर नै मैले पूर्ण तयारी गरेको थिएँ तसर्थ कुनै समस्या परेन । शोधप्रबन्ध बुझाएको सात महिनापछि भाइबा भयो । मौखिक परीक्षामा सबै बाह्य परीक्षकहरूले शोधप्रबन्धलाई शीघ्र प्रकाशन गर्ने राय दिनुभएको थियो । मेरा शोधप्रबन्धकलाई त झन हतारो थियो । धन्य, उहाँले मेरो अनुसन्धान प्रकाशन भएको देख्न पाउनुभयो । मौखिक परीक्षामा दुईजना बाह्य परीक्षक विद्वान्हरू तथा अन्य सम्बन्धित इच्छुकसमेत बस्न पाउँथे । यसमा मलाई खासै मुस्किल परेन । भाइबापश्चात् विभागमा हाजिर भएँ । केही समयमा गोरखापत्रमा फोटोसहित समाचार छापियो । निश्चलले गोरखापत्र बजारबाट किनेर ल्याएको सम्झना छ । त्यसबेला हामी डिल्लीबजारमा थियौँ । मेरो पिएचडी पूरा भएकामा सबैभन्दा खुसी पुष्पा र दाजु हुनुहुन्थ्यो ।
मेरो शोधप्रबन्ध यथास्थितिमा नै दिल्लीबाट विसं २०४८ सालमा प्रकाशन भयो । यसको दुइटा संस्करण बजारमा पनि आएको छ । यस कृतिको अनुसन्धानका क्रममाबेलायतस्थित लन्डनमा रहेको इन्डिया अफिस लाइब्रेरी (ब्रिटिस लाइब्रेरी)मा रहेका नेपालसम्बन्धी कागजपत्र अध्ययन गर्ने अवसर पाएको थिइनँ । उक्त अभावलाई टार्न विसं २०५७ सालमा अन्य कार्यको सिलसिलामा बेलायत पुग्दा केही सामग्री सङ्कलन गरेको छु । साथै पाठक तथा अनुसन्धानकर्ताहरूबाट प्राप्त सुझावसमेतको आधारमा पुनः परिमार्जन गर्ने तरखरमा छु ।
प्राडा वीरेन्द्र बर्मा, प्राडा त्रिरत्न मानन्धर तथा प्राडा तुलसीराम वैद्यको उपयुक्त सल्लाह र सहयोग नभएको भए मेरो शोधकार्य किमार्थ पूरा हुने थिएन । श्रद्धेय गुरुहरूमा हार्दिक नमन । साथै प्राडा वीरेन्द्र बर्मा गुरुको निधन भइसकेको छ । उहाँप्रति हार्दिक श्रद्धान्जली ।
मेरो शोधकार्यमा गुरुहरूका अतिरिक्त डा पुरुषोत्तम बाँस्कोटा, डा राजेन्द्र राम, डा चन्द्रविक्रम बुढाथोकी, डा निरञ्जन शर्मा, डा सुरेश काफ्ले र घनश्याम भट्टराई (प्राडा घनश्याम भट्टराई) तथा डा यज्ञनाथ आचार्यबाट ठूलो सहयोग पाएको थिएँ । सबैप्रति हार्दिक आभार ।
विसं. २०२३ सालको धोको विसं. २०४३ सालमा आएर पूरा भयो । त्यसबेला नै मैले मेरो सपनाका बारेमा धेरैलाई सुनाएँ हुँला । सरस्वती स्कुलको शिक्षक हुँदा पनि विश्वनाथ पोखरेलसित सोही कुरा गरेको थिएँ । मेरो पिएचडी पूरा भएपछि उहाँले नै सर्वप्रथम मलाई तपाईँको उद्देश्य पूरा भयो भनेर टिप्पणी गर्नुभएको पनि सम्झना छ । विद्यावारिधिको विषय र शीर्षक छनौट गर्न, छात्रवृत्ति पाउन, शोधप्रस्ताव तयार पार्न, शोध सुपरिवेक्षक पाउन, सामग्री सङ्कलन गर्न, सङ्कलित सामग्री व्यवस्थापन गर्न, प्रथम मस्यौदा तयार पार्न, प्राप्त सुझाबलाई सम्बोधन गर्न, शोधप्रबन्ध बुझाउन, मौखिक परीक्षामा उपस्थित भई आफ्नो अनुसन्धान कार्यको औचित्य पुष्टि गर्न तथा शोधप्रबन्ध प्रकाशन गराउन सकसै सकस भयो । यी कृत्यको सम्झनाबाट अहिले आनन्दै आनन्दको अनुभूति हुन्छ ।