बिडम्बना ( कथा)
|आजको यन्त्र युगीन प्रगतिशील मानसिकतामा बढेकी, दशौं कक्षासम्म पढेकी, बवकाट केशविन्यास र लिपिस्टिक परिवेशमा हुर्केकी, तन्नेरी मालतीले, त्यो ठुलो टुप्पी पालेको कन्यार्थु केटोलाई आफ्नो भविष्य जीवनको जीवनसाथी रूपमा स्वीकार गर्न सकिन । उसको रङ्ग- रूप,कालो -गोरो,अग्लो -होचो,जीउडाल सबै तिर चित्त बुझेको हो । तर टाउकाको पछिल्तिर झुण्डिएको मुट्ठी भरिको त्यो टुप्पिमा पुगेर मालतीको मनमा ठेस लाग्यो । मनै अमिलो भयो ।
यता केटो मोहनले भने औधि नै मनपराइएको त्यस पडके मालतीलाई । दुधमा सिँदुर छरे जस्ता झर्झराउँदा पुक्क परेका गाला, कसैलाई च्याई राख्ने जस्ता लजालु आँखा, उस्तै तन्किएका आँखीभौं । लामा-लामा सलक्क परेका हातगोडा ! मालतीको रूपको बान्की भन्दा मोहनको मनको बान्की झनै रमाएको थियो । के गर्नु एकदिनको पाहुना, आयो गयो पनि । केटोले हेरेर गएपछि, केटी तर्फबाट बिहे हुने नहुने कुरा केटा पक्षलाई दिनुपर्ने नियम हो । खोजि र विचार गर्दा केटो मोहन महर्षि आश्रम दिल्लीतिर संस्कृत समेत वैदिक विधिअनुसार पूजा पाठ, पुरोहित भएर जजमानी कार्य गर्ने भन्ने ठहर भयो । त्यसकारण उसको टुप्पी ठूलो हुनु स्वाभाविक कुरा थियो । घरको एकप्रकारको मतो भएको हो- यत्तिको मान्छेले सास्नी पाल्छ, दिन सकिन्छ भन्ने । तर मालती मानिन । मान्दै मानिन । पटक्कै मानिन । अन्त्यमा लौ यो वर्ष बिहे नगर्ने रे भन्ने समाचार मोहनकोमा पठाइयो ।
जम्मै कुरा छाडेर मालतीले अठोट गरि, यस टुप्पिले भन्छ- उसलाई माग्न आएको केटो, आजको यो आधुनिक जमानामा पनि टुप्पीवाला बाहुन अर्थात अझै पनि पूजारी ब्राण्ड नै छ भने, यस्का बुआ -आमा, घर-घडेरी, रहन-सहन झन कस्तो होला ! उँहु कतैबाट मालतीको मन बुझेन । एकबाजि उसको मनको मझेरीमा बजेका बिहेको नौमती बाजा मनमै थन्किए । मालतीले मजेत्रो भनिनु पर्ने ‘चुन्नी’ उसको छातीको भुगोलमा सही ठाँउमा अवस्थान गराउँदै भित्री मनमा कुराहरु पर्गेलेर हेरि । एउटी केटीमा हुनपर्ने साधारण गुणवत्ता, रङ्ग-रूप, पढाई -सुनाई, बुनाई- कराई, घरको काम धन्दा, रोपाइँ- कटाई केहीमा कमी छैन मेरो पनि । मालती आफैंलाई पश्न गर्दै, आफ्नै मनको उत्तरले चित्त बुझाउछे । बिहे गर्ने उमेरमा कन्यार्थु भएर एउटा केटो आयो भन्दैमा, आफ्नो इच्छा-अनिच्छा, पसन्द- अपसन्द केही विचार गर्न नपाइने के त्यस्तो कर छ हउ, कालो गए गोरो आँउछ । एकसाता पछि मोहन भन्ने कन्यार्थु केटाको घरमा “यसपालि बिहे नगर्ने रे” भन्ने समाचार पठाइयो । अर्थात त्यस केटासँग बिहेको कुरा पन्साइयो ।
घर- घडेरी, जग्गा-जिमीन, गोठ-ब्याँसी, समेत परिवार वर्गले टन्न भएको, शील-स्वभाव, वाणी- ब्यहोरा, चाल-चलन तन्दुरुस्त भएको जवान केटो मोहनले बिहे गर्न खोज्दा केटी नपाँउने कुरै थिएन । यसवर्ष भरिसक्के बिहे गर्नुपर्ने अठोट भएकोले, मोहनले यसपालि दई-चारवटी केटीको अनुहार हेरौं न, मेरो पुर्पुरोमा कस्ति जीवनसाथी फेला पर्ने हो कस्ले जान्दछ र…. भन्ने भावनाले अल्लारिंदै जाँदा उ एक्कासी मालतीकोमा
पुगेको थियो, साँच्चै भन्नुपर्दा यो केटी दुरूस्तै मोहनको मनको भावनाले खोजेको केटी थिई । उस्लाई मन परेको हो । तर एउटा हातले ताली बजाएर बज्दैन । हिजोआज केटीले केटो मन नपराए पछि कसैको जोर-जबरजस्ति चल्दैन भन्ने चलन छिप्पिएको छ । उता मालतीले मोहनको शिक्षा-दीक्षा,स्वभाव-चरित्र, घर-परिवार, धनधान्य जस्तो भविष्यमा सुखी जीवनको मूल विषयमा गहिरो चिन्तन नगरिकन केही नसोचिकन, त्यस केटाको टाउकोमा देखिएको एकमुठी टुप्पिको भनौंन एकमुठी भुत्लातिर मनचित्त गाडेर, त्यसलाई धेरै महत्व दिएर, बिहे जस्तो जीवनको अनमोल अङ्कको फितलो र हलुको कतै नमिल्ने जवाफ दिईहालि । गयो कुरो सकियो ।
…गाजली, छटपटे र बवकाटै भएपनि किन हो त्यो मालती सुहाँउदिली, छरिती लागेको थियो मोहनलाई । बवकाट केशहरु चुल्ठा बाट्नेसम्म लामो हुनता कति दिनपो लाग्ने हो र ! यस्तोसम्म सोचेर दुई वर्ष, दुई वर्षसम्म मोहनले वरपर समाचार बुझ्ने, घुमाउरो पाराले आफ्नो पनि समाचार पठाउनु आदि काम मोहनले नगरेको होइन गर्यो, तर औखति लागेन । परिशेषमा घरको, परको, आफन्तको करमा परेर मोहनले दुई वर्ष पछि ,जेहोस् भन्ने भाव र भाराक्रान्त मनले अर्कै केटीसँग बिहे अर्थात जीवन धान्ने चुक्ति अनि बेहुली भित्रयाउने युक्ति गर्यो ।
मालतीको पनि सुटटाईले टिमिक्क, आँखाले हेर्दा झिमिक्क, हिँडाई डुलाईमा चिटिक्क र मालतीको मन पर्दो केटासँग लगनगाँठो जोडियो । मालतीलाई अन्माएपछि दाजू रामेले एकखाले ठुलो स्वाश फेरो । किनकि बुढा भएका बाउ नाममा मात्रै बेहुला बेहुलीको ज्येष्ठ अभिभावक स्वरूप थिए, रूपियाँ पैसादेखि ओसारपसार काम धन्दा, ऋण काडनु तिर्नु सबै रामेको थाप्लोमा टेकेर हिँडेको थियो । बिहे सकिएपछि, यो राम्रो कुटुम्ब खोजेर छोरी चेलिको बिहा गर्नु भनेको, पृथ्वीको सातवटा कठिन काम मध्ये यो पनि एउटा कठिन काम हो भन्ने कुराको राम्रो उपलब्धि भएको हो । यसरी मोहन र मालतीको आ-आफ्नो पाराले बिहे भयो, रात गयो अग्राख पलायो ।
यसरी दाजुभाइ दिदीबहिनी सबैको बिहे गरि सकेर आ-आफ्नो संसारमा आफ्नो पाराले जीवन धान्ने क्रम रामेले थाहै नपाई सत्र वर्ष बितेर गएछन ।
एकछाडी अर्को समस्याको पोयो बाट्दाबाट्दै दिनहरु सकिए, तर समस्या टुङ्गिएन, पोयामा गाँठो पार्ने दिन आएनन ।
गया-काशी, मथुरा- वृन्दावन पुग्ने, यसो तीर्थब्रत गर्ने उसको मनको धोको पोको पारेको बाह्र वर्ष उकालो लाग्दा पनि, न कामले फुर्सद,न भनेजस्तो खर्चको चाँजोपाँजो, कतै केही नमिलेको खण्डमा एकप्रकारको वैराग्य अनुभव गरेर, लौ म ता यसपालि बाटो लागें है, भन्दै उराठिएर घरबाट निक्लेको हो । किनपो विरक्त नहोस विचरा रामे । न कहिल्यै मिठो खान, सुकिलो लगाउन पाँउनु, न भलाद्मी भएर कुनै दिन मेलमिटिङ सभामा ढुक्कले बस्न कुरा सुन्न पावोस । हातखुट्टा लागेको दिनदेखि, हलाको अँनउ, गोरूको पुच्छर, खेतको हिलो, बारीका डल्ला ,दलनिको लुँडी, कोदालाको बिँडदेखि बिच अरु केही गर्न मिलेन। यो कस्तो जिन्दगी हो, घरमा एउटा समस्या समाधान गरियो भनेर ढुक्क पर्यो अर्को समस्याले मुख बाएर निल्न ठीक परेको हुन्छ । सम्पूर्ण छोरा छोरीको हातगोडा लगाएर बिहेदान गरेको छ सात महिना अघि पछिमा बुआ आमा स्वर्गे हुनुभयो । जेठो छोरो रामेको थाप्लोमा खनियो। माईती मावली छोरी-चेली ससुराली पाहुना-पाछा गाई-बाछा समस्त समस्त कुराको केन्द्र विन्दु रामे । कसैले राम्रो काम गरे रामेको नाक घोक्रिने, नराम्रो कुरा काम गरे रामेको नाक काटिने दिमाग चाटिने । संसारको भुमरी यस्तै रहेछ । बिहे गरेर घर पठाएका दिदी-बहिनी घरखान नसकेर माईत आए पछि त्यो अर्को पिरलो, जसले खपेको हुन्छ त्यसैले चेतेको हुन्छ।
मालतीले आफैले मन पराएर राजीखुशीले सुन्दर केटासँग बिहे भएकि हो । काठपात समेतको धुमधामका साथ बिहे गरेको थियो । त्यसले यसबेला घरखान नसकेर ज्वाँई र घर समाज लत्याएर तीनचारोटा छोराछोरी च्यापेर माईत आँउनु मात्रै होइन केटा पक्षलाई नारीसुरक्षा ऐन अनुसार मुद्दासम्म ठोकेर बसेकि छ। अब रामे जस्ताले बोलि सक्नु भएन,यता समस्याले खपिनसक्नु भएको छ। गर्दागर्दै लु अरुपनि नानी च्यापेर माईत आँउन थाले र सबै भेला भए । माउ मात्रै हो र तीनोटीको माउबच्चा पुगनपुग एकदर्जन घरमा आएर डेरा जमाएर बसे ।
सहनशीलता भन्ने कुरा यीनमा छैन जस्तो लाग्छ रामलाई । किन उसले पनि उत्तिकै अर्काकै छोरी बिहे गरेर ल्याएको हो । कहिलेकाहीँ हाई झगडा घरघरमा हुन्छ । हाम्रो पनि हुन्छ । खोइ नानी च्यापेर माइत जाने कुरा भन्न सकेको छैन । रामे यसरी कुरा सोच्न मात्रै सक्दछ, प्रकृत कारण केलाउन सक्ने बुता उस्मा नहुनु स्वाभाविक नै हो ।
यस्तै उस्तै फेद र टुप्पो नमिलेका तर आफ्नैं जीवनको डँढेलेनोमा बज्रिएका अतीत रोमन्थन गर्दै रामे उर्फ रामलाल हरिद्वारको मन्दिर गङ्गाघाटको रमाइलो हेर्दै एकातिर लम्कदै थियो, मनमा अब आज राति बास बस्न के कस्तो सुविधा पर्छ पर्दैन, धर्मशाला कता होला भन्ने भावनाको लहर पनि छँदैछ ।
हिजो साँझमा त उ गया- काशी घुमेर यो हरिद्वार आईपुगेको हो । यसबेला रामलाल पान एकखिलि चपाउने तलतलले पिपलको रूखमा आडलागेको पानपसल सामु उभिन्छ । एकखिलि पान सुपारी मुखमा लगाएको मात्रै थियो एकजना बाहुनले मुसुक्क हाँसेर “नमस्कार” भनिकन यसो उसो बातचित गर्न लागे। कताहो काहाँ हो यो अनुहार देखेको चिनेको त हो तर खोइ कहिले हो काहाँ हो, अथवा उसको भ्रम हो, कि बिर्सेको हो रामेले कसैगरि ठम्याउन सकेन । जेहोस त्यसले भने खुटैखुट चिनजानका कुरा गर्छ । आफुलाई भने हेक्का रहेनछ । फलाममा खिया लागे जस्तो मथिङ्गलमा पनि खिया लागेको त होला नि, कति साह्रो बिर्सेको त बिर्सन पनि । तीर्थस्थल अथवा मन्दिरमा बस्ने ब्राह्मणको टुप्पि हुनु साधारण कुरा हो। यस बाहुनको झन सानोतिनो पाटाको मुठो जात्रै गजबको बढो टुप्पि रहेछ । थाहै नपाई रामेको हात आफ्नो टुप्पी छाम्न पुगेछ, अवचेतन मनको क्रिया, पुनर सचेत भएर आफ्नो हात आफैँ खुम्चियो रामलालको । बाहुनले बातचित हुदै जाँदा बाहुन असमकै बासिन्दा रहेछन भन्ने थाहा भयो । कुराकुरामा आज अब दिन ढल्किएर रात पर्ने भयो तर रात्री बासको टुङ्गो लगाउन नसकेको कुरा रामेको मुखबाट फुत्त निक्ल्यो । यस्तो सुन्नु साथै बाहुनले रात बास बस्न उति चिन्ता गर्नु पर्दैन, मेरै कुटियामा रात बिताउन सकिन्छ । गफगाफ पनि गरौंला हुँदैन र हजुर भने बाहुनले । के खोज्छस काना आँखो । रामले नाईनास्ती गर्ने कुरै भएन । मनमनै फुरुक्क पर्नु कुरा हो । “हजुर तपाईं यहाँ पाँचसात मिनेट पख्नुस् म सानो काम सल्टाएर पुन: यँही आँउछु, तब सँगै हाम्रो डेरा तर्फ लागौंला” यति भनेर बाहुन त्यो मान्छेको भीडभाडमा मिस्सिएर हराए । साँच्चै भन्नुपर्दा आज रामलाई, कानाले एउटा हैन दुइटै आखाँ एकैसाथ भेटेजस्तो लागेको छ ।
उत्तराखण्डको हरिद्वार जस्तो पवित्र तीर्थनगरी । सन्तुलित हावापानी, विस्तीर्ण हरियाली बिचबाट बगेकी भागीरथी गङ्गा । आहा कति सुन्दर मनोरम, साँच्चै भन्नुपर्दा देवता बस्ने देवभूमि भनेको यही होला । नीलाभ पहाडको काखमा नानाथरी मानिसहरुको समागम तर सदा जाग्रत शान्तिपूर्ण जीवन चक्र । साँझ बिहान पूजा पाठ, वेद माङ्गलिकी, भजन कीर्तन,संस्कृत श्लोकमा मुखरित परिवेश । रामेलाई अव्यक्त आनन्दको पोखरीमा डुबुल्की मारे झैं अपार सन्तुष्टि प्राप्त भएको अनुभव हुन्छ । ” लौ हजुर, अब उसो हामी डेरातर्फ लागौं होला” अघिका ब्राह्मणको शव्दमा रामे झस्कियो, टक्कै ठीक समयमा बाहुन आईपुगे । फेरि पनि यो मान्छेसँग काहाँ देख भेट भएको थियो होला भन्ने अनुमान गर्न चाहेको हो रामेले, तर उँहु पार लागेन । तर बाहुनले उस्लाई सम्पूर्ण चिनेको भान हुन्छ ।
रामलाल लुरू-लुरू बाहुनको पछि लाग्यो । केही पछि पहाडको आडमा बनिसकेको एउटा ठीकको चिटिक्क परेको पक्का घर भित्र भित्रिए दुवै । वैठक कोठामा एकैछिन थरक मारेपछि” लौ अब यी झोला सामान पनि राखौँ र हातपाउ धोएर विश्राम गर्न पर्ला, भित्रै जाँउ” भनेर उसलाई भित्रतिर लगेर पलङ्गमा बसाए ।
नयाँ ठाउँ नयाँ घर नयाँ मान्छे । रामे यसो नजर डुलाएर हेर्छ । घरभरि दैनन्दिनी सामग्री भरिएको, तरेली तरेलीमा सजाइएका चिजबिज । सानो तिनो बजार जस्तो । देख्दा पनि आनन्द आउँने । पानी पिउनोस, नानी केटाकेटी साँझको आरती गर्न त्यहाँ पर्तिर मन्दिरमा गएका रहेछन्, आउँछन मिलिक्कै । सदाचारी, मिष्टभाषी, रसिलो व्यवहार- बाहिरबाट झटै हेर्दा कसले जान्दछ, यस्तो धोतिलुँडे, बडोमा टुप्पीवाला, ढ्यास्रो लाग्ने मान्छे यस्तो भरिलो, पोटिलो, मोटिलो, सौखिन, श्रद्धालु अतिथपरायण हुन सक्ला भनेर। यस्तो जीवन पो बरु सुखी जीवन भन्न सकिन्छ ।
मन मनै रामे लोभिन्छ बाहुनको व्यवस्थामा । नगर सहरमा सबै छट्टु ठगाहार र चुपीचण्डाल हुन्छन भन्ने कुरा रामेलाई पत्यार लागेन । राम्रो मनकारी धनाढ्य मानिसको पनि उत्तिकै हुन्छ भन्ने ठहर भयो उसलाई ।
यसबेला सम्ममा नानी केटाकेटी समेत घर जँहान आई पुगेर चिनजान, चियापानी भइ सकेको थियो । केही बेरमा खानपिन पनि भयो र आ-आफ्ना विस्तारातिर लागे । राम पनि अब सुत्ने तरखरमा थिए । हातमा एउटा फोटोको एल्बम लिएर बाहुन भित्रिए । एल्बम पल्टाउँदै जाँदा दुएक चिठीचपेटा पनि रामलालका आँखा टक्क अडिए । मालतीको उसबेलाको फोटो देख्नासाथ यो बाहुन उही मोहन हो भन्ने कुरामा कुनै शंका रहेन । त्यसबखत यो फुन थिएन । बरु चिठी चफेटाको चलन बाक्लो थियो । त्यहाँ दुएक त्यस्तै चिठी पनि उत्तिकै जतनले राखेका रहेछन्, जस्मा मालतीले उसलाई मोहन मन नपरेको कुरा लेखेको थियो । एकमात्र ठूलो टुप्पीले गर्दै उसबेलाको मोहन मालतीको बिहे नभएको कुरा छर्लङ्ग हुन बेर लागेन । यसबेला रामलाललाई अचम्म लाग्नु पर्ने थियो, तर लागेन । मोहनले लिंडे कपाल भएकि बवकाट मालतीलाई मोहनले मानवीय गुनको आधारमा आंकलन गरेर मन पराएको रहेछ । दुई वर्षसम्म पनि मालतीको निम्ति मोहन बिहेको लागि पर्खेको रहेछ । तर मालतीले मोहनको मथिङ्गल घेरेको बटुको छोप्ने छालामाथि पलाएको भुत्ला यानी अनुभूतिहीन कपालको मुठो हेरेरै एउटा कन्यार्थु एउटा जीवन धान्ने साथीको मान्यता निर्णय गर्न चाहेको थियो। अनि यस्मा अचम्म लाग्नु पर्ने, बिस्मत मान्नुपर्ने केही तर्क छैन ।
” मालतीलाई राम्रो छ होला नि ? मलिन मुहारले मोहनले रामेलाई सोध्यो। यता रामे मुटुमा परेका गाँठा फुकाउँदै थियो । ठुलो टुप्पी भएको लठुवा भन्ठानेर पन्साएको मोहन यस्तो सुख सम्पदा घर परिवारले सम्पन्न हुँदा हुँदै पनि गाँउकि साधारण केटी मालतीको स्मृति सम्मान पूर्वक मनमा पालिरहेको मानवीयता अनि जीँउदि मालतीलाई आफैंले मनपराएको आधुनिक सुटटाई लोग्नेले उसको जीवन यौवन सितिमिति लुटि सकेर छोडपत्रको टुङ्गोमा पुर्याएर एउटानारी हृदय चढाई रहेको बिडम्बना सम्झेर र यथार्थको प्रकटीकरणमा ।
***समाप्त***