नारी : सारेको बिरुवा


बगैंचामा फुलेको एउटा सुन्दर फूल
जरैदेखि उखेली पठायो मालीले
पराइको आँगन सजाउन

बीजदेखि बिरुवा पारी
कोपिलादेखि फूल फुलाउन धेरै मेहनत गर्‍यो
तर,
चलिआएको परम्परा निभाउने बाध्यतामा
हुर्किएपछि बिदा गर्नैपर्‍यो
सृष्टिको आधारलाई कायम राख्न
मालीको फूलमाथिको हकले आज किरिया सारेको छ

रगतको साइनो दुईदिने पाहुनामा परिणत हुन्छ
सधैँ हँसिलो अनुहार पारी फुल्नु – फल्नु पर्छ
सुक्न नदिनु आँगनको तुलसी
धेरै शिक्षा पाएर तयार छ
जन्मिएको ठाउँबाट पर सारेको बिरुवा

नयाँ फूलबारीको  घेरोभित्र
फुल्छ – फल्छ
हाँस्छ – रुन्छ
सियोमा उनिन्छ
अनि देउतालाई चडाइन्छ

तगारोबाहिर आफूलाई फुलाउन खोज्दा
उखेलिन्छ
निमोठिन्छ
गृहहारा हुन सक्छ
त्रासमा राख्न खोजिन्छ सधैँ

सपना उसका पनि थिए
आशा उसका पनि थिए
रहरहरू झाँगिदै थिए
आकाशभरि उड्ने प्वाँख पलाउँदै थिए
खोइ कता बिलाए
खोइ कता हराए

दायित्व सकेर माली
ढुक्क छ
फूल पाएर अधिकारी ढुक्क छ
सम्बन्ध जोड्ने एउटा सुन्दर परम्परा
उसको
विवशता बनिन पुग्छ

अरूलाई खुसी दिँदादिँदै
आफ्नो सपनाको आहुति दिएर
बाँच्नै पर्ने बाध्यतामा बाँच्नु परेको छ

किन सोधिँदैन उसलाई उसको चाहना
किन गरिँदैन उसको अधिकारको चर्चा-परिचर्चा ?

समाजमा अधिकारको भाषण झाड्छ अधिकारी
घरमा उसको मनस्थिति बुझ्ने प्रयास गर्दैन
सपनाको उडान भर्न खोज्दा
आज पनि पाइला पाइलामा
अग्नि परीक्षा दिन बाध्य हुनु पर्छ
अन्यायसँग आत्मसमर्पण गरेर
मौन व्रत धारण गरेर
परम्पराले तोकेका नीतिहरू मानेर
कुनैदिन सुन्दर गुलाफ भएर प्रेमिको हातमा सजिएको त्यो कोपिलो
केक्टस झैँ सुनसान मरुभूमिमा छ
फक्रिन नपाई

तर पनि ऊ हार मान्दिन्

उसलाई थाहा छ
सृष्टिको आधार हो ऊ
उसमा बिउ उमारेर बोट बनाउने क्षमता छ
ऊ लड्न सक्छे अन्यायको विरुद्ध असमाप्त युद्ध।

3 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *