आदिकवि भानुभक्त

नेपाली भाषाले नेपाली मुटुहरु जोडिदिन्छ
नेपाली भाषाले नेपालका सीमाहरु कसिदिन्छ
छरिएका मोतीहरु एउटै मालामा गाँसिदिन्छ
भाषा नागको मणि हो
भाषा शिरको ताज हो
भानुभक्त तिमी फेरि उदाउनु पर्यो
पूर्वमा भानु उदाएजस्तै ।

आमाले सपना देख्दा मुस्कुराउने आमाकै भाषा
बाबाले पसिना पुछ्दा सुस्ताउने बाबाकै भाषा
सन्तानले बुझेनन् भने
लौन बाँचेको सार कसरी होला
शरीर त होला
तर आत्मा मरे झैँ होला
शरीर र आत्मा जोड्ने हो भने
लौन भानु तिमीले पुनर्जन्म लिनुपर्यो ।

डर लाग्छ
कतै रामायणका पानाहरू ओझेलमा नपरुन्
कतै भक्तमाला हराएर नजाओस्
भाषाका कुवाहरू नसुकुन्
घाँसीका प्रेरणाहरू नमरुन्
त्यसैले बिर्के टोपी लाएको
हातमा पुष्तक भिरेको
भानुभक्त फेरि जन्मिनुपर्यो
चुँदी रम्घामा तनहुँमा ।

आमा बुझ्न आमाकै भाषा चाहिन्छ
माटो बुझ्न माटोकै भाषा चाहिन्छ
नाक ठड्याएर हिड्न मातृ भाषा चाहिन्छ
शिर उठाएर हिड्न मातृ भाषा नै चाहिन्छ
अब पुकार गर्छौँ
भानुभक्त अब विलम्ब नगर
भानु तिमी फेरि उदाउ
पूर्वमा भानु उदाएजस्तै ।

एउटै आमाका सन्तति हामी
अब एउटै भाषामा रुनुपर्छ
एउटै भाषामा हाँस्नुपर्छ
देश सँधै स्वाधीन हुनुपर्छ
त्यसैले,
भानुभक्त तिमी फेरि उदाउनुपर्छ
चुँदी रम्घामा गौरवशाली भानु उदाएजस्तै
पूर्वमा तेजस्वी भानु उदाएजस्तै ।

Add a Comment

Your email address will not be published. Required fields are marked *