‘निबन्ध सम्भार’मा सूक्ष्म दृष्टि

परिचय  : सन् १९५८ को १५ जनवरीमा दार्जीलिङ्गको कागे भन्ने ठाउँमा जन्मिएका डम्बर दाहाललाई लिएर लगत्तै असमको कार्बी आङ्लङ जिल्ला अन्तर्गत जिरिबासा नेपाली गाउँमा बसाइँ  सर्छन् र स्थायी रूपले बसोबास गर्छन् । बुबाको नाम स्व. छबिलाल दाहाल र आमाको नाम स्व. चन्द्रमाया दाहाल हो । सन् १९७८ को १ मार्चदेखि शिक्षण पेसामा सङ्लग्न भएका दाहालजी सन् २०१८ को जनवरीमा सेवानिवृत्त हुन्छन्। उनी सन् २०१३-२०१६ सम्म असम नेपाली साहित्य सभाको सभापतिको दायित्वमा रहेका थिए । वर्तमान उनी यसै संस्थाका सल्लाहकारका रूपमा छन् । उनले सन् २००८ मा अभि- जमान स्मृति ट्रष्ट पुरस्कार, कुवैतबाट, सन् २०१२ मा प्रक्रिया सम्मान पुरस्कार सिक्किमबाट, कथाकार टङ्कनाथ उपाध्याय स्मृति पुरस्कार, असम-सन् २०१३, भानु द्वि- शतवार्षिक सम्मान पुरस्कार, काठमाडौँ -सन् २०१४, कवि बमबहादुर भण्डारी स्मृति पुरस्कार- सन्  २०२० आदि प्राप्त गरिसकेका छन् ।

प्रकाशित कृतिहरू  :  असमका प्रतिष्ठित साहित्यकार डम्बर दाहालको कृतिहरूको सूची निकै लामो छ । आविष्कार (लघुकथा सङ्कलन- सन् १९८६),  यात्राक्रममा ( लघुकथा सङ्कलन- सन् २००८), हाम्रा केही मार्गदर्शकहरू ( बाल साहित्य- सन् २००८), उकुस-मुकुस ( हाइकु सङ्कलन- सन् २००९), भानुभक्त, नेपाली संस्कृति आरु अन्यान्य (असमिया निबन्ध सङ्कलन- सन् २००९), वीरभद्र कार्की ढोलीर निर्वाचित कविता ( असमिया अनुवाद- सन् २००९), अतीतका पाइलाहरू ( कविता सङ्कलन- सन् २०१२), निबन्ध सम्भार ( निबन्ध सङ्कलन- सन् २०१३), विगत तीन वर्षलाई फर्केर हेर्दा ( संस्मरण- सन् २०१६), स्मृतिप्रवाह (सन् २०१८), बाहुनीचरी ( अनुवाद कविता सङ्कलन- २०१९) आदि ।थुप्रै पुस्तकहरूको पनि सम्पादन गरेका छन् दाहालजीले ।

कृतिको संरचना  :  १६७ पृष्ठको यो कृति सन् २०१३ मा असम नेपाली साहित्य सभाको पक्षमा प्रकाशित एवम् कालारप्लस, गुवाहाटीमा यसको मुद्रण भएको हो । जेकेट कभरले सजिएको आवरण पृष्ठमा लोकसंस्कृतिको झलक पाइन्छ भने आवरण पृष्ठको पछिल्लो भागमा लेखकको परिचय राखिएको छ । कृतिको मूल्य एक सय रुपियाँ रहेको छ । पुस्तकको भूमिका ‘आलख्य’ शीर्षक वरिष्ठ साहित्यकार दुर्गाप्रसाद घिमिरेले लेखेका छन् ।

कृतिभित्र प्रवेश गर्दा  :  कृतिको भूमिकाबाट अनुमान लगाउन सकिन्छ निश्चय कृति पठनीय एवम् उत्कृष्ट रचनाहरूको सङ्कलन बन्न सक्षम भएको छ । कृतिमा कुल पन्ध्रहवटा निबन्ध सङ्कलित छन् । अब निबन्धहरूमा सूक्ष्म दृष्टि लगाउने प्रयास गर्दछु ।

कृतिको पहिलो निबन्ध छ ‘इतिहास बनिसक्नुभएको लीलबहादुर क्षत्री सर’ । पूर्वाञ्चलको पहिलो पूर्णाङ्ग नेपाली उपन्यास ‘बसाइँ’ का स्रष्टा, सर्वप्रथम साहित्य अकादमी र भानु पुरस्कार प्रापक र असमको पहिलो गोर्खा पद्मश्री सम्मान थापेर लीलबहादुर क्षत्री इतिहासै बनेका छन् । इतिहासै बनेका क्षत्रीको बारेमा जसरी चर्चा हुनुपर्ने हो भएको छैन । नेपाली भाषामै मात्रै होइन अरू अरू भाषामा पनि उनको बारेमा लेख, रचनाहरू लेख्ने दायित्व सर्जकहरूको हो । उनका पुस्तकहरू किनेर पढ्नुपर्छ । केवल पुस्तकहरूको भूमिका मात्रै लेखाएर मौलिक सृष्टिको बाधक बन्नु हुँदैन ।

बेला छँदै उनको महत्व बुझ्नुपर्छ जस्ता मननयोग्य विषयहरूको उठान यस लेखमा गरिएको छ ।


‘हाम्रो शब्द भण्डारको स्रोत एवम् असमेली नेपाली भाषामा असमिया भाषाको प्रभाव’ यस पुस्तकको दोस्रो निबन्ध हो । यस निबन्धमा हाम्रो शब्द भण्डारको स्रोत तत्सम, तद्भव र आगन्तुक शब्दहरूको चर्चा गरिएको छ । यसै चर्चाक्रममा संस्कृतका जस्ताकै तस्तै शब्दहरू नेपाली भाषामा प्रयोग भइरहेका, संस्कृतबाट प्राकृत, प्राकृतबाट अपभ्रंश हुँदै परिवर्तित रूपमा नेपालीमा आइपुगेका शब्दहरू, आगन्तुक रूपमा व्यवहार हुने स्थानीय भाषिकाहरू जस्तै गुरुङ, नेवारी, मगराँती, तामाङ, किराँती, भोटे, थकाली आदिका शब्दहरू पनि उदाहरणसहित प्रस्तुत गरिएको छ । यस बाहेक पनि अनेकौँ भाषाका शब्दहरू नेपाली भाषामा भित्रिएका छन् । जस्तै अङ्ग्रेजी, अरबी, फारसी, हिन्दी, पोर्तुगाली, उर्दू, स्पेनिस, चिनीयाँ, फ्रेन्च, जापानी, डच, जर्मेनेली, रस्सियाली, तुर्केली,असमिया, बङ्गाली, गुजराती, मराठी, पञ्जाबी आदि । यी भाषाका शब्दहरू पनि उदाहरणसहित प्रस्तुत गरिएको छ । असमेली नेपाली भाषामा असमिया भाषाको भरमारलाई दाहालले कतिपय कारणहरूको प्रभाव भन्न खोजेका छन् । उच्चारणानुकरण र शैक्षिक परिवेश, समस्यापूर्ति, सामीप्य र असावधानताले गर्दा कतिपय असमेली सर्जकहरूको सिर्जनामा बढी मात्रामा असमिया शब्दहरू भित्रिन पुगेका छन् । त्यस्ता शब्दहरूको लामो सूची यस निबन्धमा लेखकले समावेश गरेका छन् ।  असमेली सर्जकहरूले कथ्य र लेख्य भाषामा फरक छुट्याएर आफ्नै भाषाको शब्द प्रयोग गर्नुपर्ने आवश्यकतालाई दर्शाएको छ ।

तेस्रो निबन्ध हो ‘तसलिमा नासरिनाको लज्जा’ । यस निबन्धमा तसलिमा नासरिनाको परिचय र बङ्गाली उपन्यास ‘लज्जा’ को मूल विषयवस्तु चर्चा गरिएको छ । केवल ७९ पृष्ठको यो उपन्यासमा सन् १९९२ को ६ डिसेम्बरको दिन अयोध्यामा भत्काइएको बाबरी मस्जिदपछि बङ्गलादेशका हिन्दुहरूमाथि भएको नारकीय अत्याचारको मार्मिक वर्णन छ । ‘लज्जा’ प्रकाशित भएपछि लेखिका तसलिमा नासरिनाले बाङ्लादेशका कट्टरपन्थी मुसलमानहरूको घोर विरोधको सामना गर्नुपर्ने भएको थियो । उनले आफ्नै देशमा बन्दी जीवन बिताउनु परेको थियो । वर्तमान विदेशमा एक निर्वासित जीवन बिताउन बाध्य भएकी छिन् तसलिमा । ‘लज्जा’ उपन्यासमा बङ्गलादेशको राजनैतिक, सामाजिक, नारी- अत्याचार आदि विविध विषयहरू नाङ्गो रूपमा छर्लङ्गिएको छ ।

‘उखानले हाम्रो हृदय छोएको हुन्छ’ यस कृतिको चौथौँ निबन्ध हो । यस निबन्धमा सामाजिक, धार्मिक, पारिवारिक, श्रमसम्बन्धी, आर्थिक, सांस्कृतिक सबै पक्षका उखानहरू उदाहरणसहित चर्चा गरिएको छ। उखान लोकसाहित्यको अमूल्य उपादान हो । पूर्वजहरूका पालादेखि चलिआएका उखानहरू खारिएका, माझिएका र अनुभवपूर्ण हुन्छन्। थुप्रै उखानहरू यस निबन्धमा सन्निविष्ट गरे तापनि उखानहरूलाई एउटा सानो लेखमा अटाउन सम्भव छैन, यो त गवेषणाको एउटा विशाल भण्डार हो भनी लेखलाई समाप्त गरिएको छ ।

पाँचौँ निबन्ध हो ‘ असमेली नेपाली लेखकहरूको लहलहाउँदो अनुवाद खेती’। यस निबन्धमा नेपाली साहित्यको अनुवाद इतिहास कोट्याउँदै नेपाल, भारतहुँदै असमेली नेपाली लेखकहरूबाट सन् २००९ सम्म गरिएका अनुवाद कृतिहरूको चर्चा गरिएको छ । यस लेखमा असमका नेपाली लेखकले अनेपालीबाट नेपालीमा गरेको अनुवाद कार्यबाहेक पनि विविध अनेपाली भाषामा गरेको अनुवादको चर्चा गरिएको छ। लेखकले सन् २००९ सम्मको चर्चा गरे तापनि सन् २००९ का सबै अनुवाद कृतिहरूको तथ्य भेला पार्न नसक्ता यस लेखमा समावेश नभएको कुरा पनि लेखेका छन् । सन् १९१९ मा पण्डित हरिनारायण विद्याभूषणले संस्कृतबाट नेपालीमा गरेको अनुवाद कृति ‘प्रबोध चन्द्रोदय’ नै पहिलो असमेली नेपाली अनुवाद कृति हो । तर, सन् १९१९ मा यस कृति लेखिए तापनि सन् १९३४ मा मात्रै छापिएको हो भन्ने तथ्य छ । लेखकले असम भेकमा अनुवाद साहित्यको प्रारम्भ र विकासलाई मध्यनजर राख्दै, साथसाथै समय र कृतिहरूको सङ्ख्याहरूलाई पनि दृष्टि दिँदै चर्चाका सुविधाका लागि चरण छुट्याएका छन् । प्रारम्भ ( सन् १९३४-१९५४),  पहिलो चरण ( सन् १९३४-१९८८), दोस्रो चरण (सन् १९८९-१९९९), तेस्रो चरण ( २०००-२००९ अप्रेल) । असमेली नेपाली लेखकहरूको बहुभाषी व्यक्तित्वले गर्दा अरू अरू भाषाका पुस्तकहरू पनि नेपाली भाषामा र नेपाली भाषाका पुस्तकहरू पनि अरू अरू भाषामा अनूदित भइरहेका छन् । लेखकले अन्त्यमा अनुवादकको यस प्रकारको आदान- प्रदानद्वारा नेपाली भाषीहरूको यस भेकका भाषाभाषी जनसमुदायहरूबिच आत्मीयताको भाव पनि वृद्धि भइरहेको छ भन्ने आशावादी अभिव्यक्तिसहित लेखको समाप्ति गरेका छन् ।

छैटौँ निबन्ध हो ‘एक शरणार्थी यात्रा’। यस लेखमा चर्चित उपन्यासकार कृष्ण धरावासीसँग दाहालजीको भेट भएका क्षणहरू सहितै ‘शरणार्थी’ उपन्यासको बनोट पक्ष र यस उपन्यास सन्दर्भमा विभिन्न साहित्यकारहरूको अभिव्यक्ति प्रस्तुत गरिएको छ। लीला लेखनलाई सरल तरिकाले प्रस्तुत गरिएको ‘शरणार्थी’ लाई इन्द्रबहादुर राईले नेपाली साहित्यको प्रथम लीला उपन्यास भनेका छन् । यस उपन्यास सन्दर्भमा कृष्ण बराल, मदनमणि दीक्षित, नारायण ढकाल, विश्वराज भण्डारी, भरत भूर्तेल, लीलबहादुर क्षत्री, डा. तारानाथ शर्मा, दुबसु छेत्री, ईश्वरबल्लभ, वैरागी काइँला, पुष्पप्रसाद खरेल आदि नेपाली विद्वान साहित्यकारहरूले व्यक्त गरेका विचारहरू राखिएका छन् । लेखकले यस कृतिलाई नोबेल पुरस्कार विजयी भी.एस. नाइपलको A House For Mr. Biswas भन्दा कम छैन भन्न पनि हिचकिचाएका छैनन् । अन्त्यमा लेखकले उत्तरआधुनिकतावादहरूको Home is where one returs to जस्तो विश्वजनीन चेतलाई स्वीकार्दै लेखिएको ‘शरणार्थी’ उपन्यास नेपाली साहित्यको मात्र श्रेष्ठ उपन्यास होइन, विश्व साहित्यको नै एक अमूल्य सृष्टि हो । तर यसलाई विश्वबासीसमक्ष उभ्याउने कसले भनी प्रश्न तेर्साएका छन् ।

‘मृत्युअघिअघि कविता लेख्ने परम्परा भएको देश’ यो कृतिको सातौँ निबन्ध हो । यस लेखमा मृत्युअघि कविता लेख्ने देश जापानको चर्चा गरिएको छ। जापानमा मृत्युअघि लेखिने कवितालाई ‘जिसेई’ भनिन्छ । ‘जिसेई’ को आक्षरिक अर्थ हो आत्मपरीक्षा, आत्मोपलब्धि आदि । यसलाई जीवनबाट बिदा लिने कविता भनिन्छ। यसलाई मृत्युकविता पनि भनिन्छ। कुनै जापानी कविले ‘जिसेई’ लेख्न भ्याएन अथवा लेख्दै लेखेन भने उसले जीवनमा लेखेका अन्तिम कवितालाई नै मृत्युकविताको मान्यता दिने चलन छ । तर यस्ता कवितालाई ‘जिसेई’ नभनेर ‘जेक्कु’ भनिन्छ। ‘जेक्कु’ को अर्थ हो चुप्प लाग्नु । लेखकले यस लेखमा मोरिताके, तोकुगेन,दोहाकु, माचुओ बासो,शेरघुद, काइगा, बानजान, योसा बुसोन, साइबा, किमपो सोफू, सिदोकेन, राइजन, कोसाई, जोहाकि, याओहिकी, किउतारो, चोसि आदि जापानी कविहरूका ‘जिसेई’ असमियाबाट नेपालीमा अनुवाद गरेर समावेश गरेका छन् । यसै लेखमा असमेली हाइकुकार र उनीहरूबाट प्रकाशित हाइकु सङ्कलनहरूको सूचीसहितै गोविन्द शाण्डिल्य, नारायण उपाध्याय र डम्बर दाहालका पाँच पाँचवटा हाइकु र टेकबहादुर छेत्री, विमल प्रधान, हेमसागर उपाध्यायका एकेकवटा नेपाली हाइकु समावेश गरेका छन् ।

यस पुस्तकको आठौँ निबन्ध हो ‘आजभोलि म भूमिका लेखक भएको छु’ । यस लेखमा यस पुस्तकका लेखक दाहालजीले पूर्वाञ्चलका शताब्दी पुरुष पद्मश्री लीलबहादुर क्षत्रीको हाल-खबर सोध्दा क्षत्रीजीले ‘हिजोआज म भूमिका लेखक भएको छु’ भनेको प्रसङ्गलाई लिएर क्षत्रीसँग भएको भेटघाट, कुराकानी आदि चर्चा गरिएको छ। जयन्तकृष्ण शर्माको कविता सङ्कलन ‘ सदनको मझेरीमा माटाको बास्ना’ को भूमिकामा क्षत्री सरले आफै यस कुराको पुष्टि गरेको उल्लेख गरेका छन् । क्षत्री सरले लेखेका उक्त अभिव्यक्ति यहाँ राख्न चाहन्छु -” अब उसो भूमिका, शुभकामना, फर्माइसी लेखादि नलेख्ने मनमनै अठोट गरेको थिएँ, किनकि यस पूर्वोत्तर भारतमा पुस्तक प्रकाशनको बाढी नै आएको छ र हार्न नसक्ने बाध्यताले मलाई दिनदिनै भूमिकाकार पार्दै लगेकाले त्यसभित्र मेरो कथाकार, उपन्यासकार, नाटककार, निबन्धकार र केही मात्रामा भनौँ काव्यकार व्यक्तित्व पनि थिचिँदै, किचिँदै गइरहेको अनुभव मैले गरेको छु ।” क्षत्रीजीलाई यसखाले कामहरूबाट छुटकारा दिएर एउटा समृद्ध आत्मजीवनी आफ्नो जातिका उत्तरपुरुषलाई सुम्पिन दिने वातावरण हामीले सिर्जना गरिदिनुपर्छ भन्ने आशा व्यक्त गरेका छन् दाहालजीले।

‘असमिया उपन्यास मृत्युञ्जयमा नेपाली चित्रण’ यस कृतिको नवौँ निबन्ध हो । सन् १९७० मा प्रकाशित असमिया हो ‘मृत्युञ्जय’। उपन्यासकार हुन् डा. वीरेन्द्रकुमार भट्टाचार्य। यस उपन्यासले सन् १९७९ मा भारतीय ज्ञानपीठ पुरस्कार प्राप्त गरेको थियो । यस उपन्यासको मुख्य विषयवस्तु सन् १९४२ को ऐतिहासिक गणविप्लव रहेको छ । यस उपन्यासमा नेपाली चरित्रले पनि ठाउँ पाएको छ । नेपालीहरूले आन्दोलनकारीलाई सहायता गरेको उल्लेख छ यस उपन्यासमा। नेपालीहरूको नेतृत्व बलबहादुरले गरेको देखाइएको छ । बलबहादुरलाई उपन्यासको एउटा गौण पात्रको रूपमा प्रस्तुत गरिएको छ। उपन्यासकारले बलबहादुरलाई एकजना शान्त, स्थिर, निर्भिक र कर्तव्यपरायण नेपाली युवकको रूपमा चित्रण गरेको पाइन्छ । नेपाली युवकमा हुनुपर्ने गुणहरू यस पात्रमा देखाइएको छ । यस उपन्यासमा आफ्नो जातिको मान-सम्मान र वीरत्व बचाएर समस्त असमबासी नेपालीहरूको प्रतिनिधित्व बलबहादुरले गरेको छ। यस लेखले असमेली नेपालीहरूको सन् १९४२ को गणविप्लवमा रहेको सक्रिय भागीदारितालाई सवलरूपले दर्शाएको छ ।

यस कृतिको दसौँ निबन्ध ‘तिहुन चर्को भएन हजुर? ‘ हो । यस लेखमा दाहाल कुनै एकजना असमिया समाजसित हिलमिल भएका नेपाली मान्छेका घरमा पाहुना खाना गएर खाने बेलामा तिहुन मात्रै चर्को नभएर ती घरका पति- पत्नी दुवैले असमिया शब्दहरू मिसाएर नेपाली बोल्दा तिहुनझैँ भाषा पनि चर्को पारेको कुरा उल्लेख गरेका छन् । यस लेखमा ती पति-पत्नीको कुरा मात्रै नलियाएर कतिपय सर्जकहरूले पनि सिर्जना त्यसैगरी बग्रेल्ती असमिया शब्दहरू मिसाएर सिर्जिएकाले नै चर्को भएको कुरा चर्चामा ल्याएका छन् ।

एघारौँ निबन्ध हो ‘सन् २००१ मा असम साहित्य सभा र असम नेपाली साहित्य सभामा मेरो सहभागिता’ । यस लेखमा दाहालजीले असम साहित्य सभाको ६६ औँ डिब्रुगढ अधिवेशनका लागि पत्र आएको, सम्मानित अतिथिको रूपमा उपस्थित भई आफ्नो १० पृष्ठको भाषण राखेको, भाषणपछि नै मञ्चकै पछाडिपट्टि अस्थायी रूपले राखेको आकाशवाणी डिब्रूगढ केन्द्रमा अन्तर्वार्ता दिएको, अधिवेशनपछि असम साहित्य सभाको कार्यनिर्वाहक बैठकले उनलाई कार्यकारिणी समितिको मनोनीत सदस्य चुनेको, १७ मार्च सन् २००१ मा जोरहाटमा भएको कार्यनिर्वाहक सदस्यहरूको प्रथम पूर्णाङ्ग अधिवेशनमा उपस्थित भई असमेली नेपालीहरूले असमिया भाषा- साहित्य- संस्कृतिप्रति लगाएको गुणलाई हृदयङ्गम गर्नुपर्ने, असमिया- नेपाली शब्दकोशको खाँचो र नेपाली साहित्य सभा, असम साहित्य सभालाई प्रत्याह्वान जनाउन खोलिएको होइन यो त आफ्नै भाषिक, साहित्यिक एवम् शैक्षिक प्रयोजनले गर्दा खोल्नुपरेको हो जस्ता महत्वपूर्ण विषयहरूको उठान गरेको यस कुरा यस लेखमा समावेश गरिएको छ। सन् २००१ को १९ र २० अगस्तको दिन कार्बी आङ्लङ हवाइपुरमा भाषा ‘समन्वय मञ्च’ अर्थात् जनगोष्ठीय साहित्य सभाका सभापति- सचिवहरूको सम्मेलन अनुष्ठित भएको थियो । सम्मेलनमा असम साहित्य सभाका सभापति होमेन बरगोहाञि, पूर्वाञ्चल टाइ साहित्य सभाका सभापति चाउ कामिनी गगै,डिमासा लेखिका निरुपम हाजगेर, मणिपुरी साहित्य परिषद्का पूर्व सभापति खैरद्दिन चौधरी, कार्बी विद्वान डा. फुकन फाड्स आदि विद्वानहरूले दिएको वक्तव्यको सार लेखमा प्रस्तुत गरिएको छ । सम्मेलनमा नेपालीहरूको पक्षबाट अविकेशर शर्मा, हरि गजुरेल, जयन्तकृष्ण शर्मा, डा. लक्ष्मीप्रसाद पलाजुलीले नेपालीहरूको अवदान सन्दर्भमा तथ्यसम्बलित गहकिलो भाषण दिएको कुरा पनि लेखमा छ । सम्मेलनपछि असमिया र गैरअसमिया बुद्धिजीवीहरूको आँखा उघ्रिएको कुरा खबर कागतमा प्रसारित केही लेखहरूले भन्दछ भन्दै यस लेखमा अनुराधा शर्मा पुजारी, डा. उपेन राभा हाकासाम, रामदास बोडोको लेखको सार सन्निविष्ट गरेका छन् ।

बाह्रौँ निबन्ध हो ‘धर्ममा आधारित हाम्रो सामाजिक पृष्ठभूमि र पुराण- प्रसङ्ग’ । यस लेखमा दाहालले पुराण, महापुराण, उपपुराणहरूको छोटकरीमा चर्चा, असममा लगाइने पुराणसित नेपाल, दार्जीलिङ्ग र सिक्किममा लगाइने पुराणहरूको तुलनात्मक चर्चा र पुराणहरूद्वारा मानिसहरूका मनमा आध्यात्मिक भावना स्फूरण हुने सम्भावना अनि शास्त्र- पारङ्गत हाम्रा युवावर्गको स्वनियोजन सम्भव हुने बारे चर्चा गरिएको छ।

‘भाषा- साहित्यको सेवामा हवाइपुर नेपाली साहित्य सम्मेलनको भूमिका’ यस कृतिको तेह्रौँ निबन्ध हो । यस निबन्धमा दाहालजीले सन् १९८२ को मईमा कार्बी आङ्लङ जिल्लाको हवाइपुर चारालीमा गठित भएको ‘हवाइपुर नेपाली साहित्य सम्मेलन’, यस सम्मेलनबाट प्रकाशित भएको ‘ हाम्रो आँट’ ११ अङ्कसम्म भित्ते पत्रिकाको रूपमा पछि गएर मुद्रित पत्रिकाको रूपमा प्रकाशित भएको, यस पत्रिकाको प्रकाशन कालदेखिका सम्पादक, सहसम्पादकहरूको सूची अनि हवाइपुर नेपाली साहित्य सम्मेलनले नेपाली भाषा- साहित्य- संस्कृतिको क्षेत्रमा सहयोग पुर्याएको विभिन्न कामहरूको चर्चा यस लेखले समेटेको छ । यस लेखमा ‘हाम्रो आँट’ लाई आर्थिक टेवाको गुहार लगाउँदा प्रत्युत्तरमा त्यसताकका असम सरकारका राजस्व राज्यमन्त्री पदमबहादुर चौहानले पठाएको पत्र, असमका कलेजहरूमा नेपालीलाई आधुनिक भारतीय भाषाको रूपमा पढाइको व्यवस्था गर्ने बारेमा प्रधान मन्त्री, मुख्यमन्त्रीलाई लेखिएको पत्र, गोर्खा र नेपालीबिच विवाद भइरहेको समयमा नेपाली भाषाको पक्षमा प्रधानमन्त्री र गृहमन्त्रीलाई गरिएको टेलीग्राम, नौगाउँ जिल्लाको लङ्कास्थित नेताजी हायर सेकेन्डरी स्कुलमा प्रथमचोटि  नेपाली विषय लिने दुईजना विद्यार्थीको पक्षमा अध्यक्षलाई लेखिएको पत्र, लङ्का महाविद्यालयका नेपाली भाषाप्रेमी अध्यक्ष अमलांशु रयलाई नेपाली विषय शिक्षक नियुक्ति बारे आवेदन पत्र, डिफु सरकारी महाविद्यालय ( कार्बी आङ्लङ) का अध्यक्षलाई नेपाली विषय पढाउने शिक्षक नियुक्ति बारे पत्र, बङ्गलादेशकी लेखिका तसलिमा नासरिनाको उपन्यास ‘लज्जा’ माथि सरकारले लगाएको निषेधाज्ञा रद्द गर्ने माग गर्दै बङ्गलादेश हाइ कमिसनरलाई लेखिएको पत्र, असमका  स्कुल, कलेज र विश्वविद्यालयहरूमा नेपाली पढाई प्रवर्तन गर्ने एवम् शिक्षक नियुक्त गर्न असमका मुख्यमन्त्रीलाई दिएको पब्लिक मेमोरेन्डम आदिको नमुना यस लेखमा समावेश गरिएको छ।

यस कृतिको चौधौँ निबन्ध हो ‘साहित्यकारको कार’ । ‘मधुपर्क’को २०६७ असोज अङ्कमा प्रकाशित पपुवा न्युगिनिवासी निबन्धकार चन्द्रप्रसाद भट्टराईको ‘कार  र नेपाली साहित्यकार’ निबन्ध पढेपछि दाहालजीका मनमा उब्जिएका भावहरूलाई नै यस लेखको चर्चाको विषय बनाइएको छ । अमेरिकाली मेरी नाम गरेकी साथीले निबन्धकार चन्द्रप्रसाद भट्टराईलाई नेपाली साहित्य लेख्ने मान्छलाई के भन्छन् भनेर सोधिएको र भट्टराईले साहित्यकार भनी भन्दा मेरीले फेरि दोहोरो साहित्यसित किन कार जोडिएको भन्दा भट्टराईको जबाफले यस्तो रूप लिएको थियो- जहाँ कार भेला भएका हुन्छन्, त्यहाँ नेपाली साहित्यकार हुँदैनन्। जहाँ नेपाली साहित्यकार भेला भएका हुन्छन् त्यहाँ कार हुँदैनन्। अर्थात् नेपाली साहित्यकार र कारबिच सधैँ सौतेलो सम्बन्ध छ भन्न बाध्य भएका थिए ।  यसै प्रसङ्गबाट सुरु गरिएको निबन्धमा अङ्ग्रेजी लेखकहरूले रोयल्टी पाएको, उनीहरूको पुस्तक लाखौँ सङ्ख्या छापिएको, एकैदिनमा लाखौँ प्रति बिक्री भएको, वर्ष दिनभित्रै अनेकौँ संस्करणहरू छापिएका तर हाम्रा अङ्ग्रेजी साहित्यकै हाराहारीका पुस्तकहरू त्यसरी बिक्री नभएको, हाम्रा मानिसहरूले चासो नराखेको,दुई- चारजना साहित्यकारहरूलाई छाडी अरू साहित्यकारको कारसित कुनै सम्पर्क नभएको आदि विषय यस लेखमा चर्चा गरिएको छ । हाम्रा कृतिलाई अन्तर्राष्ट्रिय बजारमा उभ्याउन सक्ने कसले? जातिको शिर उच्च पार्न खटिएका यी बिचरा साहित्यकारहरूलाई अब सबैले सोधिखोजी गरौँ । आर्थिक अवस्थाप्रति ध्यान दिऔँ। जिन्दगीभरि कलम घोटेर  पनि कहिल्यै ‘कार’ किन्न त के संसार चलाउनसम्म सक्षम हुन नसक्ने साहित्यकारहरूलाई अझै कहिलेसम्म हाहाकार हुन दिइरहने ? कहिलेसम्म ? भन्ने आग्रहसहित यो लेख समाप्त गरिएको छ ।

यस पुस्तकको अन्तिम कोसेलीका रूपमा एउटा अन्तर्वार्ता रहेको छ । ‘कृष्ण धारावासीसमक्ष केही जिज्ञासा’। यस अन्तर्वार्तामा कृष्ण धारावासीको व्यक्ति परिचय, कृति परिचय, पुरस्कार- सम्मान, नवीन लेखकहरूलाई सन्देश आदि त छँदैछ तर, भ्रमहरूका बिच रहेको जीवनको खोजीको लेखन लीला लेखन बारे पनि थुप्रै जानकारी छ । लीला लेखनसँग उत्तर आधुनिकतावादको सम्बन्ध, बहुचर्चित उपन्यास ‘शरणार्थी’ लेखन र उपन्यासभित्रको विषयवस्तुगत चर्चा आदि यस अन्तर्वार्ताले समेटेको छ ।

भाषाशैली  : भाषाशैली सरल र सुबोध छ । लेखका भावनाहरू स्वच्छन्दरूपमा बगेका छन् । उखान- तुक्काको अलग्गै निबन्ध रहे तापनि अरू अरू निबन्धहरूमा पनि उखान- तुक्का प्रयोग गरिएको छ। प्रसङ्गवश आएका असमिया शब्दहरूको नेपालीमा भावार्थ दिएको छ ।

शीर्षकको सार्थकता  :  यस पुस्तकमा रहेका अधिकांश निबन्धहरू व्यक्ति परिचयात्मक, पुस्तक परिचयात्मक, निबन्धकारको कार्यक्रम आदिमा सहभागिताको अनुभव, उखान- तुक्काहरूको प्रयोग, भाषिक समस्या, आध्यात्मिक चिन्तन आदि विषय समेटिएका महत्वपूर्ण लेखहरू सँभालेर राख्नुपर्नेहुँदा पुस्तकको नाम ‘ निबन्ध सम्भार’ सार्थक देखिन्छ ।

परिवेश  :  कृतिभित्रका निबन्धहरूको अध्ययनबाट थाहा लाग्छ, यस पुस्तकका निबन्धहरू असम, सिक्किम, दार्जीलिङ्ग, नेपाल आदि विभिन्न धार्मिक, साहित्यिक क्षेत्रको परिवेशमा लेखिएका छन् । साहित्यिक क्षेत्रमा लेखिएका निबन्धले नवीन- प्रवीण साहित्यकारहरूको परिचय, सर्जकहरूको पीडा, भाषिक समस्या, पुस्तक बिक्री- वितरण समस्या, समन्वयको अभाव, पुस्तक परिचय, विभिन्न साहित्यिक कार्यक्रम, कार्यक्रमका विभिन्न अनुभव आदि समेट्न सकेको छ । धार्मिक क्षेत्रको लेखले धार्मिक मान्यता र सामाजिक पृष्ठभूमिलाई समेटेको छ । विभिन्न परिवेशको आडलिएर विविध दृष्टिकोणसहित यो पुस्तक तयार पारिएको छ ।

उद्देश्य  :  अधिकांश लेखहरू साहित्यिक महत्वमा नै केन्द्रित रहे तापनि यस पुस्तकमा रहेका निकै लेखहरूमा धार्मिक मान्यता, जातीय अस्मिता, रैथानेको पीडा, राजनैतिक चक्रव्यूह, आर्थिक- सामाजिक विविध क्षेत्रमा पनि आफ्नै दृष्टिकोणले उभ्याउने उद्देश्यमा पनि दाहालजी पछि परेका छैनन् ।

अन्त्यमा   :  यस कृतिको अध्ययनको अन्त्यमा भन्नुपर्दा, दाहालजी असमेली नेपाली कतिपय सर्जकहरूबाट सिर्जना चर्को हुने गरी थुपारिएका असमिया शब्दहरूदेखि चिन्तित देखिन्छन्। यसैको परिणाम होला उनका दुइटा लेख ‘हाम्रो शब्द भण्डारको स्रोत एवम् असमेली नेपाली भाषामा असमिया भाषाको प्रभाव’, ‘ तिहुन चर्को भएन हजुर? ‘ मा यस किसिमको चर्चाले ठाउँ पाएको छ । त्यसैगरी पद्मश्री लीलबहादुर क्षत्रीसरदेखि प्रभावित भएर होला उनले ‘ इतिहास बनिसक्नुभएका लीलबहादुर क्षत्री सर’, ‘ आजभोलि म भूमिका लेखक भएको छु’ शीर्षक लेखहरूमा क्षत्रीसरको बारेमा चर्चा अघिसारेका छन् । कृष्ण धरावासीलाई पनि दुइटा लेखमा ठाउँ दिएका छन् दाहालजीले, ‘ एक शरणार्थी यात्रा’ र ‘ कृष्ण धरावासीसमक्ष केही जिज्ञासा’ मा । साहित्यकारको कार प्रसङ्ग पनि दुइटा लेखमा आएका छन् । ‘इतिहास बनिसक्नुभएका लीलबहादुर क्षत्री सर’ र ‘साहित्यकारको कार’ यी दुवै लेखमा यस प्रसङ्ग भित्रिएको छ ।

यस कृतिले साहित्यिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक जस्ता पक्षलाई प्रष्ट्याउने प्रयास गरेको छ। असमका सर्जक र सर्जकहरूका समस्या, पठन-पाठन समस्या, भाषा शुद्धताको स्खलन, अनुवाद साहित्य, जातीय परिपेक्षमा सङ्घ- संस्थाहरूको भूमिका, भूटानी शरणार्थीसहितै नेपाल बाहिरका नेपालीहरूको समस्या, जापानी साहित्य, चर्चित पुस्तकहरूको चर्चा, उखान- तुक्काको चर्चा, असमिया लगायत जनगोष्ठीय साहित्य संस्था-सङ्घहरूबिच समन्वय आदि विविध विषयवस्तुमा निबन्धकारको ध्यान केन्द्रित भएको छ।

समग्रमा हेर्दा निबन्ध सङ्कलनहरूको भीडमा ‘ निबन्ध सम्भार’ ले छुट्टै स्थान ओगट्न सफल भएको देखिन्छ । मेरो सूक्ष्म दृष्टिले यस कृतिको दुर्बल पक्ष खासै थम्याउन सकेन । कृति पठनीय र सङ्ग्रहनीय बनेको छ । नेपाली निबन्ध साहित्यमा यो कृतिले एउटा कोशे ढुङ्गो थपेको छ ।  भविष्यमा अझ गहकिला कृति पाउने आशासहित दाहालजीको दीर्घायु र स्वास्थ्य जीवनको आशा कामना गर्दछु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *