बिलोक शर्माको समयाभासभित्रको समय
|- आमुख
नेपाली कविता साहित्यमा विलोक शर्मा खरेल एउटा ठुट्टै नाम स्थापित भएको छ। उनको जन्म ४ अक्टोबर, १९८३ मा डुवर्सको मदारीहाट प्रखण्डको उत्तर खयरबारीमा बाबु प्रभात कुमार खरेल र आमा श्रीमती जानकीदेवी खरेलका सुपुत्रका रूपमा जन्मेका हुन्। बिलोक शर्माले घरमा सानैदेखि साहित्यिक परिवेश पाएका हुन्। उनका बडाबाबु स्व. जगदीश खरेल डुवर्सको नेपाली साहित्यको प्रारम्भिक अवस्थादेखि नै साहित्य लेखन र सम्पादनमा सक्रिय रूपमा संलग्न थिए। आफ्ना बाबु र काकासमेत साहित्यका अध्येता र रूचि लिने हुन्। घरमा साहित्यिक पत्रिका र किताब पढ्ने परिवेश रहेको छ। शर्माले आफु कलेज पढ्दादेखि नै साहित्यमा रूचि लिएका देखिन्छ। दार्जिलिङ सरकारी कलेजमा वनस्पति विभागमा स्नातकोत्तर अध्ययन गर्दा उनी साहित्यिक गतिविधिमा निकै सक्रिय थिए। त्यहाँ को साहित्यिक गोष्ठीमा प्रायः जसो कविता पाठ गरेका हुन्थे।
- नेपाली कविता र डुवर्स-
भारतीय नेपाली कविताले आफ्नै धार, प्रवृत्ति, पद्धति पहिल्याउँदै गरेको छ। जातीय समस्या, अस्तित्व जिउनुपर्दा भोग्नुपर्दाका पीडा, असन्तुष्टि, असमञ्जसता आदिलाई स्वर दिइएको पाइन्छ। नेपाली कविता विधाको विकासमा डुवर्सभूमिको पनि योगदान रहेको छ। टिस्टा नदीदेखि सुनकोश नदीसम्मको यस विस्तृत स्थानलाई नेपाली कविताको इतिहासमा छुट्टै रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ। सन् १९४० मा दिलबहादुर सरदारको लोककाव्य अन्तर्गतको धामीको सवाई देखि नै नेपाली कविताको लेखिँदै आएको देखिन्छ। अहिले आएर यहाँको कविता निकै झ्याँगिएको पाइन्छ। यहाँको आफ्नै इतिहास, सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक परिवेश छ अनि यहाँबाट लेखिने कविताको स्वर भिन्न पाइन्छ। चियाकमान, खेतीपाती र वनबस्तीमा रहेका यस क्षेत्रका कविहरूका कवितामा जनजीवनका सुस्केरा, मर्म पीडा, सामाजिक-राजनैतिक-आर्थिक सङ्कट आदिलाई प्रमुख रूपमा स्वर दिएका छन्। प्रगतिशीलता नै डुवर्सेली कविताहरूको मुख्य स्वर हो। कृष्ण योञ्जन, किताबसिंह राई (अक्षरानुभूति, २०१४) इन्द्रबहादुर गुरूङको बेदुइन 2008, यात्रा 2018, लोकनाथ प्रधान, मणिकुमार थापा, नरेन्द्र खँडका, टीका पराजुली, कमल थुलुङ (भाव विम्ब २०१०), जीवन राना (जीवनका मुक्तक), सिताराम काफ्ले (समयको अवसान, २०१२), अशोक विश्व (जीवन नदी), किशोर मोक्तान, शङ्कर प्रधान, रबिन खवास, पदम भुजेल, गोपालसिह विश्व (युग र मान्छे, २०१३) वेगबसन्त थापा {पाठशालाको पहिलो दिन (बालकवितासङ्ग्रह, २००४), म टिस्टा बगिरहेछु (२००७), निर्मल आग्रह (आधा पहाड, २०१६), अनन्त श्रेष्ठ, गणेश गजमेर (गाउँलाई भनेर, २०१३, समय सम्बोधन, (२०१९), रूपेश विश्व (स्वप्न बीज २०१३), किरण उपाध्याय (डुवर्स तिमी २०१४), राजीव विश्व (कृष्णचुँडा, २०१८), विलोक खरेल (समयाभास, २०१९ आदि रहेका छन्। डुवर्सेली नेपाली कविताको अलगै पहिचान, स्वर, शिल्प र विषयवस्तु हुनाले छुट्टै अध्ययन गर्नुपर्ने देखिन्छ।
- अनुवादक विलोक शर्मा-
भारतीय नेपाली कविता साहित्यमा नेपालीबाट हिन्दीमा अनुवाद गर्ने धेरै छन् तर बंगलामा अनुवाद गर्ने थोरै छन्। पश्चिम बङ्गाल राज्यभित्र बसेर पनि कुन मनोविज्ञानले हो बङ्गला अनुवाद कम भएको पाइन्छ। नेपाली र बंगला भाषा व्याकरणिक र अर्थगत तहमा धेरै नजिकको पाइन्छ। बङ्गला साहित्य अत्यन्त समृद्ध छ। यसका धेरै साहित्यकार छन्, अनुवादक छन्। धेरै साहित्यिक संस्था, सरकारी संयन्त्र र संरक्षण पाएको छ। भारतको पश्चिम बंगाल र बङ्गलादेशको सरकारी भाषा हो। विश्व साहित्यमा बङ्गला साहित्यको स्थान महत्त्वपूर्ण मानिन्छ। हाम्रै सबैभन्दा छेउको यति समृद्धशाली बंगला साहित्य नेपाली साहित्यमा कम प्रभाव पर्नु, कम अनुवाद हुनु एउटा आश्चर्यको कुरा हो भन्ने लाग्छ।
विलोकले नेपालीबाट बङ्गलामा ४५ जना भारतीय नेपाली कविहरूका लगभग ६० देखि ६५ वटा जति कविता अनुवाद गरेका छन् भने ४५-५० वटा जति विभिन्न पत्रिकामा प्रकाशित छन्। उनका प्रकाशित बङ्गला पत्रिकाहरू बङ्गलादेशका अर्वाचिन, धरला, टाम्स, आलोकित, सकाल, छाइलिपि, प्रथम ट्रिब्युन आदि र यता भारतका पाण्डुलिपि, आरशिकथा, न्यबजपिडिया, न्युज सुन्दरवन, बिनिद्र पत्रिका आदिमा प्रकाशित भएका छन्। यिनले नेपाली कवितालाई भाव र शिल्पलाई नखज्मजाइ जतिसक्दो नजिकमा पुगेका छन्। फेसबुकमा भएका एक दुइवटा नमूना हेर्न सकिन्छ। उनका कलमले अहिलेका प्रायः जसो प्रतिभाशाली कविहरूका कविता अनुवादको आलोचित भएका छन्।
- .समयाभास कविता सङ्ग्रहको रन्को-
यस समयाभासले समीक्षकहरूबाट केही प्रभाव पारेको छ अथवा भविष्यमा यसतर्फ समीक्षाको आलोक पर्ने सम्भावना देखिन्छ। यस कवितासङ्ग्रहका बारेमा उनलाई केही समीक्षकहरूबाट मौखिक वा लिखित प्रतिक्रिया प्रकाशित भएको देखिन्छ। गत ३ जनवरीमा यसै कवितासङ्ग्रहमाथि गोर्खा युवा मञ्चको अनलाइन कारियक्रममा समालोचकद्वय जय क्याक्टस र रूपेश शर्माले लगभग एक घण्टा जति बहस गरेका थिए। त्यस कार्यक्रमको यस पुस्तकको परिचर्चामा यी दुई समीक्षीहरूहरू समयभासका विभिन्न पक्ष र प्रवृत्तिमाथि केलाउने प्रयास गरेका थिए। पुस्तकको भूमिकामा डा कविता लामाले पनि यसको जमेर प्रशङ्सा गर्दै यसलाई एउटा अब्बल काव्यकृतिका रूपमा स्वीकारेकी छन्। यसबाट बेग्लै कविताको आनन्द रसानुभूति र बोधन पाइन्छ। छोटा छोटा कवितामा भावगत सघनता, विषयगत विविधता, शैलीगत आकर्षण, प्रस्तुतिगत वैशिष्ट्य र उद्देश्यगत स्पष्टता पाइन्छ। थोरै शब्दहरूमा भावसघनता, संश्लिष्टता अग्थगत गहनता पाइन्छ। कविताभित्र पस्नेले यसभित्र उत्तरआधुनिकता, नारीवाद, जातीय उन्मुक्तिका स्वर, किनारीकृत स्वर आदिलाई पाउन सक्छन्।
- समयाभास- समयको प्रतिबिम्वन
समसामयिक नेपाली कवितामा बिलोक शर्माको समयाभासले एउटा स्पष्ट स्थान लिएको छ। बिलोक शर्माको समयाभासलाई परम्पराको निर्वाह गरेका छन् कि परम्परालाई नाघेका छन् भन्ने प्रश्न उब्जिन सक्छ। यसले परम्पराभन्दा भिन्न भाव र शैली प्रस्तुत गरिएको पनि पाइन्छ भने नयाँपनको खोजी पनि पाइन्छ। अहिले समय बडो जटिल छ। एकपट्टि भौतिक सुख सुविधाले गर्दा मानिसको जीवन सुविधाभोगी भएको छ। परम्परागत मूल्य, मान्यता, नैतिकता विस्तारै धराशायी हुने क्रम बढ्दो छ। अर्कातिर हाम्रा जातीय अस्तित्व, संस्कृति जोगाउन धौधौ परेको छ। जातीय अस्मिता रक्षाका निम्ति लड़ाइ घरिघरि लडिरहनु परेको छ। राज्यको संयन्त्र, प्रणाली, नीति-नियम आदि सबै कुरा हाम्रा निकै अनुकूल-प्रतिकूल दुवै देखिन्छन्। हाम्रा आफ्नो बासथलोको निर्मांणमा लाग्दा पनि विभिन्न कारणले विफल हुनुपर्दाको कुण्ठा हामीसित छ। विलोक शर्माले केही कवितामा यस कुण्ठालाई परोक्ष-परोक्ष अभिव्यक्ति दिएका छन्।
- समयाभास प्रगतिवादी चेतनाको आभास-
प्रगतिवादी दृष्टिकोणले समयाभास कतिको प्रभावित छ भन्ने कुरामा हामी छुट्टै रूपमा अध्ययन गर्न सकिने ठाउँ छन्। यसमा रहेका कविताहरूमा मजदुरको समस्या र सङ्घर्षको गाथा छ, आंशिक रूपमा भए पनि परिवर्तनको आकांक्षा, शासक र शासित विचको द्वन्द्वको संकेत आदि कुरा नपाइने होइन्।
- समयाभासमा डुवर्स –
विलोक शर्माको समयाभासमा डुवर्सको प्रतिविम्बन भएको पाइन्छ। डुवर्सका हरिया चियाबारी, त्यहाँभित्रका श्रमिकहरूको पीडा, अभाव, उपेक्षा, हीनताभास, अवहेलाना, अन्य भाषीसितको सम्बन्धका उतार चडाउ, स्थापन र विस्थापन प्रतिविम्वित भएको पाइन्छ। डुवर्सको समस्याहरूलाई कतिसम्म सम्बोधन वा प्रतिबिम्बन गरिएको छ भन्ने कुरामा डुवर्सकै अध्येताहरूबाट राम्ररी अध्ययन हुनसक्छ।
- समयाभासका कविताहरूको आकर्षण विन्दुहरू
सामान्य पाठकहरूलाई कुन कुन कुरामा आकर्षित गर्न सकेको छ भन्ने कुरामा हामी घोत्लिन सक्छौं। कविताहरूका भित्र भएको छोटो छरिता प्रस्तुतिले? भावले? अर्थगत चमत्कारले? जातीय समस्याका कुराहरूले? डुवर्सका वास्तविकता दर्शनले ?
- कवितामा युगबोध
- सङ्गहमा एउटा कविताको शीर्षक छ युगबोध जसले यस समयको आभास दिन्छ।
- प्रतीक र बिम्बको प्रयोगले सङ्ग्रहलाई विशिष्ट पारेका छन् भन्न सकिन्छ। यसमा प्रतीक र विम्बहरूको कुशल संयोजन र सन्तुलित प्रयोग पाइन्छ।
- अँग्रेजी शब्दको अतिशय प्रयोग
सङ्ग्रहका कविता पढ्दा प्रशस्त मात्रामा अंग्रेजी शब्द भेटिन्छन्। यस्ता अङ्गेजी शब्दहरूलाई आमपाठकलाई कविता बोधनमा समस्या त पारेका छन्। यसो गर्नुको मुख्य आधार भावलाई जस्ताको तस्तै सशक्त रूपमा अभिव्यञ्जित गर्नु खोज्नु हो। एउटा कुरा दके बुझिन्छ भने नेपाली शब्द हुँदा हुँदै अँग्रेजी शब्द बढी मात्रामा देखा प्रेका छन्न्य़ एक प्रकारले अहिलेका कविहरूको फेसन पनि लाग्दछ। के हाम्रामा भएकै शब्दहरूले अँग्रेजी शब्दको झैं भाव सम्प्रेषण गर्न सक्दैनन्? अवश्य सक्दछन्। यो एक प्रकारको नचांहिदो प्रयोग पनि लाग्दछ।
- सङ्ग्रहमा शृङ्कला कविताको प्रयोग
यहाँ ‘आजका चित्रहरू’ भन्ने शृङ्खला कविताहरू देखिन्छन् यी शृङखलाका कविताहरूले आजको विकट स्थितिको चित्रण गरेको पाइन्छ।
- शीर्षक र कविता
सङ्ग्रहका कविताहरूको शीर्षक रखाइ र कविताबिच कतिको तालमेल पाउनु सकिन्छ। शीर्षकले कविताको अर्थ र भावलाई सम्बोधन गरेको पाइन्छ। सङ्ग्रहका कविताभित्रको भावलाई शीर्षकहरूले बोकेका छन्। –
१४ रहल कुराहरू-
कविता सङ्ग्रहमा राजनैतिक चेतना आंशिक रूपमा पाइन्छ। समयाभासका कविताहरूले जातीय चेतनालाई कतिको सम्बोधन गर्न सकेको पाइन्छ। जातीय चेतानाका स्वर ठाउँ ठाउँमा परिलक्षित भएको पाइन्छ। बिलोक शर्माका कविताहरू अध्ययन गर्दा यसमा राजेन्द्र भण्डारीका कविताहरूको आंशिक रूपमा भए पनि प्रभाव परेको पाउन सकिन्छ। भण्डारीका कवितामा जस्तो राजनैतिक, सामाजिक आदि कुरामा व्यङ्ग्य, समसामयिकता आदि कुरामा प्रभाव परेको आभास हुन्छ। सङ्ग्रहका सबै कविता छोटा छोटा छन्। यहाँलाई यी छोटा कवितामा कतिको अर्थगत गहनता छन् ।