रूद्ध-अनिरूद्ध सर्सर्ती पढेर हेर्दा
|कवि, उपन्यासकार तथा कथाकारका रूपमा प्रतिष्ठा पाएकी प्रसिद्ध साहित्यकार इन्दुप्रभा देवीको रूद्ध अनिरूद्ध (2019) नामको चौधवटा कथाहरूको पोको खोल्ने मौका पाएको थिएँ- असम नेपाली साहित्य सभाको केन्द्रीय अधिवेशनस्थलीबाट किनेर ल्याएपछि। हो यसबाजी त नेपाली किताबहरू पनि निकै किनबेच भए। केही पुस्तकमा पैसा खर्च गरेर पनि आनन्द लाग्यो, स्तरीय साहित्य सृजना गर्ने साहित्यकारहरूको संख्या निकै भएकोमा। यही आनन्द दिनेहरूमा पूर्वायण प्रकाशनबाट प्रकाशित रूद्ध अनिरूद्ध पनि थियो। खोलें, यिनै चौध कथाहरूका नायक रुद्ध भएका अनिरूद्धहरूको पोको। हेर्दै गएँ सर्सर्ती कथाहरू तर अनिरूद्ध त कतै पनि रूद्ध भएको पाँइन। त्यहाँ त सबै सबै उषा र चित्रलेखाहरू मात्र छेकिएका! अनिरूद्धहरू त वाणासुर झैं, कृष्ण झैं छाडा थिए जताततै विचरण गर्ने बिना रोकटोक। यस लेखमा रुद्ध-अनिरुद्धमाथि कुनै समीक्षा या समालोचना गर्ने ध्येय राखेर अघि बढेको होइन। कुनै खानेकुरा आफुलाई मीठो लाग्यो, कुनै सुन्दर दृश्य राम्रो लाग्यो, कुनै सुन्दर गीत सुनेर मन पऱ्यो र ती कुरा अरूसँग चर्चा गरेजस्तो मात्र हो।
परिपाटीमा लेखिएका कथाहरू। छुट्टा छुट्टै कथाको आ-आफ्नो विशेषताले सजाइएका। कथानक आदि, मध्य र अन्त्यको दहिलो धागोले उनेको रङ्गीचङ्गी फूलको मालाझैं। पहिलो कथा रहेछ – पग्लँदै झरेको रात। सरल कथानकमा लेखिएको कथामा कथावस्तु संस्मऱणकै रूपमा ल्याइएको छ। घटना घटिसक्यो अनि नायकले विगतलाई सम्झिन्छ। यस कथामा म पात्र नायक नायिका दुवै छन्। कहिले पुरूष र कहिले नारीले आफ्नो विगत सम्झन्छन। मान,यश,कीर्ति र सम्पदले पूर्ण भएको डा. भैरवले नारीमाथि गरेको यौन शोषण र गर्भपात अनि तिरस्कार गरेको कथावस्तुले कथामा नारी शोषणलाई नै प्रमुख रूपमा दर्शाएको छ। रात सँगै डा. भैरव पग्लिँदै गए पनि समय बितिसकेको देखाइएको छ।
कथानकलाई गुम्फित बनाउन खोजेर पनि प्राय: सरलतामै सजिन खोजेको कथा हो जीवन सङ्गीत। म पात्रकै अगुवाइमा या सक्रियतामा कथावस्तु अघिबढेको छ। आर्थिक कमजोर जनजातीय तथा पिछडिएका क्षेत्रमा बसोवास गर्ने नारीहरूले ‘डाइनी’ जस्तो अन्ध परम्पराको स्वीकार भई बेसहारा हुनुपरेको घटनालाई छर्लड्ग्याएको छ। म पात्र आदर्शवादी चरित्रका रूपमा देखिन्छ।
कथाको अन्वितीत्रयलाई क्रमश:रूपमा राखिएको कथा हो अनार्तव। शीर्षकको अर्थ हेर्दा महिलाको रजश्वला रोकिने रोगलाई भनिदो रहेछ। साङ्केतिक रूपमा सार्थक शीर्षक रहेछ र अन्त्यमा भने कथा त अनार्तव नभएर ‘आर्तव’ देखिन्छ। कथामा सम्भावना नामकी युवतीले आफ्ना बिरामी आमा-बुवाको सेवा गर्नका लागि नै आफ्ना सम्पूर्ण आशा आकांक्षाहरूलाई निमोठ्न खोजेकी थिई। सम्भावना असम्भव र अनार्तव हुन गएकिथिई तर अन्तिममा सम्भावना भई, आर्तव भइ। आदर्शवादी चरित्रका रूपमा उभिएकी सम्भावना त्यागको प्रतीकका रूपमा सङ्घर्षशील देखिन्छे।
एउटा रेखालाई सानो पार्न बीरवलले त्यसका छेउमा अर्को एक लामो रेखा कोरेका थिए जसलाई बीरवलको रेखा भनिन्छ। सरल कथानक भएको बीरबलको रेखा शीर्षक यस कथाले बैकुण्ठ माष्टरको विगतको साहित्यकार जीवनलाई छोटो पारेको छ नयाँ जोश र जाँगर भरिएको पुन:सृष्टिशील उत्साहको लामो रेखाले। घटनाप्रधान विषयवस्तुलाई चरित्रप्रधान रूप दिन खोजिएको यस कथामा तथाकथित समाजसेवी कहलाउने मानिसहरूका भरोसामा सम्भावनापूर्ण प्रतिभा पनि कसरी बनिनु पर्दोरहेछ निस्तेज र उमङ्गहीन, त्यही देखाइएको छ। दायित्यहीन बाबुकी सम्भावनापूर्ण छोरीको माध्यमबाट नै बैकुण्ठ माष्टरको कर्ममा नयाँ मोड आउँछ। कथान्तमा उत्साह र नयाँ जोशको सृजना हुनाले नै कथालाई सार्थक तुल्याएको छ।
अर्को कथा झर्नामा श्रेयाले शुरूमै कथानकलाई उत्कर्षमा ल्याउन खोजेकिथिई तर उसको आफ्नो कथा त्यतिमै टुङ्गिएनछ। बिगतमा सीमित रहिन ऊ। बागडोगरा एयरपोर्ट र बिगतको कलेज जीवनमै कथावस्तु चुँडिएनछ। बिगत र वर्तमान मात्र नभएर भविष्यको पनि सङ्केत गरिएको श्रेयाको जीवन वृतान्त कलेज जीवनकै ‘मान्छेको भीडमा मान्छे हेर्न’ मनपराउने स्वभाव यथावत हुनाले नै ऊ मान्छेको भीडमा आकाश नामको मान्छेलाई नै खोजिरहेकी हुन्छे। श्रेयाले मान्छे खोजेकी छे –मानवताहीन दुईखुट्टेको भीडमा असल मान्छे।
‘मलाई त त्यो के गेस हो कोनि हाम्रो दु:खसित मिल्नेजस्तो लाग्दैछ।’ हो अक्सिजन नै हो हाम्रो दु:ख र सुखसँग पनि मिल्ने। ग्रामिण, गरीव र अशिक्षित वर्गको अक्सिजन हो यो अक्सिजन। कथाको मूल घटनासँग पुष्पाको पढाइको सोझै औचित्य देखिँदैन तर कथाकारको उद्देश्यसँग पुष्पा महत्वपूर्ण चरित्र हो। पुष्पाको अध्ययन र अध्ययनको विषयवस्तुले नै कथालाई उँचाइ दिएको छ। पुष्पाकी आमैका लागि अक्सिजन थिए आफ्ना छोरा-नाती। यिनीहरू दक्ष्य र कार्यक्षमता हुनु नै काँइलाकी आमाका लागि अक्सिजन। काँइलो बिरामी हुँदा आमाको अक्सिजन कम थियो भने छोराले हँसियामा धार लगाउने कुराले आमाका नयाँ ऊर्जा थपेको छ।
सामाजिक स़ञ्जालले ल्याएका सामूहिक शब्दहरू छन केही चटक्क अर्थ बोकेका, सर्वब्यापी रूप लिएका प्राय:ले पचाएका, थोरैमा धेरै अर्थ बोक्ने, लोभ नलाग्ने को होला र यी शब्दहरू देखि। मी टु कथा छोटो मीठो अनि व्यापक। यहाँ घटित कार्यले कारण ल्याएको छ र कथावस्तुको नयाँ मोड आउँछ र हामी टु’ मा सन्मिलित हुने ढोका खोलिन्छ। कथाले व्यक्ति-व्यक्तिको समष्टि रूपको आशा गरेको छ। समष्टि शक्तिशाली हुन्छ। पीडित र भुक्तभोगीहरू सन्मिलित भई अन्याय-अत्याचारको प्रतिरोध गर्छन्, अत्याचारीलाई सजा दिलाउन सक्छन्।
कुइरोभित्र घटेका घटनाहरू, दृश्यहरू छेउबाट नहेरेसम्म देखिँदैन। अस्पष्ट दृश्यमै धेरै घटनाहरू घटिसकेका छन्- गोली, छुरी हान्ने जस्ता कार्यहरू। तीनजना मरेको आँखीझ्यालबाट चियाउँदा त देखियो पनि। शिक्षित र सम्पन्न चरित्र यहाँ छन विपन्न र अशिक्षितझैं। प्रतिशोधपरायण उही हिन्दी सिरियलको जस्तै। माध्यमिककालीन नेपाली उपन्यास झैं घटनै-घटनाले पूर्ण। कतै सर्जकले आफ्ना अन्तरभित्र गुजुल्टिएका भावनाहरू कुइरोभित्र पोखिदिएको हो कि? शिक्षितको प्रमाणपत्र पाएका र शिक्षादानको कर्म चलाएका प्रतिनिधि चरित्र उभ्याएर कथावस्तुमा जोडन् हालिए जस्तो देखिने यो कथाको मूल उद्देश्य कुइरोभित्र नै रह्यो।
नाच्तै झर्ने पातहरू शीर्षकमा साङ्गितिकता र कथावस्तुमा यथार्थता देखिन्छ। रूखबाट झरेका पातहरू हेर्दा नाच्तै झरेझैं लाग्छन् तर हेर्नेको मन पनि चाहिन्छ त्यही अनुसारको। आदर्शबाट टाढा यथार्थवादी धरातलमा सजिएको यो कथाले युग र समयसँग हिँड्न नसक्नेहरूलाई रूखको पातझैं देखे। त्यही पात आज जो झर्दै छ कुनै एक समयमा रूखका लागि प्यारो थियो, रूखको पाकशाला थियो। समयको चक्रमा विभिन्न कला-संस्कृतिले पुष्ट भएकाहरू आज पतझड हुन पुगे। तिनलाई अब हेर्ने कसले ? मूल्यहीन, आधारहीन, फ्याँकिए, झरे, हराउँदै गए। अब त केवल डिग्री लिनेहरूका लागि शोधको सामग्री मात्र रहे।
विद्रोह कथामा विद्रोह गर्ने त विद्रोहिनी रहिछन्। शिवकुमार इमानदार कर्मचारी भएर पनि जीवनमा सुखी हुन सकेनन्। शिवकुमार बिचरा भएपनि काटिएको ओठभित्र शिक्षा र कर्मद्योम सँगै विद्रोहिनी थिई छोरी सुगन्धा। त्यसैले विवाह नगर्ने सिद्धान्त लिइ ती लम्पटहरूसँग जो केवल सुगन्धाका लागि मात्र नभएर शिवकुमारका सम्पत्तिको उत्तराधिकारी सुगन्धाका लागि राल चुहाउँथे। भारतीय परम्परा अनुसार छोरीको विवाह गर्न नपाउनु आमा-बाबुका लागि औडाहाको कुरा तर बारम्बार अपमानित लाञ्छित हुनुपरेकी सुभद्रामा शिक्षा थियो, ज्ञान थियो, विवेक, धैर्य र साहस थियो- निर्लज, लोभीहरूलाई लोप्पा खुवाउने। सुगन्धा एक उद्यमी, साहसी र विद्रोहिणी आधुनिक युवा वर्गकी प्रतिनिधि चरित्र हो। यथार्थवादी धरातलमा आधारित विद्रोहका कथावस्तुको कथानकले अन्तिममा चरमोत्कर्ष स्पर्श गरेको पाइन्छ।
कथासङ्ग्रहको अर्को कथा हो अध्यारोभित्रको उज्यालो। उज्यालो आएपछि अँध्यारो भाग्नुपर्छ। यहाँ त उज्यालो अँध्यारोभित्र नै भेटियो। उही वरिष्ठ साहित्यकार मोहनराज शर्माको मदन पुरस्कार प्राप्त नाटक ‘बैकुण्ठ एक्सप्रेस’ मा अँध्यारो ल्याउने बल्ब जलाए जस्तै। शायद अँध्यारो हुँदै गएकी खरेलनी आमैका काखमा उज्यालो नाति। कथाले खरेलनी आमैलाई कहीँपनि अँध्यारो देखाएन। उनी उज्याली,फरासिली छन् पछौटे गाउँमा एक्लै बस्नुपरेर पनि। यस कथाले तीन पुस्तालाई दर्शाएको छ। खरेलनी आमै, उनका छोरी ज्वाँइ र नाति। पहिलो पुस्ता गाउँमा साग र सिस्नु आनन्दी मनले खाएर बस्ने, दोस्रो शहरवासी मोजमस्तीमा इष्ट कुटुम्बबाट टाढा हुन खोज्ने अनि तेस्रो त नाति हो। शहरमा बस्ने आधुनिक युवा प्रतिनिधि। ‘वर्तमान युवावर्गमा मोबाइल र यसको प्रयोग’ यस विषयमा उस्तै लेखकहरूले थाल्नुभने कति ट्रक किताबका ठेली लेखिसकिन्थ्ये होलान। यस कथामा त छोटोगरी लेखेर पनि यसरी छर्लङ्ग पारेको छ खरेल्नी आमैको घरमा सय पावरको बत्ती बाले पनि त्य़ति छर्लङ्ग हुँदैनथ्यो होला। आधुनिक उपकरण, यन्त्र, सुविधा भन्दा पनि सोझै ‘मोबाइल’ ले के गरेन र यस वर्तमानलाई। भीडमा एक्लो बनायो। इष्ट-मित्र, नाता-कुटुम्ब सबै-सबै खोसेर लग्यो। शरीर एकातिर मन अर्कातिर। खरेलनी आमैका मनमा झिलिमिली करेन्टले भन्दा पनि नातिले नै ल्याउन सक्छ तर नाति आमैका मनमा नभएर मोबाइलको धुनमा हुन्जेल करेन्ट आएपनि आमै त अन्धकारमै डुबेकिथिइन। आमैका लागि नै धन्न करेन्ट गयो। नातिको मोबाइल थन्कियो अनि आमैका अन्तर्मनमा राती नै सूर्य उदाए। कथा अति नै सान्दर्भिक छ साथै कथाबाट औंलो पनि ठड्याएको छ यन्त्रले मनुष्यत्व निल्दैछ भनी।
धृष्टता कथा पढेर त प्रतिशोध लिने धृष्टता राखेकै देखियो –नारीले। तृतीयपूरूष शैलीमा लेखिएको धृष्टताको कथानक जटिलतामा गुजुल्टिएको पाइँदैन। प्रेमाक्टोपासमा बाधिएकी तिलोत्तमा रस निचोरिएपछि तिरस्कृत हुन्छे। पति प्रेमदीप अरू अरू रसपूर्ण नारीको शिकार गर्दछ र खोष्टो भइ सकेकी तिलोत्तमा अवहेलित हुन्छे। राजनैतिक नेता हो प्रेमदीप, उसका अघिपछि अनगिनत धुपौरेहरू, मिडिया, सुरक्ष्याकर्मी, भीड, घुइँचो सबै-सबै तर अर्धाङ्गिनी तिलोत्तमा उपेक्षित। तिलोत्तमामा प्रतिशोधको भावना हुलुक्कै पलाएको होइन, हो त दिन-दिनको सञ्चीत उद्गार। निर्वाचनको प्रार्थी प्रेमदीपलाई फेरिपनि जित्नुपरेको छ, नेता बन्नुपरेको छ त्यसैले उसलाई चाहिएको छ जन समर्थन। आफ्नो कलङ्कित अध्यायलाई लुकाएर जनसागरमा सुकिलो हुन खोज्ने प्रेमदीपलाई स्वयं आफ्नै पत्नीले बिराट सभाबीचमा पतिको कलड्कित जीवनको पर्दाफास गरिदिँदा त्यसबेला तिलोत्तमालाई प्रहार गर्नसक्ने एउटै ब्रह्मास्त्र थियो उसका हातमा। बस प्रहार गरिदियो –‘यिनको मानसिक हालत ठिक छैन——-‘ । य़हाँ नारी शोषण छ, प्रतिवाद पनि छ तर प्रतिवादलाई पनि कौशलपूर्ण ढङ्गले दवाइँदैछ। अब रह्यो हाम्रो हातमा निर्णय़। यिनै प्रेमदीपका हातमा देशको भविष्य सुम्पेर हामी भारतको मानचित्रमा कश्मीर, असम, नागाल्याण्ड जोड्न खोज्दै छौं। अर्थात् एकताको नारा। अत्यन्त सावधानीपूर्वक ल्याइएको यो कथाको कथावस्तु साङ्केतिक हुँदाहुँदै पनि छर्लङ्ग छ।
उन्मुक्तिको ढोका क्षीण, जीर्ण कथावस्तुलाई लिएर एउटा सिङ्गो कथा तैयार भयो। यस प्रकारका कथामा कथानकको अन्विति कहाँ भेटिन्थ्योहोला र! यसको प्रस्तुतिमै सबैथोक अटाउँछन। निकोलस रोरिकको चित्रले देखाएको वस्तुको आधारमा देवकान्त बरूवाको कविता अनि त्यही कविताका आधारमा ‘उन्मुक्तिको ढोका’। कथामा शब्द चयन, वाक्यबनावट अनि विषय प्रक्षेपण, यहीँ सर्जकको खुबी छ। अघाडि ढोका खुला हुनसके मात्र गति पाइन्छ। यहाँ ढोकाको ब्यापक शब्द प्रयोग पाइन्छ। उही चन्द्रकुमार शर्माको निबन्ध ‘तघारो’ झैं । आँफु झैं सामान्य पाठकका लागि दुर्बोद्ध्य छ कथा। फलामका चिउरा चपाए झैँ। निकोलसको त्यो चित्र नदेखिकन अनि देवकान्तको त्यो कविता नपढिकन ‘उन्मुक्तिको ढोका’ उही फेद टुप्पो नभेटिएको शिवलिङ्ग झैं लाग्यो। कथामा हामी ढोका खोल्दैछौं, ढोका खोले पछि के रह्यो र बाधा। निर्वाध यात्रा, निर्वाध गति। आशा,आकाक्ष्या,ध्वनि, गीत सवै उन्मुक्त। तर त्यो ढोका कसका लागि उन्मुक्त विकासका लागि कि त विनासका लागि? कथामा एउटी वृद्धा बोलेकी छन्। उनको कथनबाट अघिबढेको कथामा यति कुराचाहिँ बुझियो कि सत्तर वर्षकी ती वृद्धालाई धरासायी पारेर अट्टहास गरेको यो सभ्यताको मुखौटो खोल्न उनका आँखा खुलेका छन्।
अन्तिमको कथा रहेछ लक्ष्मण रेखा। राम जीवित हुँदा लक्ष्मणले भाउजू सीतालाई सुरक्षा गर्न कोरेको रेखा। मेघाका देवरले दाजु मरेपछि भाउज्यूलाई लक्ष्मण रेखाको चेतावनी दिए। आजका हरेक राम, लक्ष्मण आदिले सीताहरूलाई लक्ष्मण रेखा खिँचिरहेछन्। पतिहीना मेघा मात्र होइन सधवा राधा र सीताहरू पनि लक्ष्मण रेखाका सीमाभित्र छटपटिएका छन। मेघा तर देवरले तान्न खोजेको रेखाभित्र समेटिन खोजिनन्। उनी शिक्षित हुँदाहुँदै सचेत पनि थिइन् आफ्नो परिवार तथा समाजप्रति। त्यसैले उनले विद्रोह गरिन् समाजका अन्ध परम्परामाथि तर समाजलाई नछोडिकन, समाजलाई अँगाल्दै, समाज भित्रै रहेर। आफ्नी आमालाई पाल्न नसक्ने तर अरूलाई मर्यादाको पाठ पढाउने दुराचारी पुरुष चरित्र लक्ष्मणलाई लोप्पा खुवाएर शान्तिमा रहिनन् मेघा। उनले त सामाजिक कु-संस्कारको पर्दाफास गरिन्, समाजलाई नै संस्कारमा ल्याइन् अन्तत: नारीमाथि भैरहेको अन्यायको जरो उखेल्न। हो सीताले लक्ष्मण रेखा नाघेर आफ्नो आपद निम्ताइन् तर मेघाले! उनले त एक्लै नाघिनन् त्यो रेखा। आफु समूहसँग हिँडिन्, समूहलाई हिँडाइन् र त्यो रेखा जसले विवश नारीलाई दबाएर, थिचेर राखेको थियो त्यसलाई जरै समेत उखेलिदिइन्। आदर्शवादी विचारधारामा लेखिएको यो कथा कथानकको दृष्टिले सरल भए तापनि बस्तुगत रूपमा गहिरो भावलाई समेट्न सकेको देखिन्छ।
कथाका वस्तुपक्ष संक्षेपमा लेख्नुपर्दा के कति समेट्न सकियो, भन्न सक्दिनँ, धेरै कुरा रह्यो पनि। यहाँ कथाकारले सृजना गरेका चरित्रहरू कथामा अनावश्यक रुपमा आएर कथावस्तुलाई बिथोलेको पाइदैन। तर पनि यी चौध कथाहरू पढिसकेपछि के लाग्दछ भने वस्तुपक्ष अलग रहेर पनि हरेक कथामा चरित्रहरू एउटै हुन् भिन्न भिन्न नाम र काममा उभिएको एउटै पात्र। उही बेग्लाबेग्लै नाटकमा अभिनय गर्नै एउटै चरित्र–नाटक परिवेष, वेशभुषा फेरिए पनि अभिनय उही। प्रथम पुरुष शैलीमा प्रस्तुत कथाहरू हुन्- पग्लदै झरेको रात,जीवन सङ्गीत, नाच्तै झर्ने पातहरू, उन्मुक्तिको ढोका। यी चार कथाका ‘म’ पात्रहरू नारी छन्। सामाजिक विसङ्गति प्रति विरक्त तर विद्रोहहीन। पग्लदै झरेको रात कथामा पुरुष र नारी पात्रले क्रसश: आफ्नो अतीत स्मरण गरेका छन्। सामाजिक विसङ्गति, नारी शोषण, दमन, पुरुषवाद, हत्या र लुण्ठनको अक्टोपासमा अँठ्याइएका नारी पात्रहरू उन्मुक्तिको बाटो खोज्दैछन्। जीवन सङ्गीत कि -दीपा, नाच्तै झर्ने पातहरू कि -‘म’ पात्र, अक्सिजन कथाकी -आमै, अध्यारो भित्रको उज्यालो कथाकि -‘खरेलनी आमै’ जस्ता पात्रहरू नियतिको विधि भनेर मौन प्रतिवादरहित छन भने सम्भावना (अनार्तव), श्रेया (झर्ना), विनीता (मी टु) पवित्रा (कुइरोभित्र), सुगन्धा (विद्रोह), तिलोत्तमा (धृष्टता), मेघा (लक्ष्मण रेखा) नामका पात्रहरू अत्यन्त सक्रिय रूपमा उभिएका छन्। कथाबस्तुलाई मोड्नसक्ने, उद्येश्य़लाई लक्ष्य दिन सक्ने क्षमतावान यी नारी चरित्रहरूले वस्तुपक्षको जोडन हाल्ने काम मात्र नभएर कथालाई सार्थक तुल्याउन पनि सहायक बनेका छन्। यथार्थता हुँदाहुँदै पनि ‘म’ पात्र (जीवन सङ्गीत),सम्भावना, विनीता, सुगन्धा र मेघाजस्ता चरित्रहरूले यथार्थको धरातलमा आदर्शको मजेत्रो ओडेको देखिन्छ।
डा. भैरव भरद्वाज (पग्लदै झरेको रात), बैकुण्ठ सर (बीरवलको रेखा), प्रेमदीप (धृष्टता) जस्ता पुरूष पात्रहरू सक्रिय हुनाले नारी पात्रसँग सङ्घर्ष भएको देखिन्छ भने अन्य कथाहरूमा पुरुष पात्र गतिहीन हुनाले नारीहरूको सङ्घर्ष सामाजिक रूढीबुढी, अन्ध परम्परा तथा नियतिसँग भएको छ। सुन्दर आधुनिक परिवेशमा मोडेर सृजना गरिएका कथाहरू जिउँदा जाग्दा छन्। वातावरण नै यही छ – पुरानो अविश्वसनीय आधारहीन परम्पराको परित्याग र वैज्ञानिक चिन्ताधाराको शिल्यान्यास हुँदै गरेको।
कथाको भाषा, वाक्य बनावट, शैली र शिल्प अत्यन्त लोभनीय छ। असमको नेपाली साहित्यमा भाषा-शैलीका दृष्टिकोणले यति उच्चकोटिका कथाहरू एकै हातका औलामा गन्न सकिने होलान्। जटिल विषयवस्तुलाई सरल ढङ्गले छर्लङ्ग पारिदिने वाक्यहरू लोभनीय छन्। केही उदाहरण हेरौँ-
- ‘एकदिन एउटा जुनेली रातमा उनी समुद्रको स्फीत ज्वार बोकेर आइन् आफूभरि। मुहारभरि लालिमा थियो र आँखाभरि थियो अनागत सूर्यको व्याकुल प्रतीक्षा।
म अस्थिर भएँ। हडबडिएँ। त्रस्त मेरासामु एउटा खुल्ला बाटो थियो। उनका कोमल हातलाई समातेर त्यही बाटो दगुराएँ।
निर्बोध उनले भनिन्- ‘कति मनोरम यो जुनेली बाटो!’.. (पग्लदै झरेको रात,पृष्ठ-10),
- तर चिम्लिएका आँखाले पनि अकस्मात के देख्दैछु म यस्तो? के देख्दैछु हँ?…
……. यो पोखरीभित्र यत्रोदिन चुँडेर, धुतेर, उखेलेर फालिएका अनगन्ती पखेटाहरू, ओठका गीतहरू, पाउका छन्दहरू, नुपूरहरू, लहरहरू, आँखाका ज्योतिहरू सबै सबै उदाङ्गो पारेर बाहिर निकाल्न उसले कुरिबसेको हो त मेरै जस्ता दुई अभिमानी आँखालाई?
मेरा आँखा रोरिकको त्यो चित्रशिल्पजस्तै सोच्दै होला त यो निसास्सिएको पोखरीले? (उन्मुक्तिको ढोका,पृष्ठ -83)।
असमे नेपाली जनजीवनले धेरै असमिया शब्दहरू आफ्ना भाषामा पचाइसकेको प्रमाण यहाँका कथाहरूमा देखिन्छ। उदाहरण दिइरहनु पर्दैन होला। रूद्ध–अनिरूद्धका कथाहरू नेपाली साहित्यकै उँचाइमा टेक्न सक्ने कथा छन्। आदर्शोन्मुख यथार्थवादको बास्ना आएपनि उच्चस्तरीय भाषा शैली यसको महत्वपूर्ण प्राप्ति मानिन्छ।