संस्मरण : पहिले गाली खाएर पछि तालीपाएका चार घटना

 

सेवानिवृत्त जीवन उसै पनि फुर्सदिलो हुने नै भयो, त्यसमा पनि कोरोनाको कहरले गर्दा अधिकांश समय घरकै कोठामा बिताउनुपर्ने बाध्यता छ । केही सामाजिक भूमिकाहरू पनि खुम्चिएका छन् । एक किसिमले फुर्सद नै फुर्सद छ । पुराना कुरा सम्झेर आनन्द लिने अवसर पनि पाइएको छ । यस्तो अवसर फेरि पाइएला नपइएला ? तसर्थ फुर्सदिलो क्षण उपलब्ध गराइदिने करुणाजी (कोरोना)लाई धन्यवाद भन्नैपर्छ । फुर्सदकै समयमा आफूले आफ्नै विगत चिहाउँदाका चार प्रसङ्ग यहाँ स्मरण गरेको छु, जहाँ पहिले गाली खाएर पनि पछि ताली पाएको मीठो अनुभूति छ ।

घटना एक

कुरा २०२८ सालतिरको हो । त्यसबेला तराईको कुनै हाइस्कुलमा पढाउने काम भर्खरै सुरु गरेको थिएँ । भर्खर बिए पास गरेको फुच्चे केटो न थिएँ । सितिमिति मानिसहरूले मलाई पत्याउँदैनथे । त्यही स्कुलमा काम पाउन पनि कठिनै भएको थियो । सञ्चालक समितिका कतिपय सदस्यले म फुच्चेलाई नियुक्त गर्न आनाकानी नै गरेका रहेछन् । तथापि, प्रधानपञ्चको पनि जोडर तत्कालीन अवस्थामा शिक्षकको पनि अभावका कारण म नियुक्त हुन पुगेँ । निकै उत्साहपूर्वक पढाउन थालेको थिएँ । कक्षा रोचक बनाउन विद्यार्थीलाई पृष्ठपोषण हुने विभिन्न कथा तथा प्रेरक प्रसङ्गहरूको चर्चा गर्ने गर्थेँ । यही क्रममा एकदिन कक्षामा जवाहरलाल नेहरूको प्रसङ्गह चल्यो । जवाहरलालका पुर्खा कास्मिरबाट इलाहाबाद आएर नहरको छेउमा बसोबास गरेका र नहरको छेउमा बसेका कारण नहर नहरू भन्दाभन्दै उनीहरू नेहरू बन्न पुगेका हुन् भन्न ेसुनेको थिएँ । प्रसङ्गवश कक्षामा यो कथा सुनाएको थिएँ । यही कुरा एकजना विद्यार्थीले घरमा पिताजीलाई सुनाए छन् । संयोगवश उनी सञ्चालक समितिका तिनै वरिष्ठ अधिकारी परेछन् जसले मेरो नियुक्तिलाई बाध्यतावश मात्र स्विकारेका थिए । हुनसक्छ त्यसभित्र उनको कुनै स्वार्थ पो थियो कि ! जेहोस् छोराको कुरा सुनेर ती सज्जन आगो भएछन् । पछि थाहा पाएँ, उनैले प्रधानाध्यापकलाई मेरा बारेमा सिकायत गरेछन् ।

प्रधानाध्यापकले मलाई बोलाएर भने, “बिए पास गरे पनि तपाईँमा केटाकेटीकै स्वभाव रहेछ ।” उनले चेतावनीकै भाषामा भने, “विद्यार्थीसित गर्ने कुरामा गम्भीर हुनुहोस् ।” अचानकको यस्तो व्यवहारले म अकमक परेँ । उनैले नेहरूको प्रसङ्ग निकालेपछि बल्ल कुराको अन्तर्य बुझेँ । मैले उनलाई बुझाउन खोजेको के थिएँ उल्टै हप्काए । मलाई पनि असह्य भयो । उनलाई प्रमाण देखाउनै पर्ने ठानेँ तर मसित त्यस विषयमा लेखिएको पुस्तक थिएन । त्यस गाउँमा त उपलब्ध हुने कुरा पनि थिएन । यसको भोलिपल्टै दुई दिनको बिदा लिएर भारतको सीमावर्ती सहरतिर हानिएँ । नेहरूको आत्मवृत्तान्तको किताब किनेर तुरुन्तै फर्किएँ पनि । तर, मैले गाउँ छाडेपछि सानो मास्टर पढाउन नसकेर भाग्यो भन्ने हल्ला चलेछ । यस घटनाले मलाई सिफारिस गर्ने सज्जनले समेत तनाव झेल्नुपरेछ । गाउँ फर्किएपछि मैले उनै प्रधानपञ्चलाई नेहरूको घटनावृत्तान्त सुनाएँ र किताब पनि देखाएँ । उनी ज्यादै प्रफुल्लित भए । उनैले सञ्चालक समितिको बैठक डाक्न लगाएर मेरा विषयमा कुरा चलाए । बैठकमापुनः नेहरूकै प्रसङ्ग निस्कियो । विद्यार्थीलाई भ्रमपूर्ण ज्ञान दिएको आरोप ममाथि लाग्यो । मैले भर्खरै किनेर ल्याएको पुस्तक देखाई सबै विवरण सुनाएँ । मेरो कृत्यले सबै नाजवाफ भए । मलाई सिफारिस गर्ने सज्जनको पनि फुर्ती बढ्यो ।

मैले तत्कालै राजीनामा दिँदै भने, “यस्तो वातावरणमा म काम गर्न सक्दिनँ ।” सबैजनाले आफ्नो गल्ती स्वीकार गरी क्षमायाचना गरे । उनीहरूकै जोडबलले मैले राजीनामा फिर्ता लिनुप¥यो । यस घटनाले गाउँ हल्लियो । सबैले सराहना गर्दा मेरो शिर उच्च भएको महसुस गरेँ । कालन्तरमा मैलाई आरोप लगाउनेहरूसित घनिष्टता बढ्दै गयो । यस घटनापश्चात् गाउँलेहरू मेरो तारिफ गर्न थाले । आवश्यकताभन्दा बढी नै तारिफ भएझैँ पनि लाग्छ । धेरै पछिसम्म ती व्यक्तिसित मेरो सौहार्द सम्पर्क थियो । तर, अब ती सज्जन पनि सम्झनामा मात्र सीमित छन् ।

घटना दुई

कुरा ०४४–४५ सालतिरको हो । म इतिहास केन्द्रीय विभागमा कार्यरत थिएँ । लिखित परीक्षामा दुईजना छात्रको उत्कृष्ट अङ्क समान आएको रहेछ । ती दुवैजना मेरै निर्देशनमा शोधपत्र तयार पार्दै थिए । एककिसिमले दुवै प्रथम श्रेणीमा प्रथम अर्थात् सर्वोत्कृष्ट हुने प्रतिस्पर्धामा थिए । विभागमा विभागीय प्रमुखलगायत केही शिक्षक तीमध्ये जसको पक्षमा थिए उनी मेरो मूल्याङ्कनमा अपेक्षाकृत कमजोर नै थिए । स्थिति भने यस्तो थियो कि शोधपत्रमा जसको बढी अङ्क आयो उही सर्वोत्कृष्ट हुन्थ्यो ।

एकसाथ दुवैको शोधकार्य पनि पूरा भयो । दुवैले मूल्याङ्कनका लागि शोधपत्र विभागमा दर्ता गराए । विभागले दुवै शोधप्रबन्धको मौखिक परीक्षा एकैदिन हुनेगरी बाह्य परीक्षकसमेत तोक्यो । दुवै शोधप्रबन्धका बाह्य परीक्षक एकैजना थिए । मौखिक परीक्षामा दुवैले आआफ्नो क्षमताअनुरूप प्रदर्शन पनि गरे । अङ्क दिने विषयमा केही विमती देखाप¥यो । दुवैलाई बराबर अङ्क दिनेसम्मका कुरा चले । तर मैले विमती राखेँ । प्राज्ञिक मर्यादालाई ख्याल गरी एकजनालाई बढी अङ्क दिनैपर्ने तर्क मेरो थियो । बाह्य परीक्षकलाई मेरै कुरा जँचेछ । परिणाम सोही भयो । विभागकै शिक्षकहरूले विभागीय मूल्याङ्कनका समयमा उठेका कुरा दोस्रा हुनेलाई हुबहु सुनाइदिएछन् । उनी मसँग आगो भए । विद्यार्थी मात्र होइन, उनका अभिभावकसमेत मेरो उछितो काढ्न लागे । केही समयपछि यी कुरा मत्थर त भए तर मेरो मन कता कता दुखेको थियो । विद्यार्थी त विद्यार्थी नै भए तर विभागका शिक्षक र अभिभावकको व्यवहार पटक्कै उचित लागेको थिएन । समय बित्दै गयो । कालान्तरमा ती दुवैले विश्वविद्यालयमा नै सेवा प्रारम्भ गरे । पहिला हुनेको तुलनामा दोस्रा हुने विद्यार्थीसितै मेरो उठबस भलाकुसारी अधिक भयो । खै किन हो, उनी मसित सन्निकट हुँदै गए । कालन्तरमा आफ्नो विद्यावारिधिको शोध सुपरिवेक्षकमा मलाई नै अनुरोध गरे । उनको शोधदर्ता अर्कै प्राध्यापकको सुपरिवेक्षणमा भएको थियो तर उनैले जोडबल गरी मलाई सुपरिवेक्षक बन्न बाध्य गराए । पहिलाको घटनाप्रति ग्लानि प्रकट गर्दै निरन्तर पश्चाताप गर्दै रहे । हाल पनि उनले मलाई पितासरहको सम्मान दिएका छन् । पुत्रवत् मेरो सुखदुःखमा साथ दिने पनि उनै हुन् । अहिले दुर्वै विश्वविद्यालयमा स्थापित भइसकेका छन् । दुवै एकअर्काका घनिष्ठ मित्र भएका छन् । दुवैले यथार्थलाई आत्मासात गरेका छन् । दुवै मेरो खुलेर प्रशंसा गर्छन् । दुवै पुरानो कुरा सम्झन चाहँदैनन् । पहिले गाली खाएको यो घटना अहिले मेरालागि बिर्सनै नसकिने सुखद हुन पुगेको छ ।

घटना तीन

कुरा त्यस्तै २०५० सालतिरको हो । त्यसबेलामा म त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा सहपरीक्षा नियन्त्रककारूपमा कार्यरत थिएँ । आइएससीको नतिजा प्रकाशन भएको दुई दिन मात्र भएको थियो । अचानक तत्कालीन सेनाका एक उच्चपदस्थ अधिकारी मेरो कार्यकक्षमा आए । उनका छोराले एउटा विषयमा शून्य अङ्क पाएछन् । ती अधिकारीले मसित खुब प्रतिवाद गरे । “सबै विषयमा उच्च अङ्क आउने एउटामा मात्र शून्य आउँछ ?” भन्दै परीक्षामा चरम लापरबाही भएको, आर्थिकलगायका प्रलोभनमा परेको तथा परीक्षाको संवेदनशीलतामा गम्भीर नभएको जस्ता आक्षेप लगाए । चलनचल्तीका सबै शब्द प्रयोग गरी मलाई र विश्वविद्यालयलाई सत्तोसराप गरे । मैले कुरा बुझाउन खोजेँ तर झन् उत्तेजित हुँदै सबैलाई कारबाही गर्ने धम्कीसमेत दिए । मैले विनम्रताका साथ भनेँ, “म यथार्थ कुरा बुझेर अवश्यै यहाँलाई खबर गर्नेछु ।”कति प्रयास गर्दा पनि उनी मत्थर भएनन् ।

ती सज्जन गइसकेपछि स्वयम् सम्बन्धित शाखामा गएँ । उक्त विषयको उत्तरपुस्तिका खोजी गर्दा पत्तो पनि लाग्यो । उत्तरपुस्तिकामा सम्बन्धित परीक्षार्थीले केही लेखेको रहेनछ । पुस्तिकाको बाहिरी पृष्ठमा अंग्रेजी भाषामा DROPPED लेखिएको रहेछ । तथ्य कुरा पत्ता लागेपछि मैले ती बहालवाला जर्साबलाई छोरा लिएर कार्यालयमा आउन अनुनय विनय गरेँ । भोलिपल्टै उनी मेरो कार्यकक्षमा हाजिर त भए तर हिजोको आगो आज पानी पो भएछन् । कारण बाबुसामु छोराले यथार्थ बकिदिएछ । अघिल्लो दिनको अभिव्यक्तिप्रति बिस्मात मान्दै क्षमायाचना गरे । अनाहकमा आक्षेप लागेकामा कताकता नरमाइलो अनुभूति भएको थियो, उनको आत्मग्लानिले सन्तोष पनि लाग्यो । खाएको विष मात्र लाग्दो रहेछ भन्ने आहान चरितार्थ भयो । अहिले ती जर्साबसँग भेट नभएको पनि धेरै भयो ।

घटना चार

विसं २०५८ सालतिर जस्तो लाग्छ । म विश्वविद्यालयमा नेपाल र एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक थिएँ । विश्वविद्यालयमा विभिन्न छात्र सङ्गठनका नाममा चन्दा माग्नेहरूको बिगबिगी थियो । चन्दा आतंकले विश्वविद्यालयका सबै पदाधिकारी दिक्क बनेका थिए । संस्थागत र व्यक्तिगत रूपमा चन्दा याचना गर्नेको ओइरो लाग्थ्यो । उनीहरू चन्दा नपाए धम्क्याउने तथा भौतिक कारबाही गर्नेसमेत चेतावनी दिन भ्याउँथे । माओवादी सङ्गठनहरूको नाममा नेपथ्यबाट सहयोग माग्नेको त कुरै नगरौँ । माओवादी हुन् कि गैरमाओवादी छुट्याउन सकिने स्थिति नै थिएन । विभिन्न शीर्षकमा पटकपटक मसितपनि चन्दा माग्न आउँथे तर दिन सक्ने कुरा थिएन ।

एकदिनको घटना हो, कार्यालय समय सकिनै लागेको थियो । अचानक ४–५ जना विद्यार्थी मेरो कार्यकक्षमा आए । उनीहरूले संस्थाका तर्फबाट आर्थिक सहयोग गर्न मलाई अनुरोध गरे । जुन कुरा सम्भव थिएन पनि । मेले अनेकौँ दृष्टान्त दिएर सम्झाउने प्रयास गरेँ । तर, उनीहरू मान्न राजी भएनन् । संस्थाबाट नभए व्यक्तिगत रूपमा नै भए पनि सहयोग गर्न दबाब दिए । यसका लागि नरम तथा कठोर दुवै प्रविधि अपनाए । लामो विमर्शपश्चात् मेरो हैसियतअनुसार एक हजार रुपैयाँ व्यक्तिगत रूपमा नै दिने भएँ ।उनीहरू तैपनि मान्न राजी भएनन् । “एक हजारभन्दा बढी चन्दा दिने मेरो औकात तथा हैसियत पनि छैन र मसित यहाँभन्दा बढी रकम पनि छैन ।” भन्दै उनीहरूलाई त्यही एक हजार रुपियाँ थमाएँ । उनीहरू “हामी पछि आउँछौँ । बन्दोबस्त गरी राख्नू । नत्र भने ठीक हुने छैन ।” भन्दै चेतावनी दिएर गए । त्यसको ठीक ४–५ दिनपछिको कुरा हो । कार्यालय सुरु हुने समयमा पहिले आएका मध्ये दुईजना व्यक्ति आए । “हामीले सरको सबै कुरा बुझ्यौँ । सरको हैसियतबाट हामीले पाँच सय रुपैयाँ मात्र चन्दा पाउने रहेछौं,” भन्दै पाँच सय फिर्ता दिन खोजे । मैले भइगयो भन्दा पनि मानेनन् । फिर्ता दिएरै गए । तत्पश्चात् मैले तिनीहरूलाई कहिल्यै पनि भेटिनँ । यो सबै के थियो ? उनीहरूको राजनीति थियो अथवा अन्य केही थियो ? मैले आजसम्म बुझ्न सकेको छैन ।

पहिले ताली पाएर पनि पछि गाली खाएका धेरै घटना होलान् । तर, पहिले गाली खाएर पछि ताली पाएका घटना थोरै मात्र छन्, जीवनमा । वास्तवमा पहिले गाली खाए पनि पछि ताली पाउँदाको रमाइलो बेग्लै हुने रहेछ । अव्याख्येय र अवर्णनीय तर आनान्दानुभूतिको बेगल स्वाद !

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *