फूलको बुट्टेदार माया

म केही पनि लेख्न सक्दिन
मबाट तिमीलाई अलग बनाएर ।
तर एकाध मन
फुटको दिशातिर अग्रसर हुन खोज्छ
तिम्रो भौतिक शरीरको उपस्थितिबिना ।

यी हातको रेखाहरुसँग
आँखा जुधाउँदा पनि-
तिमीसम्म पुग्ने बाटो कुन होला भनेर खोज्न मन लाग्छ ।
तिमीलाई प्रेम गरेर मैले
मानसिक सुखभोग यति धेरै गरिरहेको छु की
आँखाले देख्न चाहेको हरेक कुरामा तिमी देख्न मन पर्छ ।

हरेक चाहानाको मौन शब्द स्वीकृति
यति मीठो चोखो प्रेम भएर पनि
मौनताले साँधेको कयौँ रातहरू ।
सम्झ त त्यो तड्पनपूर्ण रातहरु पनि कति मीठो थियो ।

तिम्रो आँखाले मेरो भौतिक शरीरको
आकृति कोर्न थालेको कति समय भयो ?
मेरो तिमीलाई एउटा अनुरोध छ
कालो रातलाई जित्ने कलर प्रयोग गरेर
मलाई कोर्ने कोशिस गर्नु
दिनमा त म आफैं अनेकन रुपमा कोरिएर आउने छु।

अब त म तिमीमा समाहित हुन मन छ।
त्यो दोभानमा समयले कैले पुर्‍याउँछ ?
मलाई पुग्यो  प्रिया !!
तिमीलाई मनपर्ने मेरो ओठ
काँक्रोको सेलाजस्तैचिराचिरा बनाई
तिम्रो नाम लिदै रात काट्ने रहर ।

मेरो आँखाले खिचेको सुन्दर तस्वीर तिमी हौं ।
मेरो आँखाइतर
बजारिया आँखाको
सुन्दरताको मानकभित्र
तिम्रो शरीरको सौन्दर्यता परोस नपरोस
तर तिम्रो शरीर मलाई हराभरा प्रकृतिभन्दा उत्कृष्ट लाग्छ ।
भव्य लाग्छ ।
त्यसैले त तिमीलाई पाउने उच्चतम चाहानामा
मेरो मुटुसँग साइनो भएको हरेक नासाहरु फुल्छ।

मलाई यो रात बिताई रहन मन छैन तिमीबिना
मलाई त्यो रात बिताउन मन छ तिम्रो अभाव बिना ।
सोच त त्यो रात –
मेरा हातका औँलाहरुले
तिम्रा हातका औँलाहरुलाई कसरी प्रेम प्रकट गर्दछ ।
मेरा हातका औँलाहरुले
तिम्रा हातका औंलाहरुको
इञ्च इन्चको हिसाब कसरी राख्छ होला ?

तिम्रो शरिरको सुंगन्धले
मेरो शरीरको भागरलाई कसरी धपक्कै ढाक्छ होला ?
अनि
रातको मध्य भागमा
मेरो ओठले
तिम्रो ओठलाई
आजको रात त छोएरै निदाऊ न भन्छ होला !!

तिमीसँग मेरो साच्चै प्रेम भएको छ।
तिमीलाई सम्झेर मात्र
मैले मेरो दिनको श्रीगणेश गर्छु ।
मेरो रातको श्रीगणेश गर्छु ।
तिमी मेरो भएको समयदेखि-
न मैले रातको अन्त्य गरेको छु।
न त दिनको अन्त्य गरेको छु।
त्यसैले सम्झ-
तिमीबिनाको मेरो कुनै अन्त्य छैन ।

यो दुनियाँको भिडबाट अलग राखेर
तिमीलाई मायाँ गर्न मन छ।
ता की मेरो मायाँ –
तिमीलाई सँधै उत्कृष्ट लागोस ।

तिमीलाई त्यो दुनियाँको भिडमा खोजी रहे ।
त्यो भिडमा तिमीलाई पाउन सकिन ।
त्यसैले तिमीलाई पाउन
त्यो दुनियाँको भिडबाट अलग भए ।
तिमीलाई भेटे
यो दुनियाँजस्तै हुन मन छैन
मन छ त
केवल तिमीलाई मनपर्ने जस्तो हुन ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *