पुस्तक–समीक्षा: धनकुटाका एक सय एक सन्तान भाग– १

ठाकुरप्रसाद बरालद्वारा लिखित अनुसन्धानात्मक कृति धनकुटाका एक सय एक सन्तान भाग–१ २०७६ सालमा नै प्रकाशित भएतापनि २०७८ सालको भाद्र महिनामा मात्र पढ्न पाइयो । उक्त पुस्तक पढ्दा मनमा लागेका केही कुरा पोख्न यो लेखोट तयार पारिएको हो । धनकुटा गौरवपूर्ण अतीतभएको नेपालकै एक ऐतिहासिक स्थल हो । इतिहास, संस्कृति र परम्पराबाट आफ्नो पृथक् र विशिष्ट पहिचान कायम गर्न सक्षम धनकुटाकै गाथा तथा कथा व्यथा पनि विभिन्न कालखण्डमा अलग–अलग छन् । कुनै बेला पल्लो किराँतअन्तर्गत रहेको धनकुटाको छविलाई उजागर गर्न तथा त्यहाँका विविध क्षेत्रको विकासमा धेरै व्यक्तित्वको योगदान रहेको छ । धनकुटामा जन्मीहुर्की धनकुटे भन्ने पहिचान कायम गर्न सक्षम थुप्रै व्यक्तिहरू मुलुककै गहनाका रूपमा प्रतिष्ठा प्राप्तगर्न समर्थ छन् । धनकुटाको विकासको संवाहक तथा देशका विभिन्न क्षेत्रमा योगदान दिने त्यस्ता १०१ व्यक्तिको परिचय एवम् गुणानु वर्णन गरिएको पुस्तक हो, धनकुटाका एक सय एक सन्तान भाग १ । गहन अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको यस कृतिलाई धनकुटा साप्ताहिकले प्रकाशित गरेको हो ।

पुस्तक तेत्तीस अध्यायमा विभक्त छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशस्तरीय सांसद, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, कार्यसमितिका सदस्यलगायतका व्यक्तिहरूको रंगीन तस्बिर एवम् धनकुटा बहुमुखी क्याम्पसको संक्षिप्त परिचय र धनकुटाका प्रसिद्ध स्थलहरूका तस्बिरसमेत समाविष्ट भएको उक्त कृतिको मूलभाग २२८ पृष्ठमा संरचित छ ।

पहिलो अध्यायमा धनकुटाको नामकरण र बस्ती विकासको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै अध्ययनको उद्देश्य, सीमा, औचित्य तथा अनुसन्धान विधिका विषयमा प्रकाशपारिएको छ । अन्य अध्यायमा समाजसेवा, राजनीति, भाषासाहित्य, शिक्षा, लोकसंस्कृति, चिकित्सा, कानुन, उद्योग–व्यवसायपर्यावरण जस्ता विविध क्षेत्रमा धनकुटाका तथा मुलुकका लागि उल्लेख्य भूमिका निर्वाह गरेका १०१ व्यक्तिहरूको परिचय एवम् योगदानका बारेमा उल्लेख गरिएको छ ।

पुस्तकमा धनकुटाको विकासकालागि महत्वपूर्ण कार्य गर्ने जंगबहादुरका भाइ बमबहादुर कुँवरका छोरा बमवीरविक्रम राणाका कार्यहरू उल्लेख गर्दै धनकुटाको शैक्षिक विकासकालागि योगदान गर्ने छविलाल पोखेल, भक्तबहादुर बस्नेत, गजेन्द्रबहादुर प्रधानाङ्ग जस्ता व्यक्तित्वको चर्चा गरिएको छ । यसैगरी धनकुटामा शिक्षक भई लामो समयसम्म निस्वार्थ सेवागर्ने भीमशङ्कर वाग्ले भुवनेश्वर बौद्धाचार्य आदिको योगदानको समेत चर्चा गरिएको छ । धनकुटा तुलसीदिवस, दयाराम सम्भव, अशेष मल्ल, रामप्रसाद पोखरेल, ओमभक्त श्रेष्ठ भक्तराज आचार्य, रामनारायण श्रेष्ठ, विष्णुप्रसाद रिजाल, दीपश्रेष्ठ तथा सुन्दर श्रेष्ठले मुलुककै साहित्य, चिकित्सार संगीत क्षेत्रमा स्थापितभएका विशिष्ट व्यक्तिको परिचय प्रस्तुतगरिएको छ । विभिन्न कालखण्डमा धनकुटामा राजनीति गरेका सूर्यबहादुर थापा तथा नगेन्द्र रिजाल मुलुकको प्रधानमन्त्री हुनपुगेका घटनाहरूको स्मरण गरिएको छ ।

नेपालको परम्परागत चिकित्सा प्रणालीमा धामीझाँक्रीबाट हुने उपचारको आफ्नै महत्व रहेको सन्दर्भमा इन्द्रकुमारी भुजेल, रत्नबहादुर भुजेल र सिलोके डिल्लीकेशर बराल चिनारी तथा दलित वर्गको उत्थानकालागि प्रयास गर्ने गजराज पोनी, भद्रमान घले, रङ्गलाल शंकर आदिका कार्यहरूको वर्णनबाट पुस्तकको महत्व बढेको छ । धनकुटे बिस्कुट प्रख्यात गराउने पूर्णबहादुर श्रेष्ठ, धनकुटाकै प्रथमवायुसेवाचालकमाधवलाल सिंह,पहिलो स्नातकोत्तर गर्ने दृष्टिविहीन त्रैलोक्यनाथपोखरेल, सहिदभीमनारायण श्रेष्ठलगायतको योगदानको उल्लेखबाट पुस्तकको गरिमा बढेको छ । धनकुटाका महिलाहरूको पनि आफ्नै पहिचान र योगदानभएको तथ्य दुर्गा पोखरेल, विष्णुमाया मझेनी जस्ता हस्तीको वर्णनबाट सिद्ध भएको छ । संक्षेपमा यस पुस्तकबाट धनकुटाका रत्नहरूको वस्तुनिष्ठ मूल्यांकन हुन पुगेको छ ।

गौरवपूर्ण अतीतभएको धनकुटाको गाथा बिर्सनै लागेको वर्तमान सन्दर्भमा यो पुस्तकले नयाँ तथा भावी पुस्ताका लागि असल खुराक प्रदान गरेको छ । पुस्तकको पहिलो अध्याय धनकुटाको इतिहास बुझ्न उपयोगी ठानेको छु धनकुटाको इतिहासमा कलम चलाउने नरपति शर्मा पोखरेल, ठाकुरप्रसाद बराल, गोपालबहादुर भट्टराई, शिवकुमार श्रेष्ठ, इमानसिंह चेमजोङ जस्ता विद्वान्हरूले उठान गरेको विषयलाई अगाडि बढाउने कार्य प्रस्तुत कृतिले गरेको छ ।

प्रस्तुत पुस्तक पढ्दा पाठकलाई खड्किने कुरा पनि केही देखिएको छ । हुन त मेरो व्यक्तिगत दृष्टिकोण हो, तथापि १०१ को सूचीमा पर्नुपर्ने केही प्रबुद्ध व्यक्ति यसमा अटाउन नसकेको देखिन्छ । धनकुटाकामा पहिलोपटक फोटो स्टुडियो खोल्ने लक्ष्मीभक्तश्रेष्ठ, नेपाल सरकारको सचिव भइसकेका निरञ्जनभक्त श्रेष्ठ, वाणिज्य शास्त्रका प्राध्यापक कृत्येन्द्रकुमार मल्ल, पुष्टकारी बनाउने मोतीमानश्रेष्ठ, राजदरबारका सचिव भइसकेका गोविन्ददास मास्के श्रेष्ठ जस्ता केही व्यक्तित्वहरूको योगदान उल्लेख गर्नु र पुस्तकमा सूचीकृत गर्नु वाञ्छनीय देखिन्छ । तर, लेखकले अध्ययनको सीमा निर्धारणगर्दा नै सम्भावित कमजोरीका विषयमा आत्मसातगरिसकेको हुँदा आगामी प्रकाशनमा ती व्यक्तिहरू यथोचितसमावेश हुने अपेक्षागर्न सकिन्छ । पुस्तक पढ्दा केही कुराहरूमा तथ्यगत त्रुटि रहेको पनि देखिन्छ । जस्तो कियस समीक्षककै नाम दुर्गादास भएको छ । भीमशंकर वाग्लेको देहावसान मिति २०२८ साल उल्लेख गरिएको छ तर उनको देहावसान त २०३८ सालमाभएको थियो । साथै उनी कहिल्यै काठमाडौँ आएकै थिएनन् । यसैगरी कुश्माकर वाग्लेले बनारसमा अध्ययन गरेको चर्चा पुस्तकमा आएको छ तर उनले काठमाडौँमा अध्ययन गरेका थिए । वेदनिधि पोखरेलसित बद्रीकेदार यात्रामा जाने गाउँले भनिएका व्यक्ति भीमशंकर वाग्ले थिए । यो कुरा मलाई गायत्री प्रसाद वाग्लेले भन्नुभएको हो । आगामी संस्करणमा १०१ सन्तानका सम्बन्धित व्यक्तिहरूसित सम्पर्क गरी पुस्तकले प्रवाह गरेको सूचनाको परीक्षण गरी आवश्यक परिमार्जन गर्न सकिन्छ । पुस्तकको सुरुमा नै हालका प्रतिनिधि सभा तथा प्रदेशसभा सांसदहरू, जिल्ला समन्वय समितिका पदाधिकारी, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू एवम् कार्यसमितिका सदस्यहरूको रंगीन तस्बिर किन र कुन उद्देश्यका लागि राखिएको हो पाठकमा भ्रम पैदा हुन्छ । ती तस्बिरबाट पुस्तकका नायक १०१ व्यक्तिको गरिमा चाहिँ ओझेलमा परेको हो कि भन्ने प्रतीत हुन्छ । धनकुटा बहुमुखी क्याम्पसको संक्षिप्त परिचय उल्लेख गरिनुको पनि प्रयोजन खुल्दैन । पुस्तकको साजसज्जा तथा छपाइको गुणस्तर हेर्दा मूल्य सन्तुलन नमिलेको लाग्छ । त्यसले कतै प्रकाशकले नै आफ्नो व्यवसाय प्रवद्र्धधनका लागि एकतर्फी मूल्य निर्धारण गरेको हो कि भन्ने भानहुन जान्छ । हुन त जुनसुकै कृतिको पनि आफ्नो ठाउँमा महत्व र छिटपुट कमीकमजोरी हुन्छ नै । तथापि धनकुटाको विषयमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धाता र जिज्ञासु पाठकका लागि यो पठनीय कृति बन्न पुगेको छ । यस पंक्तिकारलाई पनि १०१ सन्तान भित्र समावेश योग्य ठानेकामा कृतार्थ छु । मलाई जन्मभूमिप्रति गौरवबोध भएको छ । साथै यो मेरा लागि थप चुनौतीको विषय पनि बन्नपुगेको छ ।

धनकुटाको इतिहास, संस्कृतिर गौरवपूर्ण अतीतलाई उजागर गर्ने लेखक बरालजीको कार्यलाई यस कृतिले सुनमा सुगन्ध थपि दिएको छ । अतःधनकुटाको महत्व उजागर गरिदिएकामा एक धनकुटे भएका नाताले लेखकलाई यस प्रशंसनीय कार्यका लागि हार्दिक धन्यवाद ज्ञापनगर्न चाहन्छु । साथै लेखकबाट भविष्यमा पनि यस्तै अनुसन्धानात्मक कृति प्रकाशन हुने आशा लिएको छु । अन्त्यमा प्रकाशक धनकुटा साप्ताहिकलाई साधुवाद !

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *