मन तरङ्ग

केहि लेख्ने जमर्कोमा गम्छु
गमाइका अनेक भाव तरङ्गित हुन्छन्
शब्दको सामर्थ्य खोज्छु
र खुरूखुरू बाटो रोज्छु
म मेरो पङ्क्ति यात्रामा
केही कथा बुन्छु
पात्रहरु यत्रतत्र सर्वत्र
मुखरित हुन खोज्छन्
बग्रेल्ती आयाम
बाटो ,दोबाटो र चौबाटोमा
खिस्स हॉसेर गिज्याउँछन्
समयको हॉकसँग
लुगलुग काम्दै युग पसारोमा छ
अनि म झटारोमा किन लेखुँ ?
अहँ ,पटक्क त्यसो गर्न हुन्न
हो, हमलावार शैलीमा
शब्दलाई निथ्रुक्क निचोर्दै
तप्प चुहिने शब्दबिन्दु
मनकै आवेग न हुन्
बरू अक्षरमा बिद्रोह गर्छु
बिद्रोही चेतलाई
पानी छम्किँदै
नवीनतम चिन्तन
लम्पसार निदाउँदो छ
जागृति गीतको लय बिर्सन्छु
र उदासिनतामा
म यत्नवत् घुर्छु
वेफ्वॉक फलाकेर
मेरो नयॉ कविता
लयमा क्वॉटी मिसाएर
एक तमास किन बग्नु छ
इन्द्रावतीझैँ ?
म त तमोरको गड़गड़ाहटमा
आफ्नो पदचाप रोज्छु
पहरासँग पौँठेजोरी खेल्दै
समतलमा मिसिन
सप्तकोशीको प्रवाहमा
मिसिँदो अनन्त रङ्ग
आकाशमा इन्द्रेनी मात्र होइन
पानीमा
सप्तकोशीमा
म बगिरहन्छु …. बगिरहन्छु
आफ्नै आयाममा ।

Add a Comment

Your email address will not be published. Required fields are marked *