विजयराज आचार्य: बालकैदेखि बालसाहित्य

वि सं २०५० को आसपासमा जिल्लास्तरको बिद्यार्थी संगठनको राजनीति गर्दै काठमाडौं छिरेका धेरै व्यक्तिहरू आज राष्ट्रिय राजनीतिको ‘सुमेरु परिक्रमा’ मा छन् । यस अर्थमा सुमेरु परिक्रमा वि सं २०३६ सालको आसपासको विद्यार्थी राजनीतिको केन्द्रमा रहेकाहरू नै अहिले राजनीतिमा पुस्तान्तरणको दिवासपनामा जेल जीवनलाई राजनीतिलाई आफ्नो ‘लगानीको ब्याज’मा साटेकाहरूमध्ये को कसको कति नजिक हुने वा को कसको विकल्प छ वा छैन भनेर हिसाब गरिरहेका छन् । नामै लिन पर्दा त यस्ता धेरै उदाहरण छन् तसर्थ अनुमान गर्न पनि सकिन्छ । नेपाली राजनीतिमा सुमेरु परिक्रमारत अगुवाहरूले एकाध असफल नेताहरूको विकल्प नभेटेका आजको समयमा विश्व राजनीतिले भने यस धर्तिके विकल्प खोजिरहेको/देखिरहेको छ । नेपालको राजनीतिको यो दु:खद बिडम्बना नै आजका केही नेताहरूको भाग्य र बाँकी अर्थात् देश र जनताको दर्भाग्य बनेको छ ।

(विजयराज आचार्य)

राजनीतिको बेइमानी भनेको गरीब दुखी होस् वा पेशा व्यवशायमा संलग्न जो कोही इमान्दारहरुको श्रम पसिनाको मुल्यलाई चन्दा र पार्टी सदस्यताका नाममा उठाएर मोजमस्ती गर्नु रहेछ । यती सजिलो यो नकाम उनले किन गरेनन् ? जीविकाको लागि मात्र त सडकमै हकरको काम अर्थात् सडकमा कराएर पत्रिका नबेचे पनि हुन्थ्यो होला । तर उच्च शिक्षाको सपना बोकेर प्युठानबाट देशको राजधानी काठमाडौं छिरेका विजयराज आचार्यले आफ्नो श्रम पसिनाको आर्जन प्यारो ठानेर राजनीतिको अरूको श्रम पसिना खाने सजिलो बाटो हिंड्नुभन्दा श्रम पसिनाको कमाइ खाने बाटो रोजे ।

राजनीतिमा पनि उनको मोह नभएको त कहाँ हो र ? समग्र सामाजिक व्यवस्था र राज्य प्रणाली परिवर्तनको बाटो पनि राजनीति नै हो भन्ने ज्ञान थियो विजयमा । यद्यपि नेताहरूको व्यवहारबाट भने लक्ष्यित परिणाम हासिल गर्न सकिन्न भन्ने बोध भयो उनलाई । राजनीतिक पार्टीका नेताहरूमा इमान्दारिता नभएको बोध विजयलाई आजको सामाजिक संजालका ‘भाइरल’ सन्देशहरूले गराएको होइन,तीन दशक पुरानो उनको अनुभव हो ।

राजनीतिमा जिल्लाको राजनीतिदेखि केन्द्रसम्म नै मोहनविक्रम सिंहको नेतृत्वको नेकपा मसालको सम्पर्क विजयको आजको जीवनको पुर्वार्ध्दको मार्ग दर्शन हो तर त्यो आकर्षणको आदर्श व्यवहारिक जीवनमा भने कामयावी हुन सकेन । सडकमा पत्रिका बेच्दा बेच्दैको अनुभव थियो- लेनिनको गाउँका गरिबहरूलाई, भन्ने पुस्तिका पार्टी नेता मोहन विक्रमले पार्टीका कार्यकर्ताहरूलाई विभिन्न प्रशिक्षणहरूमा अध्ययनका लागि बाँड्न फोटो कपि गर्दा गर्दै त्यसका केही पन्ना च्यातिएछन् वा हराएछन् । ती हराएका पन्ना पनि नेतालाई नभई भएन । विजयलाई यस्तो लाग्यो-‘आखिर यो नेता हुनुभन्दा त लेखक नै हुनु पो ठूलो वा राम्रो रहेछ । आफूले ठूला मानेका नेताहरूलाई पनि अरु लेखखरूको किताब नै पो चाहिने रहेछ !’ हकर काम गरेर कमाएको चानचुन चार हजारले अहिले विजयराज आचार्य चानचुन ४ हजार किताबको प्रकाशक बनेका छन् । तिनमा एकसयभन्दा बढी उनका आफ्ना कृति पनि छन् । उनको यो ३ दशकको यात्रा र उपलब्धी अन्य कुनै पनि पेशा व्यवशाय वा राजनीतिको उचाईभन्दा कम त छैन नै त्यसमा पनि यो सबैभन्दा विशिष्ठ र उदाहरणीय पनि बनेको छ ।

श्रमिक वर्गको चन्दामा तर मारेर गरिने राजनीतिप्रति ग्लानी लागेर हकर हुँदै प्रकाशक बनेका विजयले करीब एक दशक राजनीतिकै केन्द्रमा रहेर राजनीतिक र बालसाहित्यका कृतिको प्रकाशनको काम गरे । तर बिसं २०६२-६३ यता भने उनको पूर्ण प्राथमिकता बाल साहित्य बनेको छ । शुरुका दिनमा उनले माओका ‘जनताको सेवा गर’जस्ता निबन्धका अनुवाद पुस्तिका प्रकाशित गरेका थिए ।

बाल साहित्य नै किन ? विजयको प्रेरणा र प्रभाव राम्रो कामको उदाहरण आफू नै बनेर अरूलाई बदल्ने वा प्रभावमा पार्ने हो । गरीब दु:खीलाई मिठा सपना देखाएर अलमल्याउन हुँदैन,उनको चेतनामा बलेको पहिलो र नि:शर्त थियो त्यो दियो । विजयलाई लाग्यो-कसैलाई राम्रो काम गर्न प्रेरित गर्न उसलाई दबाब वा अर्ती उपदेश दिएर मात्र हुन्न । आफूले उसलाई प्रभावित गर्न सक्ने उदाहरण बनेर देखाउन पर्छ । यस्तो उदाहरण बालाबालिकाहरूलाई दिन सके समुन्नत समाज निर्माणमा तिनले भूमिका निर्बाह गर्न सक्छन् । हामी सबैले भन्छौं-नराम्रो काम गर्नु हुन्न । रिसाउनु हुन्न । तर त्यसको परिणम के हुन्छ ? कुन कामको कस्तो परिणम हुन्छ ? यो स्टोरी थेरापीको विश्वव्यापी अबधारणा हो । कथाका माध्यमबाट दिइने सकारात्मक सन्देश र प्रभावले बालबालिकामा महत्वपूर्ण भूमिका खेल्दछ | विजयराज आचार्यले बालकै देखि रोजेको बाटो पनि यही हो ।

बाल साहित्य के हो ? बालबालिकाहरूको उमेर रुची र स्तरअनुसर उनीहरूका लागि सरल भाषामा माया र सम्मानपूर्वक लेखिने/भनिने,सुनाइने वा देखाउने सामग्री बाल साहित्य हुन् । पहिले पहिले बालबालिकाहरुलाई जबर्जस्ति दिइने शिक्षा,अर्ति उपदेश वा ठुलो उमेर समूहका लेखकहरूले लेख्दा लेख्दै आफूले भनेजस्तो लेख्न सकेनन् भने पनि त्यसैलाई बाल साहित्य भनिदिन्थे । तर त्यो बाल साहित्य होइन/थिएन ।

बालबालिकाहरूलाई प्रेरणा र प्रभावित नपार्ने बाल साहित्य होइनन् | बाल साहित्यको ३ दशक यता तय गरेको बाटोमा विजयले देखे भोगेको समस्या र समातेको बाटोका बारेमा उनी स्पष्ट छन् । अर्ती उपदेश पनि बाल साहित्य होइनन् भने ठूलाहरूले लेख्दा लेख्दै बिग्रिएको पनि बाल साहित्य होइन । ती कथित बाल साहित्यले बालबालिकामा सकारात्मक प्रभाव र प्रेरणा सिर्जना गर्न सक्दैनन् ।

बालबालिकाहरूले नै लेखेको चैं के हो त ? भन्न वा मान्नका लागि बालबालिकाहरूले लेखेको पनि बाल साहित्य हो तर यो बाल साहित्यको परिभाषाअनुसार बालबालिकाहरूका लागि उनीहरूको उमेर रुची र स्तरअनुसार माया र सम्मानपूर्वक लेखिएको नहुनपनि सक्छ । कतिपय बालबालिकाहरूले आफ्नो उमेर समूहकोभन्दा माथिको वा आफ्ना उमेर समूहले ग्रहण गर्न नसक्ने वा तिनलाई सकारात्मक प्रभाव र प्रेरणा नपार्ने विषयमा पनि लेख्न सक्छन् । तसर्थ बालबालिकाहरुले ग्रहण गर्न सक्ने र उनीहरूमा सकारात्मक प्रभाव/प्रेरणा प्रदान गर्ने मात्र बाल साहित्य हो | यस्तो जसले लेख्छ,त्यो बाल साहित्य हो ।

एक सयभन्दा माथि बाल साहित्यका कृति सार्वजनिक गरिसकेको विजयले आगामी ५ बर्षसम्ममा १० हजार बालबालिकाहरूलाई सिर्जनात्मक लेखनको प्रशिक्षण दिने अभियान पनि शुरू गरेका छन् । भन्छन्- समाजको उन्नति र मानिसको चरित्र बदल्न एक्लैले मात्र सकिन्न । यो काम सामाजिक हो र सामाजिक वा सामुहिकरुपमा नै प्रयास गर्नपर्छ । यही समयावाधिको उनको अर्को योजना छ- छानिएका ३ सयभन्दा बढी बाल साहित्यका कृति प्रकाशित गर्ने ।

बालबालिकाहरूका लागि सही वा उपयोगी शिक्षा कस्तो हुनुपर्छ वा कस्तो हुनुहुँदैन त ? विजय उदाहरण दिन्छन्- ‘भूकम्प आउँदा वा भूकम्प आएको थाहा पाउनासाथ के गर्नु पर्छ ? हामीले दिएको शिक्षा थियो,भर्याङ्गमुनि लुक्नुपर्छ,खाट मुनी पस्नु पर्छ वा स्कूल आदी ठाउँमा भए बेञ्च मुनी पस्नुपर्छ । यो उदाहरणले घरको आँगनमा खेलिरहेका वा स्कूलको चौरमा खेलिरहेका बालबालिकाहरू वा अन्य व्यक्तिहरूले पनि आतिएर घरभित्र वा स्कूल भित्र पसेर ज्यान गुमाए । चौर वा आँगनमा भएकाहरूलाई हामीले भुकम्प आएको समयमा भित्र जान हुँदैन वा भित्र भएकाहरूलाई पनि भ्याएसम्म बाहिरको खुला ठाउँमा जानुपर्छ भनेनौं जसले गर्दा जोगिनसक्ने भन्दा ज्यादा जीवन गुमायौं हामीले विसं २०७२ को महाभूकम्पमा ।’ विजयले अनुभूत गरेको व्यवहारिक शिक्षाको उदाहरण हो यो ।

विजयले आफ्नो बालक कालदेखी नै शुरु गरेको यस अभियानमा नवोदितहरूको सहभागिता त रहर लाग्दो र लोभलाग्दो पनि छ । त्यसमा पनि उनको यस अभियानमा हजुरबाको पुस्ताको साथ-सहयोग र सहभागिता पनि छँदै छ भने प्राज्ञको यात्रामा रहनुहुनेहरूको पनि पृष्ठभूमी जोडिएको छ । नाम नै लिनुपर्दा नेपाली बालसाहित्यका अग्रजहरू जनकप्रसाद हुमागाईं,श्यामप्रसाद,शान्तादास मानन्धर ,विनय कसजु,प्रमोद प्रधान,रमेश विकल, खगेन्द्र सङ्ग्रौला, निनु चापागाई, रुद्र खरेल,जगत प्रेक्षितलगायतलाई विजयले आफ्नो नेतृत्वको प्रकाशन गृहमा समेटेका छन् । उनले नेतृत्व गरेको नेपाली बाल साहित्यको त्यो कोशे ढुङ्गा हो – विवेक सिर्जनशील प्रकाशन, काठमाडौं ।

बालबालिकाहरूलाई ठूला-ठूला किताबका भारीले मात्र थिच्न पनि हुँदैन । उनीहरूको उमेर र रुची तथा तिनको ग्रहण क्षमताअनुसारको प्रेरणा प्रदान गर्ने सामग्री र सन्देश विजयको बालसाहित्य अभियानको उदेश्य हो । यसमा उनको तीन दशक देखिको निरन्तरको लगाव यस्तो छ- यदि तोर डाक सुने कोही नाआए एकला चलो रे एकला । विश्व साहित्यका चर्चित महाकवि कवि गुरू रविन्द्रनाथ टैगोरको स्मरण हुन्छ विजयको बालकै कालदेखिको लगाबमा पनि ।

Add a Comment

Your email address will not be published. Required fields are marked *