जसरी भए पनि बाँच्नुपर्छ
|मैनेजरले मलाई चिनाउँदै भन्यो-“ यी जोडी हुन्,आजदेखि हाम्रो सदस्य”
मैले -“ हाई!,” भन्दै हात मिलाएर मुस्कुराउँदै भनें-“म स्पर्श हुँ”
मैले अमेरिकाको मेरिल्याण्ड राज्यको यो किड्नी सेन्टरमा काम गरेको दुई वर्ष भएको थियो । दुबै मृगौला बिग्रिएका बिरामीको ‘डायलसिस गर्ने ठाउँ हो यो । म एउटा ‘टेक्निसियन’। दुई वर्षको अवधिमा थुप्रै टेक्निसियन आए-गए । त्यस अवधिमा काम गरेका साथीहरु विशेष गरेर पेरुका थिए । स्पेनिस भाषा बोल्ने ती सहकर्मी मलाई अलिक स्वार्थी जस्तै लाग्थ्यो । सायद उनीहरुको जमात भएर पनि होला ‘टीमवर्क’ भन्दा पनि उनीहरुको आफ्नो समूहभित्रमात्र काम हुन्थ्यो।यो कुरा हस्पिटलको नीतिभन्दा फरक थियो । अमेरिकामा बाहिरबाट हेर्दा नियम-कानून कडा हो तर भित्र त सबैतिर उस्तै हुँदो रहेछ भन्ने मलाई लाग्थ्यो । आज जौडी आएपछि लाग्यो-पेरुका मान्छे सकिएछन्।किनभने ऊ इथियोपियाकी थिई।काली-काली । कपाल घुङ्घुरिएकी । अग्ली। यस्तै पच्चीस-छब्बीस वर्षकी । हाम्रो साँस्कृतिक अनुहार नभए पनि वैंशमा स्याल पनि घोर्ले भने झैं निकै आकर्षक थिई । खुशी लाग्यो-जौडीले किल्ला तोडी।
उसले पनि हस्पिटलमा काम गरेको दुइ वर्ष भएको रहेछ । तर नर्सिङ्को सहयोगी भएर काम गरेकी हुनाले मेसीनमा विरामी राखी डायलसिस गर्ने तौर-तरिका उसका लागि नौलो थियो । भोलिपल्टदेखि जौडीले काम सुरु गरी।मैले नै काम सिकाउनु पर्ने भयो । बिरामीलाई राखेर डायलसिस गर्ने मेसिनका हरेक भागको परिचय दिएँ । उसले एउटा ‘नोटबुक’ मा टिप्तै गई।पाइप राख्ने काम सिकाएँ-ध्यानपूर्वक सुन्दै गई । अनि अभ्यास गर्न लगाएँ-लगनशिलताका साथ काम गर्दै गई । अभ्यास गर्दा-गर्दै गल्ती गर्थी-मसँग सोध्थी तर कुनैबेला ट्वाल्ल परेर हेरेको देख्थें-“ के भयो ?” म प्रश्न गर्थें।ऊ भन्थी-“यहाँनेर भुलें”। धेरैपल्ट सिकाउँदा पनि नजान्दा म रिसाउछु भनेर ऊ ट्वालल् परेकी रहिछ।फेरि हाम्रा बीचमा भाषाको पनि समस्या थियो।उसको ‘इथियोपियोन’ अङ्गरेजी र मेरो’ नेपाली’ अङ्ग्रेजीका बीचमा तालमेल नहुँदा पनि यो समस्या आइरहन्थ्यो।
यसरी एक दिन-दुइ दिनगर्दे जौडीले एक महिनामा बिरामी राखेर आफैं डायलसिस गर्ने भई।नबुझेको र नजानेको कुरा मसँग सोध्थी नत्र अब उसलाई हात समातेर सिकाउनु वा मद्दत गर्नु पर्दैनथ्यो । यो एक महिनाको बीचमा उसले मलाई कृतज्ञ बनेर हो कि वा चाकडी गर्न हो-सँधै केही न केही खाने कुरा बनाएर ल्याउथी।कहिले इथियोपियन रोटी, कहिले भुटेको भात,कहिले फलफुल.. इत्यादि। अब हाम्रो पनि एउटा ‘टीम’ बनेको थियो-एक जना नेपाली साथी सुवास श्रेष्ठ, म र जौडी । हामी काममा सहकार्य गर्न थाल्यौं । एक-अर्कालाई पर्दा मद्दत गर्न थाल्यौं । हाम्रो काम थियो-बिरामीलाई तीनघण्टा मेसिनमा राखेर डायलसिस गर्ने अनि घर पठाइदिने।त्यहाँ बत्तीसवटा मेसिन थिए । एक जना टेक्निसियनले तीन जना बिरामी एक ‘सिफ्ट’मा राख्नु पर्थ्यो।हामीले तीन ‘सिफ्ट’ काम गर्नु पर्थ्यो।काम गर्दा-गर्दा थाकेर लोथ हुँदा पनि जौडी हाँसिरहन्थी ।
“तिमीलाई ठीक छ?” बारम्बार मलाई जौडी सोधिरहन्थी । उसको जाँगर-जोश- र खुशी स्वत:स्फूर्त थियो कि अमेरिका जस्तो कामको मूल्यखोज्ने ठाउँमा आफूलाई ‘मिलाउँन’ खोजेकी हो; थहा छैन तर ऊ जाँगरिली र फरासिली देखिन्थी । विरामी पनि बिस्तारै जौडिलाई नै चाहन थालेका थिए । पाखुरामा सियोले रोपेर रगत निकाल्ने बेलामा विरामीले जौडिलाई नै रोज्थे ।
“ जौडीले दुखाउदिन” यो उनीहरुको प्रतिक्रिया हुन्थ्यो।ऊ भएपछि विरामीले पनि सुरक्षित महसुस गर्न थालेका थिए ।
एक दिन “ लञ्च आवर” मा जौडी र म निकैबेर बस्यौं । एक घण्टाको ‘लञ्च आवर’ गफ गर्दा-गर्दै बित्यो । उसले मलाई आफ्नो जीवन कहानी बताई-
इथियोपियामा गृहयुद्ध भएको, त्यसमा उसका बाबु र दाजु मारिएको, आमाले शरणार्थी-शिविरमा उसलाई र उसका भाइलाई हुर्काएको, आमा र भाइलाई छाडी आफू चाहिं शरणार्थी भिषामा अमेरिका आएको र यहाँ बाँच्नका लागि गर्नु परेको कठोर सङ्घर्षको मार्मिक घटनाहरु ! बयान गर्दा उसका आँखामा टलपल आँसु देखिएका थिए । म पनि त्यसबेला ज्यादै भावुक भएर मेरा आँखा रसाएका थिए।स्थितिलाई सम्हाल्दै मैले भनेको थिएँ-“ जौडी निरास नहोऊ,धैर्य गर।हामीले सङ्घर्ष गर्नु पर्छ।यो भूमि अवसरको भूमि हो।परिश्रमलाई चिन्ने मान्छे यहाँ छन्; जसले परिश्रम गर्छ उसको कदर हुन्छ।अब तिमीले आमा र भाइलाई पनि यतै ल्याउने प्रयास गर्नु पर्छ । प्रतिक्षा गर !।“
उसले भनी-“ पर्श! ( ऊ मलाई स्पर्श नभनेर पर्श भनेर बोलाउथी) म प्रतिक्षा गर्ने होइन कोसिस गरिरहेकी छु । यो देसमा कोसिस गरेन भने केही पनि हुँदैन । यस भूमिका प्रतिक्षा गर्नेले त्यतिमात्र पाउँछ जति कोसिस गर्नेले छोडिदिन्छ।“
जौडीका गहिरा कुरा सुनेर म त दङ्ग भएको थिएँ।म उसलाई प्रेरणा दिन खोज्थें,उल्टै ऊ पो मलाई उपदेश दिन्थी ।
जौडीले आउँन-जान गाह्रो भो भनेर गाडी किनी।मैले त गाडी चलाउँन पनि जानेको थिएन।गाडी सिक्नलाई लिने “लर्न परमिट” मा नै म तीन-चारपल्ट फेल भैसकेको थिएँ।अनि त मेरालागि गाडी चलाउन सिक्नु त आकासको फल जस्तै भएको थियो।त्यसेले म काममा आवत-जावत गर्दा सँधै’ मेट्रो’प्रयोग गर्थें।डिसी क्षेत्रको भूमिगत रेल साह्रै नै व्यवस्थित र नियमित भएको हुनाले मलाई यात्रका लागि यही सुविधा महत्वपूर्ण थियो।तर पनि जौडीले गाडी किनेकीले म पनि लोभिएको थिएँ।आफूले पनि यस्ते गाडी किन्न पाए कस्तो हुन्थ्यो भनेर इर्ष्यालु मनले चुकचुकाएको थिएँ ।
मेरो मनको भाव पढ्दै जौडीले भनेकी थिई-“ पर्श ! मैले पनि सम्पन्न भएर रहरमा कहाँ किनेकी हुँ र! वाध्यताले ऋण गरेर किनेकी हुँ।“
मैले उसको वाध्यता बुझेको थिएँ।बस्नु पर्यो,खानु पर्यो,आमा र भाइलाई पेसा पठाउँनु पर्यो।लगभग दुइ हजार डलर मासिक कमाएर जीवन चलाउनु चानचुने चनौति थिएन।फेरि अमेरिकामा खानभन्दा पनि बस्न ज्यादै महङ्गो छ। त्यसकारण एकातिरमात्र काम गरेर जीवन धान्न गाह्रो भएकाले अर्को काम खोज्नु पर्ने वाध्यता थियो।त्यसका लागि दौडन गाडी अपरिहार्य वस्तु थियो।
“ ठीक छ नि ! अब तिम्रो समयको बचत भयो,’साइड जब’ गर्न सजिलो भयो,तनावबाट मुक्त भयौ।“ मैले ढाडस दिदै भनेको थिएँ।
जौडीले गाडी किनेपछि मलाई पनि फाइदै भएको थियो ।बेलुका ढिलो हुँदा उसले मलाई कहिले नजिकको मेट्रो स्टेशन त कहिले घरै पुर्याइ दिन्थी।बाटामा गफ गर्दै हिड्दा रमाइलै हुन्थ्यो।तर केही महिनापछि उसले अनेक बहाना बनाउँदै एक्लै हिड्न थालेकी थिई।हिड्नेबेलामा ‘मेकअप’ गरेर ड्रेस परिवर्तन गरी ठँटिएर जाँदै गर्दा मलाई भन्थी-“पर्श! म हिडें है भोलि भेटौंला”
म पनि –“ ओ के” भनेर हाँसिदिन्थें।
ऊ कहाँ जान्थी, किन जान्थी,हतारिएर किन हिड्थी, मैले कहिल्यै सोधिखोजी गरिंन।चाख पनि दिइनँ।तर ‘त्यही बाटो जाँदा मलाई मेट्रो स्टेशनसम्म पुर्याइ दिदां उसको के बिग्रन्थ्यो र !’ यो भाव सधै मेरो मनमा आइरहन्थ्यो।अनि त्यसबेला म आफ्नु जाति, समाज संझन्थें।अर्काको मुलुकमा अझ अर्को मुलुकको बासिन्दाले सहयोग गरेन भनेर चित्त दुखाउँने कुरा पनि आएन।सायद मेरो सँस्कृतिसँग मेल नखाएको पनि हुनसक्छ।
एक दिन बिहान विरामीहरुलाई मेसिनमा राखेर सात बजे जौडी र मैले सँगै खाजा खायौं।उसले ‘इनर्जी ड्रिन्क्स’ खाने? भनेर प्रस्ताव राखी।मैले भनें-“ रेड बुल खाने त?”
“ हुन्छ” भनी। मैले त्यही झुण्ड्याएर राखेको ज्याकेटबाट पचास डलर झिकेर रेड बुल किन्न पठाएँ।दुइटा रेड बुलको छ: डलरमा किनेर बाँकी पैसा त्यही ज्याकेटमा राखें।गफ गर्दै खाजा खाइसक्यौं।हाम्रो निर्धारित समय पनि सकियो।दुवै जना काममा गयौं।दिउसो दुइ बजे ‘लञ्च-ब्रेक’ भयो।म कोठामा आएर खाना किन्न जानु पर्यो भनेर गोजीबाट पैसा निकाल्छु त चार डलरमात्र छ; चालीस डलर गायव!।यो कुरा मैले नेपाली साथीसँग भनें।घटना एक कान-दुइ कान-मैदान भयो।सबैको भनाइ थियो-“यहाँ आजसम्म ‘चोरी’ भएको घटना थहा छैन”। नैतिकताको प्रश्न थियो। हुन पनि अमेरिकामा यस्ता घटनालाई असामान्य मानिन्छ । जे होस्, मैले क्रेडित कार्डले खाना मगाएँ।कोठामा बसेर खाना खाँदै थिएँ जौडी आई।त्यही कुर्सीमा बसी।उसले बाहिरै खाएर आएकी रहिछ । मैले पैसा हराएकाबारे केही कुरा गरिन तरउसले साथीहरुको समूहमा कुरा बुझिसकेकी थिई । अगाडि आएर बढो आत्मियताका साथ गफ गर्न थाली।मैले उसको हाव-भावलाई आँखाको कुनाबाट नियाली रहेको थिएँ । उसको मनोविज्ञानलाई बुझी रहेको थिएँ ।
-“ पर्श ! म आज तिमीलाई घर पुर्याई दिन्छु है ।“बिनाप्रसङ्ग, बिनासन्दर्भ उसको प्रस्ताव आएको थियो ।
-“ धन्यवाद! तर म मेट्रोबाट नै जान्छु” मैले भनेको थिएँ ।
-“ किन?” उसको कृत्रिम आत्मियता प्रकट भएको थियो ।
-“पिर नमान, मलाई मेट्रोबाट हिड्दा नै आराम र सजिलो लाग्छ” मैले हल्का व्यङ्ग्यमिस्रित उत्तर दिएको थिएँ ।
धरै दिनपछि रैथाने नेपालीसाथीलाई मैले काम गरेको ठाउँमा लगेको थिएँ।उसको चाहना थियो-त्यहाँ उसकी बहिनीले काम पाओस् । मैले पनि सत्प्रयास गरेको थिएँ, हुन्छ भने एउटा नेपालीलाई सहयोग पुगोस् भनेर।मेरो प्रस्तावमा मेनेजर पनि सकारात्मक नै थियो ।
हामी ‘लञ्च रुम’मा बसेर गफ गर्दै थियौं
“ सबैलाई अभिवादन है” भन्दै जौडी कोठाभित्र पसी।उसलाई मैले साथीको परिचय दिएँ । एक छिनको गफ-गाफपछि जौडी कोठाबाट बाहिरी। मेरो साथीले आश्चर्यका साथ सोध्यो-
“ यो केटी यहाँ काम गर्छे ?”
मैले भनें-“ किन तिमी यसलाई चिन्छौ ?”
उसले मलाई सबै बतायो-जौडी त डान्सबारमा बेलुका ‘डान्सर’ को काम पो काम गर्दिरहिछ;त्यो पनि ‘क्याब्रे डान्सबारमा !
मैले त्यसबेला थहा पाएँ-जौडी श्रृङ्गार-पटार गरेर बेलुका कहाँ जाँदिरहिछ?। उसले अवसरको भूमिमा गरेको कोसिस कस्ता रहेछन् ?,अनि आफूलाई स्थापित गराउँन उसले गरेका क्रियाकलाप कुन स्तरका रहेछन् ?……..