पृथ्वीको गीत


पूर्वको क्षितिजबाट उदाएर
घामजस्तो एक पृथ्वी
लेखे, तरबारको कलमले एकताको कविता
उने, विचारको सियोले थुङ्गा थुङ्गाको माला ।

उनैले सिकाए-
टुक्रा टुक्रा खुब कमजोर हुन्छ
जोडिनु पर्छ
विभाजन हुनुहुन्न
पौरखले एकजुट हुनुपर्छ
र,
बनाउनु पर्छ एउटा विशाल देश ।

तिनैका सन्तान हामी
आज गर्वले उठाउछौँ छातीको सगरमाथा
सुनाउँछौ विश्वलाई बुद्धको मन्त्र
घन्काउँछौ मादल
बजाउँछौं मुर्चुङ्गा र खैँजेडी ।

हरेक बिहान हामी उठ्छौँ
र,
लगाउँछौँ शीरमा सूर्यको किरण
नशा नशामा बगेका मेची र कालीसँगै
छातीमा चन्द्र सुर्यको ध्वजा टाँगेर
आज पनि उसैगरि गाउँछौ एकताको गीत ।

कति सुन्दर देश कोरे उनले
सिता र भृकुटीहरुले पहिलो आँखा खोलेको
भीर र पखेरासँग मितेरी गाँसेर
सम्बन्धको धागो प्रेमले जोड्न जानेको
विजयको कुवा खन्दै जाँदा
कहिले नटुङ्गिने प्यास
वीरताको यो आकाश
यो धर्ती
यो भव्य पहिचान
आहा ! हाम्रो मुटु नेपाल !!
नेपाली हामी ।

देशको नक्शा हेर्छु,
चाँदीको फेटा गुथेको हिमाल
लालुपाते र गुरासँले रङ पोतेको पहाड
सुन फलेर पहेँलपुर हाँसेको तराई
डाँफे र मुनाल नाचेको जङ्गल
स्वर्ग भनेको योभन्दा राम्रो होला र ?!

धन्य पृथ्वी !
तिमीले कोरिदियौ यो जमिनमा देशको नक्शा
र हामी सुरक्षित हाँस्न पायौँ
गर्वको पहिचान बोकेर
दुनियालाई चिनाउन पायौँ ।

(नोट: नेपाली सैनिकले ३ सयौं पृथ्वी जयन्तीका अबसरमा आयोजना गरेको कविता गोष्ठीमा उत्कृष्ट ३० स्थानमा पर्न सफल ।)

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *