“बन्धकीका भाखाहरु “
|हरेक पलका स्मृतिहरु सँगै
जल्दै मुटुमा तिम्रै अनबरत यादहरु सँग
यो तातो मरुभूमिमा
तिम्रै प्रखाइमा दिनहरु काटिरहेको छु
मन भित्र कोरा सपना राखेर
आउने भाकाहरु आँसुमा
गनेर यो कलिलो जीवनलाई
अर्कैको परिधिमा बेचीरहेको छु
अब त तिमी पनि
कुर्दा कुर्दै थाकी सक्यौ रे !
आफैमा आत्मविभोर बनेको छु
कति पटक आउने भाखा सारिरहे
कति पटक आफूलाई घटाइरहे
तिम्रो विश्वासमा धोका भए
तिम्रो प्रतीक्षामा बाधा भए
बाल मस्तिष्कमा आघात भए
आज रोदनै रोदनका यादहरुमा तिमीहरु
सँगको बिछोडले टाढा बनाएको छ
प्रिय छोरा !
तोते बोली र यिनै
औलाले डोराउदै भाऱ्यांङ तल माथि
गरेका दिनहरू मानसपटलमा
ताजै छन
काँधमा बोकेर हिडेका क्षणहरुले
अझै नै तिम्रो न्यानो स्पर्श
मेरो काँधमा अल्झिएको महसूस गराउछ
प्रिय छोरा !
मेरो आस्वासनले तिमीलाई
चित्त दुखाएको होला,
मेरो बाध्यताले तिमीलाई
धोकेवाज़ र जाली देखायो होला,
तर,
परिस्थितिको दास बन्नूको
पिडा तिमीले एक दिन अवस्य बुझ्ने छौ
आजकल त तिमी
हजुरबुवा सँग मान्देनौ रे..
ममी सँग बोल्दैनौ रे..
मेरो गल्तीको सजाय
उनीहरूले पाएकोमा लज्जित छु।
यसै साल भेंटछु, आउँछु भन्दा भन्दै
समयले नेटो काटि सक्यो
मेरो मुहारमा मलिनता
र दैनिक कार्यमा ह्रास आएको छ
प्रिय छोरा !
माफ गर यस पटक पनि
म आउन सकिन !
यहाँ अन्य साथीहरु घर
जादा मन कटक्क् खाँन्छ
अनि आफैलाई धिक्कारन थाल्छु
धेरै पटक आँखाहरु रसाई रहन्छन
फेरी छिट्टै तिमीलाई
अगालोमा बाधेर धित मर्ने दिन
कहिले आउला भनेर
पल पल सम्झी रहन्छु
मेरो र तिम्रो जन्मदिन
सँग सँगै मनाउने
र
तिमीलाई सरप्राइज दिने भनेर
बर्षौ देखि बनाएको सपना
आज आफैनै सरप्राइज भए
यो पटक पनि घर नजाने
निर्णयको बन्दी भएकोमा !
अब त तिमी ठुलो भई सक्यौ
जे हुन्छ राम्रोको लागी हुन्छ भनेर
सम्झ र आफूलाई सम्हाल
समय फेरी आउने छ
मिठा क्षणहरु सँगै बिताउन
भाग्यले कहिले सम्म रोकथाम गर्ला र
बस छोरा !
यसपाली पनि आउन सकिन
माफ गर !!