युद्ध
|
शान्त प्रकृतिबिच
एक आपसमा क्रुद्ध द्वन्द
आवाज ठोक्कियर
बादल बादल टुक्रिएर
वायुयानको तुफानी सन्त्रासमा
महादेवको जटाबाट सृजित नन्दि भृंगिको
मुखबाट निस्केको आगोको लप्का झैं
आकाशमा आधुनिक मिसाईलको अग्निरुप
प्रज्वलित धुवाँधार पुन्जहरु उच्छिट्टिरहँदा
मान्छेहरुको मनस्थिति अन्यौलमा छट्पटिरहेकाछन् ।
बाटोभरि जताततै लामबद्ध पाइलाहरु
घृणित बमका प्रहारहरु
भित्ताको भग्नावशेष पल्टिरहेको छ
षडयन्त्रकारी जाल बिछ्याइरहँदा
उच्छिटिंदै ढलानका फप्लेटाहरु पल्टिरहेकोछ
मान्छेहरु मुर्छित अर्धचेत ढलिरहेछन्
भग्नावशेष बनेका अग्ला भवनेहरू
युद्धभूमिमा बारुदयन्त्र बोकेका जहाजहरु
चाहेर नचाहेर त्रासदी युद्ध गर्न अघि सरिरहेछन् |
बाहिर कतै आगोको लप्का झ्याल भित्र छिर्दछ
कतै सडकमा गाडीहरु जलिरहेछ
कोलाहल र हाहाकारको क्रन्दन मच्चिरहेछ
अफ़सोस छिडींको एक छेउमा
प्रसव पीडामा छट्पटिदै चिच्याइरहेछ
युद्दमा होमिन हतारिए
मिसाइलका पड्काइमा ढाल बनि च्याँ-च्याँ
तिखो शंखघोष गर्दै शिशु जन्मिन्छ ।
यस रणभूमको पृष्टभूमिमा
रक्ताम्मे आमा आफ्नै युद्ध प्रसव पीडामा जुड्दैछे
भोकको युद्ध लड्न तयार सिसुलाई सकी नसकी तान्दै
शान्त पार्न आफ्नो स्तन चुसाउँछे
उता पति सिडीको बिचैमा अर्धचेतन पल्टि लडिरहेछ
बिचरी सुत्केरीलाई पत्तैछैन आफ्नै पीडाले
बाहिर मिसाईलको गर्जाई तोपको थर्काई
मिसिनगनको गड़गड़ाई चर्कदैछ
बिचरी नयाँ सुत्केरी आफ्नै युद्धक्षेत्रमा
सकिनसकी कुनाकाप्चाबाट लुगा तान्दै
आँफैसँग लड्दै रक्ताम्मे बच्चा सफा गदैर्छे
यो भिड़को युद्ध मैदानमा सोचेजस्तो कहाँ हुँदोरहेछ ।
आँफैबिचको युध्द मैदान आज
श्रीमान हेर्ने फुर्सद भएन
आफ्नै रक्ताम्य शरिर स्याहार्ने समय मिलेन
बच्चा थाङ्ग्नामा बेरेर सिडीतिर
भित्ताको आड़ लिएर जाँदैगर्दा
बाहीर ठूलो आवाजले बम पड्किन्छ
सुत्केरी भित्तासँगै अचेत भै लड्छे
तँ-तँ र म-म को यो भिड़न्तमा
भर्खर जन्मेको बालक हात खुट्टा चलाएर
युद्ध लड्न सल्बलाउँदैछ
अहमको मानसिकताहरु लड्दैछ
यो क्रूर युद्ध ….
केको लागि कस्को लागि ?
कस्ले जित्ने कस्ले हार्ने ?!
अन्तत: कसले के पाउने हो कुन्नि ???
सुन्दर सान्दर्भिक कविता, बधाई छ ।