तिमी र म

तिमी वीर पुरुष भनिन्छौ
तिमीभित्र रातो रगत बग्छ
तिमीभित्र तातो रगत उम्लिन्छ
तिमी युद्धको मैदानमा रगत बगाउँछौ
विजयको झण्डा शिखरमा हल्लाउँछौ।

म अवला नारी गनिन्छु
मभित्र पनि उही रातो रगत बग्छ
मभित्र पनि उही तातो रगत नै उम्लिन्छ
विडम्बना !
म सृष्टिकर्ता,
मेरो रज लज्जा बन्छ
म जननी,
मेरो रज,नछुनी हुन्छ
कठै !
रजोवतीको रज छाउ भनी गोठमा पोखिन्छ।

तिमी त साहसी पुरुष
तिमी यत्न गरी आँसु आफूभित्र जमाउँछौ
त्यसैले ढुङ्गा झैँ गह्रुङ्गो बन्छौ
म सुकोमल नारी
म सहजै आँसु झारिदिन्छु
म रुवा झैँ हलुङ्गी बन्छु
हामी दुई एउटै तराजुमा जोखिनै नहुने
तर जोखिन्छौं।

तिमी पुरुष,
दुइटा भिन्न क्रोमोजोमका धागाले बन्यौ
म नारी,
दुइटा उस्तै क्रोमोजोमका धागाले बनेँ
म तिमीभन्दा फरक छु
फरक हुनु कमजोर हुनु होइन
मेरो आफ्नै महिमा छ
मेरो आफ्नै गरिमा छ
म वक्षबाट पयस्विनी धार बहाउँछु
म हाँसोमा जीवन निर्झरको संगीत बोलाउँछु
हामी दुई एउटै कसीमा जाँचिनै नहुने
तर जाँचिन्छौं।

बुझ्नेले बुझेजति सबै हुँ म
म सहयात्रिणी हुँ र सहधर्मिणी हुँ
म छाया हुँ र अनुगामी हुँ
बुझ्नेले अझै बुझ्न बाँकि धेरै हुँ म
वेदकी ज्ञाता श्रुति हुँ
म भूमि हुँ
भुवनेश्वरी हुँ
भागीरथी र भाग्यश्री पनि मै हुँ ।

सबैले भन्छन्,
आधा आकाशको लागि मैले लड्नुपर्छ
म भन्छु,
मैले आधा आकाशको लागि लड्नुहुन्न
म भन्छु,
सिङ्गो आकाश नै मेरो हुनु पर्छ
सिङ्गो आकाश तिम्रो भए‌जस्तै
सिङ्गै आकाशमा
तिमी रापिलो सूर्य बनेर आए
म शीतल चन्द्रमा बनेर छाउँ
हामी दुई मिलेर ताराहरूमा रङ्ग भरौँ
यदि आकाश चिरा पर्यो भने ?
कठै !
आधा आकाश
कसरी ढाकोस् धर्तीको लाजहरु ।

सबैले भन्छन्,
मैले आधा धर्ती रोज्नु पर्छ
म भन्छु,
मैले आधा धर्ती रोज्नु हुन्न
सिङ्गो धर्ती नै मेरो हुनुपर्छ
सिङ्गो धर्ती तिम्रो भए‌जस्तै
सिङ्गै धर्तीमा
तिमी दाहिने पिपल भएर आए
म देब्रे बर भएर आँउछु
हामी दुई मिलेर बगैँचाहरू सजाऔँ
यदि धर्ती टुक्रा भयो भने,
कठै !
टुक्रिएको धर्ती
के राखोस् आकाशको सान ?

Add a Comment

Your email address will not be published. Required fields are marked *