निलो रङ्ग
|पुस्तौं-पुस्तादेखि
ममाथि कालो बादल मडारिएर उडिरहेको छ
जब मेरा आँखा खुले
तब देखेँ
धर्मभित्रको बाक्लो बादल
रितीथिति भित्रको कालो धुवाँ
घुमिरहेछन्-
फन्का मारेर मेरो शिरमाथि ।
म छुन चाहन्छु आकाशको त्यो नीलो रङ्ग
समाउन चाहन्छु-
ताराहरूलाई
प्रिती गाँस्न चाहन्छु जूनसँग
रोप्न चाहन्छु हावामा फूलको विरुवा
तर
मेरो बाटो छेकिरहने बादल कसको हो ?
कहिले त
प्रतिकारमा चट्यांग भएर गर्जेकोछु
आँधीबेरी भएर उडाएको छु
सङ्कल्पले उध्याएको छु
विद्रोहको हतियार
तेतिबेला यादकदा पानी बर्षे पनि
सफा आकाशको उज्यालो रङ्ग चुहिए पनि
काला बादलले बनाएका अँध्यारा पर्दाहरूले
मेरा आवाजलाई बिचैमा छोपिदिन्छन् ।
समुन्द्रको छाल झैँ
मेरा शब्दहरु एक पछि अर्को बिलाउँदै बिलाउँदै जान्छन् ,
त्यसपछी प्रश्न गर्छ मनले
कहिले फाट्ला यो बाक्लो बादल
र देख्न पाईएला जीवनको रङ्ग
कहिले फुल्लान् फूलहरू फूलजस्तै !
कहिले आउला पहाडमा पहाडकै हरियाली ?
आकाश र धर्तिबीचको यो भेद हटाउन
आऊ साथी
एउटा यस्तो सङ्कल्प गरौँ हामी
फटाई दिउँ –
यी धर्म भित्रका बाक्ला बादलहरुलाई
उडाई दिउँ-
यी रितिथितिका काला मुस्ला धुवाँलाई सधैँका लागि
अनि बल्ल
धर्तिले देख्न सक्छे आकाशको त्यो निलो रङ्ग ।