मनयुद्धको घाउ
|म आउँदै नआएका आवाजहरू सुन्छु
म हुँदै नभएका दृश्यहरू देख्छु
म भनेपछि हुरुक्क हुन्छन् मेरा आफन्तहरू
तर मभने
तिनका मुहारहरू मुन्तिर
‘ मेरा शत्रुहरू ’ भनेर क्याप्सनहरू लेख्छु ।
म लेखिदै नलेखिएका समाचारहरू पढ्छु
म खिचिदै नखिचिएका दृश्यहरूमा आँखा गड्छु
म राति पनि निदाउन्न
तर दिउसै पनि सपनाहरू देख्छु
र सपनामा आफै ब्वाँसो भएर
आफ्नै मनलाई चिथोर्छु , टोक्छु ।
म भनेपछि हुरुक्कै हुन्छन् मेरा शुभचिन्तकहरू
तर मभने
सबैले मेरै कुरा काटिरहेको
र मलाई सबैले ढाँटिरहेको मात्र देक्छु ।
म कहिले
कौरवको कुख्यात बथानलाई नै अनुकरणीय ठान्छु
म कहिले
आकाश थाम्छु भन्दै
उत्तानो परेको हुट्टीट्याऊँलाई नै
आफ्नो आदर्श मान्छु ।
कला-सङ्गीत र अध्यात्ममा खासै रुची नभएको म !
गर्न केही नसके पनि
यो गरुँ र त्यो गरुँको छटपटी मात्र भएको म !
जो कहिले
अरू सबैलाई गलत
र आफैलाई मात्र ठीक भन्छु ।
जो कहिले
अरू सबैलाई ठीक
र आफैलाई मात्र गलत भन्छु ।
चाहिनेभन्दा बढी सोझो
र बुझ्नै नसकिने गरी कोग्ल्याँटो !
हुनुपर्नेभन्दा बढी मेहनती
र हुँदै नहुनुपर्ने गरी अल्छी !
थाम्नै नसकिने गरी चञ्चल
र चलाउनै नसक्ने गरी निश्चल !
सोच्नै नसकिने सम्मको निरास
र धान्नै मुस्किल पर्ने महत्वाकांक्षी !
यदि यस्तै कोही हुनुहुन्छ भने
मजस्तै
जनयुद्धका दोहोरा सपनाहरूको बन्दी
तपाईंलाई पनि
अवश्य नै
मलाईजस्तै लागेकै होला मनयुद्धको घाउ !
Brilliantly wording and touching in the sense that this world is now what the poet wanted express in his own feelings. I liked the poem very much. Excellent creation!