पुस्तक चर्चा: “कचिडेदेखि काठमाडौंसम्मः फर्केर हेर्दा”
|“जीवन यात्रा हो । निरन्तरको यात्रा ।” काँडाबीच फुल्ने गुलाफको सौन्दर्यता र हिलोमा फुल्ने कमलको कोमलताको बयान सायत जरुरी पर्दैन । हालै तीर्थप्रसाद मिश्र (पिएचडी)को आत्मवृतान्त रुपी कृति “कचिडेदेखि काठमाडौंसम्मः फर्केर हेर्दा” प्रकाशित भएको छ । हुने विरुवाको चिल्लो पात भने भैंm कचिडेको घारीमा पनि सुनाखरी पुल्दरछ भन्ने उदाहरण हो तीर्थप्रसाद मिश्र । तीर्थ यात्रा पछिको प्रसादको रुपमा जन्मनु भएको एक बालक साच्चीकै “प्रसाद” कै रुपमा ग्रहन गरेछ समयले । छोरा छोरी तथा पारिवारिक दवावमा लेख्नु भएका उहाँको आत्मवृतान्तको पुस्तकको पानाहरु पल्टाउँदै गर्दा केही घतलाग्दा विषय वस्तुहरु टिपोट गर्ने इच्छा जाग्यो र केही टिप्दै जाने क्रममा केही पानाहरु भर्न पनि पुगेछ । सोही पानामा भर्न पुगेका केही शब्दहरुको जोडजाड गरी यो आलेख तयार गर्दै छु । .मिश्र नेपालको इतिहास लेखन विधामा एक स्थापित नाम हो । सन् १९५३ डिसेम्वर २७ मा धनकुटाको कचिडेमा जन्मनु भएका तीर्थप्रसाद मिश्रले सन् १९८७ मा विध्यावारिधि उपाधि हाँसिल गर्नु भएको हो । सन् १९७४ देखि सन् २०१५ सम्म ४१ वर्ष लामो समय त्रिभुवन विश्वविध्यालय सेवामा रही सेवानिवृत प्राध्यापक मिश्रले विभिन्न स्वदेशी तथा विदेशी दर्जनौं सामाजिक संघ÷संस्थाहरूमा अध्यक्ष, सदस्य,कार्यकारी सदस्य, सल्लाहकार, योजनाकार, अनुसन्धान विज्ञ लगायत थुप्रै तह तप्कामा रहेर सामाजिक कार्यहरू गर्नुभएका छन् । विभिन्न ऐतिहासिक खोज, शोधपूर्ण दस्ताबेजहरू तथा अनुसन्धानका पुस्तकहरू प्रकाशन गरी सक्नु भएका मिश्रको भर्खरै प्रकाशित आत्मवृतान्त “कचिडेदेखि काठमाडौंसम्मः फर्केर हेर्दा” उन्नाईसौं कृति हो । उहाँको सयौंको संख्यामा स्वदेशी तथा विदेशी जर्नलहरूमा लेख प्रकाशित छन् । इतिहासका सिद्धहस्त विद्वान प्राध्यापकको यो कृति सरसर्दी अध्ययन गर्दा लेखकको भाषागत शिल्पीको तारिफ गर्न मन लाग्यो । ऐतिहासिक प्रमाणहरु दिएर लेख्नुभएको तत्कालिन समयको वोध गराउने वस्तुगत विषय तथ्यहरुले पुस्तक ओजस्वी बन्न पुगेको छ । कसैको जीवनी या आत्मवृतान्तले तत्कालिन राजनीतिक, सामाजिक, आर्थिक तथा ऐतिहासिक पक्षहरुको ज्ञान पाइनेहुँदा इमानदारिपूर्वक लेखेको आत्मवृतान्तले पुस्तान्तरणमा हाम्रो विविधता, ज्ञान र प्रविधिलाई जोगाई राख्न र जीवित राख्न मद्दत पुग्ने कुरामा दुई मत छैन । समयको दस्ताबेजपूर्ण यो पुस्तक पढिसकेपछि केही लेख्ने हुटहुटी जाग्रित भयो । मिश्रको पछिल्लो कृति “कचिडेदेखि काठमाडौंसम्मः फर्केर हेर्दा” माथि केही चर्चा गरिरहँदा नठान्नु होला कि पुस्तकको समीक्षा गरेको भनेर । किन कि उहाँको लेखनको र पुस्तकको समीक्षा गर्न सक्ने ल्याकत त म सँग छैन तथापी पुस्तक सरसर्ती पढिसकेपछि मनमा लागेको केही कुरा लेख्ने दुत्साहस गरेँ । उहाँको यो पुस्तक सरसर्ती हेर्दै गर्दा समय परिवर्तनशिल छ, निरन्तर बगिरहने खोला जस्तै । समयको अन्तरालमा हामीले प्राप्त गरेको उपलब्धीहरु र बर्तमानको राष्ट्रिय राजनीति र त्यसले पारेको प्रभावले समाज हिजोको भन्दा आज के कति प्रगतिशील या उधोगतिशील छ भन्ने कुरा चाल पाउन वितेको समयमा भए गरेका ऐतिहासिक कुराहरुको समीक्षा गर्न जरुरी हुन्छ । त्यसैले यो पुस्तक विगत र वर्तमान बिचको अन्तरक्रियात्मक कडीको रुपमा लिन सकिन्छ । इमानदारिपूर्वक वस्तुपरक ढंगले लेखिएकोले पनि यो पुस्तक अझ ज्ञानवर्धक हुन पुगेको छ ।
धनकुटाको कचिडे आइपुगेका दुर्गादासका पाँचौँ पुस्तामा विसं १९४२ मा बद्रीनारायणको जन्म भयो । बद्रीनारायणका लगातार ६ जना छोरी जन्मिए, छोरा भएनन् । नेपाली समाजमा छोराप्रतिको मोह र चाह अहिले पनि नौलो लाग्दैन । तत्कालीन समाजमा सांस्कृतिक, आर्थिक एवं धार्मिक दृष्टिले पनि छोराकै चाहना गरिन्थ्यो । सायद परिवेश नै यस्तै भएकाले होला यहीं हतियार देखाएर पनि मनोवैज्ञानिक प्रभावमा विवाहका लागि कन्याको खोजी हुन थाल्यो । अन्त्यमा ६–६ जना छोरी भएकी सौता उसमाथि उमेरसमेत पाकेका वरसँग नौ वर्षिया रत्नकुमारीसँग ४४ वर्षका बद्रीनारायणको विवाह भयो । कुनै दन्तेकथा वा धार्मिक ग्रन्थमा पढ्ने गरेको ७ वर्षीय गोमा व्राह्मनीको कथा जस्तो लाग्ने रत्नकुमारीकी आमाले भोग्न पुगेका दुःख, पीडा अनि साहस पढ्दा ती अवला नारीको धैर्य र साहसको वर्णन पढ्दा पनि मनै जुरूङ्ग भएर आउँछ । कालन्तरमा मिश्र परिवारकै मियो बन्न पुगेकी उनै रत्नकुमारीको सन्तानका रुपमा २००८ सालको बालाचतुर्दशीका दिन एक बालकको जन्म भयो । जसको नाम रह्यो, तीर्थ । चतुर्दशीका दिन जन्मेकाले अनिष्ट पन्छाउन उक्त बच्चा बेचियो, नरपति शर्माकी जेठी श्रीमतीलाई । हो, त्यही बेचिएको सन्तान देशकै इतिहासकार बन्न पुगे तीर्थप्रसाद मिश्र । रमाइलो कुरा त के रहेछ भने उहाँको पिताजीका एकजना पनातिनी र एकजना पनातिचाहिँ उहाँ भन्दा जेठा रहेछन् । ६ वर्षको उमेरमा पिताजीकोे स्नेहबाट वञ्चित हुनुपरेको पीडाबाट गुज्रेको बालकको पिताजी नहुँदा परिवारप्रति समुचित व्यवहार नभएका धेरै तीता अनुभव समेटिएको छ पुस्तकमा ।
शिक्षाको पहिलो अक्षरारम्भ घरबाटै भएको, धुलेपाटीमा खरीले लेखेर अक्षर चिन्ने र लेख्न सक्ने भएपछि गाउँकै सरस्वती विद्यालयबाट औपचारिक पढाई सुरु गर्नुभएको मिश्रले पढाईको दौरानमा उल्लेखनीय बाधा अटचनका बावजुद औपचारिक शिक्षाको उच्चतम विन्दू विध्यावारिधी सम्म सफलतापूर्वक पूरा गर्नुभएको देखिन्छ । पढ्न केही विषयमा अब्बल नरहेता पनि आफ्नो रुचिको विषयमा उच्चा शिक्षा हासिल गर्न सफल मिश्रको विद्यार्थी जीवन खास सुखमय भने देखिएन । सम्बत् २०१८ सालमा गोकुण्डेश्वर स्कुलमा कक्षा ६ मा भर्ना गरेका मिश्रले कक्षा ६ देखि ९ सम्म निःशुल्क पढ्ने अवसर मिलेको थियो । १० कक्षामा भने आधा शुल्क तिर्नुप¥यो । सानो वर्णमाला पहिलो टेक्सबुकका रुपमा पढाई सुरु हुने त्यो जमनामा सिलोटमा खरीले लेख्न जानेपछि मात्रै कापीमा लेख्न पनि बाँसको कलमले चक्की घोली मसी बनाएर कोरेक्स ९प्यचभह० चक्की मसी बनाएर बाँसको कलमले लेख्ने वृतान्त पढ्दा आजको जमानामा कथा जस्तो लाग्छ । विद्यार्थीलाई कडा अनुशासनमा राख्नुपर्छ, कुटेरै तह लगाउनुपर्छ भन्ने मानसिकता, गुरूसित असाध्यै डराउनुपर्ने अवस्था, केटाकेटीलाई सरको डर देखाएर तह लगाउने बाबुआमाहरु त्यो बेलाका शिक्षा प्राप्तीको विशेषता कति कठिन रहेछ भन्ने बुझिन्छ ।
उच्चशिक्षा तथा अवसरको खोजिमा २०२८ मङ्सिर १२ गते काठमाडौं छिरेपछि लेखकको जिन्दगीको टर्निङ प्वाइन्ट सुरु भएको देखिन्छ । हवाई जहाजको भाडा १०७ रूपियाँ जोहो गरेर काठमाडौँँ छिर्न पनि हम्मे परेको, काठमाडौंको जीवनयापन र बसाई सहज नभएको सहज अनुमान गर्न सकिन्छ । काठमाडौँँ आएपछि नै जागिर खोज्न थाल्नु भएका मिश्रको आमा र दाजुको चाहना धनकुटा कलेजमा नै आए हुन्थ्यो भन्ने थियो । धनकुटा कलेजमा त्यसबेला शिक्षक आवश्यक थिएन । पछि पनि प्रयास भयो । सहायक प्राध्यापक दिने भए तर योग्यता उपप्राध्यापकका लागि पर्याप्त थियो । तत्कालीन अवस्थामा प्रथम श्रेणी प्राप्त गर्नेलाई उपप्राध्यापक दिनसक्ने प्रावधान थियो तर दिन चाहेनन् । त्यसैले धनकुटामा भएन । माधवराज पाण्डे सरको सत्प्रयासले त्रिविको अनुसन्धान शाखामा जागिर सुरू गर्नु भयो, २०३१ मङ्सिरदेखि मिश्रले ।
काठमाडौँँमा डेराको समस्या निकै भोग्नुपरेको कथा लेख्नुहुन्छ– विद्यार्थी त्यसमाथि पनि अविवाहितलाई त भनेजस्तो डेरा पाउन मुस्किल नै थियो । सम्बत् २०२८ सालदेखि २०३३ साल बीच काठमाडौँँमा धेरै ठाउँमा डेरा सरेँ । ठेलागाडाको पछिपछि लागेर धेरैतिर पुगियो । सम्बत् २०२८ सालको मङ्सिरमा काठमाडौँँ आइपुगेपछि सर्वप्रथम नयाँसडकमा बसेँ । त्यसको दुई महिनापछि पकनाजोल र वैशाखपछि पुल्चोक, झोछेँ, मरूहिटी, मरूप्याफल हुँदै जैसीदेवल पुगियो । जैसीदेवलमा तत्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी हरिभक्त रञ्जितकारको खाली घरमा बस्न पुगेँ । एमए दोस्रो वर्षको परीक्षा पनि त्यही ठाउँबाट दिएँ । जागिर पनि सोही डेराबाट सुरू गरेँ । घरबेटी रमाइला थिए तर २०३१ साल माघमा डेरा सर्नैपर्ने भयो ।
एसएलसी दिनेबित्तिकै १३ वर्षकै उमेरदेखि नै जागिर खान प्रारम्भ गर्नु भएका मिश्रले सरस्वती प्राइमरी स्कुलमा शिक्षक, सहायक प्रधानाध्यापक र प्रधानाध्यापक भएर काम गर्नु भयो । बिहान धनकुटा कलेज पढ्ने र दिउँसो विद्यालय पढाउने गरी दिनचार्य सुरू भयो । धनकुटा क्याम्पसबाट स्नातक तह पूरा गरेपछि केही समय झापामा शिक्षक हुन पुग्नु भएका प्राध्यपकले विसं २०३१ सालदेखि २०७२ सालसम्म त्रिभुवन विश्वविद्यालयकै सेवामा संलग्न रहनु भयो । इतिहास विभागबाट नै त्रिभुवन विश्वविद्यालयमा सेवा प्रारम्भ गर्नुभएका मिश्रले इतिहास विभागबाट नै अवकाश प्राप्त गर्नु भयो । विश्वविद्यालय सेवामा प्रवेश गर्नेका लागि पदोन्नति तथा अन्य प्राज्ञिक कार्यमा पिएचडीको विशेष महङ्खव रहन्छ । त्यसमा पनि प्राध्यापन गर्नेका लागि अझ कीर्तिपुरमै प्राध्यापन गर्नेका लागि त पिएचडी आवश्यक नै ठानिन्थ्यो । विसं. २०२३ सालको धोको विसं. २०४३ सालमा आएर पूरा भयो । विसं. २०२३ सालमा सरस्वती स्कुलको शिक्षक हुँदा प्रिन्सिपल सरको कोठाबाहिर झुन्डिएको नेमप्लेटमा डा.विष्णुप्रसाद पौड्याल लेखेको देख्नु भएका मिश्रलाई त्यसैबेलादेखि पिएचडी गर्ने धुन सवार भएको थियो । अन्ततहः २०४३ सालमा उहाँले पिएचडी पनि पुरा गर्नु भयो ।
त्रिभुवन विश्वविद्यालयमा विसं २०३३ सालमा उपप्राध्यापक, विसं २०४७ सालमा सहप्राध्यपक विसं. २०५२ सालमा प्राध्यापक तथा विभिन्न विभागहरुको प्रमुख भई सेवा गर्नुभएका मिश्र विसं २०७२ भाद्रमा विश्वविद्यालयबाट अवकाश हुनु भयो । त्रिवि सेवाकै क्रममा र त्यसपछि पनि दर्जनौं शिश्यहरुलाई पिएचडी हासिल गराउन सफल मिश्र जागिरको अलवा विभिन्न सामाजिक संघ÷संस्थाको कार्यकारिणी पदहरुमा रहेर सेवा गर्नुभएको देखिन्छ ।
नेपाल टेलिभिजन
पोखरा विश्वविद्यालय
बानेश्वर बहुमुखी क्याम्पस
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय
नेपाल नेत्रज्योति संघ
अन्य थुप्रै संस्थाहरुमा संलग्नता
आमा, दाजुभाउजू, बहिनी कमला र आफू गरी ५ जनाको परिवारमा हुर्कनु भएका मिश्रको विसं २०६८ सालमा आमाको निधनपश्चात् घरपरिवारमा समन्वयकर्ताको अभाव खड्किएको महशुस गर्नु हुन्छ । हुन त ४ वर्षको उमेरमा पिताजीले छाडेर जानुभएपछि पिताजीको समेत माया दिने आमासित ६० वर्ष बिताउन पाएँ भन्नुहुन्छ प्रा.डा. मिश्र । हुन त आमाकै माया र आशीर्वादले गर्दा नै सबै सन्तानहरुको स्थिति राम्रो छ । बीसको उन्नाइस कसैको छैन भन्नुहुँदै आनन्दको स्वास लिनुहुन्छ ।
एसएलसी पास गरेपछि विवाहको कुरा चलेको भएता पनि एमए पास गरेर जागिर खान थालेपछि माघ १८ गते वसन्त पञ्चमी २०३५ का दिन पुष्पा मिश्रसँग विवाह बन्धनमा बाँधिनु भएका मिश्रको एक छोरा र दुई छोरीहरु छन् । हाल छोरा छोरीहरु पनि आ–आफ्नो परिवार सहित अमेरिका बस्नु हुन्छ ।
अन्त्यमा,
यसरी यो पुस्तकको चर्चा गरिरहँदा सबै विषयवस्तुलाई समाबेश गर्न असमर्थ छु, यसका लागि क्षमा चाहान्छु । १३ उपशिर्षकहरु राखेर तयार पारिएको पुस्तकमा उल्लेख गर्नै पर्ने कमी कमजोरी त छैन तथापी आफ्नो जीवन सफल बनाउन श्रीमतीको योगदान कति हुन्छ र उहाँको त्याग तपस्याहरुको पनि शिर्षक राखि उल्लेख गरेको भए बेश हुन्थ्यो कि लाग्छ । आपूmले भोगेको र सिकेको ज्ञान, सीप, प्रविधीको हस्तान्तरण गर्न आगामी पुस्ताले लिनुपर्ने कदमको बारेमा कतै उल्लेख देखिएन । इतिहास विध, राजनीतिक विश्लेसक, अनुसन्धान विज्ञ तथा वहुआयमिक लेखकीय ब्यक्तित्व बौद्धिक लेखन शिल्पी भएका प्रा.डा.मिश्रको पुस्तकले जिज्ञासु र बौद्धिक पाठकलाई बौद्धिक खुराक उपलब्ध गराउने पक्का छ । अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन चहान्छु । साथै लेखकीय कार्य निरन्तर अघि बढिरहोस्, मेरो शुभकामना ।
लेखकः प्रा.डा.तीर्थप्रसाद मिश्र,
पुस्तकको नामः कचिडेदेखि काठमाडौंसम्मः फर्केर हेर्दा
विधाः आत्मवृतान्त
प्रकाशकः निकिता मिश्र पाण्डेय
(मेडिसन बिसकिन्सन, अमेरिका)
प्रकाशन वर्षः विसं २०७८,
मूल्यः रु ७००।–
वितरकः पशुपति पुस्तक भण्डार, पुरानो बानेश्वर, काठमाडौं ।
(लेखक तामाङ्ग कवि तथा गीतकार हुनुहुन्छ ।)