जुवाघरका कथा:युधिष्ठिर
|महाभारतका कथाका पात्र युधिष्ठिरसङ्ग जोडिएर आउने अर्को प्रसङ्ग हो – जुवा । यही जुवाको सम्बन्ध र प्रभावले वर्तमान नेपाली समाज र राजनीतिमा परेको प्रभाव र परिणामका बारेमा सर्वज्ञ वाग्ले कृत २४ वटा कथाको सङ्ग्रह हो – युधिष्ठिर ।
नखेल्नु जुवा र तास
धनको नास जीवनको बनिबास ।
नल राजाले दु:ख है पाए धेरैमा जुवा खेल्दा
पाण्डवहरूको बनिबास भयो यही जुवाले गर्दा ।
नेपाली जनबोलिमा चर्चित यो जनवादी/प्रगतिशील गीतको एक अंश हो । नेपाली समाजको यही गीतको व्यथा र महाभारतकालिन कथाको त्यही चरित्र कथाकार वाग्लेले आफ्ना कथाहरूमा उनेका छन् । यसो त वाग्ले साहित्य सिर्जनामा कथाकार मात्र पनि होइनन् । त्यसमा पनि जुवाको कथा र व्यथाका सिर्जना शिल्पमा उनी कथाका अतिरक्त व्यङ्ग्य,उपन्यास र जुवा र तास सम्बन्धित गीतका लेखक पनि हुन् । युधिष्ठिर,कथा सङ्ग्रह प्रकाशन गर्नु पहिले नै उनका यसै विषयसङ्ग सम्ब्नधित अन्य कृति पनि प्रकाशित छन् – जुवा घर(व्यङ्ग्य) र क्यासिनो, कथा सङ्ग्रह प्रकाशित गरेका वाग्लेको “बिग्रीयो काँइलो जुवा र तासैले” गीत पनि युट्युब मार्फत्सा सार्वजनिक भएको छ । जुवातास/क्यासिनो जस्ता कुलतका बिरुध्द चेतना फैल्याउने विषय बाहेक लेखक वाग्लेको कलम समसामयिक र अन्य सामाजिक विषयमा पनि सक्रिय छ – पुनर्वास,उनको सामाजिक/राजनीतिक वा राष्ट्रियताको मुद्दा बोकेको उपन्यास हो ।
आफ्ना कथा सङ्ग्रहका बारेमा अर्थात् कथाका पृष्ठभूमिको बारेमा लेखक वाग्लेले भुल्न नसकेका कुरा हुन्- ‘देश चलाउने ठेक्का लिएका राजनीतिक नेताहरू पनि जुवा घरमा रमाइरहेको खबर बेला बेला पत्रपत्रिकामा पढ्नु भएको छ । … अझ दरबारिया भाइभारदारहरू त सनातन धर्म नै मान्छन् जुवालाई ।’
यसो त लेखकलाई अहिले यस्तो पनि लाग्दो हो नेताहरू जुवा घरमा पसेर मात्र कहाँ रहेछन् र देशैलाई पो जुवा घर त बनाइरहेका छैनन् ?!
बरिष्ठ साहित्यकार कृष्ण धरावासी कथा र कथाकार वाग्लेको बारेमा लेख्छन् – ‘कथाका लागि कुनै पनि घटना वा विषयवस्तु असान्दर्भिक
मानिंदैन । जुनसुकै स्थान,काल र पात्र कथाका स्रोत बन्ने गर्छन् ।… सर्वज्ञले जुवाबाट हुने पारिवारिक विघटनको चित्रण गर्दै आफ्ना सम्पूर्ण कथाहरू त्यसै विषयमा केन्द्रित गरेका छन् ।’
सामान्यत: यस्ता कथा सङ्ग्रहहरूमा आवरण शिर्षक कथा सम्बन्धित विषयमा केन्द्रित हुने र अरु कथाहरू विभिन्न विषयमा छरिएका बिस्कुनजस्ता हुने यो पङ्तिकारको अनुभव/अनुमान हो । तर वाग्लेको यो युधिष्ठिरका सबै कथा (२४ वटा) नै जुवा/तास क्यासिनोको केन्द्रको परिणाम हुन् । बरिष्ठ साहित्यकार कृष्ण धरावासीको माथिको टिप्पणीले पनि उक्त कुरा पुष्टि गर्दछ । कथाकारको कथानकता गैर जिम्मेवार राजनीति,तिनको नेतृत्वको लापरबाही,जुवा तासजस्तो कुलत/दुर्व्यशन,दण्ड उन्मुक्ति तथा नव धनाढ्य र भ्रष्ट चरित्रको चिरफारमा केन्द्रित छन् ।
अघिल्लो हप्ता यस पङ्तिकारले कथाकार पोस्तक श्रेष्ठको मुन्नी कथा सङ्ग्रहका कथा पढ्दा सबै कथाले छुट्टा छुट्टै समग्र जीवन परिवेश अर्थात औपन्यासिक परिवेश बोकेको महसुस भएको थियो । यो हप्ता सर्वज्ञ वाग्लेको कथा पढ्दा यो सङ्ग्रह भने केही थप प्राबिधिक शिल्प मात्र संयोजन गरेमा पनि एउटा समग्र सामाजिक-पारिवारिक जीवनको उपन्यासको श्रेणीमा गणना हुनसक्ने सम्भावना थियो ।
नेपालको मध्ये भागबाट सुदुर पश्चिमको पुनर्वासमा पुगेका वाग्लेका कथाले नेपालको सुदुर पश्चिम हुँदै मध्यभाग वा राजधानी भोगेर अमेरिकाको सुदूर पश्चिमको जीवनलाई पनि छोएको छ । उनका कतिपय अवास्तविक लाग्ने पात्रहरूको नाम चरित्र र भूगोलले वास्तविक नाम चरित्र र भूगोलको झझल्को पनि दिन्छन् । प्रत्यक्ष नबोलेर नै छुन सक्नु सर्जकको अब्बल कला त हुँदै हो । संयोग पनि हो- लेखक वाग्लेको अहिलेको दैनिकी अमेरिकाको सुदुर पश्चिममा नै केन्द्रित छ ।
कथाकार वाग्लेको सिर्जनामा अनेक विषयबस्तु र बिम्बहरूको अन्तरद्वन्द छन् । तिनको कथालाई उनले प्रयोग गर्दै आएको आजको आत्मपरक वा विवरणात्मक शैलीलाई आख्यान (कथा-उपन्यास) को साँचोमा ढाल्दा केही संयमता भने अपनाउनु पर्छ । पाठकलाई सन्देश दिने उदेश्यमा उनका रचना सफल र पठनीय छन् तर पाठकलाई भावनात्मक अनुभूति दिलाउन ‘इशारा’ मा पनि त कुरा पुर्याउन सकिन्छ कि ! व्याख्या विश्लेषणमा मात्र धेरै शब्द समय किन खर्च गर्ने ? लेखकको प्रयास त्यता केन्द्रित हुनसकोस् – शुभकामना ।