गुरूवाणी: गोरखवाणी
|कुनै कृति किन पठनीय हुन्छन् ?
सबैका आ-आफ्नै ‘जजमेन्ट’ हुनसक्छन् | ज्ञान/विचार आर्जनका लागि,समाचार/सूचना वा सन्देश प्राप्त गर्नका लागि,मनोरञ्जन वा अन्य थप केही जे पनि हुनसक्छन् सबै कृतिका आ-आफ्ना विशेषताहरू । त्यस्तै विशिष्ठ विशेषता बोकेको अर्को एक कृतिको नाम हो- गोरखवाणी । आध्यात्मिक चिन्तक,हिन्दू संस्कृति र योगका साधक चिन्तामणि योगीको गोरखवाणी प्रवचनमा आधारित लेख सङ्ग्रहको नाम हो – गोरखवाणी (प्रथम संस्करण २०७८)।
वैदिक/हिन्दु धर्म-दर्शन र नेपाली परम्परामा आध्यात्मिक चिन्तन तथा संस्कृति शृंखलाको एउटा महत्वपूर्ण मार्ग हो- गोरखवाणि अर्थात् गोरखपथ/मत । हाम्रा प्राचीन सभ्यता र संस्कृतिका विविध शृंखलाहरू/चरणहरु छन् । तिनलाई छोएर र धोएर बग्ने एक शृंखला हो गोरखपथ । पथ र वादले नेपाली समाजलाई दिएका कतिपय सन्देश र परिणाम प्रिय नलाग्न पनि सक्छन् तर गो र गोरख पथ वा गोरखवाणी तथा योग वा दर्शन भने नेपालीहरूको मौलिक पहिचानकै एक अङ्ग हो । गो,गाई हुनसक्छ,गो,गोरखनाथ हुनसक्छ र नेपाल निर्माणको आदिभूमि पनि त हो नि- गोरखा ! यसको सन्दर्भ र चर्चाको पनि छुट्टै शृंखला हुनसक्छ ।
गोरखवाणी,चिन्तामणि योगीको गोरखवाणि प्रवचनमा आधारित ५१ प्रवचन शृंखला र अन्य कविता,भजन/श्लोक,गीत आदि समेटेर तयार गरिएको करिव ७० वटा सिर्जनाको सङ्ग्रह हो । पत्रकार साहित्यकार श्रीओम श्रेष्ठ लेख्छन्-‘समाजलाई सन्देश दिनेहरू आफूजस्तो छ त्यस्तै हुनूपर्छ-डाक्टर चिन्तामणि योगीजस्तै ।.… उहाँको कर्म,जीवनशैली र व्यवहार हार्दिक छ । फलत: उहाँ मेची महाकालीको सीमाभित्र मात्र प्रिय नभएर विदेशी भूमिमा पनि त्यतिकै लोकप्रिय हुनुहुन्छ ।’
यसै सङ्कलन सम्पादन र प्रकाशन सन्दर्भमा जोडिएका पत्रकार रमेश खड्काको यो मतले पनि कृतिको गहनताको बोध हुन्छ- ‘गोरखवाणी,मा त्यस्ता धेरै कुरा सङ्ग्रहीत छन् । यो पढ्न मिल्ने संस्करण हामी धेरैका लागि महत्वपूर्ण हुनेछ । गोरखवाणी,का ज्ञानहरू कालजयी हुन्छन्,मुल्यवान छन् । नाथ परम्पराको उद्बोधन गर्न यो लेख्य दस्म हत्वपूर्ण रहनेछ।’
वाणीका लेखक अर्थात् प्रवचनकर्ता योगीले आफ्ना प्रवचन र यस सङ्कलनको पृष्ठभूमिका बारेमा उल्लेख गरेका छन्- ‘विश्व ॐ कार एकता अभियानका मित्रहरूले पनि गोरक्ष चिन्तन नै मूल राष्ट्रिय चिन्तन होस्,राष्ट्रिय एकता र चेतनाका लागि,सामाजिक जागरण र सद्भावका लागि गोरक्ष चिन्तन संस्कृतिका माध्यमबाट हामी सबैलाई जगाउन र जोड्न सक्छौं । वैदिक,बौध्द परम्परालागायत जैन,किराँत,बोन परम्पराहरूसहित मूल परम्परा,कूल परम्परा,माटो परम्परा,मष्टो परम्परा,मातृ परम्परा आदि जति पनि हाम्रा नेपाली मूलका रैथाने मौलिक परम्पराहरू छन् सबैको मूलमा यही आगमचिन्तन,गोरखचिन्तन,शैवचिन्तन रहेको छ,यसलाई प्रचारप्रचार गर्दै जानुपर्यो भने ।…गोरख दर्शनका बारेमा,चिन्तन र संस्कृतिका बारेमा नेपाल र भारतमासमेत जति लेखिनुपर्ने हो,बोलिनुपर्ने हो त्यति लेखिएको,बोलिएको छैन । अहिलेसम्म हामीसङ्ग जे जति सामाग्री उपलब्ध छन् ती अधिकांश समाधिस्थ परमश्रध्देय गुरू योगी नरहरिनाथव्दारा प्रतिपादित,सम्पादित,सङ्कलित र सिर्जना मात्र हुन् । समयअनुसार हामी सबैले पनि यसमा अझ बढी थप्दै जानुपर्छ ।’ लेखकको यस टिप्पणीले विज्ञ पाठकलाई सङ्केत मिलेको हुनुपर्छ,आध्यामिक चिन्तक योगी नरहरिनाथ (नरहरिनाथ योगी,१९७१-२०५९) पनि यस सन्दर्भका आदर्श अग्रजहरूका बिर्सनै नसकिने उदाहरणीय व्यक्तित्व हुन् ।
गोरखवाणी,मा ५१ प्रवचन शृंखलाका यी लेखकार अन्य सबै सामाग्रीहरू एक से एक पठनीय छन् । यी मध्येको एक शृंखला हो- -‘अहङ्कार नगरौं’ । अहङ्कार किन नगरौं ? किनकि अहङ्कारको स्वरले जीवनको गति दिंदैन । अहङ्कारका सम्बन्धमा योगीको प्रवचनले थप भन्छ –
शिखर में चढ़ना नही,शिखर से उतरना नै ।
अर्थात्-अहङ्कारको शिखरमा चढ्ने होइन,ओर्लने हो ।
अहम्-को शिखर चढ्न सजिलो छ तर झर्न गाह्रो छ । हामीले आँफैलाई स्वीकार गर्न,सम्मान गर्न जुन बेला सक्छौं त्यही बेला हाम्रो अहम् आँफै स्वाभाविकरुपमा कम हुन्छ,चेतानाकोरुपमा विकशित हुन्छ । अहङ्कारी व्यक्तिको ओछ्यान राम्रो होला तर निद्रा राम्रो हुँदैन । अहङ्कारी शास्त्रज्ञ हुनसक्ला तर उसले शास्त्रको रसापन गर्न सक्दैन । अहङ्कारीसङ्ग ठूलो पद,मान हुनपनि सक्ला तर उसले त्यसको महत्व बुझ्न सक्दैन । एउटा भनाइ छ:- जति सकिन्छ अहिले जीवन रहँदैमा झुक्न सिक,मरेको लास कहिल्यै पनि झुक्दैन । हाम्रो नीति शास्त्रमा पनि भनिएको छ-
भवन्ति नम्रास्वतरव: फलोद्-गमै:नवाम्बुभिर्दूर्रविल्म्बिनो घना: ।
अनुध्दता: सत्पुरुषा:समृध्दिभी: स्वभाव एवैष परोपकारिणाम् ।
स्मरणीय के छ भने योगी आफ्ना लेख रचना प्रवचन आदिलाई बदलिँदो समाज परिवर्तन-विकाश,मानिसका रुची र विज्ञान/प्रबिधीअनुसार समुदायका सबै पक्षलाई समेट्न सक्ने माध्यमहरूमा उपलब्ध छन् । श-शरीर उपस्थित भएर नेपालका विकट मानिने कुना काप्प्चा देखि यस गोलार्ध्दका विकशित पूर्व पश्चिमका भूगोलमा पनि उनी भेटिन्छन् । सामाजिक गतिविधीका साथै पत्र पत्रिका,रेडियो/एफएम,टीभी/युट्यूब,जुम,फेसटाइम-लाइभ आदिका अतिरिक्त सामाजिक संजालका सक्रिय सबै माध्यममा उपलब्ध चिन्तामणि योगीका गोरखवाणी लगायतका रचनाहरू आध्यामिक जीवन दर्शन,योग-अनुशासन,सदाचार र समुन्नत समाज निर्माणका लागि प्रेरणादायी स्रोतकारुपमा महत्वपूर्ण छन् ।
यस सङ्कलनका सम्बन्धमा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ्गको शुभकामना सन्देशमा उल्लेख यो निष्कर्ष यसको महिमा र महत्वका लागि पर्याप्त छ- ‘गोरखवाणी,पुस्तकको माध्यामबाट उहाँले वैदिक,धर्म,दर्शन,योग र तन्त्रको तुलनात्मक व्याख्या गर्नु भएको छ । अत: यो पुस्तक गोरक्ष तत्वबोधका लागि अति उपयोगी छ । डाक्टर चिन्तामणि योगीबाट यसप्रकारका पुस्तकहरू सधैं रचना भइरहुन् ।’