म टुकुचा
|म एउटा सानो खोला
मेरो नाम इक्षुमती
जब म सङ्लो थिएँ
सफा कल कल थिएँ
मलाई माया गरेर
बोलाउने नाम हो
टुकुचा
मानिसहरु पानी खान्थे
नुहाउथे, पौडी खेल्थे
धुने पखाल्ने
सबै सबै गर्दथे
पशुपंक्षी र जनावर पनि
आनन्दले तिर्खा मेट्थे
माछा र जलचरले
रमाउदै जीवन धान्थे
बोटबिरूवा रूखपातले
मलाई नै सोसेर
हरियाली सजाउथे
जब मानिस लोभी हुँदै गए
उनीहरुमा दया माया हराउदै गयो
ममा फोहर ढल खनाउन थाले
गन्हाउने दुर्गन्धित पार्नथाले
मलाई छेउ छेउबाट न्याके
चेप चेपमा चेप्टिएर
मलाई पीँडामा बग्न बाध्य बनाए
ठाउँ ठाउँमा त मलाई देख्नै नसक्ने गरि
ठूला ठूला स्ट्रक्चरको मुनि
मिचेर थिचेर दबाएर
दु:खीरहने दर्द दिए
यहीँको बासिन्दालाई यति बिघ्न
सहयोग गर्दा गर्दै पनि
मेरो अस्तित्व नै मेटाउन खोजे
यहीँ वरिपरिका आफ्नैले
मलाई चेप्दा थिच्दा
म कति रोएँ कराएँ
मेरा अविरल बगेका आँसु
ढलकै फोहरमा मात्र बिलायो
म एक्लो नि:सहाय भएँ
मलाई कसैले वास्ता गरेन
पहिले जस्तो निष्फिक्रीसंग
मैले धारण गरेको
मेरो पानीको अङ्ग अङ्ग
सूर्य किरणको न्यानोमा
रूख बिरूवाको पातमा
पानीका छिटा छिटा भएर
खुल्ला प्राकृतिक प्रशोधनले
सजिलैसंग वाष्पिकरण हुन सकेन
आवश्यक परेको बेला समयमै
उडदै बादलसंग लुकामारी खेलेर
फेरि धरतीमै बर्षन सकेन
त्यसयता कति सरकार फेरिए
कति योजना बनाए
तर कसैले मेरो दु:ख बुझेन
या बुझ्ने कोसिस नै गरेन
धेरै भन्दा धेरै कमाउने लोभले
केवल आ-आफ्नो स्वार्थको लागि
मेरो शरीरलाई अङ्ग भङ्ग पारेर
अझै थिच्दै मिच्दै गए
दबाउदै गए
मास्दै गए
मलाई मेरै दु:खाइहरूमै छोडिदिए
अब बल्ल मलाई खोज्न थालियो
मलाई माया गर्ने
काठमाण्डौँ महा नगरपालिकाको
हालैको जागरूक नयाँ टिमले
मलाई फेरि पहिलकै ठाउँमा
पहिलेकै गतिमा
पहिलेकै लम्बाइ चौडाइमा
पहिलेकै अवस्थामा
फैलिएर बग्न दिने रे
प्रशोधन गरेर पहिले जस्तै
स्वच्छ र सफा पार्ने रे
दायाँ बायाँ हरियाली छाउने रे
म इक्षुमती
तपाईँहरुकै प्यारो टुकुचालाई
प्रकृतिको सुन्दर बनाउने रे
तसर्थ म
हृदय भित्र देखि नै
आभारी छु
र मुरी मुरी धन्यवाद दिन्छु
कर्मठ इमान्दार र कर्तव्यनिष्ठ
अहिलेको काठमाण्डौँ महानगरपालिकाको टिमलाई
सुन्दर स्वच्छ र सफा शहर निर्माणमा
महानगरपालिकाको संपूर्ण टिमलाई
सदा सफलता मिलोस
म टुकुचाको यही शुभकामना!