‘पुराना कुरा सम्झिनेहरु मरेका स्याल सरह’ ?!

घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा सबै सडे-गलेका हुन्छन् भन्ने भ्रममा आफ्नै आमा-बाका कुरा सुन्न छोडेर विभिन्न दुर्व्यसनीतिर फँसिरहेको छ । पुराना मान्छेका पुराना कुरा काम लाग्दैनन्भन्ने अजङ्गको भ्रम उनीहरुको दिमागमा हुर्किरहेको छ । अनि योगकक्षाको नाममा बालबालिका, युवा-वयस्कहरुको जमात राखेर गुरु भनिएका मान्छेले पुराना कुरा सम्झिनेहरु मरेका स्यालभन्दिनाले घर-घरमा, सिंगै समुदायमा तनाव घट्यो कि बढ्यो ? एक वा दुइ व्यक्तिमात्र होइन, सिंगै समुदायमा तनाव बढाउनु पनि हिंसाकै एउटा रूप हो । तनावबाट मुक्ति दिने बहानामा एउटा समुदायका विरुद्ध यसरी अझ तनाव थपिदिने ती कथित वैद्यलाई उनले गरेको शाब्दिक हिंसाप्रति उत्तरदायी बनाउनु पर्छ कि पर्दैन ?

‘विगत बितिसक्यो, बिर्सनुपर्छ, भविष्य आएकै छैन, त्यसको कल्पना गरेर पिरोलिनु बेकार छ, जे छ वर्तमानमा छ, मोजले जिउने वर्तमानमै हो!’ धेरैजना भेला भएका ठाउँमा एकजनाले सामान्यभन्दा अलि उच्चस्थानमा बसेर आफूलाई विद्वान साबित गराउने उक्ति रहेछ यो !

साइन्स अफ् ह्याप्पीनेस कक्षामा प्रशिक्षण दिने तयारीः (तस्वीर श्रोत: ऊँकार परिवार-पिट्सबर्गको फेसबुक)

हो, आज हामी यस्तै एउटा ‘विगत बिर्साउने’ स्यालको पुराणभित्र पसिरहेका छौं । ‘मरेका स्याल’हरुलाई विगत बिर्साएर बौराउने ओखती बोकी हिँडेका एकजना ‘जिम्बुवाल वैद्य’ का प्रसंगहरु पनि सँग-सँगै जोडेर लानेछौं ।

धेरै मान्छेहरु भन्दछन्, कसैले कसैमाथि हिंसा गऱ्यो, अथवा हिंसात्मक वर्ताव दर्शायो भने त्यो बलप्रयोगद्वारा मात्र सम्भव हुन्छ । सामान्यतः अधिकांश मानिसहरुको बुझाइ यस्तै छ । तर, बेलायती विद्वान एलन म्याकफ्यर्लेन ‘यो संसार कसरी चल्छ’ भन्ने पुस्तकमा आफ्नी छोरी लिलीलाई पत्रात्मक सम्बोधन गर्दै लेख्छन्,“एउटा मान्छेले अर्को मान्छेप्रति बल-प्रयोगद्वारा मात्र हिंसा गर्छ भन्ने छैन । शब्द, वचन र नजरद्वारा पनि हिंसा हुन्छ ।”

हिउँदमा हिउँ छल्न हिमालबाट तराईतिर झरेको जिम्बुवालझैं ‘मरेका स्याल’ बौराउने ओखती बोकेर एउटा मान्छे किन विगत बिर्साउने कुरा गरिरहेका छन्? उनको कुरा वचन-हिंसा हो कि होइन ? उनी योग सिकाउने गुरु हुन् रे ! योगशिक्षा भनेको तनावबाट मुक्ति दिलाएर मनोबल वृद्धि गर्ने मनोवैज्ञानिक विधि हो ।

घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा सबै सडे-गलेका हुन्छन् भन्ने भ्रममा आफ्नै आमा-बा’का कुरा सुन्न छोडेर विभिन्न दुर्व्यसनीतिर फँसिरहेको छ । ‘पुराना मान्छेका पुराना कुरा काम लाग्दैनन्’ भन्ने अजङ्को भ्रम उनीहरुको दिमागमा हुर्किरहेको छ ।

कथनानुसार शान्तिआनन्द  आत्मस्वरूपको साक्षात्कार गर्नका लागि विगत बिर्सनुपर्ने रे !  समयसंरचना र यसको लेखाजोखा नगरी, हल्का टिप्पणी गर्नेहरुले मात्र बोल्दछन् यस्ता कुरा ! वास्तवमा समयचेतना र जीवन-जगतबारे गहिरो अध्ययन गरेका मानिसहरु विगत भनेको सबै बिर्सनलायक समय होभनेर हतारमा टिप्पणी गर्दैनन् । हामी विगतलाई नै जीवनको जग बनाई त्यसैमा टेकेर उभिएका छौं । विगतमा लिएका सारा अनुभवहरुलाई उपयोग गरेर नै तपाइँ अहिले तपाइँहुनुहुन्छ म छु । वर्तमान भन्ने समयको विन्दु त छँदैछैन !

अनि योगकक्षाको नाममा बालबालिका, युवा-वयस्कहरुको जमात राखेर गुरु भनिएका मान्छेले ‘पुराना कुरा सम्झिनेहरु मरेका स्याल’ भन्दिनाले घर-घरमा, सिंगै समुदायमा तनाव घट्यो कि बढ्यो ? एक वा दुइ व्यक्तिमात्र होइन, सिंगै समुदायमा तनाव बढाउनु पनि हिंसाकै एउटा रूप हो । तनावबाट मुक्ति दिने बहानामा एउटा समुदायका विरुद्ध यसरी अझ तनाव थपिदिने ती कथित ‘वैद्य’लाई उनले गरेको ‘शाब्दिक हिंसा’प्रति उत्तरदायी बनाउनु पर्छ कि पर्दैन ?

कथनानुसार शान्तिआनन्द र आत्मस्वरूपको साक्षात्कार गर्नका लागि ‘विगत बिर्सनु’पर्ने रे !  समयसंरचना र यसको लेखाजोखा नगरी, हल्का टिप्पणी गर्नेहरुले मात्र बोल्दछन् यस्ता कुरा ! वास्तवमा समयचेतना र जीवन-जगतबारे गहिरो अध्ययन गरेका मानिसहरु ‘विगत भनेको सबै बिर्सनलायक समय हो’ भनेर हतारमा टिप्पणी गर्दैनन् । मान्छेले अनुभूत गर्ने खास समय भनेको विगतमात्र हो । किनभने भविष्य आएकै छैन । आगत भनेर परिकल्पना गरिएको भविष्य कहिल्यै आइपुग्दैन । हामी विगतलाई नै जीवनको जग बनाई त्यसैमा टेकेर उभिएका छौं । विगतमा लिएका सारा अनुभवहरुलाई उपयोग गरेर नै तपाइँ अहिले ‘तपाइँ’ हुनुहुन्छ म ‘म’ छु । वर्तमान भन्ने समयको विन्दु त छँदैछैन !

तपाइँ भन्नुस तः कहाँनेर छ वर्तमान ? कहाँदेखि कहाँसम्मको समयलाई तपाइँ च्याप्प समातेर स्थिर राखी ‘यतिचाहिं पक्का वर्तमान हो’ भन्न सक्नुहुन्छ ? चीनिया दिवाल अथवा बर्लीनको पर्खालझैं कुनै सिमाना छ? अथवा समयमा कुनै ढिस्को ठड्याएर सिमाना लाउन मिल्छ? जसले समयको गतिलाई स्थिर राखेर कालविभाजन गरोस् ! त्यस्तो कुरो सम्भव छैन ! त्यसो भए तपाइँ कुन समयलाई विगत र कुनलाई वर्तमान भन्न सक्नुहुन्छ ? भविष्य त आउने परिकल्पनाको कुरा हो, माथि नै भनियो । त्यसर्थ, यहाँ त्यसबारे कुरै नगरौं ।

मैले यो लेख लेखिरहँदा, तपाइँ (हरु) ले पढिरहँदा कति कति वेध, लव, विपल र निमेषहरु, कति क्षण, काष्ठा र दण्डहरु, लघु, नाडी र मुहूर्तहरु, घटी, प्रहर र यामहरु चिप्लिएर ‘विगत’ भइसके ! परमाणु, अणुको कुरै नगरौं ! तपाइँलाई थाहा छः ‘वर्तमान’ भन्ने एउटा शब्दको उच्चारण गरिसक्ता नै कति निमेषहरु बितिसके ?

पूर्वीय दर्शनचेतना अनुसार समयको गणना परमाणुबाट शुरु हुन्छ । अमूर्त समय होस् वा मूर्त वस्तु, सबै कुराको लघुतम मानक सूक्ष्माति सूक्ष्म परमाणुबाट शुरु भई ब्रह्ममा पुगेर टुंगिने विश्वास गरिन्छ । ब्रह्मबाट पुनः परमाणु शुरु भइहाल्छ । यो कालचक्र आफैं घुमिरहन्छ भने यसैभित्र सारा ब्रह्माण्ड पनि घुमिरहेको छ । दर्शनशास्त्रले भन्छः नभमण्डलमा सूर्य, पृथ्वी र सारा ग्रहहरु, सारा जगत-चराचर चक्राकारमा घुमिरहेका छन् ।

समयलाई परमाणु, अणु, त्रसरेणु, त्रुटि, प्राण, वेध, लव, निमेष, विपल, क्षण, काष्ठा, दण्ड, लघु, नाडी, मुहूर्त, घटी, प्रहर, याम, अहोरात्र, पक्ष, मास, ऋतु, अयन, वर्ष, संवत्सर, अब्द, दशाब्द, शताब्द, दीव्यवर्ष, युग, महायुग, मन्वन्तर, कल्प हुँदै ब्रह्ममा पुगेपछि प्रलयको परिकल्पना गरिएको छ । समयलाई काल वा महाकाल भनिनुको तात्पर्य पनि यही हो ।

ल ठिक छ ! जिन्दगी जिउने सिलसिलामा योजना-व्यवस्थापनका लागि समयलाई खण्ड-खण्ड गरी विगत, वर्तमान र भविष्यको नाममा वर्गीकृत गरियो । तर, त्यो त कार्यसम्पादनका लागि बाँडिएको योजनामात्र हो । समयलाई समातेर स्थिर राखिएको होइन । मानिसले बुझेको समय विगत हो, बुझ्न बाँकी आगत हो । यदि तपाइँले आफ्नो विगतलाई जीवनको पाठका रूपमा लिनुभयो भने त्यसले तपाइँलाई होशियार, परिपक्व, जिम्मेवार बनाउँदछ । त्यसर्थमा ‘विगत’लाई केही व्यथाका पुलिन्दाको रूपमा मात्र बुझाउने र त्यसलाई बिर्साउने कुरा गर्नुभनेको प्रकृति र जीवन-मर्मप्रतिको घोर अज्ञानता हो ।

कवि विलियम शेक्सपीयरको एउटा उक्ति छः “विगत भनेको प्रस्तावना हो !” प्रस्तावना भनेको परिचय हो । शुरुवात अथवा आधार हो । अनि विगत बिर्साउन बल गर्नेहरुले कसैको सामाजिक धरातल खुस्काउन, परिचयको वास्तविक आधारबाट अलग-थलग गराउन खोजेका हुन् कि होइनन् ? इतिहासबाट उखेल्न खोजेका हुन् कि होइनन् ? यसबारेमा चिन्तन गर्नु हरेक विद्वानहरुको दायित्व हुन्छ !

बुद्धिले जीविकोपार्जन गर्नेलाई बुद्धिजीवी भनिन्छ भने न्यायपूर्ण विवेक सम्पादन गर्नेलाई विद्वान भनिन्छ । विद्वानमा समभाव हुन्छ भने बुद्धिजीवीमा आफ्नो दुनो सोझ्याउने दाउ हुन्छ ! विद्वानका विपरीत दाउ हेरी हेरी च्याँखे थापेर आफ्नो स्वार्थ टिकाउने ल्याकत बुद्धिजीवीमा निहित हुन्छ । यसर्थमा स्याल पनि बुद्धिजीवी हो !

मैले विद्वान शब्दको प्रयोग गरेपछि ‘को हुन् विद्वान’ पनि थोरै जनाउनुपऱ्यो । सामान्यतः मान्छेहरु ‘विद्वान’ र ‘बुद्धिजीवी’-लाई एकैठाउँ मिसाएर सम्बोधन गरिरहेका हुन्छन् । अथवा एकको ठाउँमा अर्कोलाई औंल्याइरहेका हुन्छन् । यहाँनेर सबै पाठकहरु ‘विद्वान’ र ‘बुद्धिजीवी’ बीचको भिन्नताबारे प्रष्ट हुनु जरुरी छ । विद्वान र बुद्धिजीवी धेरै भिन्न हैसियत हुन् ! बुद्धिले जीविकोपार्जन गर्नेलाई बुद्धिजीवी भनिन्छ भने न्यायपूर्ण विवेक सम्पादन गर्नेलाई विद्वान भनिन्छ । विद्वानमा समभाव हुन्छ भने बुद्धिजीवीमा आफ्नो दुनो सोझ्याउने दाउ हुन्छ ! विद्वानका विपरीत दाउ हेरी हेरी च्याँखे थापेर आफ्नो स्वार्थ टिकाउने ल्याकत बुद्धिजीवीमा निहित हुन्छ । यसर्थमा स्याल पनि बुद्धिजीवी हो ! किनभने स्याल चतुर हुन्छ ! तर, चतुरेजति सबै विद्वान हुन कहाँ सम्भव छ र ! यसैकारण विद्वान र बुद्धिजीवी एकै होइनन् । धूर्त स्याललाई हामी विद्वानका रूपमा स्वीकार गर्न कहाँ सक्छौं र ? अहँ ! यस्तो आशा गर्नु नै बालुवा पेलेर तेल निकाल्न खोज्नु हो ।

अब फेरि समय-सन्दर्भकै कुरा गरौं । माथिदेखि हामी समयका बारेमा कुरा गर्दै विगत बिर्सन आवश्यक छ-छैन, सम्भव छ कि छैन, उचित छ कि छैन भन्नेजस्ता सार्वजनिक सरोकारमा छलफल गर्दै आइरहेका छौं । समय वर्गीकरणको सवालमा मूर्त-स्थूल र अमूर्त ब्रह्मचेतनाबीच पार्थ्यक्यका कुरा गर्नु सर्वसाधारण पाठकहरुका लागि धेरै भारी हुनसक्छ । म यहाँनेर सबैले बुझ्ने गरी सजिलो उदाहरण पस्किन चाहन्छुः विगत बिर्सिने लहडमा मैले आफैंलाई जन्माउन आमाले गर्भधारण गरेको कुरा पनि बिर्सनु ? विगत बिर्सनलाई मैले मेरी आमालाई, म स्वयंलाई बिर्सन सम्भव छ ? यदि त्यसो हो भने गीतामा श्रीकृष्णले अर्जुनलाई न्यायिक निरुपणका खातिर व्यक्तिको कर्तव्य र उत्तरदायित्वबारे कुरुक्षेत्रको मैदानमा दिएका उपदेशहरुको के औचित्य ? “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जस्ता श्लोकीय आदर्शहरुको के अर्थ ?

विषयान्तर भएर धेरै टाढा नजाउँ । अब कुरोको चुरो फुकाउनुपऱ्यो । मैले माथिबाट यति लामो भूमिका बाँधेर गर्न खोजिरहेको कुरो के हो भने ‘स्यालका लाश’हरुका अघि गरिएको एउटा भाषण ! अझ विस्तारमा व्याख्या गरौं ! अगष्ट महिनाको दोस्रो साता अमेरिकाको पेन्सिलभेनिया राज्यान्तर्गत पिट्सबर्ग महानगरमा बस्ने दुइजना हितैषीहरुले मलाई भेट्ने समय मागे । मैले समय दिएँ । उनीहरु आए; हाम्रो भेट भयो । कुराकानीको क्रममा मलाई थाहा भएको विषय के रहेछ भने त्यहाँ आयोजित एउटा सार्वजनिक कार्यक्रममा बोल्ने एक वक्ताले विशेषरूपमा भूटानबाट लखेटिएका मान्छेहरुलाई इंगित गर्दै पुराना कुरा सम्झिनेहरु मरेका स्याल सरह दाबी गरेछन् । यस्तो हेयभाव दर्शाउने वाक्य ती वक्तालाई किन आवश्यक पऱ्यो होला ? उनलाई मान्छेहरुको एउटा सिंगो जमात, समुदायको तुलना स्यालको सिनोसित गर्नुपर्ने त्यस्तो केचाहिं खड्गो परेछ भन्नेजस्ता कुरामा म पनि एकैक्षण अल्मलिएँ । आखिर उनका लागि मरेकै स्याल रहेछ यो समुदाय ! उनी ‘स्यालका लाशहरु’ बिउँझाउन किन प्रयत्न गरिरहेका छन् ?–पहाडजत्रै प्रश्न खडा भयो ।

कहिले हो त्यस्तो भएको ? मैले निकै बेरको मौनता तोडेर जिज्ञासा राखें । उनीहरु दुवै एक स्वरमा बोले,“दुइ साता कटिसक्यो ! उनको भनाइमा ‘पुराना कुरा’ भनेको विगत हो । सन्दर्भको कथनानुसार उनले यसरी एउटा समुदायलाई औंल्याएर त्यो आक्षेप थोपरेको पनि विगत भइसक्योः उनीसित राय माग्ने हो भने शायद अब यो पनि बिर्सिनुपर्छ ! तर, अहँ ! यो बिर्सिने कुरै होइन । हामी बिर्सँदैनौं । चाहेर पनि बिर्सन सकिँदैन !”

आंशिक आक्रोशको रागमा उनीहरु बोलिरहेका थिए-केही मत्थर गराउने मनशाय जाग्यो र मैले भने, ‘हैन, शिकार खोज्न दगुरी रहेको जिउँदो स्यालले ‘सुतेका स्याल’हरुलाई ‘मरेका’ सम्झेछ-कुरो धेरै ठूलो त लागेन मलाई !” मेरो कुरो सकिँदा नसकिँदै उनीहरु केही हतास, केही रुष्ट, केही आक्रोशित देखिए र मसितै गुनासो गर्नथालेः “हैन तपाइँ, ३० वर्षदेखि समाज समाज भनेर हिँडेको देखेका छौं । समाजप्रति यस्तो दुराग्रहपूर्ण आक्षेप आउँदा के गर्नसकिएला भनेर सुझाव लिन पो आएका थियौं ! तपाइँलाई ठूलो कुरै लागेन-उनले हामीलाई मरेकै स्यालसित तुलना गर्नु उचित हो भन्ने लाग्छ भने त ठिकै छ । हामी अरु नै केही सोचौंला । सुझाव पनि अरुतिरबाटै लिउँला !”

यसरी उनीहरुको रोषमिश्रित कटाक्ष शुरु भएपछि अब मैले गम्भीर हुनुपर्ने बेला भो । हुन पनि हो; एकदिन अतिथिका रूपमा आएका पाहुना वक्ताले बोलेको सबै पत्याउनुपर्ने र, आफ्नै समाजका उत्तरदायी समाजसेवीहरुको आपत्ति नपत्याउनुपर्ने मेरा लागि कुनै कारण थिएन । मैले विस्तारमा सबै कुरा बताउन अनुरोध गरें । उनीहरु घटनाको तथ्य विवरण पेश गर्दै गए ।

विवरण अनुसार ती वक्ता नेपालमा पञ्जिकृत संगठन ‘जीवन विज्ञान’-का संस्थापक तथा योगविद्या प्रचारक एल.पी. भानु शर्मा  हुन् । गत अगष्ट महिनाको ६ तारिखका दिन पिट्सबर्गमा क्रियाशील ‘ॐकार परिवार’ नामक संस्थाले ‘खुशी विज्ञान’ (साइन्स अफ् ह्याप्पीनेस) आमुख दिएर आयोजना गरेको कार्यक्रममा शर्माले सो कुरा बोलेका थिए ।

यस्तो अप्रत्यासित कुरो सुनेपछि तीनछक परेर म घोरिएँ । पातंजल योगदर्शनको व्याख्या अनुसार सामान्य मानिसहरुमा अविद्याअस्मितारागद्वेष र अभिनिवेश पाँच किसिमका क्लेशहरु हुन्छन् । “अविद्याऽस्मिता रागद्वेषभिनिवेशा: पंच क्लेशाः”- योगदर्शन २/३) । सोही व्याख्यानुसार जबसम्म यी पाँचवटा दुर्गुणहरु कसैको चेतनामा रहन्छन् तबसम्म आत्मस्वरूपको दर्शन सम्भव छैन । अनि एकजना आत्मस्वरूपको दर्शन गरिसकेको दाबी गर्ने योगगुरुबाट यस्तो निकृष्ट तुलना ? त्यो वाक्य बोल्ने बेला उनको विशुद्धिचक्रमा के अड्किएको रहेछ ? मेरा लागि आश्चर्यको सीमा रहेन ! विवरणहरु थपिँदै गए, म सुन्दै गएँ ।

म सामान्य घटनाहरुमा प्रभावित नभई, तटस्थ रहेर लेख्ने जमर्को गर्छु । तर, यहाँनेर एउटा कुराले मलाई समेत असाध्य पोल्यो ! भूटानी समुदायकी एक शारीरिक रूपमा अशक्त तर, चेतनाले सशक्त नारी माया भट्टराईको भर्खरै प्रकाशित कविता संग्रह ‘आमाको काख’ तर्फ इंगित गरेर पनि वक्ताले बोलेछन् ।

केन्टकीमा कसैले आफूलाई एउटा किताब दिएको र सो किताबमा भूटान-भूटान भनेर रुवाबासी गरिएको उनले बताएछन् । ‘त्यो बितिसक्यो अब; बितेको र मरेको एकै हो’ भन्दै बारम्बार बितेका कुरा र मरेको स्यालको उपमा जोडेर उनले बोलेछन् ।  वक्ताबारे यस्ता विवरणहरु सुनेपछि मेरो पनि व्यक्तिगत रूपमै संवेदनाको मर्म छेदन भयो ।

हैन, एउटा जमातका अगाडि गुरुको स्थान लिई बसेका मान्छे यति धेरै संवेदनहीन पनि हुन्छन् ? आफैंलाई प्रश्न गरें । उत्तर पनि आफैं फेला पारें । किन नहुनु, हुन्छन् निः ! एउटा गाई नदिएको निहुँमा गुरु द्रोणले सारा कुरुकुमारहरुलाई राजा द्रुपदसित युद्ध गराएका थिए । गुरुका नाममा आफ्नो भित्री मनसुबा पूरा गर्न धेरै मान्छेहरु लागेकै हुन्छन् ! ‘होइन, उहाँमा चाहिं कसैको अहित चिताउने सोच नै छैन’, भनेर जबरजस्ती आड-अडेसो गर्नुपर्ने हामीसित त्यस्तो ठोस भरोसाको आधार के छ र ?

त्यस्तो लाग्ने म एकजना मात्र होइन । यो एकदिन कराउँछ, दुइदिन औंला उठाउँछ । चारदिनमा सबै चुप लाग्छन् । विषयको चर्चा सेलाउँदै समाप्त हुन्छ भन्ने आँकलन यदि वक्ता र सम्बन्धित पक्षले गरेका छन् भने त्यो भ्रम नरहोस् । यस तथ्यले विशेषरुपमा अमेरिकावासी र नेपालीभाषी भूटानीहरुको संसारभरि फिँजिएको समुदायलाई आहत बनाएको छ । खाटो बस्तै गएको पुरानो घाउ कोट्याएर नून-चुक दल्ने काम भएको छ ।

मलाई विवरण सुनाउने हितैषीहरु मेरामात्र मित्र होइनन् । उनीहरु सिंगो समुदायकै मित्र हुन् । सिंगो समाजका शुभचिन्तक र दायित्वशील व्यक्तिहरु हुन् । उनीहरुले बताएका विषयमा अन्यथा हुने कुरै भएन । मैले थप स्पष्ट पार्न उनीहरुलाई आग्रह गरें ।

फेरि सवाल-जवाफ चल्यो । थपिएका विस्तारित विवरणमा उनीहरुले वक्ताद्वारा त्यस्ता अनर्गल बोलिएपछि कार्यक्रममै भनावैरी चलेको कुरा पनि बताए । जानकारी अनुसार कार्यक्रमको सहभागीका रूपमा रहेका पिट्सबर्गकै वासिन्दा, स्थानीय समाजका अग्रज, एक सचेतकले (कार्यक्रम चलिरहेकै अवस्थामा र त्यसपछि पनि) वक्ताकै अगाडि उभिएर सो कुराको कडा प्रतिवाद गरे । ती सचेतकलाई म पनि चिन्छु । सही समयमा सही कुरा बोलेर उनले संसारभरि रहेका भूटानीहरुलाई कृत कृत तुल्याएछन्-यसका लागि म सबैको तर्फबाट आभार व्यक्त गर्दछु !

विवरण सुनाउने मित्रहरु सुनाइरहेका छन्, म गमिरहेको छु । क्रम टुंगिएकै छैन । यसरी खरो शैलीमा प्रतिवाद चलेपछि जीवनविज्ञानका संस्थापकमध्ये एक, श्री रमेश नेपालले ‘कुनै भूल भएको छ भने क्षमा याचना गर्नेछौं । यदि कसैमा आघात पर्ने कुरा बोलिएको छ भने वक्ता स्वयंले पनि आत्मसमीक्षा गर्नुपर्छ’, भन्दै चर्काचर्की चलिरहेको अवस्थालाई साम्य गराएछन् । तर, आज तीन महिनाको लग लागिसक्यो; अझै पनि आत्मसमीक्षा त भएन नै, ठोस प्रतिक्रियासमेत आएको छैन । योग गुरु र शिष्यका रूपमा स्थापित अन्तरसम्बन्धका लागि यो घातक, खेदजनक कुरो हो । ६५/७० दिनसम्म पनि सम्बन्धित पक्षबाट आत्मालोचना वा क्षमायाचनाको कुरा नआउँदा धेरैजना अधैर्य हुन थालेका छन् । अझै पनि सम्बन्धित वक्ताले अफूले बोलेका अनर्गल कुराप्रति खेद प्रकट गरी क्षमायाचना गरेमा अन्तरसम्बन्धको स्थिति सुधारोन्मुख हुनसक्छ !

आफ्नो तस्वीरमा प्रभामण्डलको छवि राखी भित्तामा टाँगेर ‘आस्था-पुरुष बनिसकेका’ व्यक्तिहरुलाई क्षमाशील हुन भारी बात नहुनुपर्ने हो । हुन त पहिलो कुरो त्यस्ता व्यक्तिबाट यस्तो शोभाहीन शब्द फुत्किनु नै अचम्मको कुरो हो । त्यस्ता व्यक्तिबाट आश्चर्यजनक रूपमा आएको त्यो अभद्र शैली र आक्षेपलाई एउटा समुदायले सहजै पचाउन सक्तैन । यति कुरा सम्बन्धित वक्तालाई थाहा हुनुपर्ने हो ! के औचित्यमा उनले यस्तो कुरा अभिव्यक्त गरेका हुन् भन्ने सार्वजनिक सरोकारको विषय बन्ने नै भयो ।

ती वक्ताबाट यसपटक मात्र यस्ता क्षुद्र वाक्यहरु अभिव्यक्त भएको होइन रहेछ । खोजी हुनथालेपछि अरु धेरै कुराहरु फेला पर्दैछन् । अन्यान्य कार्यक्रमहरुमा पनि उनले आफूभन्दा पृथक विचार, विश्वास र परम्पराका मानिसहरुतर्फ औंल्याउँदै तिनीहरुले ‘अपराध गरिरहेका’ भन्नेजस्ता टिप्पणी समेत गरेका रहेछन् ।

भूटानको नेपाली समुदायले भूटान सम्झिनु, त्यहाँ आफ्नो समाज, भाषा र संस्कृतिमाथि भएको अन्यायलाई प्रतिकार गर्दै न्यायका लागि कूटनीतिक पहल गर्नु साँच्चै अपराध हो त ? यसो गर्दा साँच्चै ‘मरेको स्याल’ भइन्छ  त ? यी प्रश्नको जवाफ सार्वजनिक रूपमा आउनु जरुरी छ ।

विगत बिर्साउने कुरा कि त लक्षितसमूहको सामाजिक अवस्थितिबारे अज्ञानतावश भएको हुनसक्छ कि त निश्चित प्रयोजनमा ! प्रयोजनवश भएमा यस्तो  कुरा दुइटा प्रयोजनमा हुन्छः एउटा अन्याय गर्ने पीडक पक्षबाट अनि अर्कोचाहिं हतासाले गाँजेको, दासताको जञ्जीरमा बाँधिनु नै आफ्नो मुक्ति सम्झिने पीडित पक्षबाट ! ‘पहराका विरुद्ध कुइनाले ठेलेर ढल्दैन’ भनेजस्तो समर्पणको चेतनामा विगत बिर्सनुपर्ने बाध्यताका कुरा गर्नेहरु धेरै हुन्छन् । तर, हामी पछुताउन वा रुनलाई होइन, एउटा ऐतिहासिक दुर्नीतिका विरुद्ध न्यायिक सम्बोधनका लागि भूटान सम्झिरहेका छौं ।

नागरिकहरुलाई आफ्नो थात-थलोबाट विस्थापित गराउनु यहुदीहरुलाई मृत्युशिविरमा राखेर अत्यधिक श्रम गराउने हिटलरको अपराधभन्दा कम छैन । भूटानीहरुले भूटान सम्झिनुको तात्पर्य प्रतिशोध साधन गर्न नभई पीडकको आपराधिक इतिहासलाई स्थापित गराएर त्यसमाथि न्यायिक निरुपण गरिनु हो । यो कुरा विश्वभरिका न्यायप्रेमीहरुको अभिष्ट पनि हो । भूटान-भूटान भन्दै त्यहाँको ढुंगा-माटो मस्तिष्कमा हालेर हद-मुर्खता पेश गर्नलाई मात्र हामीले भूटान सम्झेका होइनौं । माटो र ढुंगा, पहाड, नदी त सम्पूर्ण धरतीमा उस्तै छन् । यो सारा धर्ती एउटै घर हो । तेस्रो नेत्र नै खुलीसकेको, एउटा युगद्रष्टाको रूपमा प्रकट भएको भान पार्ने मान्छेलाई यति कुरा ज्ञान हुँदैन ?

कुनै समुदायको मर्मबारे अध्ययन अनुसन्धान नगरी यसरी आघात पुग्ने गरी टिप्पणी गर्ने व्यक्ति कसरी महान आध्यात्मिक गुरु हुनसक्छन् ? आयोजकहरु पनि यस्तै हल्लनटाट प्रवृत्तिहरुलाई खर्च गरी गरीकन यसरी आफ्नै समाजतिर धारे हात लगाएर सराप्न प्रोत्साहित गर्ने-आखिर के औचित्यमा चलिरहेका छन् यस्ता अभियानहरु ?

समुदायभित्र- बाहिर यसबारेमा चर्चा गर्ने क्रममा विभिन्न व्यक्तित्वहरुसित कुराकानी भइरहेको छ । केही व्यक्तिबाट ‘सम्बन्धित वक्ताको आशय कसैका लागि अहितकर थिएन’ भन्ने तोक्चे-तर्कहरु पनि आएका छन् । यो कुनै निहित स्वार्थप्रेरित पक्षपोषण हो कि विवेकशील न्यायको निरुपण हो-केही समयभित्र सबै कुरा बाहिर आउनेछन् ।

सम्बन्धित वक्ताले बोल्दै गर्दा ईश्वरीय अलौकिकताको प्रसंगमा विगत बिर्सिनुपर्ने सुझाव राखेका थिए भन्ने परिभाषित पक्षधरता पनि उनका केही हितचिन्तकहरुबाट आएको छ । तर, पूर्वीय सनातनी परम्परा भनेको विगतमै जन्मिएका सन्त-महात्मा र ऋषिहरुको अस्तित्वमा अडिएको दर्शनचेतना हो । अवतार, पूर्वजन्म, पुनर्जन्म, वरदान, श्राप आदि आदर्शहरु शास्त्रले नै बोकेर ल्याएका छन् ।  विगतमा कुनै शक्ति विद्यमान थियो र नै नयाँ अवतार सम्भव छ । पूर्वजन्म थियो र नै पुनर्जन्म छ । सारा शास्त्रहरु, वेदोपनिषदहरु, मिमांसा र ज्योतिष वाङ्मयहरु विगतकै देन हुन् । अनि यस्तो आदर्शवान विश्वास बोकेर हिँडेको एउटा समाजलाई त्यसरी ‘विगत बिर्सनैपर्छ’ भनिदिँदा के अर्थ लाग्छ ? सबैले मूल्यांकन गर्लान् नै !

हुनसक्छ, समुदायभित्रैका केही मान्छेहरुले तिनका कुरामा केही सकारात्मक अंशहरु पर्गेलेर बौद्धिक नाफा कमाउने सपना पनि साँचेका होलान् । तर, यस चराचर जगतमा सकारात्मकता भनेको मिहिन ढङ्गले खोज्यो भने जुनसुकै कुरामा पनि विद्यमान हुन्छ । लुगा खोलेर नाङ्गै हिँड्दामा पनि सकारात्मकता छ । नाङ्गै हिँड्ने गरियो भने शरीरको प्रतिरक्षात्मक क्षमता बढ्छ । छालाका स्नायु-तन्तुहरु कडा भएर निरोगी बन्ने सम्भावना बढ्छ ! के त्यसो भए त्यस्ता साकारात्मकताका लागि नाङ्गै हिँड्न सकिन्छ ? मुख्य सवाल यहाँ ऐजन सरोकारमा नकारात्मकता धेरै असरदार कि सकारात्मकता धेरै प्रभावकारी भन्नेमा पो छ त !

ल ठिकै छः ‘वक्ताको आशय अहितकर थिएन’ भन्ने घिड्घिडोमा लम्पसार नै परेछन् कोही भने पनि केही छैन ! वक्ताको आशय र अपेक्षा जेसुकै होस्, आशयमा विवाद होइन । शब्द, शैली र वाक्यमा आपत्ति हो, तुलना र दृष्टान्तमा आपत्ति हो । त्यसले पार्ने असरको लक्षणामा आपत्ति हो ! उपचारात्मक आशय छ भन्दैमा एउटी बिरामी आमालाई औषधि खान बोलाउँदा ‘ए बा’की स्वास्नी, औषधी लिन झट्टै उठ’ भन्यो कसैले भने कस्तो सुनिएला ?

मैले यो लेख लेखिरहँदा को कताको अथवा फलानो यताको र चिलानो उताको भनेर उल्लेख गरिनँ । भरसक पक्ष-विपक्षका कुरा नगर्नु नै सबैका लागि भोलिका दिनहरु उज्याला राख्ने प्रयत्न हो । यद्यपि भनावैरी नै भइसकेपछि आखिर भन्ने र सुन्ने दुइपक्ष त हुने नै भए । त्यसो हुनाले दुवै पक्षका कुरा आउन् भनेर मैले स्वयं जीवनविज्ञानका एक संस्थापक श्री रमेश नेपालजीसित यस सरोकारमा कुराकानी गरेको छु । उहाँ (हरु)-लाई पनि आफ्नो सफाइको अवसर प्राप्त होस् भनेर सो सुयोग मिलाइएको थियो ।

अझै पनि अनर्गल बोलेको प्रमाण कहाँ छ र? भन्दै खोचे थाप्ने काम गरिएमा यो विषयले समाजलाई निकै गहिरो चोट पुऱ्याउने छ । त्यस कार्यक्रममा कसले के बोल्यो, कसले विवाद सृजना गऱ्यो, कसले प्रतिकार दर्शायो, कसले मौखिक क्षमा माग्यो, कसले लिखित क्षमायाचना गरिने प्रतिबद्धता जाहेर गऱ्योः समस्याको अल्पकालीन निकासा कसरी गरियो भन्ने वृत्तान्त वक्ता, आयोजक र सहभागी सबैलाई थाहा छ ।

हो, यति कुरा सामान्यभन्दा सामान्य मानिसलाई पनि थाहा छः पुराना कुरा सम्झेर सधैं रुनु मुनासिब छैन । रमाइलो विगत सम्झेर हर्षले उफ्रिनु र दुःखद विगत सम्झेर सधैं झोक्राउनु जीवनका लागि कदाचित राम्रो कुरा होइन । तर, हिँजो नभई आज र आज नभई भोलि हुन सम्भव पनि छैन । हिँजो भनेको विगत हो भने भोलि भनेको आगत हो । मानिसका सारा गौरवगाथा, शिक्षा, योग्यता, अनुभव र जिउने आधारहरु विगतमै अडेसिएर खडा भएका हुन्छन् । हिँजोको सम्झना र भोलिको कल्पना गर्न नसक्नेहरुले आजको योजना गर्नै सक्तैनन् !

माथि पनि भनिसकिएको छः सरदर रूपमा विगत बिर्साउने कुरा पीडकले गर्छ कि त उसैको मतियारले । पीडितहरुलाई आफूमाथि भएको अन्याय बिर्सेर फेरि सम्झौता गर्न उत्प्रेरित गराउने कुपित गन्ध लुकेको हुन्छ विगत बिर्साउने योजनामा ! पीडितहरुले विगत बिर्सिदिँदा पीडकहरु खूब रमाउँछन् ।

सन् १९३९ को २२ अगष्टका दिन हिटलरले आफ्नो सैन्य दस्तालाई आदेश जारी गर्दै अर्मेनियालीहरुले करीब २०/२२ वर्ष पहिले आफ्ना अग्रजहरुको नृशंस संहार भएको कुरा बिर्सिसकेकाले यहुदीहरुलाई पनि त्यसै गरी मार्नुपर्ने बताएको थियो । दोस्रो विश्वयुद्धसम्म आइपुग्दा अर्मेनियालीहरुले साँच्चै आफ्ना वंशजहरुको नरसंहारको इतिहास बिर्सिसकेका थिए भने यहुदीहरुचाहिं मृत्यु शिविरमा थुनिएको अवस्थामा पनि आफ्नो इतिहास साँच्न हरतरहले बल गरिरहेका थिए । मृत्यु शिविरमा रहेर हरेक यहुदीहरुलाई आफ्ना कथा लेखिरहन उत्प्रेरित गर्ने साइमन डबनोलाई लेखेको र लेख्न प्रोत्साहित गरेकै अपराधमा हिटलरको सैन्यदस्ता ‘गेस्टापो’ले माऱ्यो । तर, विश्वयुद्ध साम्य भइसकेपछि उनीहरुले लेखेका दस्तावेजहरुको अनुसन्धान हुँदा यहुदी (इजरायली)-हरुले एउटा देशसहित न्याय पाए ।

यसरी जहाँ जहाँ आफ्नो समुदायप्रति विगतमा भएको अन्यायको इतिहास मासिएको छ; त्यहाँ न्याय हराएको छ भने जहाँ इतिहास जोगाएर राखिएको छः त्यहाँ न्यायको नजीर स्थापित भएको छ । आतः समग्र संक्रमणकालीन न्यायदर्शनको आधार नै उत्पीडनको इतिहासलाई सम्झिरहनु हो !

भूटानीहरुको सन्दर्भमा उनीहरुलाई विगत बिर्साउन बल गर्ने त्यहाँका अत्याचारी, पीडक शासकहरु थिए । अहिले पनि ती पीडकहरु निर्वासित समुदायलाई इतिहास बिर्साउन बल गरिरहेकै छन् । निर्वासित समुदायलाई उखेलेर धपाएका ठाउँहरुमा नयाँ बस्ती बसालेर, ठाउँका नयाँ नाम राखेर, विदेशी पर्यटकहरुलाई घुमाएर सबै पुराना कुरामाथि रंग-रोगन गरी बिर्साउने योजनामा सक्रिय छ पीडकपक्ष । इतिहासबाट निर्वासित समुदायलाई नामेट बनाउन क्रियाशील छ । तर, यो संक्रमणकालीन ऐतिहासिक कालखण्डमा विश्वभरि निर्वासित भूटानीहरुलाई सूत्रबद्ध कायम गरेर भविष्यमा हुनसक्ने न्यायिक निरुपणका लागि उनीहरुको परिचय सजीव राख्ने विरासत भनेकै उनीहरुको त्यही एउटा इतिहास हो । विगत बिर्साउने वहानामा आफ्नो इतिहासको जग हल्लाउन खोज्छ कसैले भने सचेत मान्छेहरुलाई मन पर्दैन !

अनि यी गुरु भनिएका मान्छेले गरेको कुरा कसरी ठ्याक्क तिनै पीडकहरुको बोलीमा लोली मिल्न पुगेको हो? यो संयोग हो कि प्रायोजित हो भन्ने कुराको पनि खोजी गर्नुपर्ने भएको छ ।

अब यी योगप्रचारक तथा आध्यात्मिक महापुरुषको उपाधि लिएर जबरजस्ती ‘हिँजो बिर्साउन’ तम्सिएका मान्छेलाई कुन रूपमा लिइनुपर्ने हो ? यो प्रश्नको उत्तर खोज्ने दायित्व सबैमा आइपरेको छ । लेखको शुरुदेखि अन्त्यसम्म पढेर गम्भीरता साथ चिन्तन मनन् गरी विद्वान पाठकहरुले पनि राय-सुझावहरु राख्नु हुने नै छ ।

 

4 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *