म
|
मान्छे नै मान्छेको
जंगल बिचमा
म त एक्लो
समाधिस्थ ध्यानमा मग्न
अन्ततः
जब ध्यान छुट्छ
म बौलाएर सल्बलाउँछु
अनि,
अक्षर शब्दसँग नाँचेको देख्छु
नटराज स्वरुपमा नाँचीरहेको हुन्छु
शब्द श्रृंगार दृष्यहरु गाइरहेको सुन्छु
फूल मुस्कुराएर मस्किंदै
सुगन्धित वासना बाँडिरहेको
म पूर्ण थिएँ
पूर्ण नै रहें !
मेरै मन मस्तिस्कमा
मन कै चन्चल चालमा
म एक अनेक रुपमा
तिमी म सबै-सबै हरेकमा
परिवर्तित रंगीन स्वप्निल जगतमा
म जगमगाई रहन्छु
सुन्दर चकोर सुन्दरी
क्रुद्ध कोमल कामिनी
मिथ्या जगतको बिच
म त एक्लो एक्लै शून्यमा
मेरै प्रकाशको बाहुल्यमा
पूर्णत्व प्रकारान्तर प्रकाशित
पूर्ण मै समाधिस्थ ।
अज्ञानी ज्ञानमा अवस्थित म
आज किन चन्चल तालमा
हावासँगै बहकिने चालमा
शान्त समुद्र तरंगित छालमा
म बोल्छु म आफूसँगै
अमूर्त भव,
जो सुनिन्न
जो देखिन्न
बुझिन्छ सुनिन्छ भावमै
यो कपोकल्पित संसारमा
ईन्द्रेणी झकिझकाउ देख्दछु ।
सत्यम् शिवम् सुन्दरम्
स्वर्गकी अप्सरा आकाश तारामा
म टलक्क टल्किएँ
म रंगिएँ
म कल्पिएँ
मेरै संकल्प
र विकल्पमा काँचकै दरवार
विपना हो या सपना
निमेष मै चुरचुर टुक्रिए ।
यो मान्छे नै मान्छेको लस्करहरु
अन्तत: म एक्लो भएँ
समाधिस्थ ध्यानमा मग्न भएँ
म हावाको साउतीमा कविता सुन्छु
नदीको बहावमा अक्षर कोर्छु ।
तूफानको बेगमा
लस्करै बलेको राँके भूत
मेरै कल्पित जगतमा
झकिझकाउ मभित्रै
निमेष मै हराए
अघिसम्म थियो यतै
अब त छैन कतै
ज्ञान अज्ञान बिचमा
म मात्र एक्लो शून्यमा
द्वैत र अद्वैत दोसाँधमा
तिमी म’मा
सबै-सबै जगतमा
शूद्ध गणित सूत्रमा
म मात्र एक प्रज्वल
ॐकार सत्यमा
म अखण्ड मूर्त दीप हुँ
शून्य बिच शून्यमा
म पूर्ण थिएँ
म पूर्ण नै रहें !