मराउ सराउ र मराउ भोज
|हाम्रो दार्जिलिङ सिक्किममा मराउमा सराउ लेखाउने एउटा बडो राम्रो चलन छ। सरय, सरौ. सराउ कुन शब्द ठिक हो, त्यो बेग्लै कुरा हो तर अर्थ चैं मराउ परेको घरलाई दिइने आर्थिक सहयोग हो। यसको व्युत्पत्ति कसरी भयो त्यो पनि खोजी गर्नुपर्नेछ। यो सराउको कारणले मराउ परेका घरलाई आर्थिक रूपमा धेरै सहयोग र भरथेग हुन्छ। यो अत्यन्तै राम्रो चलन हो। मराउ परेको परिवारलाई मुखले रित्तो सान्त्वना मात्र होइन आर्थिक सहयोग गरेर सहानुभूति दिने राम्रो चलन हो। झन आर्थिक कमजोर भएका घर परिवारलाई मराउ उतार्ने यही मात्र एक सहारा बनेको हुन्छ। हुनसक्छ एक रूपियाँबाट थालनी भएको यो चलन अहिले हाम्रो कालेबुङको सन्दर्भमा थोरैमा तीन सयदेखि शुरू भएर उँभो जति पनि दिने गरिन्छ।
मराउमा सराउ दिने अत्यन्तै राम्रो चलन हो। यसमा यति उति दिनुपर्छ भन्ने कतै छैन बरू स्वेच्छाले दिने गरेको हुन्छ। मृत्यु भनेको पूर्वनियोजित हुँदैन र कसैको घरमा म़त्यु आइलागे परिवारसित सम्पत्ति तयारीमा हुँदैन। त्यस्तै भैपरी आए परिवारलाई ठुलो सङ्कट पर्दछ। यस्तो स्थितिमा गाउँले मिलेर दाह संस्कार र तेह्रदिने कामका निम्ति पैसा उठाएर पार लाइदिने गरिन्छ। अझ गाउँको क्लबले मराउ परेको दिनमा नै सहयोग राशि उठाएर दाह संस्कारका निम्ति रकम जुटाइदिन्छ। त्यसपछि आफ्नो क्लबबाहेक अन्यबाट पनि सराउ उठेर तेह्रदिने काम उतारिन्छ। तेह्र दिनसम्ममा छरछिमेकी, इष्टमित्र, आफन्त, शुभचिन्तक, सहकर्मी आदिबाट सराउ दिएर सहयोग गरिन्छ। यसो हुँदा मराउ परेको घरको परिवारलाई ऋणको बोझ नलागी काम सकिन्छ।
खासमा आफ्नो कमाइको दशाङ्श दान पुण्यादिमा लगाउनुपर्ने हो भन्ने शास्त्रीय मान्यता छ। यसकारण मराउ परेका घरमा, आपत-विपत परेकालाई, भोकाहरूलाई आर्थिक सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो। यसरी मराउ परेको घरलाई आर्थिक रूपमा सहयोग गर्नु पुण्यको काम हो। कालिम्पोङतिर मराउ परेको घरमा पहिले पहिले खाता राखेर एकजना ढुक्कै बसेर नाम र रकम लेख्ने चलन थियो। अहिले यो प्रणाली पनि हटेर पहिलेको भोट हाल्ने ब्यालोट बाकसजस्तो बाकस राखिएको हुन्छ। त्यसको माथि रित्ता खाम र कलम पनि राखिएका हुन्छन्। त्यहाँ आगन्तुक आएर खामभित्र रकम हालेर बाहिर आफ्नो नाम लेखेर त्यस बाकसभित्र छिराइन्छ। कसैले आफ्नो र आफ्नोबाहेक त्यस मराउमा आउन नपाएका अन्यका रकम पनि त्यसभित्र छिराइदिन्छन्। मराउको तेह्रौंको काम सकेपछि बक्सा खोलेर उठेका रकमको गणना हुन्छ। त्यसपछि त्यस मराउ कार्यमा लागेको खर्चको तिरोभारो भएपछि रकम उब्रिन पनि सक्छ।
मराउमा खाने चलन पनि यही सराउसित जोडिएर आएको हुनुपर्छ। पहिले त मराउ परेको घरमा खानैहुँदैन भन्ने थियो। अब त मराउमा खाने चलन बड्यो। अझ हिन्दू पद्धत्तिमा तेह्रदिनव्यापी मराउ कार्य गर्दा प्रशस्त मात्रामा खाने चलन बढेको छ। मराउमा खानु शास्त्रसम्मत छ वा छैन, त्यो आफ्नो ठाउँमा छ तर सामाजिक चलनमा रहेको छ। मराउको घरमा मृतक र मृतकका घरका सम्झेर टाडा टाडादेखि इष्टमित्र, आफन्त आदि आउँछन्, तिनलाई भोकै कसरी पठाउनु भन्ने पीर पर्दछ। मराउ घरमा नभएर अन्यको घरमा अन्यले नै पकाउने व्यवस्था गरेर भए पनि केही खुवाएर पठाउन पाए हुनथ्यो भन्ने मानसिकताले यो खाने चलन बसेको हो। अरूलाई खुवाउन पाए पनि मृतकको आत्मलाई सन्तुष्टि हुन्छ भन्ने मान्यता छ। ‘मराउमा भोजभतेर हुनुहुँदैन’ भन्ने सामाजिक अभियान पनि उठ्ने गर्छन् तर पनि टाडाबाट आएकालाई कसरी भोकै पठाउनु भन्ने हुँदा स्वतः खाने चलन बसेको हो। मराउ परेको घरका सदस्यले भन्दा बढी घर-गाउँलेले खानेकुरा र अन्य बाहिरी व्यवस्था मिलाइदिने हुनाले खाने गरिन्छ। त्यही समाजले सराय दिन्छ, त्यही समाजले खानाको व्यवस्था गरिदिन्छ। मराउको तेह्रौं दिनको अन्त्येष्टिका दिन ठुलो भोज–भतेर लाग्छ। मराउको बिचतिर आउने घर-गाउँले, आफन्त आदिलाई ‘कामको दिन पनि आइदिनु होला’ भनी घरकाले बोलाइन्छ। मलामीले गहुँत खाएर चोखिनलाई पनि आइदिने गर्छन्। कामको बिचमा आउन नपाउनेले पनि आएर सराय दिनपर्छ भन्ने विचारले पनि आउने गर्छन्। त्यो दिन बुफेमा विभिन्न परिकार राखिएका हुन्छन्। अचेल त मोमो तयार हुन्छ। बुफेको सेटका पछि युवतीहरू सजिएर बसेका हुन्छन्। त्यो मराउको तेह्र दिनमा स्वागत द्वार, माछामासु र बाजा बज्नुबाहेक बिहाकै जस्तो खानाको तयारी हुन्छ। यो हाम्रो समाजिक चलन हो, जो आफैं बनेको हो। यो सामाजिक परिवेश, इच्छा र आवश्यकता अनुसार बनिएको हो। मराउमा जाइदिनु, खाइदिनु र सराउ दिनु हाम्रो सामाजिक कर्तव्य बनेको छ।
यो समाजको बडो सकारात्मक सहयोगी भाव र सद्भावको उपज हो। अहिले यस्तो राम्रो चलन बसेको छ। भविष्यमा अझै के कस्तो स्थिति देख्न पाइएला, त्यो भविष्यकै गर्भमा छ। हेर्दै जाउँ…