नयाँ समीक्षकका रूपमा अब नैना अधिकारी

साहित्यमा सिर्जनाको विशेष महत्त्व हुन्छ। सिर्जना नै साहित्यको मूल आधार हो। नवनवोन्मेष कल्पनाद्वारा साहित्य सिर्जना हुन्छ। यही सिर्जनालाई प्रकाश पार्ने, जलप दिने समालोचना हो। साहित्यमा सिर्जना अघि अघि हुन्छ अनि समालोचना चाँहि त्यसको अनुगामी हुन्छ। यद्यपि दुवै एकार्काका पूरक हुन्। एउटाको अनुपस्थितिमा अर्काको पनि अस्तित्व रहँदैन। समालोचनालाई सिर्जना चाहिन्छ, सिर्जनालाई पनि समालोचना चाहिन्छ। कविता, कथा, उपन्यास, नाटक, निबन्ध जस्ता मूलभूत सिर्जनात्मक विधाहरूको नीरक्षीर पारख गर्ने विधा हो समालोचना। यो सिर्जनात्मक साहित्यको अनुवर्ती भए पनि यसले कृतिलाई बोधगम्य एवम् रसास्वादन गराउन सहयोग गर्नका साथै कृति र कृतिकारको मूल्याङ्कन र विश्लेषण गर्दछ। पद्धतिगत आधारमा समालोचनाको वर्गीकरण नीतिवादी, समाजशास्त्रीय, जीवनीपरक, प्रभाववादी, तुलनात्मक, प्रगतिवादी, मनोविश्लेषणवादी, शैलीवैज्ञानिक, भाषाशास्त्रीय, संरचनावादी, रूपवादी, मीथकीय, सङ्केतपरक आदिका रूपमा गरिएको छ। समालोचना कुनै आधार, रीति, ढाँचा, प्रणाली, विधि, प्रक्रिया, तरिका आदिका परिप्रेक्ष्यमा साहित्य अध्ययन गरिने पद्धति हो।

समालोचना शब्दको व्युत्पत्ति र अर्थका आधारमा हेर्दा समालोचनाका विभिन्न स्वरूप भेदोपभेद देखिन्छन्। सामान्य रूपमा समालोचना, आलोचना र समीक्षा शब्दको प्रयोग भएको पाइन्छ। यद्यपि यी तीनवटा शब्दका अर्थ र सीमा रहेका हुन्छन्। आलोचना, समालोचना, समीक्षा, विवेचना, चर्चा, परिचर्चा, अनुशालन, परिशीलन, दृष्टि, परख, अवलोकन आदि शब्दका आ-आफ्ना अर्थका परिसीमा भए तापनि समग्रमा समालोचनाकै पर्यायवाची शब्दका रूपमा प्रचलित छन्। समीक्षा र समालोचना उस्तै लागे पनि केही तात्विक अन्तर हुन्छन्। कुनै पुस्तक निरूपण, पाठकीय टिप्पणी आदिलाई पनि समालोचनाकै थान्कोमा राख्नु उचित हुँदैन। सम र आलोचना शब्दको योगबाट हेर्दा नै  समालोचनाको यसको अर्थ सम्यक् हेराइ र गुणदोष दुवैको विवेचना गर्ने कार्य बुझिन्छ। समालोचनाले सर्जक प्रतिभालाई प्रकाशमा ल्याउँछ, त्यसको गुणावगुण जाँच गर्छ। कृतिको रसास्वादनमा यसले ठुलो सहयोग गर्छ। पाठकलाई कृतिको अर्थद्यौतन, कृतिभित्र लुकेका तत्वलाई प्रकाश पार्छ। पाठकलाई कृतिको आस्वादन गराउने क्रममा समालोचनाको स्वरूप र प्रायोगिक फाँटको विस्तार भइरहेको पाइन्छ।

नेपाली समालोचनाको विकासका क्रममा अब नयाँ पुस्ताका समीक्षक समालोचहरूको पदार्पण उल्लेखयोग्य पाइन्छ। यस क्षेत्रमा पुराना समालोचकहरूको क्रमलाई अघि बढाउन नयाँ पुस्ताका समालोचकहरू पनि अघि आएका छन्। पहिले थोरै मात्रामा समालोचक थिए भने अहिले नेपाली भाषा साहित्य लोकप्रिय भएको हुनाले प्राय: सबै ठाउँबाट समालोचक-समीक्षकहरू उदाइरहेका छन्। अब असमकी  युवा पुस्ताकी नैना अधिकारी पनि यस क्षेत्रमा अग्रसर भएकी छन्।

असमको कामरूप मेट्रो जिल्ला, खेत्री गाउँकी नैना अधिकारीले अब नेपाली साहित्यको मानचित्रमा आफ्नो ठाउँ बनाउँदै छन्। नैनाको जन्म २७ सितम्बर, १९८८ मा भएको हो। उनी घरमा मात्र सीमित नरही अब साहित्य संसार पनि चियाउन लागेकी छन्। घरेलु धन्धाका सँगसँगै सिर्जनाले उनलाई घचघच्याएको छ र कलम समाती आफ्नो मनलाई बाहिर फुकाएकी छन्। उनी ‘असम गोर्खा सम्मेलन’ कामरूप जिल्ला ‘महिला प्रकोष्ठ’की साहित्यिक सचिवको रूपमा कार्यरत छन्। उनले कविता, गजल, मुक्तक, निबन्ध, समालोचना, व्यङ्ग्य  र नेपालीबाट हिन्दी अनुवादतिर पनि हात हालेकी छन्। उनका फुटकर रचनाहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित देखिन्छन्। नैना अधिकारीको साहित्यिक गतिविधिलाई अवलोकन गर्दा हालसम्म उनको ‘घात-प्रतिधातका उद्गारहरू’ (कविता सङ्ग्रह, २०२१) प्रकाशित भएको छ। कविता, निबन्ध प्रतियोगितातिर उनले केही पुरस्कार पनि पाएकी छन्।

अब नैनाको समालोचनात्मक लेखसङ्ग्रह ‘साहित्य सिर्जनाका बान्कीहरू’ ( २०२३) पनि हुनलागेको छ। यस समालोचनाका बान्कीहरूमा जम्मा बाह्रवटा समीक्षात्मक लेखहरू समावेश छन्। ती हुन्- शान्ति र समन्वयको चाहनामा ‘शब्द बटुल्दै’ हिँडेका कवि हरि गजुरेल, डम्बर दाहालको ‘अतीतका पाइलाहरू’ : विहङ्गम दृष्टि, रचना ‘अनाकार’का शीतका थोपाको चमक र आगोका झिल्काको उज्यालो पहिल्याउँदै , रुद्र बरालको ‘कागजको नाउ’ : कला र विचारको सन्तुलित निदर्शन, नारी विमर्शको दस्तावेजीकरण : म देह रातो रङ्गिन्छु’, ‘डिल्लीराम खनालको ‘आरोह अवरोह’ भित्रको गाउँले जीवन’, ‘निलीमा आचार्यको ‘रजत’ अवलोकन गर्दा’, ‘प्रदीप शर्माका ‘आक्रोशका झिल्काहरू’को चमकमा अल्मलिँदा’, ‘हर्कबहादुर लामगादे ‘रोहित’का ‘रेडियोरिता’का कथाहरूमा घोत्लिँदा’, ‘पूजा आचार्यको ‘अनुहारभित्रको अनुहार’ निहाल्दा’, ‘प्रकाश कुइँकेलको ‘हुङ्कार’भित्र चर्किएको स्वर’, ‘कोरोना काल र त्यसपछिको असमको नेपाली साहित्य’।

माथिको सूची हेर्दा नैनाभित्र कृति पढ्ने, कृतिभित्र परख गर्ने, त्यसलाई केलाउने हुटहुटी छ। नयाँ युगअनुसारको चेतना छ। यहाँ समीक्षित प्राय: कृतिहरू यो कोरोनाकालको लकडाउनको अवस्थापछि प्रकाशित नयाँ चेतनाका पुस्तक हुन्। यी कृतिहरू पढेर यिनका बारेमा घोत्लिएर समीक्षा लेखिनु आफैं नै एउटा उपलब्धि हो। नेपाली साहित्यका निम्ति केही गर्छु भन्ने भावनाले डोहोरिएकी नैनालाई अब समीक्षकका रूपमा पनि परिचय दिन पाइएको छ।

प्रस्तुत समीक्षा पुस्तक हेर्दा यसमा तीनवटा कुरा परिलक्षित हुन्छन्- १. प्रतिभा परिचय गराउने इच्छा, २. कृति पढेर त्यसलाई आफ्नो तवरले समीक्षा गर्ने, केलाउने, कृति र कृतिकार दुवैको मूल्याङ्कन गर्ने ३. असममा समालोचकहरूको कमीलाई केही मात्रामा भए पनि पूर्ति गर्ने हुट्हुटी। यसमा हरि गजुरेल, डम्बर दाहाल, रचना अनाकार, रुद्र बराल, पवित्रा लामा, डिल्लीराम खनाल, निलीमा आचार्य, प्रदीप शर्मा, हर्कबहादुर लामगादे, पूजा आचार्य, प्रकाश कुइँकेल गरी जम्मा एघार जना सर्जकहरूको कृतिगत मूल्याङ्कन गरिएको छ। यसमा अधिकांश नारी सर्जकहरूमाथि समीक्षा गरिएको छ। यसमा कविता विधामाथि उनको रुचि बढी देखिन्छ। यस कृतिमा नीलिमा आचार्यको ‘रजत’ उपन्यासको चर्चा गरिएको छ भने दुइटा गजल र एउटा कथाको पुस्तकको समीक्षा पाइन्छ। समीक्षा गर्दा उनले भाव पक्षलाई बढी प्रकाश पारेकी छन्, शिल्प पक्षको पनि केही प्रकाश पारिएको छ। हर्कबहादुर लामगादे, निलीमा आचार्य, पूजा आचार्य, प्रकाश कुइँकेल, प्रदीप शर्मा आदिजस्ता सर्जकहरूका कृतिहरू उस्तो गरी समीक्षित भएका छैनन्, तिनका बारेमा नैनाले कलम कोरेकी छन्। यो सराहनीय कार्य भएको छ।

नैनाले असमका दिवङ्गत कवि हरि गजुरेलको ‘शब्द बटुल्दै’ कविता सङ्ग्रहको वस्तुगत समीक्षा गरेकी छन्। उनका अनुसार ‘गजुरेलका कवितामा सत्यता, क्रान्तिदर्शिता र आशावादका अभिव्यक्तिहरू छन्। कवि गजुरेल सत्यका पूजारी हुनका साथसाथै क्रान्तिदर्शी द्रष्टा र स्रष्टा हुन्।… उनका कवितामा भरपूर आशावादी भावना छ’। डम्बर दाहाललाई कविका रूपमा चिनाउँदै  दाहालको ‘अतीतका पाइलाहरू’ कविता सङ्ग्रहको समीक्षा गर्दै नैनाले उनको कवितामा पाइने नैतिकता, जातीय स्वाभिमान, धार्मिक एकत्वको भाव, विश्व शान्तिको कामना आदिजस्ता भावपक्ष र कलापक्षतिर प्रतीक, बिम्ब र मिथकको उल्लेख गरेकी छन्। यसमा कवि दाहालको कृतित्त्वको समग्रमा मूल्याङ्कन गरेकी छन्। अर्को लेखमा रुद्र बरालको ‘कागजको नाउ’ कविता सङग्रहको स्वर सन्धान गर्ने प्रयत्न गरेकी छन्। उनका अनुसार बरालले कवितामा निम्न वर्गको उत्थान, नारी अस्मिता र अधिकारको आवाज उठाएका छन्। आधुनिकताको नाउँमा अन्धा भएकाहरूप्रति व्यङ्ग्य कसेका छन्। उनका कवितामा पर्यावरण चेत छ, विज्ञान मानसिकता छ, रुढीवादको विरोध छ, समसामयिक समाज, देश र विश्वका जल्दाबल्दा र चर्चित समस्या, विश्व इतिहासको झलक, धार्मिक विषयहरूको उल्लेख छ। उनले भ्रष्ट राजनीति र नेतालाई शब्दको दह्रो झटारो हानेका छन्, मजदुरवर्गको वेदना स्पष्ट रूपले झल्काएका छन्। कवि कहिले देशप्रमी बनेका छन्, कहिले कविताद्वारा व्यक्ति जीवनका अनुभव व्यक्त गरेका छन्। कविताको भावपक्षका साथै कलापक्षामा पनि बिम्बविधानबारे सामान्य चर्चा गर्दै भाषिक पक्षबारे पनि संक्षिप्तमा भए पनि समीक्षा गरेकी छन्। उनले बराललाई एक सशक्त कविका रूपमा उभ्याएकी छन्।

अर्को लेख डिल्लीराम खनालको ‘आरोह अवरोह’ भित्रको गाउँले जीवन’मा पनि शोणितपुर असमका डिल्लीराम खनालका कविताहरूमा गाउँ र गाउँले जीवन कसरी अभिव्यक्त भएको छ भन्ने कुराको खोजी गरेकी छन्। उनका अनुसार ‘प्रवृत्तिगत दृष्टिकोणले हेर्दा खनालका कवितामा निमुखाहरूप्रति सहृदयी भावना भएको पाइन्छ भने नारीहरूप्रति सम्मानको भावना छ। उनले आफ्ना कविताद्वारा अवहेलित र उपेक्षितहरूलाई एकजुट भएर अघि बढ्ने सन्देश दिएका छ्न्। उनमा भाषा तथा देश बचाउने प्रखर चाहना छ। उनका कविताहरूमा कतै प्रेमिल भावना छ त कतै बिछोडको वेदना। कतै निराशा छ भने कतै आशा। कतै यथार्थ छ भने कतै यही यथार्थमा प्वाँख लगाएर कल्पनामा उडेका छन्।’

पूजा आचार्यको ‘अनुहारभित्रको अनुहार निहाल्दा’ कवितासङ्ग्रहको पनि मूल्याङ्कन गर्दै त्यसका भावपक्ष र कलापक्षबारे अध्ययन गरेकी छन्। नैनाका अनुसार पूजा आचार्यको कविता सङ्ग्रह ‘अनुहारभित्रको अनुहार’मा केही भिन्न र प्राय: चर्चामा नआउने विषयका कविताहरूले स्थान पाएका छन्। पूजाले आफ्ना कविताहरूमा विशेषगरी समाजका उपेक्षित वर्ग एवम् लोकदृष्टिबाट ओझेल परेका व्यक्ति, विषय र घटनाहरूलाई स्थान दिएकी छन् र यी समस्याहरूको निराकरणको  आवाज बुलन्द गरेकी छन्। उनले बृद्ध, विधवा, तेस्रोलिङ्गी, महिलाको बाँझोपनको समस्या, सैनिक पत्नीको व्यथा, बाल श्रमिकको पीडा, गृहहीन बालकको समस्या, जातीय चिह्नारीको प्रश्न, पर्यावरण समस्यादेखि प्रेम-प्रणयका विषयसम्मलाई बटुलेर अति कलात्मक ढाँचाले कवितामा उतारेकी छन्। यी कविताहरू पढ्दा उनको कविता लेख्ने उदेश्य समाजलाई ऐना देखाउनु र उपेक्षितवर्गको उत्थानको लागि परिवेश निर्माण गर्नु हो। नैनाले अर्को लेख ‘प्रदीप शर्माको ‘आक्रोशका झिल्काहरू’को चमकमा अल्मलिँदा’ मा प्रदीप शर्मालाई एक कुशल गजलकारका रूपमा उभ्याएकी छन्। यसमा गजल विधाको सामान्य परिचय पनि प्रस्तुत गरिएको छ। नैनाका अनुसार शर्माका गजलहरू विषेशगरी आमाबाबुप्रतिको श्रद्धा, जातीय अस्मिता, कुसंस्कारको विरोध, बलात्कारको विरोध, रुढीबादको विरोध, पर्यावरण चेतना, खोक्रो राजनीतिप्रति आक्रोश, गरिबको पीडा, सामाजिक भेदभाव तथा विसङ्गति, देशप्रेम, प्रेम, कोरोनाकालको पीडा इत्यादि भावमा लेखिएको  पाइन्छ।

अर्को समीक्षा  ‘अनाकार’का शीतका थोपाको चमक र आगोका झिल्काको उज्यालो पहिल्याउँदै’ मा पनि खरसाङकी रचना अनाकारको कवित्वमाथि प्रकाश पार्दै नारी चेतना, विद्रोह चेतना आदि जस्ता प्रवृतिको उल्लेख गरेकी छन्। अन्य लेखहरू हुन्- ‘नारी विमर्शको दस्तावेजीकरण : म देह रातो रङ्गिन्छु’, ‘निलीमा आचार्यको ‘रजत’ अवलोकन गर्दा’, ‘हर्कबहादुर लामगादे ‘रोहित’का ‘रेडियोरिता’का कथाहरूमा घोत्लिँदा’, ‘प्रकाश कुइँकेलको ‘हुङ्कार’भित्र चर्किएको स्वर’, ‘कोरोना काल र त्यसपछिको असमको नेपाली साहित्य’। यी प्रत्येक लेखमा सर्जकहरूको लेखनगत प्रवृत्ति र स्वरको खोजी गरेकी छन्। रजत उपन्यासको समीक्षा गर्ने कर्ममा यसमा रहेका विषय, कथानकको उल्लेख गरेकी छन्। अरू काव्यकृतिमाथि पनि यसरी नै स्वर केलाएकी छन्। हर्कबहादुर लामगादेको रेडियोरिता कथासङ्ग्रहको पनि सामान्य रूपमा कथागत प्रवृत्ति, कथाकारिता र कथाकौशलको चर्चा गरेकी छन्। कोरोनाकालको असमेली नेपाली साहित्य एक खोजपूर्ण तथ्यात्मक लेख हो।  यस लेखले असमेली साहित्येतिहासमा काम गर्ने अध्येतालाई उपयोगी हुन्छ।

नैनाको समीक्षामा कृतिको भावपरक अन्वेषण गरिएको हुन्छ। कृतिको सन्दर्भ, प्रवृत्ति, भाव, अर्थ र सन्देशलाई केलाउने प्रयास गरिएको छ। उनले कृतिको संरचना, शैली र बनोट पक्षलाई कमै प्रकाश पारेकी छन्। कृति पढेर त्यसबारे मनमा लागेको भावार्थलाई उतारिएको पाइन्छ। संक्षिप्तमा यति पनि भन्न सकिन्छ- उनी कृतिको अध्ययन गरेर त्यसबाट उब्जेका प्रतिक्रियालाई समालोचनामा प्रयोग गर्छिन्। यसो गरेको देखिनाले उनी मूलतः प्रभाववादी समीक्षक हुन्। उनको भनाइ पनि ‘काव्यकृतिको विषय, विचार, सिद्धान्त, सन्देश आदि भावपक्ष र बिम्ब, प्रतीक, उपमा, मिथक, भाषाशैली आदि कलापक्षको सामान्य विश्लेषण गर्न खोजिएको छ’। उनको कृति पारखी गर्ने क्षमता भरपूर देखिन्छ। यद्यपि नैनाले कृतिको कमजोरी पक्षलाई उति देखाएकै छैनन्। यो उनको लेखकको मूल्याङ्कन ग्रेन हेतूले लेखिएको हुँदा कमजोरी पक्ष नदेखाएकी हुन्। उनले कविताको समीक्षामा बढी रुचि लिएको बुझिन्छ। कविताको समीक्षा गर्नु वास्तवमा कठिन कार्य हो। कविताका वर्णदेखि लिएर भाव, अर्थ, विम्ब, प्रतीक, बनोट, बुनोट, सन्दर्भ, संकथन, आदिबारे सम्यक् चर्चा, रेखाङ्कन, मूल्याङ्कन गर्नु पर्दछ। यद्यि उनको यो पहिलो प्रयास हो। पहिलो प्रयासमा नै यत्तिको गहन अध्ययन समीक्षण र लेखनीको सह्राहना गर्नुपर्दछ।

अब कुरा रह्यो असमका साहित्यकार छाडिन्छन् भन्ने गुनासो-

असमेली नेपाली साहित्य निकै फस्टाएको, झ्याँगिएको र विस्तीर्ण भएको छ। यहाँको नेपाली साहित्य आफ्नै भौगोलिक, सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक परिवेशअनुरूप फैलिएको छ। इतिहासको खोजी गर्नुपरे यहाँबाट नेपाली साहित्य लेख्न थालिएको सय वर्ष नाघिसकेको हुनुपर्छ। तुलाचन आले, धनवीर भण्डारी, मणिसिंह गुरूङ, रामप्रसाद ज्ञवाली, टङ्कनाथ उपाध्याय, हरिनारायण विद्याभूषण, पद्मप्रसाद  ढुङ्गाना, हरिप्रसाद गोर्खा राई, पुष्पलाल उपाध्याय, हरिभक्त कटुवाल, लीलबहादुर क्षत्रीहरू हुँदै अहिले नयाँ पुस्ताका कवि-लेखहरू साहित्य लेखनमा अग्रणी रहिआएको छन्। यस छोटो भूमिकामा त्यहाँका सयौँ स्रष्टाहरूको नामोल्लेख गर्न सकिन्न। नेपाली साहित्यमा असमको योगदानमा कुनै कमी छैन। त्यहाँका सिर्जनालाई कसैले थोर आँक्ने घृष्टता गर्न सक्दैनन्। कविताको क्षेत्र सबैभन्दा अघि छ भने कथा र नाटक पनि कविताको पछिपछि कुदिरहेका छन्। यी तीनका तुलनामा बरु पूर्वाञ्चलबाट उपन्यास, निबन्ध र समालोचना लेखन भने थोरै नै पाइन्छ। हालसम्म असम र पूर्वोत्तरबाट पुष्पलाल उपाध्याय, लीलबहादुर क्षत्री, विक्रमवीर थापा, गीता उपाध्याय, छविलाल उपाध्याय, के. बी. नेपाली साहित्य अकादमी पुरस्कारबाट सम्मानित भएका छन्। साहित्य अकादमी अनुवाद पुरस्कार त धेरैले हासिल गरिसकेका छन्। यसबाहेक अन्य पुरस्कार पनि असम र पूर्वाञ्चलका साहित्य सर्जकहरूले केही पाएकै छन्। यद्यपि अझै पाउनुपर्ने थियो। अझ अरू छोडिएका छन्। यद्यपि एउटा कुरा के बुझ्न सकिन्न भने असमका जम्मै नेपाली साहित्यकारहरूले असमिया साहित्य पढेका हुन्छन् नै। त्यसका समकक्ष वा पर्यायमा असमेली नेपाली साहित्य पुग्न सकेको छ? यसबारे चिन्तन, अध्ययन र तुलना गर्नुपर्ने देखिन्छ। त्यहाँको नेपाली साहित्यको स्तर अझै उठ्न सक्छ कि भनेर चिन्तन पनि गर्नुपर्ने हुन्छ। यद्यपि यहाँ कालिम्पोङमा बसेर असमको बारेमा यति लेख्नु पनि घृष्टता नै हुन्छ। यसका लागि त्यहीँका समालोचक, अध्येताहरूलाई छोडिदिउँ।

समग्र नेपाली साहित्य इतिहास वा भारतीय नेपाली साहित्यको इतिहासमा असमतिरका धेरै कवि लेखकहरू छोडिन्छन् भन्ने कुरा बेला बेला उठ्ने गर्छन्। चाहे कुनै एउटा विधा विशेषको इतिहासमा असमका मुख्य मुख्य सर्जकहरूको प्रतिनिधित्वको कुरामा, भारतीय पर्यायका पुरस्कार सन्दर्भमा, त्यताका कृतिको समीक्षा गर्ने प्रसङ्गमा असम र पूर्वाञ्चलका साहित्यकारहरू ओझेल पर्ने गरेको पाइन्छ नै। परस्पर सम्पर्क र पुस्तक आदान-प्रदानको अभाव, भौगोलिक दुरत्व आदिको कारणले असमले नेपाली साहित्यिक गतिविधि ओझेल परेका हुन्।

असमेली नेपाली सर्जकहरूले अवश्य नै थोर मात्रामा समीक्षाको आलोक पाएका छन्। असमभूमि ठुलो छ। त्यहाँका गोर्खालीहरू छरिएर बसेका छन्। ठाउँ ठाउँ प्रान्त प्रान्तबाट नेपाली साहित्यकारका कलम चलिरहेको पाइन्छ। धेरैजना ओझेलमा छन्। यसो हुनुको मूलकारण असमतिरबाट समीक्षक/ समालोचकहरूको अभाव हो। त्यहाँका धेरै कवि लेखकहरू मूल्याङ्कन भएका छैनन्। यही अभावलाई केही मात्रामा पूरा गर्न ज्ञानबहादुर छेत्री, डा. खेमराज नेपाल, छविलाल उपाध्याय हुँदै लक्ष्मण अधिकारी, इन्दुप्रभा देवी, रुद्र बराल, टेकनारायण उपाध्याय, घनश्याम तिम्सिना, डा. गोमा देवी शर्मा, कृष्णनील कार्की, हुँदै अब नैना अधिकारी पनि जुर्मुराएकी छन्। उनको हुट्हुटी पनि यही हो। उनीजस्ता अझै अरू समीक्षकहरूको उदय भए त्यहाँका कुनाकुनाका सर्जकका कृतिहरू ओझेल पर्ने छैनन्। यसबाहेक पुस्तकको आदान प्रदान थोरै छ।

दार्जिलिङ सिक्किमका नेपाली साहित्यिक पुस्तक असम पुग्दैनन्, उताका यता आइपुग्दैनन्। अब त साहित्यिक पुस्तकको क्रय संस्कृति पनि हराउन थालेको छ। नेपाली पुस्तक व्यवसाय पनि नोक्सानको खेती बनेको छ। अब फेसबुकका छोटा खालका रचना नै साहित्यिक सामग्री बनेर आएका छन्। किताबका विकल्प बन्न खोजेको छ। अब असम मात्रै होइन चारैतिरका साहित्यकार ओझेलमा पर्दछन्।

नैनाका यी प्रयासका पाइलाहरू अझ प्रगतिमा लागून्। उनी समयक्रममा एक परिपक्व समालोचकका रूपमा अघि बढून्, अध्ययन, विश्लेषण र मननको फाँट अझै बढोस्। उनको पारखशक्ति अझै विस्तार होस्, उनका कलमबाट ओझेलमा परेका कृतिहरू आलोकित बनून्, असमेली नेपाली समालोचनाको अझ विस्तार होस् भन्ने कामना गर्दछु।

Add a Comment

Your email address will not be published. Required fields are marked *