अघोरी बाबाको स्वप्न प्रबचन: प्रमुखमन्त्रीलाई अपदस्थ गरेर गृहमन्त्री कसरी राष्ट्रपति भए ?!

आज पत्रकार अघोरी बाबालाई भेट्न बिहान झिसमिसे अँध्यारोमा नै बाबाको कुटीमा पुगेको थियो । बाबा निद्रामा नै खै के के बर्बराइरहेका थिए । पत्रकारले बाबाको तन्द्रा बिथोल्ने आँट त गरेन तर कुटीको पिंडीमा नै बसेर बाबाको बर्बराहट सुन्दै टिपोट गर्न थाल्यो ।

बाबा तन्द्रामा नै यसरी पो धाराप्रबाह भए-
सपना बाँड्न पाइन्छ । आनन्द आउँछ । शब्दहरुमा नृत्य गर्न सकिन्छ कला चाहिन्छ । अमूर्तबाट मूर्त हुने कि मूर्तताबाट अमूर्ततातर्फ
जाने ? लक्ष्य र प्राथमिकताका आधारमा यसको गति र आयाय निर्भर गर्दछ ।

बाल्मीकिले हनुमान जस्तो मिथकीय व्यक्तित्व जन्मायो । किन्तु त्यत्रो शक्ति रामको पोषक भएर एकै ठाउँ केन्द्रित भयो । झिल्का संदर्भहरु त्यति आलोकित हुन पाएनन् । कोट्याउनै पर्छ । सपना र कल्पनाको कुनै न कुनै संम्बन्ध होला, त्यो अध्ययनको अर्को पक्ष हो । विसे नगर्ची पृथ्वीनारायण शाहका लागि रामको हनुमान जस्तै त होइन किन्तु ऊर्जा केन्द्र थियो एक समयका लागि र एक उद्देश्यका लागि । आजका भाषामा ‘नाइन इन वान’ थियो एक्लै नवरत्न । आफ्नै ढंगले बुझ्न सकिन्छ ।

जब देशको प्रमुख मन्त्री चीनको भ्रमणमा जाने भो, चर्चा चलेको वेलादेखि नै गुनगुन, एकान्त संवाद, रहस्यमय चलपल, असायान्य व्यवहार देखिन थाल्यो – हो न हो नव वर बधुको प्रथम दिनको छटपटिहोस्, प्रतीक्षाका क्षणको । त्यो क्षण आओस र गैहालोस भन्ने पनि होला । फेरि त धेरै कुरा सहज र सुचारु हुन थाल्छन् ।

हो अब आँधी पनि आउँछ, भूकम्प पनि जान्छ, फेरि शान्ति छाउँछ । किन्तु शमशान शान्ति या ग्रहशान्ती यो चाहिं भन्न सकिने स्थिति रहेन । तर यति अवश्य हो– गलत सोचको गलत निर्णयको, गलत पात्रप्रति सद्भाव र गलत सत्वबाट सहयोग र गलत पात्रसँग गरिएको विश्वासले गलत परिणाम दिन्छ भन्नु लोक विश्वास हो र पुरानो धारणा पनि ।

तर लोक विश्वास र पुरानो धारणा कम्युनिष्टिक सोसाइटीमा पनि जीवित हुँदोरहेछ र त्यसले आफ्नो खुवी देखाउँदो रहेछ भन्ने प्रमाण जब हाम्रो प्रमुख मन्त्री चीनको भ्रमणमा गयो, वस यता राजनीतिमा अर्को अध्यायय सुरु भयो । यद्यपि विरालोले बाटो काटेको थिएन, हाच्छिऊँ पनि आएको थिएन, न कुनै जुत्ता पल्टेको थियो न त रित्तो गाग्री नै देखापरेको थियो । न फेरि दोलखा भीमसेनमा पसिना आएको थियो । न हाब्रे करायो न काग ? फेरि यस्तो अनर्थ भयो कसरी ?

छापामार युद्धका कमान्डरले सत्ता कब्जा गरेछ । युद्ध स्थगन गरेपछि संझौतामा हात–हतियार बुझाए केही,केही आफूसँग राखेका थिए । उही छापामार शैली अँगालेर सत्ताको बाग्डोर समायो युद्ध कमान्डरले।

भ्रमणकै क्रममा प्रमुख मन्त्रीले यो जानकारी पायो । तर मुलुकको स्थिति कस्तो छ, बुझ्ने माध्यम थिएन । केवल चिनियाँ राजदूतावास मार्फत केही जानकारी मिल्थ्यो । मिडियाको सुविधा त्यहाँ पनि सुलभ र सर्वत्र थिएन । छानेर सोचेर सेन्सर गरेर प्रमुख मन्त्रीलाई घटना र स्थितिको जानकारी दिइन्थ्यो ।

घटना यति चाँडो घट्न थाले हो न हो छापामार शैलीको तत्परता र गतिविधि चिन्तनभन्दा तेज गतिले चल्न थालेको हो ।

अर्को दिन राति गृहमन्त्री राजगद्दीमा बस्यो । आफ्ना छापामार जँगली सेना र शसस्त्र प्रहरी शक्ति परिचालन गरेर उसले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री र साँसदहरुलाई रानीपोखरीमा राखेर घेराबन्दी गरायो । रानीपोखरी जीर्णोद्धारका निमित्त जलविहिन जस्तै गराइएको थियो, त्यही लगेर खाँद्यो र निगरानीमा घेर्यो ।

जनताले ठान्यो मगर राष्ट्राध्यक्ष भएछ । राजा नै थियो पहिले पनि । राजकीय वंश कै हो । सुशासन चलाउने क्षमता त छ । राम्रो गरोस् । पाडो पाए पनि पाडी पाए पनि विगौती खानेलाई फरक पर्दैन । जनताले चित्त बुझायो । किनभने गृहमन्त्री हुँदा उसले देखाएको दृढता र क्षमतालाई जनताले अनुमोदन गरेका थिए अनि भनेका थिए मगर राजकुलको सदस्य भएको हुनाले, उसले चाहे जे पनि गर्न सक्छ, तर राम्रो गरोस् ।

अर्को छिमेकी मौन थियो किन्तु मन मन गुन्थ्यो, मैले तालिम दिएको मान्छे नेपालको तेस्रो राष्ट्रपति भएछ । छापामार युद्धको नेता सही निस्केछ । मैले चाहेकै यही थियो ।

समग्र मिमाँसा थियो एमाले र माओवादी मिल्नै नहुने । गोत्र एउटा भए पनि थर फरक,जीवनशैली फरक,यात्रा फरक र बिसौनी फरक दुवैको अनि लक्ष्य पनि फरक । मेल हुन्थ्यो कसरी ?

‘दोष छापामारको होइन दोष एमाले कै हो । पहिलो – विश्वास गर्यो । दोस्रो दुधले नुहाइदियो अपराध मोचन गराइदियो । सत्ता साझेदारीमा मौका दियो । अन्तरराष्ट्रिय कोर्टमा पुग्नबाट जोगाउन मदत् गर्यो । आफन्तलाई पद र पूँजी दुवै दियो ।

र यो पनि निश्चित थियो उसको महत्ताकाँक्षालाई कुनै पनि हिसाबले विराम दिनु संभव थिएन । आफू प्रमुख मन्त्री नभए पनि उभिएकै ठाउँमा बसेर आफ्नो र आफ्नाको पक्षमा काम गराउन सक्ने क्षमता ऊ राख्तथ्यो । फाइदा पनि यसैमा थियो । आइपरेको दोष प्रमुख मन्त्रीकै टाउकोमा पर्थ्यो । त्यसैले जब प्रमुख मन्त्री विदेश भ्रमणमा गयो असल मौका हेरेर उसले सत्ता हातमा लियो । सल्लाह गरेर र केही दिन पर्खेर लिए पनि हुने थियो किन्तु ऊ यति चाँडो हतारियो कि छ दिन धैर्य गर्न पनि सकेन । उसले पनि प्रमुख मन्त्री हुनै पर्थ्यो वा.. !! लुटेको चल अचल संपत्ति पचाउने सोचले चाल चलेको पनि हुनसक्छ ।

चीनमा पनि वान टु वान संवाद चल्यो, जुन ईन्डियाले सिकाएको थियो । चीनले प्रस्ताव राख्यो ‘ईन्डियाले तेरो देशमा सेना मार्च गराउन आँटेको छ तँ भन्छस भने म त्यही रोकिदिन्छु । म क्यै गर्दिन, दुई लेयर सेना राखिदिन्छु अहिलेको सीमानामा । त्यसपछि कालापानी र लिपुलेक पनि एकै दिनमा निर्जन गराइदिन्छु । तेरो विशाल नेपालको भू–भागमा वृटिश अमेरिकाले सेफ लेन्डिंग खोजेको छ नि, त्यो वृटिशले लिएको तेरै भूभाग हो, जो अहिले ईन्डियासँग छ, म त्यही सेना राखिदिन्छु । तेरो भूभाग पनि बढ्छ, ईन्डियाको स्वरुप पनि फेरिन्छ ।’

मगर राजवंशको सदस्य, जो छापामार युद्धको बाटो हिंडेर गृहमन्त्री बन्न पुगेको थियो, र स्वयं राष्ट्रपति भएर अरुलाई रानीपोखरीको गहिरो खाडलमा घेराबन्दी गरेर उसले राखेको थियो उसले नै चीनको भ्रमणमा गएका प्रमुख मन्त्रीलाई नडराई आफ्नो देशमा फर्कन आग्रह गर्यो ।

उताबाट प्रमुख मन्त्रीले भन्यो-त्यसो भए म देशको,तिम्रो र जनताको र मेरोसमेत सुरक्षा टोलीकासाथ फर्कन्छु । मलाई पदको लालसा छैन । तिम्रा योजना राष्ट्र र जनताको हितमा नै छन् भन्ने मैले थाहा पाएँ । म फर्कन्छु ।

‘आउ, स्वागत छ ।’

प्रमुखमन्त्री चीनबाट फर्किए । दक्षिण तथा पूर्व र पश्चिम सीमानामा दुई लेयर सेना उभिए । हेर्दा सबै नेपाली गोर्खा अनुहारका थिए र अर्काले सुन्दा नेपाली मै संवाद पनि गर्थे ।

घोषणा भो,रेडियो र टेलिभिजनबाट- देशमा राष्ट्रपति शासन लागू गरिएको छ ।

राजनीतिक आधारबाट मुलुकको सबै एकाइहरु पहिले झैं गाउँ, जिल्ला, अञ्चल र क्षेत्रमा विभाजित हुनेछन् ।

राजाको ठाउँ – राष्ट्रपतिले लिनेछ र आइन्दा राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने छ ।

दलित र जनजाति जस्ता अपमान जनक शब्दावली र पहिचान दिएरै चिनिने या त्यसबाट मुक्त भएर चिनिने त्यो व्यक्ति वा समुदायको निर्णयअनुसार कायम हुनेछ ।

सबै क्षेत्रमा योग्यताको कदर हुनेछ ।

पछि परेको व्यक्ति, समुदाय र भूगोललाई विशेष प्राथमिकता साथ मौका दिने, र प्रोत्साहन गरिनेछ ।

कानून, सुरक्षा, प्रशासन तथा शिक्षा र स्वास्थ्यलाई राज्यव्दारा अत्यधिक महत्वकासाथ लिइनेछ ।

नारी कर्मचारीको हकमा थप २५ प्रतिशत वेतनमान कायम हुनेछ, जुन यातायात सुविधा शीर्षकबाट एकत्र उपलब्ध गराईनेछ ।

न्यायलय सेना, प्रहरी, कर्मचारीगण आदि राष्ट्र सेवकहरू यथावत क्रियाशिल रहनेछन् ।

नवरत्नमा ९ र विज्ञ परिषदमा ९९ जना सदस्य रहनेछन् ।

संवैधानिक निकायका माननीय सदस्यहरु जो रानीपोखरीमा नजरबन्द गरिनु भएकोछ उहाँहरुलाई पदमुक्त गरिएको छ र थप एक महिनाको वेतन र एक महिनाको घरभाडा दिइने छ ।

घोषणाको सारांश यस्तै थियो तर यस घोषणाका बारेमा प्रतिपक्षले कुनै टिप्पणी गरेन ।

मुलुकले ठान्यो- कलह साम्य भो । अब मुलुकले अनुहार फेर्ने भो ।

पत्रकार संसद भन्थ्यो – छापामारहरुको एमाले प्रवेश अथवा युद्धमार्गीहरुलाई चोख्याउने एमालेको सह्रदयता नै यस परिणामको कारक हो ।

यध्यपी संघियताको ऐंठनबाट नागरिक मुक्त भएका छन् ।

‘धार्मिक र जातीय द्वन्द्वबाट मुलुक जोगिने भो ।’

‘सिमानामा सेना उभ्याउनु एउटा ऐतिहासिक घटना हो ।’

‘नेताहरुको विदेश भ्रमण टुंगिने छाँट छ ।’

‘ईन्डियाले असल मित्र गु्माएकै हो ।’

‘बजेट निकासा गराई राख्न यी दलालहरु हौवा फैलाएर ईन्डियालाई कातर बनाउँछन र थैली भर्दै रहन्छन् । वास्तवमा ईन्डियनहरु नै आफ्नो देशका नेता र प्रशासकलाई गलत ढंगले कान भरेर थैली तान्ने गर्दछन । सायद अब सुधार आउला कि ।’

बाबा अलक निरन्जन भन्दै तन्द्राबाट अांग तन्काउँदै उठे । बाबा नित्य कर्मतर्फ बढ़े । पत्रकार आफ्नो कार्यालयको बाटो लाग्यो ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *