(पुस्तक समीक्षा) मेरो पत्रकारिता : शीर्षक एक मन्थन अनेक

(प्राडा तीर्थप्रसाद मिश्र)

स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि पुरुषोत्तम दाहाल परिचित नाम हो, एक कुशल प्राध्यापक, प्रखर वक्ता, आत्मसम्मानका हिमायती, निर्भीक पत्रकार, प्रजातान्त्रिक विचारका सम्बाहक र साहित्यसाधक । यस्तै–यस्तै अनेकौँ प्रतिभासम्पन्न, व्यक्ति एक विशेषता अनेक भएका व्यक्तित्व हुन्, पुरुषोत्तम दाहाल । पत्रकारिता, राजनीति तथा शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान बनाएका दाहालको कृति मेरो पत्रकारिता (चार दशकको राजनीतिक उतारचढावको जानकारी र सूक्ष्म विश्लेषणसहित)लाई ऐतिहासिक दृष्टिकोणले मन्थन गर्दै जाँदा यो आलेख तयार हुन गयो ।
विसं २०७३ मा पहिलोपटक प्रकाशित र विसं २०७५ मा दोस्रो संस्करण आएको मेरो पत्रकारिता सबैखाले पाठकले रुचाएको ग्रन्थ हो । यो पुस्तक २०३५ देखि २०७५ सालसम्मको नेपालको राजनीतिक ऐना हो, इतिहास हो र सबैभन्दा बढी लेखककै आत्मवृतान्त हो । जम्मा १६ खण्डमा विभाजित यस पुस्तकमा नेपाली टाइम्सबाट सुरु भएको पत्रिकासँगको नाता र च्यानल नेपाल टेलिभिजनसम्मको पत्रकारिता यात्राका विविध पक्षमा चियोचर्चो गरिएको छ ।

निम्नमध्यम वर्गीय ब्राह्मण परिवारमा २०१५ साल मार्ग १३ गते ओखलढुङ्गाको बिगुटारमा जन्मेका लेखकले गाउँकै भाषापाठशालामा खरिढुङ्गाले सिलोटमा लेखेर र बाँसको कलमले कापीमा लेखेर साउँअक्षर चिनेका लेखेका थिए । उनी १२ वर्षको कलिलो उमेरमा पढ्न काठमाडौँ छिरेका थिए ।
सोचेजस्तो कहाँ भयो र ? न टेक्ने न समाउने हुँदा यी ब्राह्मणपुत्रले हन्डर खानसम्म खाए, रेस्टुरेन्टमा काम गर्ने र बालुवा बोक्नेसम्मका कार्य गर्नु प¥यो । यी सबै कार्य उनको अर्जुनदृष्टिका लागि थिए । पशुपतिनाथ रुद्रीपाठ गर्ने र हुनेखाने परिवारका केटाकेटी घरमा पढाउने गरेर पनि गुजारा चलाए । विसं २०२७ देखि जेठदेखि २०३१ जेठसम्म चार वर्ष उनले जीवनयापनका लागि ठुलै सङ्घर्ष गर्नुपरेको थियो । यसबाट उनले दुःखकष्टसँग जुध्ने सामथ्र्य बटुले, पुस्तकले यही भन्छ ।

विसं २०३० सालमा रानीपोखरी तीनधारा पाठशालामा भर्ना भएपछि केही सहज भएको अनुभव लेखकलाई भएको छ । विसं १९४२ मा श्री ३ वीरशमशेरले निःशुल्क खाने बस्ने व्यवस्थासहित संस्कृत अध्ययनका लागि खोलेको यस पाठशालाको नेपालको शैक्षिक इतिहासमा आफ्नै पहिचान कायम गरेको छ । यसै पाठशालामा अध्ययन गरेका विद्यार्थी कालान्तरमा ठूला विद्वान्, अन्वेषक, कूटनीतिज्ञ र राजनेता हुन पुगेका छन् । माधव घिमिरे, लेखनाथ पौडेल, वासुदेव त्रिपाठी, जयराज आचार्य, नरहरि आचार्य, प्रेमनाथ अर्याल, चिरञ्जीवी वाग्ले, सिद्धराज ओझा, राजेश्वर देवकोटा, कमलराज रेग्मी, केशव भट्टराई, थानेश्वर तिमल्सिना, दिवाकर आचार्य जस्ता मूर्धन्य व्यक्तित्व यसै पाठशालाबाट दीक्षित भएका थिए । खानेबस्ने समस्या हल भएपछि भाषासम्पादन र पाण्डुलिपि साफी गर्ने कामबाट प्राप्त भएको आम्दानीबाट अन्य खर्च टार्दै गए । यस कार्यलाई निरन्तरता दिँदै जाँदा उनी लेखक एवम् स्थापित पत्रकार हुन पुगे । पत्रकार हुने न उद्देश्य थियो, न चाहना नै थियो तर समयको प्रवाहले उनलाई त्यतै पु¥यायो ।

विसं २०३५ सालमा नेपाली टाइम्समा जोडिएपछि पत्रकारिताको रस भिज्दै गयो र राष्ट्रपुकार, नेपालवाणी, नेपाली टाइम्स, राजधानी जस्ता छापामा संलग्न हुन पुगे । रेडियो नेपालद्वारा प्रसारित घटना र विचार कार्यक्रमको प्रस्तुतिले पुरुषोत्तमलाई पुरुषकै उत्तम बनाउन सफल भयो । यसैगरी राससको अध्यक्ष र सञ्चार सल्लाहकार भए । यी र यस्ता अन्य राजनीतिक पदमा नियुक्ति पाउनु संयोगभन्दा बढी उनकै क्षमता र योग्यता कै कारण भएको तथ्य प्रमाणित हुन्छ ।

काम गर्दै पढ्दै गर्ने क्रममा लेखकले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण भएपछि आफैले पढेको संस्थामा अस्थायी सहायक प्राध्यपकबाट सेवा प्रारम्भ गरी प्राध्यापक भई सेवानिवृत्त भए । पत्रकारिता उनको आकाशे खेती थियो भने प्राध्यापन जरुवा । प्रारम्भमा वामपन्थी झुकाव भएका लेखकलाई तीनधाराले चारतारे झन्डाको बनायो । उनी नेपाल विद्यार्थी सङ्गठनका सशक्त योद्धा हुन पुगे । साना–ठूला सबै कांग्रेसजनसँग उठबस गर्न पुगे । पत्रकारिताकै सन्दर्भमा उनको विवाह भएको र सङ्घर्षका बीचमा सन्तानसुख प्राप्त भएको प्रसङ्ग पनि रोचक लाग्छ । डेराबाट कपनमा घर निर्माण गर्दाको सन्दर्भ अझै घतलाग्दो छ । जीवनमा अनवरत सङ्घर्ष र सम्झौता गर्दागर्दै विश्वविद्यालयको सेवाबाट निवृत्त भए । तर, पनि क्रियाशील र रचनात्मक कार्यमा खटिइरहने लेखकको स्वभाव सबैका लागि अनुकरणीय नै छ । प्रस्तुत कृतिमा उनको मूल पेसा अध्यापनले कम स्थान पाएको छ भने आंशिक पेसा पत्रकारिताले बढी प्रकाश पाएको छ । मेधावी छात्र हुँदा हुँदै पनि विद्यावारिधि किन गरेनन् भन्ने जिज्ञासा पाठकको मनमा छ । हुन त उक्त अनुसन्धान गर्ने सोच हुँदा हुँदै पनि अन्यत्रको दायित्व निर्वाह गर्नुपर्ने परिस्थितिले गर्दा इच्छा पूरा नभएको तर्क दिएका छन् । उनले चाहेको भए खाने मुखलाई जुँगाले छेक्दैनथ्यो तर यतातर्फ उनको अर्जुनदृष्टि नभएकै हो ।

यो कृति नेपालमा पत्रकारिताको विकासक्रमको इतिहास पनि हो । विसं २०३५ देखि २०७५ बीचका चर्चित पत्रकार, मोफसलबाट प्रकाशित हुने पत्रपत्रिकाको विवरण, छापिएका महत्त्वपूर्ण सामग्री, पत्रपत्रिकाप्रति सरकार, जनसाधारण, राजनीतिज्ञ, व्यापारी तथा सुरक्षा निकायको दृष्टिकोण आदिको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने प्रयास यस कृतिमा भएको छ । यस अवधिमा सरकारी स्वामित्वमा रहेका गोरखापत्रका प्रकाशनका अतिरिक्त राष्ट्रपुकार, नेपाल टाइम्स, नेपालवाणी, नयाँ सन्देश समीक्षा, देशान्तर, विमर्श जस्ता पत्रपत्रिका देखा परे । कतिपय पत्रिका बन्द हुँदै पुनः सञ्चालित हुँदै पनि गरे भने कुनै त केही अङ्क निस्किएपछि सदाका लागि बन्द नै भए । यो अवस्था आउनुमा सरकारको नीति, आर्थिक अभाव, समुचित सामग्री र दक्ष जनशक्तिकै अभाव प्रमुख कारण रहेको देखिन्छ । पत्रपत्रिकामा पनि कहिले सरकारको सदासयता खोज्ने र कहिल्यै उग्र विरोध गर्ने खालका लेखसामग्री देखा परे । केही पत्रपत्रिकाले सरकारको खोइरो खन्ने गरेका पत्रिकाले कालान्तरमा सरकारको मुक्तकण्ठले प्रशंसा गरेको पनि देखियो । पत्रपत्रिकालाई राजनीतिज्ञ र मठाधीशहरूले आफ्नो अनुकूल बनाउन साम, दाम, दण्ड भेदको नीति लिने गरेको सुन्दर चित्रण प्रस्तुत ग्रन्थमा गरिएको छ ।

नेपालमा टेलिभिजन सुरु भएपछि, एफएम सुरु भएपछि र आमसञ्चारमा सरकारको मात्र बाहुल्य नहुँदा यस क्षेत्रमा भएको परिवर्तनको विवेचना यस कृतिमा भएको छ । विसं २०३५ देखि २०७५ सम्म चन्द्रलाल झा, गोकुल पोखरेल, भारतदत्त कोइराला, होमनाथ दाहाल, रमेशनाथ पाण्डे, मदनमणि दीक्षित, गोविन्द वियोगी, निरोध पाण्डे, पदम ठकुराठी, किशोर नेपाल, शैलेश आचार्य, तारा बराल, राजेन्द्रदेव आचार्य, दुर्गानाथ शर्मा, हरिहर विरही जस्ता पत्रकारहरूको योगदानको चर्चा हुनु कृतिको एक महत्त्वपूर्ण विशेषता हो । भजन मण्डलीका सदस्य, विकाउ पिपलपाते र स्वाभिमानी जस्ता पत्रकारहरूको वर्गीकरण गरी उनीहरूको मूल्याङ्कन गर्ने प्रयाससमेत भएको छ । खोजपूर्ण समाचार लेखेबापत पत्रकारहरूले राजनीतिज्ञ, व्यापारी एवम् दरबारबाट सास्ती खानुपरेको, कुटाइ खाएको जस्ता घटनाको उल्लेख र पदम ठकुराठीको हत्या गर्ने प्रयास भएको घटना तथा केडिया, खेतान, टाइगर टप्सका विदेशी मालिकले पत्रकारहरूलाई गर्ने व्यवहारको खरो चित्रणबाट तत्कालीन पत्रकारको हैसियत उजागर भएको छ । लेटरप्रेसबाट सुरु भएको पत्रकारितामा कम्प्युटरको प्रवेशपछि आएको परिवर्तनबाट नेपालमा पत्रकारिताको इतिहास बुझ्न सरल भएको छ । लेटरप्रसबाट छपाई गर्दा काठमाडौँ लेख्दा ‘म’को ठाउँमा ‘ल’ भएको र गुलाफ लेख्दा ‘फ’ अक्षर झरेर अनर्थ भएको घटना रोचक छ । सूचना प्रविधिमा देखापरेको अभूतपूर्व परिवर्तनले पत्रकारिता क्षेत्रमा प्रभाव पारेको तथा आमसञ्चारका परम्परागत माध्यम पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई इन्टरनेटका माध्यमद्वारा सञ्चालन हुने अनलाइन सञ्चार माध्यमले बितेका कुरा बनाएको छन् । अतः आजभोलि पत्रपत्रिका पसलमा भीड छैन । नयाँ सडकको पिपलबोटको रौनक घटेको छ । सन्देश गृहमा भारतीय पत्रिका किन्नेको भिडभाड देखिँदैन । भूगोलपार्कमा गोरखापत्र टासिँदैन । यसैकारण आज छापाहरू छ्याप्छ्याप्ती छैनन् । पत्रपत्रिका पढ्नेभन्दा नेटमा हेर्नेको सङ्ख्या सयौँ गुणा बढेको छ । आफ्नो अनुचित अर्थोपार्जन र हैसियत देखाउने पत्रकार तथा विदेशी राजदूतावास धाउने पत्रकारहरूको जमातका विषयमा चर्चा त गरेका छन् तर ती को हुन्, कोको थिए ? यस बारेमा पत्ता लगाउने जिम्मा पाठकलाई छाडेका हुन् कि ? 

यो पुस्तक २०३५ सालदेखि २०७५ सालसम्म नेपाल साक्षी भएको राजनीतिक घटनाको दस्तावेज हो । पञ्चायती राजनीति, भूमिगत गिरोह, शरद्चन्द्र शाहको चकचकी, दरबारिया राजनीति र दीलबहादुर लामा, भरत गुरुङ जस्ता घटनाबाट पञ्चायती राजको बेलामा नखुलेका पाटाहरू उद्घाटित भएका छन् । विसं २०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, संविधान निर्माणको सकस, २०४७, २०५१ तथा २०५५ सालका आमनिर्वाचन, ०६२–०६३ को आन्दोलनदेखि नेपालबाट राजतन्त्रको अवसानसम्मका प्रमुख घटना पुस्तकमा वर्णन गरिएका छन् । अतः यो पुस्तक ०३५ देखि ०७५ सम्मको नेपालको राजनीतिक इतिहास नै नभए पनि पूरक इतिहासको स्रोत भने अवश्य हो । विसं २०३६ सालको जनमत सङ्ग्रहमा बहुदल हार्नुको कारण, बिपी कोइरालाले जनमतसङ्ग्रहको परिणामलाई आत्मसात् गर्नुपर्ने परिस्थिति, सत्याग्रहको थालनी र स्थगित गर्नुको कारण, २०४६ सालको परिवर्तन सफल हुनुका सहयोगी कारणहरूको विश्लेषण रोचक छ । हो, यो विश्लेषण सबैलाई चित्त नबुझ्न पनि सक्छ, अरूको चित्त बुझाउनुभन्दा आफ्नै चित्त बुझाउन लेखिएका ग्रन्थहरू यस्तै प्रकृतिका हुन्छन् ।

नेपाली कांग्रेसको राजनीतिको त राम्रै शल्यक्रिया गर्न सफल भएको छ, पुस्तक । कांग्रेसजनमा सत्तामा पुगेपछि अट्ठा लाग्ने रोग, आफ्नो व्यक्तिगत स्वार्थअनुसार पार्टी चलाउने पदाधिकारीहरूको सोच, २०४७ तथा २०५१ को निर्वाचनमा सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पराजित गराउन चालिएको अन्तर्घाती खेल, कांग्रेसमा छत्तिसेको उदय, अन्तरपार्टी कलह र विभाजन, एकीकरण जस्ता ऐतिहासिक घटनाको चिरफार राम्रैसँग भएको छ । नेपाली कांग्रेसका नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासँग उठबसको आधारमा गरिएको उनीहरूको सबल र दुर्बल पक्षको उजागर पनि राम्ररी नै गरिएको छ । नेपाली कांग्रेसका नेताहरू सत्तामा पुगेपछि कृतघ्न भएका, हिजोका गुन लगाउनेलाईसमेत बिर्सेका तथ्यहरू उनले सम्झन पुगेका छन् । डा चेतराज पन्तले शेरबहादुर देउवाउपर गरेको टिप्पणीलाई एउटा उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।

लेखक नेपाल विद्यार्थी संघसँग सम्बन्धित भएकाले उक्त सङ्गठनको स्थापनाकालदेखि २०७५ सालसम्मका विविध आरोह अवरोहको इतिवृत्त पुस्तकमा उल्लेख भएको छ । दुःखकष्ट सहेर नेपाल विद्यार्थी संघलाई जीवन्त बनाउने कयौँ महारथीहरू अहिले ओझेलमा परेको दुखेसो पनि पोखिएको छ । विद्यार्थी सङ्गठनको राजनीतिमा पार्टीका नेताहरूको वर्चस्व, भनस्व र तानस्वको कूटनीति पनि पुस्तकमा पढ्न पाइन्छ । चार दशकमा नेपाली कांग्रेसको कलह, विग्रह, सङ्घर्ष, सम्झौता, अन्तर्घात, ईष्र्या, सम्पत्ति तथा नेतापत्नीहरूको चर्तिकलालगायतका नालीबेली पनि पुस्तकमा पढ्न पाइन्छ ।

विसं २०३५ देखि २०७५ सम्म नेपाली कांग्रेसको ऐतिहासिक रूपरेखाको प्रारूप पाठकले प्रस्तुत पुस्तक पुस्तकमा पाउँछन् । विसं २०३५ सालमा कांग्रेसको स्थिति, २०४२ सालको सत्याग्रहको घटना, २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसको भूमिका, गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको अन्तिम प्रधानमन्त्रीत्व काल, परिवर्तनपश्चात्् नवप्रवेशी कांग्रेसको फुर्तीफार्ती, २०४७ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईमाथि भएको अन्तर्गत, उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई पराजित गराउन गिरिजाप्रसाद कोइरालाको भूमिका, गिरिजाप्रसाद कोइरालाको दम्भ र २०५१ सालको निर्वाचन जस्ता महत्त्वपूर्ण घटनाको साक्षीका रूपमा लेखक उभिएका छन् । नेपाली कांग्रेसमा सिद्धान्तमा मतभेद नहुने तर जुंगाको लडाइँ भएको चित्रण राम्रो छ । विसं २०४६ पश्चात्् पुराना कांग्रेसीजनको समुचित कदर हुन नसकेको, पञ्चायतकालमा जस्तै भूमिगत गिरोह सक्रिय भएको र कांग्रेसमा विभाजन आउनाको कारण र त्यसको परिणामको विवेचना पनि समष्टिगत रूपमा नै आएको छ । विसं २०६२–०६३ को आन्दोलनपश्चात् नेपाली कांग्रेसले लिएको नीतिका कारणले गर्दा काँक्रोमा थाक्रो हाल्दा थाक्रो धनी भएको, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको लालचा देखाएर कांग्रेसलाई शक्तिहीन बनाउन माओवादीले गरेको राजनीतिको रहस्य पुस्तकमा उद्घाटित भएको छ ।

पत्रकार हुँदा उर्मिला श्रेष्ठ जस्ता पञ्च भनाउँदाबाट झेल्नुपरेको विवादको स्मरण गर्दै पञ्चायतकालमा प्रशासक, पञ्च र दरबारको पत्रकारप्रतिको रबैयाको नमुना उदाहरणसहित र पञ्चायतकालमा पनि विष्णुप्रताप शाह जस्ता प्रशासकबाट प्रजातन्त्र समर्थित पत्रकारहरूले ढाडस पाएको घटना पनि उल्लेख गरेका छन् । कुनै समयमा कट्टर कांग्रेसीमा नाम कमाएका र पछि पञ्च हुन पुगेका विपिन कोइराला तथा शिवबहादुर खड्काले प्रजातन्त्रकोण् पक्षपाती राष्ट्रपुकारकै विरोधमा साक्षी बसेको तितो घटना चर्चा गर्नु लेखकीय इमानदारिता हो । भरतमोहन अधिकारीले आफूलाई वामपन्थी बुद्धिजीवी भन्न नरुचाएको र कानुन व्यवसायीका रूपमा परिचय गराएको तथा नन्दकुमार प्रसाईँले घरमा नोकर राखेको प्रसङ्ग पनि लेखकलाई पच्न सकेको छैन । 

नेपाली कांग्रेसका नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, सिके प्रसाईँ, भीमबहादुर तामाङ जस्ता वरिष्ठ कांग्रेसका नेताहरूका सबल र निर्बल पक्ष उजागर गरिएको छ । बिपी कोइराला र कृष्णप्रसाद भट्टराईलाई यथार्थमा नै राजनेताको दर्जा दिइएको छ भने अन्य नेताहरूको कमीकमजोरीको लेखाजोखा राम्ररी नै भएको छ । कांग्रेसका दोस्रो पुस्ताका नेता भनिने गरिएका रामचन्द्र पौडेल, शेरबहादुर देउवा, सुशील कोइरालाजस्ता नेताहरूका कमीकमजोरी समेत देखाउन खोजिएको छ । यथार्थमा भन्ने हो भने कांग्रेसका नेताहरूको गुण र अवगुण दुवै देखाउने प्रयास गरिनु कृतिको सबल पक्ष हो । आफ्नो आलोचना सहन सक्ने क्षमता भएका चिरञ्जीवी वाग्ले जस्ता केही नेता भएको टिप्पणी पनि गरिएको छ । अतः गुण र दोष दुवै देखाउन सक्ने कौशल प्रदर्शन गर्न लेखक सक्षम भएका छन् । विद्यार्थी अवस्थामा जेल पर्दाको अवस्थाको सुन्दर चित्रण गर्नुको साथै जेलमा भेट्न आउने दुर्गा पोखरेल जस्ता नेताप्रति आदरभाव पनि देखाएका छन् । विसं २०३५ सालदेखि नेपाली राजनितिको गतिविधि हेर्दा राजनीतिज्ञका लागि नेपाल उर्वर क्षेत्र भएको तर नेपालका लागि भने राजनीति उपलब्धिशून्य भएको पाठकले मनन गर्नै पर्ने पक्ष पाएका छन्, कृतिमा ।

पत्रकारको नाताले रारा चाउचाउको पक्षमा मनगढन्ते कुरा लेखी वाईवाई चाउचाउको पक्षमा वकालत गरी लेखेको कुराबाट आत्मग्लानि भएको स्वीकार गरेका छन् । आफूबाट गलत कुरा भएको उल्लेख गर्ने साहस कमै पत्रकारमा हुन्छ । आफूले एकपटक मात्र रक्सी सेवन गरेको सत्य उल्लेख गर्दै पत्रकारहरूमा रक्सी कमजोरी भएको देखाएका छन् । रक्सीको कारण धेरै नेता र पत्रकारहरूको बदनाम भएको सन्दर्भमा कृष्णप्रसाद भट्टराईले रक्सी र चुरोट खानै छाडेको तर २०४६ सालपश्चात्् फेरि सुरु गरेको प्रसङ्ग रोचक छ । दाङमा दारु र थारूको राजनीति पाठकले रमाइलो मानेका छन् ।

लेखकलाई पत्रकारका रूपमा स्थापित गरेको र चर्चित बनाएको रेडियो नेपालबाट उनले प्रसारण गरेको घटना र विचार कार्यक्रमले हो । घटना र विचार कार्यक्रम तत्कालीन समयमा देशविदेशमा नै ज्यादै लोकप्रिय हुन पुगेको थियो । त्यस कार्यक्रममा प्रसारित सामग्रीका आधारमा कोही काखा कोही पाखा लगाइएका घटना पनि छन् । रेडियो नेपाललाई सरकारको मुखपत्र भन्ने आरोप लगाउनेहरूलाई यो कार्यक्रमले झुट साबित गरिदिएको थियो । सरकारका कतिपय कार्य र नीतिहरूको कटु आलोचना पनि यस कार्यक्रममा हुने गर्दथ्यो । त्यसैले होला जनतामाझ लोकप्रिय हुन पुगेको यो कार्यक्रम । सरकारलाई भने यो कार्यक्रम भालुको कन्पट भएको थियो । पुरुषोत्तमले पटकपटक प्रत्यक्ष र परोक्ष रूपमा गाली खप्नु परेको थियो । यस कार्यक्रमबाट उनलाई हटाउने र फेरि ल्याउने जस्ता कार्य पनि नभएका होइनन् तर पहिलोपटक पुरुषोत्तमजीले जुन श्रीवृद्धि गरेका थिए पछि भने सकेनन् । यसपश्चात् उनी सञ्चार सल्लाहकार र राससमा पनि कार्य गर्न पुगेका थिए तर घटना र विचारमा जस्तो ख्याति अन्यत्रबाट कमाउन सकेनन् ।

पुस्तक त लेखकको यात्रा वृत्तान्त नै हो भने पनि हुन्छ । विसं २०३५ सालदेखि २०७२ सालसम्म नेपाल र विदेश यात्राको अनुभव पनि पुस्तकमा भेटिन्छन् । देशविदेश दर्शन यात्राको विवरण सूत्रका रूपमा मात्र उल्लेख हुँदा पाठक अपेक्षित रूपमा रमाउन भने सकेको देखिँदैन । यात्राको क्रममा पुगेको स्थानको र पत्रकारहरूको नाम भने पूर्णरूपमै उल्लेख भएको हो कि जस्तो लाग्छ । यात्रा प्रसङ्ग टिपोट गरेकै हुनाले सबैको नाम आएको हो कि दिमागमा नै अटाएको हो ? यसको भेउ पाठकले पाउन सकेका छैनन् ।

अन्य आत्मवृत्तान्त जस्तो यस पुस्तकमा आफ्नै तारिफ वा गुणानुवर्णन ज्यादै कम छ । लेखकले आफ्नो प्रशंसा अरूबाट गराउनु उनको लेखन शिल्पी । एउटै विषय र पात्रको वर्णन दोहोरिनु होमनाथ दाहाल, चन्द्रलाल झा र किशोर नेपालका एकै प्रकृतिको चर्चा बारम्बार दोहोरिँदा कता–कता उनीहरूको तारिफ प्रशंसा आवश्यकताभन्दा बढी भएको हो कि जस्तो भान हुन्छ । विभिन्न कुराहरूको उठान त भएको छ तर त्यस विषयमा अर्को कृतिमा चर्चा गर्ने उल्लेख गरेका छन् तर ती कृति कहिले आउलान् भन्ने प्रतीक्षा पाठकमा छ । विभिन्न कालखण्डमा देखिएको शैक्षिक स्थितिले पुस्तकमा किन स्थान पाएनन् ? घरपरिवारका बारेमा किन उल्लेख भएन ? सायद यी सबै विषयवस्तु समेटेर भविष्यमा अन्य कृति आउलान् कि आशा गरौँ ।

सङ्क्षेपमा कृतिको शीर्षक मेरो पत्रकारिता दिइए तापनि यसका लेखकको आत्मकथा हो । समसामयिक राजनीतिको शल्यक्रिया हो । नियात्रा हो । नेपाली कांग्रेसको योगदान र अन्तर्घातको कथा हो । कांग्रेसीजनको योगदान, स्वार्थ, घातप्रतिघात, ईष्र्याको दस्तावेज हो । र, सबैभन्दा बढी नेपालको पत्रकारिताको इतिहास र राजनीति विषयक अनुसन्धाताका लागि असल खुराक हो । पुरुषोत्तम दाहाल एक पत्रकारका रूपमा मात्र होइन, एक अनुसन्धानकर्ता प्राध्यापकको हैसियतमा पनि पाठकले हेर्ने चाहना राखेका छन् । यस्तो महत्त्वपूर्ण कृति उपहार दिनुहुने लेखकलाई हार्दिक बधाई ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *