मामाघरको यात्रा

नेरटिटी जाने हो त ? मे महिनातिर एक दिन बेलुका श्यामजीले खाना खाने बेलामा भन्नुभयो । नेरटिटी ज्यालेन्जीबाट लगभग १५ मिनेट जतिको हवाई दुरीमा थियो । नेरटिटीमा हामीसँगै पाँच छ जना जती नेपालीहरु हुनुहुन्थ्यो । ज्यालेन्जी नेरटिटीको लागि पहिलो ट्रान्जिट पनि थियो । त्यहाँ कार्यरत दाइहरुले हामीलाई धेरैपटक निम्तो नदिनु भएको होइन तर बिदा पाउने बितकै हामी प्रायः नेपाल वा अन्य स्थान नै जाने गर्थ्यौं वा नेरटिटी त के जानु भन्ने मनसाय हुन्थ्यो । अब बिदा लिएर पनि किन अर्को स्टेशनमा जाने भन्ने मानसिकता हुन्थ्यो तर आज श्यामजीले फ्याट्ट ठट्यौली पारामा हैन हो, कुमारजी नेरटिटी जाउँ न । बोलाका बोलाएकै छन् मेजमानी मान्न जाउँ के भनेर कर गर्नुभयो । अनि मैले पनि बडो गम्भिर हुँदै पुरा सोचेर जे पर्ला पर्ला भन्दै भने जाने हो त ? भनेर सहमती कै प्रश्न गरें ।

अबचाहीँ हाम्रो कुरा मिल्यो, सल्लाह भयो र बाँकी रहेको ३-४ दिनको बिदा मिलाईहाल्यौं । नेरटिटीमा पनि खबर गर्यौं लौ है- ‘हामी त तपाईंहरुलाई भेट्ने आउने भयौ है !’ पहिले त टोलीले पत्याएको थिएन हामी त्यता आउँछौ भनेर ।

हाम्रो बिदा स्वीकृत पनि भयो अनि नेरटिटीको लागी UN फ्लाईटमा बुकिङ पनि गरायौं । सबै अचम्ममा परे । यी दुईले गल्तीले नेरटिटीको फ्लाईट बुक गरेछन् कि क्या हो भनेर पनि कतिले हामीलाई सोधे । हाम्रो नेपाली दाजुहरु छन् । उनीहरुलाई नै भेट गर्न जाने हो भनेर हामी उनीहरुलाई भन्थ्यौं तर पनि उनीहरु अचम्मित हुन्थे । हामीले जिस्काएको हो कि भन्थे, कारण खासै बिदा मनाउने कर्मचारीहरु देश विदेश जान्थे तर यिनीहरु नेरटिटी जाने भनेर पुरै अचम्मित थिए साथीभाइहरु।

यस्तै हल्ला गर्दा गर्दै नेरटिटी जाने दिन पनि आयो । हामी मज्जाले झोला बोकेर कोठावाट ज्यालेन्जीको UN हवाई अड्डा तिर लाग्यौं । हाम्रो कोठाबाट ज्यालेन्जी हवाई अड्डा नजिकै थियो हिंडेरै पुगिन्थ्यो। दिउँसोतिर नै हो, हाम्रो नेरटिटी जाने हेलिकप्टर अवाई अड्डामा तयार थियो । त्यो हेलिकप्टर चाहीं हाम्रो लागी खास थियो वा भनौं हाम्रै थियो कारण त्यो नेपालको झण्डा अङ्कित MI16 थियो श्री एयरलाईन्सको, क्याप्टेन मदन के.सी.। क्याप्टेन इन्दिबर थापा, चेत श्रेष्ठ, अम्प्रद श्रेष्ठ, अभिनास हाडाको टिमले ज्यालेन्जी वेश गरेर UNAMID मा नेपालको झण्डा अङ्कित हेलिकप्टरबाट सेवा दिइरहनुभएको थियो । ल कता हो यो टोली झोला बोकेर ? इन्दिबर सरले हामीहरुलाई देख्ने बितिकै एयरपोर्टमा सोध्नु भयो । क्याप्टेन इन्द्रबीर चाहीँ सँधै ठट्टा मात्रै गर्नु पर्ने, झन् हामी दुई भाइलाई देखेपछि सँधै उहाँलाई रमाइलो गर्नै पर्ने ! एकदम रमाइलो र हामीलाई माया पनि गर्ने । हुनतः विदेश त्यो पनि त्यस्तो अनकन्टारमा नेपाली भेट्दा ठूलै साहारा भेटेजस्तो नै हुन्छ सबैलाई ।

हतार-हतार श्यामजी ले “हामी त मामा घर जान हिंडेको, नेरटिटी तिर” पुरै ठ्ट्यौली पारामै भनि हाल्नु भयो त । “ल आज हामी नै जाने हो नेरटिटी रमाईलो हुने भो त्यसो भा” क्याप्टेन इन्दिबर सरले पनि थपिहाल्नु भयो । श्री एयरलाईन्सको त्यो समूहसँग हाम्रो गजबकै आत्मियता थियो । प्रत्येक हप्ता शुक्रबार, शनिबार हाम्रो रमाईलो जमघट हुन्थ्यो । हामी ज्यालेन्जीमा बसुन्जेल साह्रै रमाइलो भयो त्यो टिमसँग पनि ।

लगभग १५ मिनेटको हेलिकप्टर यात्रा पश्चात हामी नेरिटिटी पुग्यौं, “लौ है मामाघर आइपुग्यो ” इन्दिबर सरले फेरी ठ्ट्यौली पारामा हाँस्दै भन्नु भयो। हामीलाई लिन नेरिटिटी एयरपोर्टमा सबैजना आउनु भएको थियो। लौ है अब तपाईंहरु मामाघरमा रमाइलो गर्नुस् हामीचाहीँ फर्कियौं है भन्दै क्याप्टेन मदन र इन्दिबर ज्यालेन्जी फर्कने तरखर गर्न थाल्नुभयो ।

नेरिटिटी सुडानकै ठुलो शहर नायला र अर्को शहर एलजेनीने जोड्ने राजमार्गको लगभग बिच भाग तिर पर्ने सानो तर मनमोहक र रणनैतिक हिसाबले पनि राम्रो ठाउँ रहेछ । मलाई चाहीँ नेपालकै तराईतिरको कुनै देहाततिर पुगेको जस्तो लाग्यो । त्यहाँबाट सुडानकै अग्लो पहाड जवलमारा नजिकै पर्ने भएको कारण पनि त्यहाँको मौसम र वातावरण वास्तवमै रमणीय थियो, अझ भनौं जवलमारा पहाडको काखमा नै अवस्थित । सायद त्यो दिन सिमसिम पानी पनि परिरहेको थियो जस्तो लाग्छ । जवलमारा पहाडमा हल्का कुहिरो लागेको थियो अझ भनौं मौसमले पनि हामीलाई स्वागत गरिरहेको थियो ।

नेरिटिटीमा दुईवटा क्याम्प रहेछ एउटा AMIS क्याम्प र अर्को UNAMID क्याम्प । हाम्रो टोली चाहीँ चाहीँ AMIS (African Mission in Sudan) क्याम्पमा बस्नुहुँदो रहेछ, तीन-चार मिनेटको दुरीमा | UNAMID(United Nation Mission in Darfur) स्थापना हुनुभन्दा अगाडि डार्फुरमा अफ्रिकन युनियनको मात्रै मिसन थियो, त्यसै कारण पुरानो क्याम्पलाई चाहीं AMIS क्याम्प भन्ने चलन थियो । वास्तवमै हामी, म र श्यामजीलाई ज्यालेन्जीबाट नेरिटिटी जानु भनेको मामा घर नै गएजस्तो भयो । दुई दिनको बसाईमा लोकल भालेले हामीलाई छोडेन र हामीले पनि, अनि त्यो आँपको बोट मुनीको विश्राम स्थल ! त्यो आथित्यता, बिचरा तेज सर कराउँदै यिनीहरुले मासु मिठो पकाउँदैनन् भन्दै पाहुनालाई त मिठो गरी खुवाउनु पर्छ भन्दै आँफै अघि सरेर भान्छा साम्हाल्नु हुन्थ्यो । सिमसिमे पानीले हामीलाई नेरिटिटी बसुन्जेल छाडेन । सायद मामाघर आएका भान्जाहरुलाई गर्मी होला भनेर प्रकृतीले पनि माया गरेको होला ! ज्यालेन्जी फर्कने मन न नहुँदा नहुँदै पनि हामी एयरपोर्टमा आयौं । दुईदिनको रमाइलो बसाई, त्यो माया आतिथ्यता मनभरी संगाल्दै हामी पुनः आफ्नो कर्मथलो प्यारो ज्यालेन्जी फर्कियौं ।

(सन् २०१२, (UNAMID. Zalingie Darfur, Sudan)

(नोट : ज्यालेन्जी डायरी,को अंश क्रमश…, लेखक । )

Add a Comment

Your email address will not be published. Required fields are marked *