नेपालमा अन्तर्घातको राजनीतिः नोक्सान आफ्नालाई फाइदा अरूलाई

 

नेपालको शासकीय स्वरूपको इतिहास हेर्ने हो भने सत्ता र सम्पत्तिको राजनीतिकै कारणबाट अन्तर्घातले प्रश्रय पाएको छ, जुन कालान्तरमा घातक भएका धेरै घटना पाइन्छन् । हुन त नेपालको मात्र के कुरा, विश्वकै इतिहास हेर्ने हो भने वंशविनाश, राजपाटहरण तथा शासकको पतन गराउन परिवारकै सदस्य सहयोगी बनेका उदाहरण यत्रतत्र भेटिन्छन् । नेपालमा पनि वंशपतनका लागि त्यही वंशका व्यक्ति प्रमुख कारक भएको इतिहास देखिन्छ । सोही राजनीतिको निरन्तरता हालसम्म पनि नेपालले भोग्दै छ ।

नेपालको सन्दर्भमा यहाँको प्रामाणिक इतिहास लिच्छवि वंशको पूर्वाद्र्धबाट सुरु भएको मानिन्छ । यस कालमा पनि आफ्नैबाट आफ्नालाई अन्तर्घात भएका घटना देखिन्छन् । मानदेव प्रथमले अन्जानमै आफ्नै बाबु धर्मदेवको हत्या गरेका थिए । यसैगरी शिवदेवले आफ्नै ज्वाइँ (भानिज)बाट गद्दी च्यूत हुनुपरेको थियो । आफ्ना स्वजनकै कारणबाट उदयदेव भागेर भोट छिर्नुपरेको थियो । आफ्नै कुलका व्यक्तिलाई स्थानीय प्रशासक नियुक्त गर्दा तिनैले कालान्तरमा स्वतन्त्र राज्य खडा गरे । विशाल खसिया साम्राज्य पनि आफ्नै आन्तरिक कारणबाट विखण्डन भई बाइसी तथा चौबिसी राज्य खडा हुन पुगे । आफ्नै दाजुमाथि अन्तर्घात गरी द्रव्य शाहले गोर्खा राज्य स्थापना गरी त्यहाँका अधिपति हुन पुगे ।

काठमाडौँ उपत्यकाका मल्ल राज्य विविध पक्षमा (सम्पदा, संस्कृति र सम्पन्नता जस्ता विशेषताबाट) सजिएका थिए । वास्तुकलाको क्षेत्रमा सो समयमा उल्लेख्य उपलब्धि हासिल भएको थियो । यस्तो गौरवपूर्ण र वैभवशाली राज्य पनि अन्तर्घातकै कारण पतन हुन पुग्यो । यक्ष मल्लले राज्य विखण्डन गरी आफ्ना सन्तानलाई ४ भाग लगाइदिँदा परस्पर घात प्रतिघात र षड्यन्त्रकारी राजनीतिले उत्पात मच्चायो । पहिले चार र पछि कान्तिपुर, ललितपुर र भक्तपुर गरी खडा भएका तीनवटा राज्यहरूमा समेत आपसी मेल हुँदै भएन । उल्टो यी तीन राज्यबीच लडाइँ भइरह्यो । कहिले ललितपुर र कान्तिपुर मिलेर भक्तपुरलाई पेल्ने त कहिले भक्तपुर र ललितपुर मिलेर कान्तिपुरमाथि धावा बोल्ने जस्ता क्रियाकलाप भइरहे । यतिमात्र होइन एउटै राज्यभित्र पनि सत्ता प्राप्तिका लागि आन्तरिक संघर्ष भइरह्यो । राजा प्रतापमल्लले आफ्नै वंशज काजी भीम मल्ललाई प्राण दण्ड दिए । जयप्रकाश मल्लको विरोधमा आफ्नै भाइ र रानी लागे । रणजीत मल्लले आफ्नै छोराहरूबाट साथ पाएनन् । पाटनका ६ प्रधानहरूले त अचाक्ली नै गरे, यी सबै अन्तर्घाती कदमले पृथ्वीनारायण शाहलाई उपत्यका दखल गर्न मलजल पुग्यो । नत्र निर्धन तथा विशेष स्रोत नभएको, सानो गोरखा राज्यले उपत्यका दखल गर्न सक्ने कुनै थिएन ।

पृथ्वीनारायण शाहले विजय अभियान (एकीकरण?) सञ्चालनबाट कल्पना गरेभन्दा बढी सफलता प्राप्त गर्नुको मुख्य कारण नै उपत्यकाका मल्ल राजाहरूको आपसी कलह हो । उनीहरूको सत्ता, सम्पत्तिको र सन्तानप्रतिको असीमित मोहको फाइदा पृथ्वीनारायण शाहले उठाएका हुन् । नेपाल खाल्डो विजयपश्चात् पृथ्वीनारायण शाहाका भाइहरूले पनि केही भूभाग प्राप्त गरी श्रीपेच लगाउने उद्योग गरेका थिए । तर, पृथ्वीनारायण शाहले उनीहरूको यो चाहना पूरा हुन दिएनन् । उनको यो कदम उपयुक्त थियो । पृथ्वीनारायण शाहको मृत्युपश्चात् प्रतापसिंह शाहकै अयोग्यताका कारण नेपालमा षड्यन्त्रकारी राजनीतिको विजारोपण भयो । फलतः बहादुर शाह र राजेन्द्रलक्ष्मी बीच सत्ता हत्याउन अनेक जालझेल तथा प्रपञ्च रचिए । सत्ताकै होडमा रणबहादुर र बहादुर शाह बीच अमेल हुन गई बहादुर शाह आत्महत्या (हत्या?) गर्न बाध्य भए । सत्ता प्राप्तिका लागि काल्पनिक दोष लगाउने होड नै चल्यो । बहादुर शाहले भाउजूलाई सर्वजित रानासँग अनुचित सम्बन्ध कायम राखेको आरोप लगाए भने रणबहादुर शाहले चिनियाँ बादसाहसमक्ष बहादुर शाहउपर अनेकौँ काल्पनिक दोष लगाउँदै जाहेर गर्न आफ्ना भारदारहरूलाई निर्देशन दिएका थिए । सत्ताकै कारण रणबहादुर शाहको आफ्नै भाइ शेरबहादुर शाहद्वारा हत्या गरियो । सत्ताकै उन्मादका कारण भीमसेन थापाले आफ्ना दाजुभाइलाई पाखा लगाए । जङ्गबहादुरले आफ्नै मामा माथवरसिंह थापाको हत्या गर्नुको पछाडि पनि सत्ताकै खेल थियो ।

अनेकौँ हत्याकाण्ड मच्चाउँदै र षड्यन्त्रको जालो बुन्दै जंगबहादुरले जहानिया राणा शासन कायम गर्न सफल भए । सत्ताप्राप्तिको दौडमा ज्यानको बाजी लगाएर साथ दिने आफ्नै प्रिय भाइ बदीनरसिहं बागी ठहरिए । जंगबहादुरका छोराहरू र धीरशमशेर छोराहरू बीच शीतयुद्ध नै छल्यो । जसको कारण ३८ साल पर्वको घटना घट्यो । यसैगरी सन् १९४२ मा रणोद्दीप सिंह आफ्नै प्रिय कान्छो भाइ धीरशमशेरकै छोराहरूद्वारा मारिए भने जंगबहादुरका छोरा जगतजंग र नाति युद्धप्रतापजंगको क्रूरतापूर्वक हत्या गरियो । यस गोत्र हत्याको कारण पनि शक्ति र सत्ता प्राप्ति नै थियो । बयालीस साल पर्व जंगबहादुरकी छोरी राजमाताले आफ्ना सहोदर भाइलाई साथ नदिई काकाका छोराहरूलाई सहयोग गर्नुको मकसद शक्ति, सत्ता, सम्पत्ति र यस्तै अरू ‘स’ को कारणले थियो ।

श्री ३ वीरशमशेरको पालामा खड्गशमशेरको निष्कासन, श्री ३ देवशमशेरको पदच्यूति, राणाहरूमा पनि ए बी सी गरी वर्गीकरण हुनु जस्ता विभिन्न घटनामा पनि प्रत्यक्ष र परोक्ष रूपमा अन्तर्घात नै उत्तरदायी थिए । बी र सी क्लासका राणाहरूको निष्कासन, श्री ३ जुद्धशमशेरको राज्य त्याग र श्री ३ पद्मशमशेरको राजीनामा आदि आफ्नै आफन्तको स्वार्थले गर्दा घटेका घटना हुन् । पारिवारिक मेलकै कारण जङ्गबहादुरको उदय भएको थियो भने परिवारकै विवादका कारण २००७ सालको आन्दोलन भई जहानिया राणा शासनको अन्त्य हुनपुग्यो । परिवारमा यतिविघ्न फुट नभएको भए सात साल त्यति चाँडो आउने थिएन, पक्कै हो ।

विसं २००७ सालले नेपाली राजनीतिको साँचो राजवंशबाट पार्टीमा हस्तान्तरण वा पुस्तान्तरण ग¥यो । कार्य कारणबाट नेपाली कांग्रेसले राजनीतिको मियो समात्यो । सत्ता र शक्तिकै लागि कोइराला दाजुभाइ मातृका र विश्वेश्वर बीच हानाथाप हुन थाल्यो । अनि, हलो अड्काएर गोरु चुट्ने राजनीति देखा प¥यो । यस द्वन्दबाट राजा त्रिभुवन र महेन्द्र दुवैले लाभ लिए । पुनः राजाहरू नै शक्तिशाली हुन पुगे । यो स्थिति ल्याउन कोइराला बन्धु भनौँ वा नेपाली कांग्रेस जो भने पनि उनीहरूले नै मलजल गरे । विसं २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले १०९ क्षेत्रमा ७४ स्थान प्राप्त गरी अभूतपूर्व सफलता हासिल गरेको थियो । तर, कांग्रेसले भूईंमा खसेको टिप्न खोज्दा पोल्टाबाट खसेको चालै पाएन । केही कांग्रेसी नै विभीषण भएर निस्किए । तुलसी गिरी, विश्वबन्धु जस्ता नेताहरू राजा महेन्द्रका गोटी बने । राजा महेन्द्रलाई के खोज्छस् काना आँखो (राजा महेन्द्रको एउटा आँखो टेढो थियो रे) भयो । फलतः २०१७ साल पुस १ गतेको काण्ड भयो । कांग्रेसजन किन उदासीन, किन चाउरिस् मरिच आफ्नै रागले जस्ता भए । सत्ताको स्वार्थकै कारण कांग्रेसमा अन्तर्घात हुने घटनाले निरन्तरता पाउँदै आयो, इतिहास यसै भन्छ ।

पञ्चायतकालमा पनि पञ्च भाइहरूमा सत्ताप्राप्तिको होड नै चल्यो । सबै पञ्चले आफूलाई प्रखर राष्ट्रवादी र कट्टर व्यवस्थावादी भनाउन पछि परेनन् । यसैक्रममा भूमिगत गिरोह र खेलकुद गिरोह (दिल्ली बजारे मठाधीश) चर्चित हुन गए । यिनै पञ्चहरूको प्रपञ्चबाट २०४६ सालको आन्दोलनको पृष्ठभूमि तयार हुन गयो । तर, उक्त आन्दोलन पञ्चको कारणबाट मात्र भएको भने किमार्थ होइन ।

विसं २०४६ सालको आन्दोलनपश्चात् नेपाली कांग्रेस नेपाल कम्युनिस्ट पार्टी एमाले जस्ता राजनीतिक दलको हातमा राज्यको बागडोर पुग्न गयो । विसं २०४७ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो । एमाले प्रतिपक्षको कित्तामा पुग्यो । नेपाली कांग्रेसमा सत्तामा पुगेपछि अठ्ठा लाग्ने रोग बल्झियो । आ–आफ्नो स्वार्थसिद्धिका लागि अन्तर्घात गर्ने कुटिल योजनाले प्रश्रय पायो । अन्तरिम कालका प्रधानमन्त्री, जसको सक्रियतामा जनताले २०४७ को संविधान पाए । उनै कृष्णप्रसाद भट्टराई अन्तर्घातको सिकार भई दुई दुईपटक काठमाडौँ क्षेत्र नं १ बाट पराजित हुन पुगे । जितेका कृष्णप्रसादभन्दा हारेका कृष्णप्रसाद बढी खतरनाक हुन सक्ने पत्रकार किशोर नेपालको भविष्यवाणी थियो, कालान्तरमा सत्य साबित भयो । कांग्रेसका गिरिजाविरोधीहरू कालन्तरमा छत्तीसेको नामबाट चिनिए र संगठित हुन थाले । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो विरोध गर्नेप्रति शून्य सहनशीलताको नीति अख्तियार गरे । फलतः सरकारकै नीति तथा कार्यक्रम पारित भएन । प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे । यी सबै गतिविधि नेपाली कांग्रेसकै पारिवारिक संघर्षको परिणति थियो । त्यस समय कांग्रेसका लागि शक्ति सञ्चय गर्ने, लोकप्रिय हुने र जनमानसमा पुग्ने उपयुक्त अवसर थियो तर घर झगडाले सबै सिध्यायो । विसं २०५१ को निर्वाचनमा नेपाली कांग्रेस पहिलोबाट दोस्रो दल हुन पुग्यो । कांग्रेसी खिचातानीबाट फाइदा एमालेलाई पुग्यो तर अवसरको सदुपयोग एमालेले पनि गर्न सकेन । महाकाली प्रकरणपछि एमालेबाट माले जन्मियो, पार्टीभित्र अनेकौँ घात प्रतिघात चल्न थाल्यो । कांग्रेसको झगडाबाट एमालेले फाइदा लिए जस्तै माले एमालेको विभाजनले पुनः कांग्रेसलाई नै सत्तामा टासिन पुर्यायो । फेरि पनि अन्त कहीँ नभएको रडाको कांग्रेसमा देखियो । आफ्नो पार्टीको बहुमत हुँदाहुँदै पनि आफ्नै कांग्रेसी भाइ ‘गिरिजा एन्ड कम्पनी’का कारण कृष्णप्रसाद भट्टराई राजीनामा दिन बाध्य भए । कांग्रेस र कम्युनिस्टहरू आआफ्नै घरझगडा र स्वार्थका कारण टुक्रिए र परिस्थितिले पुनः जोडिए पनि । तर, पार्टीभित्रकै अन्तर्घातको शृङ्खला भने अहिलेसम्म पनि टुटेको छैन ।

विभिन्न राजनीतिक पार्टीको सुझबुझको कमी, अदूरदर्शी राजनीतिक सोचका कारण राजा ज्ञानेन्द्र (जो काकतालीबाट गद्दीनसिन हुन पुगेका थिए) को महत्त्वाकांक्षा जगायो । र, विसं २०१७ साल पुस १ गतेको जस्तै कदम लिन पुगे । विसं २०१७ सालको महेन्द्रको चालले माल पायो तर ज्ञानेन्द्रको चाल उनकै लागि घातक बन्न पुग्यो । उनका विरुद्धमा सबै राजनीतिक पार्टी एकजुट भए । विसं ०६२–०६३ को आन्दोलन चल्यो । परिणामस्वरूप राजा ज्ञानेन्द्र मात्र होइन, नेपालबाट राजतन्त्र नै फालियो ।

विसं २०६२ ०६३ को जनआन्दोलनले माओवादीलाई एक्कासि सत्तामा पुर्यायो तर अन्तर्घातको रोगले त्यस पार्टीलाई पनि अछूतो राखेन । हिजो जङ्गलमा एक भएका आज मङ्गल हुँदा विभाजित हुन पुगे । विसं २०६३ देखि नेपालको राजनीतिक रंगमञ्चमा अनेकौं पात्र आए, गए । राजनीतिक दल पनि सत्ता, सम्पत्ति, स्वार्थ र सन्तानका कारण टुक्रिदै र जोडिँदै जाने क्रम बढ्दै गयो । उपत्यकाका तीन मल्ल राजाहरूको पालामा पालाको राजनीति जस्तै दुई मिलेर त्यसलाई पछार्ने खेलको पुनरावृत्ति भयो । एमाले माओवादी कांग्रेस एकआपसमा भिड्ने र जोडिने जस्ता खेल खेल्दै सत्तामा पुगे र बाहिरको चाकाचुली खेलिरहे ।

सबै कम्युनिष्ट पार्टी एक हुनुपर्ने आवाज घन्कियो । फलतः एमाले र माओवादी एकीकृत भई एउटा पार्टी बन्यो । उनीहरूले निर्वाचनमा अपेक्षाकृत सफलता पनि प्राप्त गरे । सत्तामा पुगेपछि अन्तर्घातको राजनीति लाग्यो । सत्ताको असीमित लालसाबाट कित्ताकाटको राजनीति सुरु भयो । फलतः माओवादी एमाले र एकीकृत समाजवादी पार्टी गरी एकबाट ३ पाटी भए । कम्युनिस्टको झगडाबाट कांग्रेसले फाइदा उठायो तर अन्तर्घातको राजनीति अन्त्य हुने कुनै संकेत देखिँदैन ।

सङ्क्षेपमा अन्तर्घातकै कारण नेपालमा राजवंश नै समाप्त भयो । पारिवारिक विवरण विवादका कारण धेरै हानिनोक्सानी भएको, आफ्नै पार्टीको झगडाबाट अर्कैले अवसर पाएका यतिधेरै प्रमाण उदाहरण जान्दा जान्दै, देख्दा देख्दै र भोग्दा भोग्दै गर्दा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा लगायत सबै राजनीतिक पार्टीहरूमा अन्तर्घातको भाइरसले कैल्यै छाडेन । यस्तै दुर्गन्धित राजनीतिमा रम्ने नेताहरूसँग नेपाली कहिलेसम्म रमाउने हुन् भविष्यले बताउला तर एउटा कुरा पक्का छ, यस इतिहासबाट कसैले शिक्षा लिँदैनन् ।

3 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *