ऐना हराएको म
|म विवेकशील, तँ महामूर्ख।
मेरो विचार महान, तेरो तुच्छ।
रातदिनओछ्यानमै ढलेनी मै परिश्रमी ।
मेहेनती हुँदैमा के भो, तँ महाअल्छी ।।
मैले आर्जेको धन, मेहेनत र युक्ति अनि सत्कर्मको ।
तेरोभने भ्रष्टाचार, शोषण वा यस्तै कुकर्मको ।।
मैले पाप गरेर केभो ? मेरो त पहिचान नै ठूलो ।
तेरा पुण्यको छैन महत्व, तेरो पहिचान छ तल्लो ।।
व्यबहारिक र वैज्ञानिक छन् मेरो सोच, संस्कार र परम्परा ।
तँ अन्धविश्वासी-मनोरोगी, शिर झुकाउनुपर्छ तैंले विचरा ।।
मेरो भूगोल महान, धर्ती थामिएकै यसकै काँधमा ।
मेरो दुनियाँ ब्रम्हाण्डकै केन्द्रविन्दुमा, तेरो चैं पुछारमा ।।
मेरो धर्म जगतकै हितकारी, तेरो चैं विभेदी ।
मेरो धर्मका पूजारी उपकारी-ज्ञानी, तेरा गुरु बहुलठ्ठी ढोंगी ।।
मेरो धर्मग्रन्थमा मानवता, तेरोमा दानवता ।
मेरो धर्म मेरो स्वतन्त्रता, तेरो धर्म पर्नुपर्छ प्रतिबन्धमा ।
म कोहिनुर-हिरा, तँ नालीको झुसिल किरा ।
मेरो इतिहास गौरवशाली, गिज्याउँछ आफ्नै इतिहासले तला ।।
मेरो मालिक मेरो आदर्श, मेरो देवता ।
तँ कुद्छस पछि लागि, सामन्ती र विस्तारवादी दलालका ।।
म साधु-सज्जन, तँ झूठको खानी ।
म सदाको इमान्दार, तँ सदावहार बेइमानी ।।
संसारभरको एउटै सत्य, मैले जेभन्छु त्यही ।
तँ गलत सर्वदा, किन पत्याउनु कोही ।।
मेरा सोध र अनुसन्धान, नितान्त मेरै मौलिक।
तेरा खोज र कृति, सिर्फ अरुको अन्धो नक्कल ।।
म समाधान पहिल्याउँछु, तेरो दोष कोट्याएरै ।
तेरा सोच, योजना र उपाय, समस्याका जड हुन् बरै ।।
म प्रकाशको ज्योती, तँ निष्पट्ट अन्धकार ।
म घमाईलो दिन, तँ औंसीको रात ।।
मैले गरे प्रेम तैले गरे आशक्ति, म अभिमानी तँ अहंकारी ।
म मितव्ययी तँ लालची, मैले गरे श्रद्धा तेरो चैं चाकरी ॥
गाऊखाने कथामा संसार जितेजस्तो, भएभरका सतगुण मेरा।
तँ जाबो हरुवा, जगतभरका सबै अवगुण तेरा ।।
मेरो सत्संग तेरो झुण्ड, म स्वतन्त्र तँ कैद।
ऐनै ऐनाले घेरिएको, ऐना हराएको म ।।