गोर्खा एकताको आवश्यकता र भागोप
|भारतमा गोर्खाहरूको बसोवासो धेरै छ । यद्पि गोर्खाको वास्तविक जनसङख्या कति छ भनेर किटान गरेर भन्न सकिन्न । कुनै निकायले भारतभरिका गोर्खाको जनगणना गरेको छैन। दार्जिलिङ, सिक्किम, असम, मणिपुर र देहरादून, भाक्सू, नैनीताल आदि ठाउँमा मुख्य गरी बसेका छन्। अझ दार्जिलिङ सिक्किममा सघन रूपमा गोर्खाकै बाहुल्य छ। दार्जिलिङ जिल्लाभित्र पर्ने तराई मधेश खण्डका चारैतिर जम्मै स्थानमा हाम्रो उपस्थिति पाइन्न। हामी छरिएर बसेका छनौं। हामी धेरै ठाउँमा अल्पसङख्यक भएर निर्धो, निम्छरो भएर पनि बसेका छौं। देशको राजनितीमा हाम्रो बोलबाला चल्दैन, हाम्रो स्वर पुग्दैन। हाम्रो कुरा संसदमा पुग्दैन, पुगे पनि कान पुढेर छाडिदिन्छन्। हामी भोटर मात्रै भएका छौं तर नीति निर्धारणको केन्द्रमा पुगेका छैनौं। सिक्किम मात्र नीति निर्धारकको स्थानमा पुगेको छ। अन्यत्र भने हामी निरीह प्राणी जस्ता छौं। लिलिपुट भएर बसेका छौं। हाम्रामा प्रत्येक वर्ष सामान्य मान्छे नै गुलिभर भएर भोट माग्न आउँछौं अनि हामी लिलिपुट भएर भक्तिभाव देखाइदिन्छौं।
हामीले पनि योगदान दिएको भारत स्वाधीनता सङ्ग्रामले सफलता पाएको हो। हाम्रो देश स्वाधीन भएको छ्यत्तर वर्ष भएसकेको छ तर अहिलेसम्म केन्द्रीय सरकारले एउटा पनि गोर्खालाई मन्त्रीमण्डलमा सामेल गरेको छैन। हामीले सरकारको विपक्षमा बसेर पनि हेरेकै हौं पक्षमा बसेर पनि हेरेकैं हौं। चाहे कङ्ग्रेस होस वा भाजपा, कुनै सरकारले हामीलाई पत्याएका छैनन्। हामीले उनीहरूलाई सरकार बनाउन सहयोग गरेका थियौं। न क्याबिनेट न सामान्य मन्त्रीमण्डमा अझैसम्म स्थान पाएका छैनौं। हामीले सरकारप्रति जत्ति नै भक्ति देखाए पनि स्वामीले भीडभित्र टाडामा बसेको भक्तले नमस्ते गरेको नदेखेको जस्तो मात्र हौं। हामी किनारीकृत अर्धमानव जस्ता हौं, जो केन्द्रमा जान पाउँदैनौं, केन्द्रीय डाड़ु पुन्यूँ छुन नपाउने भएका छौं। दुई चारजना प्रशासनिक अधिकारीलाई नै हाम्रो सर्वस्व अस्तित्व मान्नु पर्ने स्थिति छ।
यद्यपि गोर्खा एकता भनेको असम्भवप्राय हो। गोर्खाको बैरी गोर्खा नै हुन्छ. हाम्रो घर बनाउने आन्दोलन गर्दा गोर्खालाई नै अघि लाएर आन्दोलन सेलाएको थियो। हाम्रा अनुहारहरू हाम्रो विरोधमा उठ्ने गर्छन्। जातिभन्दा पार्टी ठुलो भन्ने धारणाले काम गर्छन्। यो त इतिहासले बताइरहेको छ।
हामीले हाम्रो अस्तित्वलाई टडकारो राख्न अझै केही काम गर्नुपर्दछ-
१. हामीले प्रशासनिक अधिकारी हुनका निम्ति प्रतियोगितामूलक परीक्षामा बल गर्नु पर्दछ। केन्द्र र राज्यका लोकसेवा आयोगमा हाम्रो मान्छे उत्तीर्ण हुने काममा लाग्नु पर्दछ।
२. हामीले व्यापार व्यवसायमा बढी अघि आउनु पर्दछ।
३. बसाइँ सर्ने बानी हटाउनु पर्दछ। यदि व्यापारिक लाभ हुने ठाउँतिर मात्र बसाइँ सर्ने काम गर्नुपर्दछ। बसाइँ सराइले पनि हामी ठुलो सङ्कटमा परेका हौं।
४. हाम्रा गाउँ टोल टोलमा गाउँ सुरक्षा समिति आदि बनाएर जनतामा सचेत गराउन पर्दछ। हाम्रा जग्गा जमिन अरूलाई बेच्न हुँदैन भन्ने अभियान गर्नुपर्दछ।
- हामी बसेको ठाउँमा नेपाली पठन पाठनका निम्ति काम गर्नुपर्नेछ। सिलगडीदेखि उता नेपाली काम लाग्दैन भन्ने मानसिक त्याग्नु पर्दछ। हाम्रा गाउँ ठाउँका प्रत्येक अङ्ग्रेजी विद्यालयमा पनि दोस्रो भाषाका रूपमा नेपाली पढाउने व्यवस्था गर्नुपर्दछ।
- २१ फरवरीको विश्व मातृभाषा दिवस, १३ जुलाईको भानुजयन्ती, २० अगस्टको नेपाली भाषा मान्यता दिवस, २५ अगस्टको बलिदान दिवस र २७ डिसेम्बरको अगमसिंह गिरी जयन्ती धुमधामले पालन गर्नु पर्नेछ। यी प्रत्येक दिनको आफ्नो आफ्नो महत्त्व र उपयोगिता हुन्छ।
७. जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, रवीन्द्र भारती विश्वविद्यालय, कलकत्ता विश्वविद्यालय, जादवपुर विश्वविद्यालय आदितिर पनि उच्च शिक्षामा नेपाली पठनको व्यवस्था गर्नु पहल गर्नु पर्दछ।
८. राजनिती गर्दा पनि ‘गोर्खा हित सर्वोपरी’ लाई ध्यानमा राखेर गर्नुपर्दछ।
९. गोर्खा भोटरको ठुलो महत्त्व भएको ठाउँबाट कुनै एकजना योग्य गोर्खालाई मात्रै भोटमा उठाएर पार्टी नभनी जातिलाई भोट हाल्ने परिवेश बनाउनु पर्दछ। नत्र भने गोर्खा-गोर्खाको प्रतिद्वन्द्वदिताले गर्दा अर्को जातिको उक्सिन्छ।
१०. सबै गोर्खाको बसोबासो गर्ने ठाउँमा भागोपको शाखा गठन गर्नुपर्दछ। त्यहाँका हाम्रा राजनैतिक समस्यालाई भागोपले सम्बोधन गर्नुपर्दछ।
११. गोर्खा च्याम्बर कमर्स चाहिन्छ। दार्जिलिङ सिलगडी कालिम्पोङ केन्द्र गरेर गोर्खा च्याम्बर अब कमर्स सक्रिय बनाउऩु पर्दछ। सिक्किममा पनि अलग्गै गोर्खा च्याम्बर अब कमर्स बनाउन सकिन्छ।
१२. कालेबुङमा आकास कोपरेटिभ सोसाइटी जस्तै गोर्खाबहुल अन्य शहर बजारतिर पनि को-अपरेटिभ सोसाइटीहरू बनाउन पर्दछ। यसले गोर्खाहरूको पुँजी लगानीबाट ऋण उपलब्ध गराई उद्योगमा पुँजी लगानी गर्न सहयोग गर्नु पर्दछ।
१३. गाउँघरका युवावर्गले सिपमूलक तालिम लिएर विभिन्न सिपको काम गर्नुपर्दछ। यसका निम्ति को-अपरेटिभ सोसाइटीले भरथेग र सहयोग गर्नु पर्दछ। यसो हुँदा मात्र पहाड़को पुँजी बाहिर जाँदैन।
१४. गोर्खा नारी सशक्तिकरणका निम्ति सिपमूलक काममा प्रोत्साहन दिउँ।
१५. हामीलाई पुँजीपतिको खाँचो छ। पुँजीपति बनाउन पनि हाम्रो समाजले सकारात्मक सोंच
भागोप किन चाहियो?-
शङ्घे शक्ति कलियुगे को समय हो। यस कलियुगमा सङ्गठनको शक्ति हुन्छ। सङ्घठनका आडमा स्याल पनि सिंह हुन सक्छ। सङ्गठन नभए सिंह पनि स्याल हुन्छ। धेरैजना बुद्धिजीवीहरू बसेर चुड़ान्त निष्कर्षबाट जन्मेको हो भारतीय गोर्खा परिसङ्घ। दिलकुमारी भण्डारी, निर्मल पुन, पिताम्बर गुरूङ, मीमलाल सापकोटा, सि के श्रेष्ठ, सुखमान मोक्तान, कमानसिंह रामुदामु, प्रदीप योञ्जन, प्रभाकर देवान आदिको नेतृत्वमा गठन भएको हाम्रो जातीय सङ्गठन हो।
यसले विगतमा गोर्खाको हितमा धेरै काम गरेको छ। दिल्लीको संसद परिसरमा शहीद दुर्गा मल्लको सालिग निर्माण एउटा ठुलो उपलब्धि हो। हेमिल्टनगञ्ज, कलकत्ता दार्जिलिङ कालेबुङमा यसले दुर्गा मल्लको मूर्ति बनाएर राजनैतिक रूपमा हाम्रो अस्तित्वको मोहरछाप लाउन सफल भएको छ। भागोपले मणिपुरमा शहीद निरञ्जनसिंह छेत्रीको पनि शालिग निर्माण गरेको छ। असम पस्दा श्रीरामपुर जाँच चौकीमा गोर्खाहरूलाई असम पुलिसले धेरै दुःख दिन्थे, भागोपकै पहलमा यो पनि समाधान भएको छ। यसका उपलब्धिहरूको सूची लामो छ।
सिक्किमका विभिन्न बजार, असमका विभिन्न जिल्ला, दार्जिलिङ कालिम्पोङ, खरसाङ, सिलगढी, जम्मु, पठानकोट, चण्डीगढ, लुधियाना, बेंगलोर, दिल्ली, मुम्बई, कलकत्ता, कलकता, चेन्नै आदि सबैतिर भागोपका शाखाहरू गठित भइसकेका छन्। त्यहाँका शाखाहरू सक्रिय छन्। अब फेरि त्यहाँ सक्रिय बनाउन पर्छ। विगतमा भागोपका केही व्यक्तिहरूका केही गलत निर्णयले भागोपलाई भाँड्ने काम गरेको थियो। २०१३ सालको विमल गुरूङको नेतृत्वमा भएको गोर्खाल्याण्ड आन्दोलनमा प्रत्यक्ष रूपमा भागोपले भाग लिएको थियो। जनता घरिभित्र जनता घरबाहिर आदि जस्ता कार्यक्रमको घोषणा गर्ने भागोप भएको थियो। भागोपले प्रत्यक्ष राजनितीमा उत्रिनु नै घातकसिद्ध भयो। यसबाट धेरै पदाधिकारी भागोपबाट पन्छिए, तर्किए। अन्य शाखाहरू निष्किय भए। भागोप किङमेकरको भूमिकामा हुनुपर्ने थियो। भागोपभित्र पनि सामूहिक स्वार्थको बदली व्यक्तिगत स्वार्थ र चौकीको लडा़इँ भयो। यसले राम्रा राम्रा मान्छेलाई ह़ट्ने स्थिति बनायो। नेतृत्व परिवर्तनसितै शाखाहरू निस्क्रिय भए।
यद्यपि विगतका भूलहरूबाट भागोप फेरि जाग्नु पर्छ। भागोप जाग्नु भनेको भारतीय गोर्खा जाग्नु हो, हाम्रो अस्तित्व चलमलाउनु हो, हाम्रो एकताको स्वरलहरी गुञ्जनु हो। हामी जुन जुन राजनैतिक दलमा काम गरे पनि सबैको साझा शरणस्थली भागोप बनेको छ।
अब भागोपले गर्नु पर्ने कार्यहरूबारे छलफल गरौं-
१. यसले गोर्खाको बसोबासो भएको प्राय सबै स्थान शहर बजार सबैतिर आफ्नो शाखा खोलोस्। प्रत्येक शाखालाई स्थानीय समस्या समाधान गर्न स्वतन्त्रता रूपमा काम गर्न सकुन् अनि त्यसमा केन्द्रीय समितिले पनि परिस्थिति बुझेर अनुमोदन गरोस्।
२. भागोपले भारतमा गोर्खाहरू भाषिक अल्पसङ्ख्यक समुदाय, घोषणा गर्नका निम्ति पनि सरकार र सरकारी निकायलाई काम नसकुन्जेल चाप सृष्टि गरिरहोस्।
३. भागोपले स्थानीय क्लब, नेपाली साहित्यिक सामाजिक संस्थाहरूका माध्यमबाट भारत देशव्यापी गोर्खाहरूको जनगणनाको गरोस् ।
४. भागोपले एउटा अध्ययन दल बनाएर इतिहास, राजनिती, अर्थनीति आदि कुरामा सठिक अध्ययन गरोस्। यसका लागि सर्वेक्षण पनि गर्न सकोस् ।
५. भागोपले पनि देशव्यापी गोर्खाको आर्थिक समुन्नतिका निम्ति कदम चालोस्। आर्थिक सम्भावनाको खोजी गरोस् ।
६. भागोपले गोर्खा बहुल क्षेत्रमा गोर्खा महापुरूष जस्ता त्यहाँको ठुलो साहित्यकार, जमिनदाता, मुखिया आदिलाई समय समयमा सम्मान गर्ने चलन बसाओस्।
७. भागोपले भारतव्यापी गोर्खा प्रतिभा, ठुलो योगदान दिने, गोर्खासेवी निस्वार्थी व्यक्ति (चाहे नेता किन नहोस्। आदिलाई वर्षमा एउटा गोर्खारत्न पुरस्कार दिने गरोस् । यसले सकारात्मक ठुलो प्रभाव पर्नेछ ।
८. भागोपले हाम्रा स्थानीय सबै राजनैतिक दलसित तालमेल मिलाएर राजनैतिक स्तरमा गोर्खा हितमा काम गरोस्। विधानसभा चुनाव, लोकसभा चुनाव आदितिर भागोपले भित्रभित्र काम गरोस्, परोक्ष रूपमा गोर्खा उम्मेद्वारलाई जिताउने काम गरोस्, जितेका नेताले पनि भागोपस्त सरसल्लाह सुझाव लिने परिस्तित बनोस् ।
९. भागोपले गोर्खाको बसोबासो भएका गाउँ बस्ती, बजार र शहरतिर नेपाली पठन पाठनका निम्ति पनि पृष्ठभूमि तयार पारी रणकौशल गर्ने काम गरोस्। गोर्खाबहुल क्षेत्रका नेपाल विषय नभएका विद्यालय महाविद्यालय विश्वविद्यालयतिर नेपाली पठन पाठन लागु गराउने काम गरोस्। यसका लागि नेपाली भाषाको महत्त्व बुझाएर हाम्रा नानीहरूलाई नेपाली पढाउने मानसिकता तयार गर्ने अभियान चलाओस्, कुनै दिन अवश्य सफल हुनेछ।
१०. जहाँबाट भए पनि जसरी भए पनि गोर्खा हितका लागि भागोपले सदैव काम गर्न तत्पर रहोस् ।
११. स्थानीय शाखा वा स्थानीय क्लबको पहलमा भागोपको मूल कार्यक्रम अन्तर्गत गोर्खा बहुल क्षेत्रमा गोर्खा मेला, गोर्खाली पर्वतिर जस्तो पहिलो बैसाख, फूलपाती आदिमा शोभायात्रा गर्न प्रोत्साहन दियोस्।
१२. भागोपका विशेष कार्यक्रम, अधिवेशन, चाडपर्व, राजनैतिक एकता देखाउने अवसरतिर गोर्खाली भेषभूषा लगाउने चलन गरौं। भागोपले बेला बेला सङ्गोष्ठी, साहित्यगोष्ठी, चिन्तनसभा आदि कार्यक्रम आदि गरेर जाति जातीयताको भावनालाई टडकारो कायम राखोस्। किनभने गोर्खाको भलो चिताउने, सुरक्षा सोच्ने, हाम्रो अस्तित्वका निम्ति सङ्घर्ष गर्ने अरू कोही नभएर गोर्खा नै हुन् ।