कविताको सशक्त रूप गजल – सन्दर्भ कृष्ण पी ठटालका गजलहरू
|साहित्यका विभिन्न विधा उपविधा हुन्छ। तिनमा कविता एउटा ठुलो विधा हो। यसभित्र अनेक हाँगाविँगा छन्। एक हरफे कवितादेखि लिएर लाखौं श्लोक बएको महाकाव्य पनि कविता रूप हुन्। त्यसैगरि गीत, गजल, तांका, मुक्तक, सनेट, रूबाइ, शायरी, लिमेरिक्स आदि सबै नै कविताभित्रका उपविधा हुन्।
क) व्युत्पत्तिगत अर्थ- गजल शब्द अरबेली भाषाको तीन शब्द मिली बनेको छ। ग को अर्थ बोली वा वाणी वा कुराकानी हो। ज को अर्थ नारी हो र अलको अर्थ साथ वा सँग हो। यसर्थ, गजल शब्दले नारीका साथ प्रयुक्त हुने वाणी अर्थात् प्रेयसीसित मधुर वार्तालाप बुझाउँछ।
ख) विस्तारित अर्थ– गजल शब्दको अर्थ नारीसितको प्रेमालाप भन्ने व्युत्पत्तिगत अर्थका अतिरिक्त फारसी र उर्दूका अनेक विद्वानहरूले यसका विभिन्न अर्थ लगाएका छन्। एउटा रोचक उदाहरण यस्तो छ- शिकार खेल्दा जब शिकारीको काँड हरिणको मुटुमा रोपिन्छ, त्यसबेला त्यो हरिणले विक्षत ह्रदयले गरेको आर्तनाद्लाई नै गजल भनिन्छ। यस उदाहरणबाट के प्रस्टिन्छ भने गजल भनेको अन्तर्मनका दुःख-पीडा, आर्तनाद, विह्वलता, परिताप र छट्पटी व्यक्त गर्ने शब्द हो। यसर्थ, यसले गजलको अझै अर्थविस्तार भइ प्रेमिकासित प्रेमको दुःख-सुखादिबाहेक कुनै पलि प्रकारको पीडा व्यक्त गर्ने शब्द हो। अतः कुराकानी मात्र सीमित नभई एकाकी आर्तनाद्लाई समेत गजलले ब्यक्त गर्ने भयो। आधुनिक गजलमा प्रणयको भावनाको मात्र नभएर समसामयिक हरेक कुराका संवेदना ब्यक्त गर्ने भयो।
ग) आध्यात्मिक अर्थः गजलको व्युत्पत्तिगत अर्थले प्रेमालाप हो भन्ने बुझिएपछि फारसी र सुफी धारणामा त्यो कस्तो खालको प्रेम रहेछ बुझ्न सकिन्छ। फारसी प्रेम कवितामा परमात्मालाई नायिकाको र जीवात्मलाई नायकको रूप दिइन्छ। जीवात्म परमात्मा प्राप्तिका निम्ति सदा लालयित हुन्छ र त्यसका लागि सदैव प्रयत्न रहन्छ। नायिकास्वरूपा परमात्माको रूप-सौन्दर्य र गुण-सौन्दर्यमा मुग्ध भई मिलनका लागि आतुर रही अनुनय,विनय,प्रार्थना,अनुरोध गरिरहन्छ। अतः प्रेममा आध्यात्मिक अर्थ पनि सापेक्षित छ।
गजलको रूपगत चिह्नारी – गजलको वास्तविक चिह्नारी नै यसको रूपगत हो। अन्य कवितात्मक रचनाभन्दा यसको भिन्दै रूप-संरचनात्मक परिपाटी हुन्छ। गजल मूलतः अरबीबाट फारसी, उर्दू र हिन्दी हुँदै नेपालीमा आएको हुनाले यसमा प्रयुक्त हुने पद्धति र संरचनाका इकाईहरूका नाम अरबी वा फारसी पुन्छन्। गजलका केही प्राविधिक र संरचनात्मक शब्दहरू केलाउने प्रयास गरिन्छ। काफिया, रदीफ,तखल्लुस, मतला, मकता, मिसरा, शेर,मध्यभाग, मतला–ए–उला,मतला–ए–सानी, बहर, अर्कान, फर्द, कत्वा, अन्दाजे वया, तासिरइत्यादि जस्ता प्राविधिक शब्दावली रहेका हुन्छन्।
यता भारतबाट पनि कहिलेकाँही पुस्तकाकार रूपमा र विभिन्न पत्र-पत्रिकातिरधेरै मात्रमा गजल प्रकाशित देखिन्छन्। कतै यी नाम मात्रका गजल पनि पाइन्छन् भने कतै केही बान्की परेका राम्रो गजलहरू पनि देखिन्छन्। धेरैले यसको सैद्धान्तिक र तकनिकीगत कुराहरू ख्यालै नगरी लेखेका पनि पाइन्छन्।यसरी कतै जानेर र कतै नजानेर गजल लेख्ने दार्जिलिङ सिकिमतिरका वर्तमान गजलकारहरूमा गोविन्दसिंह घतानी गोविन्दे,गोविन्द शाण्डिल्य,खुसेन्द्र राई, दीपक ठटाल जलन,वासुदेव पुलामी,अनिलकुमार छेत्री, सुवास श्रेष्ठ, वीरेन्द्र खँड्का,असीम सागर,मनोज बोगटी,राजा पुनियानी,कमल रेग्मी, लीलाबहादुर छेत्री गोठाले,बलराम सापकोटा, डिल्लीप्रसाद अधिकारी, मनोहर शर्मा अविनाश,पवन नामदुङ,ध्रुब चौहान, शैलेन्द्र समदर्शी, सरिता समदर्शी,सन्तोष गुप्ता, सञ्जीव छेत्री,महेश दाहाल,कर्ण विरह, युवराज घलेभाइ, प्रकाश राई बादल, नवीन पौड्याल, कमल भट्टराई भावुक,मोहन ठकुरी, सपन प्रधान, पदम पराजुली, सूरज रेसूरी, मिलन बान्तवा, केवलचन्द्र लामा, नोर्ज्याङ स्याङदेन, जस योञ्जन प्यासी, धिरेन छेत्री,धिरेश आचार्य,रोशन राई चोट,अरूण साङपाङ, छुदेन काविमो,सुकुमार बराइली, विकाश वान्तवा, योगेन छेत्री,दीपेन्द्र आचार्य सुमी,आई.के. सिह, नैना राई, ज्ञानेन्द्र सुब्बा, विक्रम राई, दीलिपराज राई, बुद्ध राई, सुरज सुब्बा, प्रदीप कँडेल विप्लव,सुकुमार बराइली, शरद् रावत,दिवाकर ठकुरी,दिवाकर आले, स्वर्णिम लिम्बू, ज्ञानेन्द्र सुब्बा, शक्ति बरदेवा, कृष्ण पी ठटाल आदि प्रमुख हुन्।
यसैगरी यता दार्जीलिङ-सिक्किमतिरबाट लगभग पच्चीस-छब्बिसवटा जति गजल-सङ्ग्रह प्रकाशित भएको पाइन्छ। एउटा उल्लेखयोग्य कुरो के छ भने सन् २००१ सालदेखि मात्र यतातिर गजल-सङ्ग्रह प्रकाशित हुनथालेको देखिन्छ।अहिलेसम्मको भारतबाट प्रकाशित नेपाली गजल-दीवान(सङ्ग्रहहरू)-
१. तरल मुटुहरू- संजीव छेत्री र सन्तोष गुप्त (२००१)
२.मेरा एकाउन्न गजल- खुसेन्द्र राई (२००५)
३.गजल गान्धार- गोविन्द शाण्डिल्य ( असमका,२००६)
४.जून पोखिएको रात- असीम सागर (२००७)
५.अस्तित्वका आवाजहरू- असीम सागर (२००८)
६.गजल जल- वीरेन्द्र खँड्का, अनिल छेत्री र सुवास श्रेष्ठ (२००८)
७.गजल दीप- वीरेन्द्र खँड्का र सुवास श्रेष्ठ (२००९)
८.गजल महक- लीलाबहादुर छेत्री,बलराम सापकोटा र बुद्ध राई (२००९)
९.गोविन्देका गजल- गोविन्दे- (२००९)
१०.गजल कानन- दीपक ठटाल जलन(२००९)
११.केही घाउ केही मलम- छुदेन काविमु (२००९)
१२.समुद्र रोएको साँझ- सुवास श्रेष्ठ (२०१०)
१३.कालो गुलाब- अरूण साङपाङ र सुरज सुब्बा (२०१०)
१४.शुरूआत(बालगजल)- शैलेन्द्र समदर्शी (२०१०)
१५.मनोराग- धिरेन संघर्ष (२०१०)
१६.मनचरी- मिलन बान्तवा(२०१०)
१७.ऋतुगीत- कमल रेग्मी (२०१०)
१८.कमलकोठी- कमल रेग्मी (२०११)
१९.सुनगाभाका स्वरहरू (कवितासंग्रहभित्र २४वटा गजल समावेश)- डिल्लीप्रसाद अधिकारी(२००९)
२०. दुइ नज्म केही गजल – भविलाल लामिछाने।
२१. गजल – भविलाल लामिछाने।
२३.स्वर्ग पुग्ने सपनाहरू (गजल वाचन सिडी अल्बम) -असीम सागर र अन्य (२००९)
२४.भक्कानिएका भावनाहरू कर्ण विरह २०११.
२५.निर्दोषिका तामाङ स्मृतिका सौगातहरू (२०१२)
२६. फूलबारी- सुवास श्रेष्ठ
२७. स्वर्णिम लिम्बू – पहिलो प्रहर
२८. अर्पण सोङदेन पतझड
२९. मनको दह कृष्ण पी ठटाल (२०१४)
यी गजल-सङ्ग्रहबाहेक गजलसम्बन्धी यस्ता मुख्य कार्यक्रम सञ्चालन भएका हुन्-
१) गजल लेखन एकदिने कार्यशाला,कालिम्पोङ,२००७, संयोजक- असीम सागर
२) गजल गोष्ठी- सिलगडी देवकोटा सङ्घ,सिलगडी,२०१०.
३) गजल गोष्ठी-आकाशवाणी खरसाङ,२०११.
४) गजल गोष्ठी – खुला साहित्यिक गोष्ठी मञ्च,संयोजकद्वय-डा. रूद्रराज मास्के र कमल भण्डारी (२०११,सितम्बर)
५) दैनिक सुनचरी समाचारले लगभग छ-सात वर्ष जति प्रत्येक शुक्रबार गीत-गजल स्तम्भ प्रकाशित गरिरह्यो।
६) यताका केही युवा गजलकारले फेसबुक र वेबसाइटमा गजल हाली यसलाई व्यापकता दिएका छन्।
अब दार्जिलिङबाट गजल समालोचनाको परम्परा पनि शुरू भएको छ। यस दिशातर्फ बासुदेव पुलामी, डा दिवाकर प्रधान, डा जस योञ्जन प्यासी, शैलेन्द्र समदर्शी, सपन प्रधान, नवीन पौड्याल, सुवास श्रेष्ठ, मिलन बान्तवा, असीम सागर आदि देखा परेका छन्। शैलेन्द्र समदर्शीले त गजलको सैद्धान्तिक अध्ययन गरी केही गजलकारका गजलहरूमाथि प्रायोगिक लेख लेखेका पुस्ताकाकार कृति पनि दिएका छन् – गजल सिद्धान्त र समावलोकन। यसैगरी उनले साहित्य अकादमीको परियोजनामा रहेको भारतीय नेपाली गजलको एउटा ग्रन्थ नै तयार पारेका छन्। गजल लेखन र समीक्षण पनि फस्टाउँदो अवस्थामा छ। गजलकारहरू दिनानुदिन बढिरहेछन्, विभिन्न पत्र-पत्रिकामा गजलमय बन्दै आएका छन्। गजललाई मात्र प्रमुखता दिएर गजल लाय भन्ने पत्रिका पनि चार पाँच अङ्कसम्म सञ्चालन भएको थाहा पिन्छ। अब गाउँ, हजार र कमानतिर पनि गजल संग्रह भटाभट निस्कन थालेका छन्।
सन्दर्भ कृष्ण पी ठटालको ‘मनको दह‘ गजलसंग्रह
नेपाली गजलको आकासमा अब कृष्ण पी ठटालको मनकोदह पनि थपिएको छ। अब भारतमा पनि नेपाली गजल साहित्य लोकप्रिय हुँदै जाँदैछ। समाजमा बस्नु र पर्दाका चेपाराहरू, साह्रा-गाह्रा अवस्था, राजनैतिक वितण्डा र अपठ्यारा स्थितिहरूलाई सबैभन्दा प्रभावकारी ढङ्गमा अभिव्यक्ति दिने साधन अब गजल भएको छ। सामाजिक विकृतिमाथि व्यङ्गय व्यक्त गर्न घुमाउरो पाराले खासै असर पर्दैन वा प्रभावकारी हुँदैन। सामाजिक, राजनैतिक स्थिति थेत्तरो बनेको छ। यसका निम्ति गजल नै सबैभन्दा सशक्त माध्यम बन्दै गएको छ। कृष्ण ठटालले पनि यही गूढ रहस्य र महत्त्व बुझी गजलमा प्रयोग गरी आफ्नो अभिव्यक्तिलाई सार्थकता दिएका छन्। दार्जिलिङ नागरी फार्मका सर्जक टटालले बेला बेलामा पत्रिका –पत्रिकामा प्रखाशित गरेका आफ्ना गजललाई संग्रह गरेर एउटा किताब तयार पारेका छन्।
ठटालका गजलमा चिन्तन पक्ष निकै मात्रामा देखिन्छन्। प्रेम, समाज र सामाजिक व्यवस्था, व्यङ्ग्य, देश, जातित्व, वर्तमान युग र मान्छेको व्यवहार आदिबारे उनी निकै घोत्लिएका छन्। गजलकारको निम्ति प्रेम कतै याचना का रूपमा छ भनेर कतै पीडा। शुरूको पहिलो गजलमा नै अतीतको प्रेम प्रणय नै पीडाको रूपमा बल्झिएको देखिन्छ –
अतीतहरू पीडा बनिदिन्छन् तिमीलाई देखेपछि
हावाले पनि पोल्ने गर्छन् तिमीलाई देखेपछि। (पृष्ठ २१)
उनको निम्ति प्रेममा सौन्दर्योपासना छ। प्रेमिका (आशिकी) प्रति प्रेमी (आशिक) प्रेमको पुकारा गर्छ त कहिले प्रेम काँडाको शूल भई घोँच्तछ। जीवनको एउटा अति महत्त्वपूर्ण पक्ष प्रेमलाई आनन्द र पीडा दुवैका रूपमा प्रस्तुत गरिएको छ। यसैगरि यसमा रहेका धेरैजसो गजलमा समाज, देश र वर्तमानको चिन्तन पनि प्रबल रूपमा गरिएको छ। मानवमूल्यमूल्यमा ह्रास आएको देखेका छन्। मान्छेले स्वार्थमा व्यर्थ दुःख पाइरहेका छन्। मान्छे मान्छेमा अविश्वास, अनास्था बढेको र एकार्काको सहयोगी भावनामा ह्रास आएको देखेर उनी चिन्तित छन्-
विवेकशील भन्ने गर्छन् मान्छेहरू आफैंलाई
कहिले काँही कुकुरहरूले थुकेजस्तो लाग्छ। (पृष्ठ ४४)
वर्तमान युग अत्यन्त जटिल बनेको छ। यस युगमा आफ्नो तुच्छ स्वार्थका निम्ति मान्छेले सबैथोकमा मिलावट गरिदिएर आफ्नो महत्त्व नै गुमइसकेको छ। कसैमाथि विश्वास रहेन। जे वस्तुमा पनि मिलावट छ, खानालगायत हरेक कुरामा मिलावटी देकेर कवि व्यङ्ग्य गर्छन्-
पूर्णिमामा हुन्न उज्यालो जूनमा मिलावट छ।
वीरहरू सेलाइसके खुनमा मिलावट छ। (पष्ठ ४५)
उनका निम्ति शहर र गाउँ दुवै ठाउँमा मान्छे यान्त्रिक र संवेदनहीन बन्दै गएको छ। मान्छे मान्छेमा एकार्कामा स्नेह, प्रेम, भातृत्व, मानवता हराउँदै गएकामा उनी चिन्तित छन्-
शहरमा अचेल प्रेम मासिएका छन्।
बस्तीमा पनि प्रेम छाँसिएका छन्। (पृष्ठ ४१)
उनका निम्ति शहर भग्न छाती लिएर बलिरहेको छ, मानवयन्त्र मसिनजस्तो चलिरहेको छ, अग्लिएर झरिरहेछ, पटक पटक ढलिरहेछ। न शहरमा शान्ति छ न कमान-बस्तीतिर शान्ति र सुख छ। आजकल मान्छेले बाँच्नलाई व्यर्थको के के हुने अभिनय गर्नुपर्छ। हाँस्नु र रूनु पनि अभिनय गर्नुपर्ने स्थिति देखिन्छ।
उनका गजलमा चियाबारीको शोचनीय अवस्थाबारे पनि आफ्नो अनुभूति व्यक्त गरेका छन्। चियकमानलाई हामीले सर्वश्व सुम्पेका चौ तर त्यसले हाम्रो समाधान गर्न सकेको चैन। मजदूरहरूको अवस्था जस्ताको तस्तै छ। यससित हाम्रो पुरानो साइनो जोडिएको छ।
बगिक्यो समय छाप छोडेको छ चियाबारीले।
रगत पसिनाको साइनो जोडेको छ चियाबारीले।
………………………
बिना लक्ष्यको यात्री सरह हिँड्नु कहाँसम्म
जिन्दगीको थुप्रै घुम्तीहरू मोडेको छ चियाबारीले। (पृष्ठ ५१)
कृष्ण पी ठटालका गजलको संरचनागत पठन–
प्रस्तुत गजलसङ्ग्रहको भावपक्ष सबल र सफल छ भने यसको संरचना र शैली पक्ष भने सामान्य छ। गजल सैद्धान्तिक संरचनाका विभिन्न पक्ष, टेक्निकल कुरा हुन्छन्। ठटाल त्यति सफल बन्नसकेका छैनन्। गजलमा युगीन समस्यालाई चारैतिरबाट पुष्टी दिन खोजेका छन् तर पनि गजल पठनबाट जुन तासिर (आनन्द) पाउनुपर्ने हो, सो त्यति पाइन्न। गजलका सामान्य नियमअन्तर्गतका काफिया, रदीफ प्रयोगमा समेत कमजोरी पाइन्छ। उनले अधिकांश गजलमा आंशिक काफियाको प्रयोग गरेका छन्। कुनै कुनै गजलमा त काफिया नै छैनन्।
धेरै धेरै सपनाहरूको थुप्रो छ यो बस्तीभित्र
छिन्न-भिन्न सपनाहरूको घुइँचो छ यो बस्तीभित्र।
यहाँ रहेको यो बस्तीभित्र रदीफ हुन्, काफिया होइनन्।कतै भने काफियाको सफल प्रयोग भने नपाइने होइन। जस्तै-
मनका कुरा कसैलाई नभनेनी हुन्छ।
आफ्नो सम्झी केही नबोलेनी हुन्छ।
गजलमा बहरको प्रयोग त छैन। यद्यपि यसमा हुनुपर्ने भाव सघनता, प्रभावकारिता, शब्दशय्या, सम्प्रेष्यता जस्ता कुरा कतै उनी ससक्त छन त कतै कमजोर छन्।कतै शब्दहरू इँटको गारो बनाएसरह यसरी समानुपातिक राखेका पनि छन्-
आत्मीयताको चुचुरामा उक्लिएर हाँसिरहेछ मेरो गाउँ।
अभावहरूलाई अँगालोमा कसेर बाँचिरहेछ मेरो गाउँ।
उनका एक दुईवटा गजलमा आत्माभिव्यञ्जना र दर्शनका केही सूक्तिमय अभिव्यक्ति पनि नपाइने होइन। उनले जीवन भोगाइका क्रममा आफुले देखेका बुझेका कुरालाई यसरी उतारेका पनि छन्-
हिमाल जति उठे पनि आकास कहिले छुन्न क्यारे
हिउँ जति पग्लिए पनि हिमाल नाङ्गो हुन्न क्यारे। (पृष्ठ ३०)
पूज्ने योग्य ढुङ्गा सबै भगवान कहाँ हुन्छन्
आँखामा पानी रसाउँदै सबै दयावान कहाँ हुन्छन्।(पृष्ठ ३४)
यसरी हेर्दा गजलकारमा गजल लेखन प्रति एक उन्मुक्त भावना छ। त्यस भावनालाई उनी गजलका विभिन्न रूपमा अभिव्यक्त गर्न खोजेका छन्। यसका निम्ति कतै उनी सशक्त बनेका छन् त कतै सामान्य। जे होस् हाम्रो साहित्यको फूलबारीमा एउटा नयां पुष्पको कोसेली लिएर आउने कृष्ण पी ठटाल एक सशक्त गजलकार हुन्, एक समाज सचेतक र चिन्तक हुन्।। उनी हाम्रा विकृति र कमजोरीलाई सुधार गर्न चाहन्छन्, समानताको निम्ति क्रान्ति ल्य़ाउन चाहन्छन्।