“बग्दैबग्दै” जन्मथलोको प्यास मेटाउने चेष्टा


उदीयमान प्रखर कवि जगन्नाथ पौडेलको काव्यकृति “बग्दैबग्दै” का सम्बन्धमा साहित्यानुरागी पाठकको यो एउटा अनुभूति मात्र हो | सामालोचकीय ज्ञानको कसीमा यसलाई नलिनु हुन अनुरोध गर्दछु |

(गोपाल रेग्मी)

कविता अनुभूतिको सजीव चित्र हो । अनुभूतिको अभिव्यक्ति कलात्मक,पाठकको अन्तर्हृदयलाई सिधै छुने र सागर तुल्य भाव गागरमा अटाउने किसिमको हुन्छ ।
त्यसै गरी Robert Frost का शब्दमा – “Poetry is when an emotion has found its thought, and the thought has found words.
उपर्युक्त परिभाषालाई कवि पौडेलका कविताहरूले चरितार्थ गरेका छन् । संवेदनाले विचार पाएका छन् र ती विचारहरूले चामत्कारिक अभिव्यक्तिका लागि विशिष्ट शब्द पाएका छन् ।

अभिव्यक्तिको चमत्कार विना कविता अस्थिपञ्जर हुन सक्ला प्राण सहितको आकर्षक सिर्जना हुन सक्दैन । चामत्कारिक वैशिष्ठ्य कवि पौडेलको काव्यकर्मको प्रमुख विशेषता हो ।

जबर्जस्ती गद्य भाँचेर, शब्दका आँखा घोचेर, ठोकठाक गरी चतुर्भुज अर्थाकारको शब्दलाई त्रिभुजाकारको वाकसमा कोचेर सुन्दर कविता बन्दैन । सिर्जना त सलल बगेर पाठकका मस्तिष्कमा संवेदनाको बाढी ल्याउन सक्षम हुनुपर्छ । कवि पौडेलका कविताहरू त्यस्तै छन् । पढ्दा यस्तो पो त कविता त भन्ने आभाष हुन्छ ।
उत्तर आधुनिकतावादी काव्यधाराले जीवन र जगतमा भएका तीब्रतर परिवर्तनबाट सिर्जित आरोह अवरोहहरूलाई केन्द्रमा राखेको पाइन्छ । प्रारम्भिक र मध्यकालीन कालखण्डका लोकप्रिय भक्ति र वीर गाथाका विषय वस्तुहरूमा समसामयिक कविहरूका कलम त्यति चल्दैनन् ।

कवि पौडेलका कविताहरू औसत नेपालीका भोगाई र परिवेशका सुक्ष्मतम् अनुभूतिका सजीव चित्रहरू हुन् । उनका कविताहरूमा डायस्पोराको अनुभूति, स्थापित मान्यताहरू प्रतिको विद्रोह र उन्मुक्तिका स्वर सुनिन्छन् । धारिला विम्ब र कलात्मक सौन्दर्यका हिसाबले पौडेलका कविता अत्यन्त उत्कृष्ट छन् ।
डायस्पोराका आरोह अवरोहलाई यति कलात्मक र सशक्त रूपमा प्रस्तुत गरेका कविताहरू मैले अन्यत्र पढेको छैन । यसै सन्दर्भका यसै कृतिमा समावेश तीन कविताहरू बारे म चर्चा गर्दछु ।

पौडेलको “अनागरिक गौँथली”मा मान्छेहरूले कृत्रिम बार बन्धन् खडा गरेर पूरा धरतीमाथिको हरेक मान्छेको हक अधिकार माथि नागरिकताका नाममा लगाएको अंकुश माथिको विद्रोह पोखिएको छ ।
“बराबरी हेर्छन् ती चराका आँखाहरू
र सरासरी देख्छन् खुसीका दृश्यहरू
उनीहरूका देशको कुनै काँडेसीमा छैन
उनीहरूका धर्मको कुनै अग्निरेखा छैन ।”
….. ….. …..
“पल्लो बगैंचाबाट उडेर पुतलीहरू
वल्लो बगैंचामा बस्छन्
उताको रङ ल्याएर यता मिसाउँछन्
यताको रमझम लगेर उता बिसाउँछन्”
….. ….. …..
“म धर्तीलाई रातो घेराले बाँध्नुपर्ने मानचित्रमा भर पर्दिनँ”
“अब किङफिसर वा गौंथलीमात्र किन
आऊ त्यागौं स्वयम् नागरिक वर्ण
र उडौं चराका पखेटाहरू
एउटै धर्तीको छानोमुन्तिर”
– अनागरिक गौँथली

डायस्पोराका अनुभूतिलाई चित्राङ्कन गरेको पौडेलको “न्युयोर्कभरि सगरमाथा” कविता साह्रै सशक्त छ ।
“प्याउली फुल्न मन थियो
सगरमाथासँग आँखा जुधाएर
नाच्न मन थियो
मुस्ताङे स्याउहरूले सुस्ताइरहेको तामाङसेलोमा
घरकै छिंडीमा बसेर
कोक्याउन मन थियो
माटोको सम्बन्ध
अनि
सानो छोराको स्कुलेशुल्कको गीत
….. ….. …..
गीतका अक्षरहरू न्युयोर्कले लेख्छु भन्यो
स्कुलको शुल्क वालमार्टले तिर्छु भन्यो
काठमाडौंले कहिल्यै सच्याएन
भाका नमिलेका मेरा गीतका हरफहरू
छानोले कहिल्यै ओतेन
सङ्घर्षका कविताहरूको पुरानो डायरी”
– न्युयोर्कभरि सगरमाथा

त्यस्तै “घरदेशझैं बनाइदिऊँ अमेरिका” कवितामा पौडेलले डायस्पोराको जीवनमा जन्मथलोको प्यास मेटाउने चेष्टा गरेका छन् ।
“अमेरिका ट्रिबुइन टावर बोकेर
हाम्रै फोटो खिचिरहन्छ बारबार र
लुटपुट्याइरहन्छ कामको बडेमाको छातीमा
सुत्दैन ऊ पनि
रात च्यापेर खोकिलाहरूमा
….. ….. …..
अग्लो बिजनेस टावरबाट हेरिरहन्छ
हाम्रा दुःखहरू
र बाटैबाटो गुडाइरहन्छ
हाम्रा सुखहरू
….. ….. …..
अमेरिका मादल रहेछ बजाऊ
ताल तिम्रो आफ्नै
अमेरिका गीत रहेछ गाऊ
स्वर तिम्रो आफ्नै
तर
भाव घरदेशकै जुटाऊ
भाका घरदेशकै सुनाऊ
किन खुम्चिनु सानो चित्तमा
आऊ
दौडिरहँदा अमेरिकाको आगनमा
घरदेश नै हँसाऔं यहाँको माटोमा”
– घरदेशझैं बनाइदिऊँ अमेरिका

समग्रमा कवि पौडेललाई उत्तर आधुनिक काव्य धार अन्तर्गत डायस्पोरिक उपधारको सशक्त हस्ताक्षर भनेर नेपाली काव्य साहित्यमा सधैँ सम्झिइने छ भन्ने मेरो आकलन छ ।

साहित्य मिडिया प्रा. लि.(साहित्य पोष्ट डट कम ) व्दारा प्रकाशित यस कृतिमा
हाँगा,पात,फल,सेउला,रुख,जरा उपशीर्षकहरूमा रहेका यस्तै ७० वटा कविताहरूले पाठकहरूलाई नेपाली समाजका सुक्ष्म अनुभूतिहरूको काव्यात्मक रसास्वादन गराउने विश्वास छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *