कवि दीपक मुडभरी ‘मित्र’ को निधन
|कवि दीपक मुडभरी ‘मित्र’को यही जुलाई ३ तारीख (सन् २०२४) मा अमेरिकाको मेरिल्याण्डमा निधन भयो | उनी नेपालको मकवानपुर जिल्ला,हेटौंडा- १० मा वि.सं. २०१८ पौष ८ गते जन्मेका थिए । कवि मित्र केही हप्ता पहिले मुटुमा समस्या देखापरेपछि स्थानिय The Johns Hopkins Hospital मा उपचारार्थ भर्ना भएका थिए | उनको अन्तिम दाहसंसकार आगामी मंगलवार हुँदैछ |
दाहसंस्कार हुने स्थान र समय निम्नअनुसार रहेको छ –
मिति: ९ जुलाई, मंगलवार २०२४
समय : २-४ बजे अपरान्ह
स्थान:
408 Headquarters Drive #
10
Millersville,MD 21108
सामाजिक सन्जालहरू (फेसबुक) ‘केही अतृप्त स्पर्सहरू’ पेजमा कविता वाचन लगायतका साहित्यिक गतिबिधिहरूमा सकृय कवि ‘मित्र’ फुच्चे कविता र फुच्ची कविता लेखनको नयाँ शैलीको प्रयोग गरिरहेका थिए | कविता लेखन (अप्रकाशित) र साहित्यिक अन्य योगदानका तुलनामा उनका कविताहरू भने ज्यादै कम मात्र प्रकाशित भएका छन् | पञ्चायतकालको उतरार्ध्दमा उनको सम्पादनमा हेटौंडाबाट प्रकाशित अठोट साहित्यिक त्रैमासिक नेपाली साहित्यिक पत्रिकाहरूको इतिहासमा गणनायोग्य मानिन्छ |
कवि मुडभरी मित्र मकवानपुर साहित्य परिषदका संस्थापक सचिव तथा सुभद्रादेवी मुडभरी स्मृति काव्य पुरस्कारका संस्थापक हुन् | यो पुरस्कारका लागि कवि मित्रले आफ्नी आमा सुभद्रादेवीका नाममा हेटौंडामा एक लाख रुपैयाँको एक कोष स्थापना गरेका छन् |
कवि मित्रको वि. सं. २०७४ मा प्रकाशित ‘केही अस्पष्ट रेखाहरू’ कविता सङ्ग्रहको भूमिकामा कविका सम्बन्धमा कवि आर. आर. चौलागाईंले ‘एउटा कविको पुनर्जन्म’ शिर्षकमा लेखेका छन्-‘… त्यतिबेला हामी साम्यवादका लागि कुदिरहेका थियौं तर दीपक हेटौंडाका लागी साहित्यको सङ्गठित बाटो खनिरहेका थिए | बाटाका दायाँवायाँ फूल रोपिरहेका थिए | चौतारी बनाइरहेका थिए | धारो हालिरहेका थिए |…’
कवि मित्रका कविताहरूको सम्बन्धमा अन्य कुनै समयमा छुट्टै चर्चा गर्न पर्ने हुन्छ | केही अस्पष्ट रेखाहरू, यस सङ्ग्रहको यही शिर्षकमा उनले लेखेका छन्-
मान्छेहरू मान्छे उछिनेर
प्रगतिपथमा लम्केका छन्
चलायमान छ पाउ
रक्तिम मांसपिण्डहरू कुल्चेर |
– पेज ३७, केही अस्पष्ट रेखाहरू
अनुभव र अनुभुति, कवि मित्रले २०३३ मा लेखेको र केही अस्पष्ट रेखाहरू कविता सङ्ग्रहमा परेको कविताको अन्तिम हरफ यस्ता छन् –
एउटा
अतिमिल्ने साथी
सामु पर्दा
नुहिन्छ
र, टाढिनेबित्तिकै
तन्किएर मुखमा झटारो हान्छ |
दुश्मन
सधैँ हितैषी हुन्छ
सामुमा गाली गर्छ
अन्यथा, दिर्घायूको कामना |
– पेज ११६,केही अस्पष्ट रेखाहरू
उनी अर्को कविता सङ्ग्रह ‘केही अतृप्त स्पर्शहरू’ को प्रकाशनको अन्तिम तयारीमा थिए | कवि मित्रले अस्पतालमा उपचारार्थ भर्ना भएकै अवस्थामा गत जुन १६ का दिन बिहान फोन गरेर यहाँ प्रस्तुत ‘यो के विडम्बना हो ?!’ कविता बाचन गरेर सुनाएका थिए | स्वास्थ्य अवस्था कमजोर भएको समयमा कविता बाचन गर्दा गाह्रो हुनसक्छ भन्दा उनले ‘दीपकले कविता लेख्न र पढ्न पनि नसक्ने कहीं हुन्छ ? सुन्ने मन र समय चैं के छ ?’ भनेर सोधेका थिए |
उनको पहिलो कविता कविता सङ्ग्रह २०७४ मा प्रकाशित भएको थियो । तर यसमा उनका वि. सं. २०३० को दशकबाट लेखिएका र वि.सं. २०४३ सम्मका कविता मात्र प्रकाशित गरिएको थियो । उनी आफ्नो कविता लेखन यात्राको हरेक दशक २०५३,२०६३,२०७३ र २०८३ को समयावधि भित्र लेखिएका प्रतिनिधि कविताहरूका छुट्टा छुट्टै कविता सङ्ग्रहका अतिरिक्त फुच्चे कविता र फुच्ची कविता श्रृंङ्खलामा लेखिएका नवीन तथा प्रयोगशील कविता सङ्ग्रह प्रकाशित गर्ने योजनामा थिए ।
कवि मित्रका श्रीमती,दुई छोरा,बुहारीहरू र नाति नातिनीहरु मेरिल्याण्ड अमेरिकामा बसोबास गर्नुहुन्छ | नेपालीपोष्ट परिवार कवि मित्रको यस दुःखद निधनबाट परिवारजनमा परेको शोकप्रति हार्दिक समवेदना तथा कवि मित्रको आत्माको शान्तिको कामना गर्दछ |
– नेपालीपोष्टका लागि लेखनाथ भण्डारी
यो के विडम्बना हो ?!
– दीपक मुडभरी ‘मित्र’
दैवले ठगेका हुन् कि
हात थापेका हुन्
चिरन्जीवीको आशिर्वाद दिंदै
थाहै भएन
या त सजाय पो दिएका हुन कि ?
धेरै … उखरमाउलो गऱ्यो दीपकले भनेर
किस्ता किस्तामा बाँच्ने जिन्दगी !
जीवन आधापनि टुगिंएको थिएन त !
थातीका थाती
अनेकानेकौं कार्यहरू
बग्रेल्ति
छरपष्ट
अब उधुमै पो गर्नुपर्छ
भ्याउनका लागि
सकाउनकालागि
सोचहरूलाई
मगजकै खुत्रुकेमा
आरामले थन्क्याउनका लागि |
जीवन
वास्तवमै अचम्मको रहेछ
विधाताले पनि
जिन्दगीको नाटक मन्चन गरिरहँदा
अलिकति विस्मातको
अनि स्वाभिमानको गऱ्हामा
मन्थन किन गर्या होला ??
हण्डर खान
पिडा भोग्न
अझै के बाँकी नै थियो र ?
यो के विडम्बना हो !
हरेस खाएको छैन
मनोबल उच्च छ
बॅँच्ने लालसाको
जुझारू बनाउनु छ नातिलाई
र,
सक्षम नातिनीलाई
यो समाजसँग पौंठाजोरी खेल्न
त्यसो त …
नाति नातिनीसँग खेल्न बाँकी नै छ
बालापनसँगै हराएर
अनि आफ्नै उमेरको ७० बाट
शून्य हटाएर … |
– १६ जुन २०२४
श्रध्दाञ्जली आमा
– दीपक मुडभरि ‘मित्र’
एउटा सूर्यको अस्त भो
कहिल्यै नदेखिनेगरी
कल्पनासम्म गर्न सकिंदैन
अन्धकारको जालो
अब
कहिल्यै हट्दैन
ताराहरूबाट/चन्द्रमाबाट
हिमशिखरझैं
विशाल हृदयकी वटवृक्ष
भुइँचालो आएझैं भो
अब तस्बिरहरूमा मात्र
देख्न र भन्न सकिन्छ
त्यो सूर्य जसमा म
हेर्थें आफैँलाई अस्तायो
मनभित्र मात्र छाम्न सकिन्छ
ढुकढुकीमा गन्न पर्छ
अब ती दिनहरू
के भो ? कसरी हो ?
ग्रहण त लाग्ने गर्थ्यो
सूर्यमा यदाकदा
कस्तो ग्रहण लाग्यो यो त
हट्दै नहट्ने
छोड्दै नछोड्ने
आफैँमा विलिन गराई लग्यो
एउटा सूर्यको अस्त भो
एउटा सूर्यको अस्त भो |
(नोटः कवि मुडभरिको वि.सं. २०७४ सालमा प्रकाशित कविता सङ्ग्रह ‘केही अस्पष्ट रेखाहरू’ को पहिलो कविता हो- श्रध्दाञ्जली आमा | यसमा मुडभरीका २०४३ साल पहिले लेखिएका ४२ वटा कविता समावेश छन् |)