बा-आमाको वृत्तान्त

मानिस संसारका प्रत्येक विषयवस्तुमाथि टिप्पणी गर्नसक्ने विज्ञ त हुननसक्ला तर संसारका स–साना कुराको पनि टिप्पणी गरिहाल्न चाहन्छ । सामर्थ्य भलै कमजोर होस् तर चाहनाले मनोबल बढाउँदो रहेछ ।

खैर आफूमाभएको ज्ञानको दायराभित्र रहेर सानाठुला जे जस्ता कुराको टिप्पणी गर्नु, मलाई लाग्छ त्यो गलतै चाहिं होइन । यतिभन्दाभन्दै पनि जन्मदाताको टिप्पणी कसरी गर्ने ? सृष्टीकर्ताको विवेचना कसरी गर्ने ? के शाब्दिक विवेचनाले सृष्टिकर्तामाथि न्यायगर्न सकिएला ? के कलमले कोरेका अक्षरमा बाआमासँगको पूर्ण सम्बन्ध अटाउने सामर्थ्य छ ? छभने कुन विज्ञले लेखेको पुस्तकछ त्यो ?
यावत् प्रश्नहरुले कस्तो विज्ञ भेटाउला खोज्दै गरुँला। तर यस पटक तान्यो मलाई साहित्यकार रामलाल जोशीको बाआमा कृतिले । उनले बा-आमासँगको सम्बन्धलाई आफ्नै किसिमले न्याय गर्ने प्रयास गरेका छन् । मदन पुरस्कार विजेता साहित्यकार जोशीले पछिल्लो पटक बाआमा कथा सङ्ग्रहमार्फत त्यो शाहस देखाएका हुन् ।

उनका अघिल्ला कृतिहरुले पनि पुष्टि गरिसकेको कुरा हो आञ्चलिक लवजलाई जस्ताको तस्तै उतार्न सक्ने उस्ताद हुन् जोशी ।

यस कृतिको विषयवस्तु बाआमामा केन्द्रीत देखिन्छ । यद्यपी, उनले सुदुरपश्चिमको समाज, संस्कृति, रहनसहन र गरिबीको मारमा पिल्सिएका जनताको मनोदशाको चित्रसमेत टपक्क टिपेका छन् । २ सय पृष्ठको पुस्तकमा १२ वटा कथाहरु समावेश छन् । आमा-बा र सन्तानको सम्बन्धका विविध आयामहरुलाई दर्साउने प्रयास गरिएको छ पुस्तकमा।

भनिन्छ–बारी गुनको तोरी, आमा गुनको छोरी । यो भनाइ कतै चरितार्थ भएको त कतै नभएको पाइन्छ । कथाकार जोशी आमा-बा र छोराछोरीबिचका यिनै धर्काहरुलाई केलाउँदै अगाडि बढ्दछन् । साथै बदलिंदो समय र २१औं शताब्दिको युवा मनोकाङ्क्षाले परिवारमा आउने विखण्डनको सपाट तस्विर खिचिएको छ पुस्तकमा ।

पुस्तकमा सङ्ग्रहित कथामा एउटा कारुणिक दृष्य देखिन्छ । सन्तानको लागि समर्पित आमा रोगले बिस्तारै थलिंदै जान्छिन् । चेतना गुमाउँदै जान्छिन् । छोरा-बुहारी आ–आफ्ना दैनन्दिनीमा व्यस्त हुन्छन् । बुहारीलाई सासु स्याहार्ने काम दुरुहहुँदै गएको छ । जेनतेन छोराले स्याहार्दैछन् । आमाको विक्षिप्तअवस्था देखेपछि छोरालाई लाग्यो, अब त आमा गइदिए पनि हुन्थ्यो । आफ्ना सन्तानजस्तै रोगब्याधमा डुबे पनि कुनै आमाले सोच्न सक्छिन् ? अब त छोराछोरी गइदिए पनि हुन्थ्यो । कदापि सक्दिनन् ।

बा-आमार सन्तानबिचको भेद, हृदयको आयातन बिचको फरक साहित्यकार जोशीले यस संवादमार्फत् छर्लङ्ग पारेका छन् । बाआमाका धेरै विषयवस्तुमध्ये एक रित्तिंदै गएका सुदुरपश्चिमका गाउँहरु पनि हो । खुट्याइदिने काममात्रै पश्चिमबाट भएको हो । यो रोग सुदुर पूर्वमा पनि महामारीझैं फैलिएकै छ । बढ्दो बेरोजगारी, घट्दो आर्थिक स्तर र त्यसमा राज्यको अकर्मन्यता जस्ता विविध समस्याले आजितभएका युवा घरबारीमा टिक्न छोडे । स–साना काममा बिक्न पनि छोडे ।

राजनीतिले गिजोलेका सार्जजनिक निकायले युवाहरुलाई काम प्रतिविमुख गराएको छ । यसकारण पनि दुइजोर लुगा, सामलतुमलले बेरेर आमाले दिएको मायाको पोको र पछ्यौरीको सप्कोले बैंस लुकाएकी प्रियसी छाडेर युवाहरु जताजुन देशको भिषा लाग्छ त्यतैको बाटो तताउन बाध्य छन् । यसै सेरोफेरोमा घुमेको छ रामलालको कलम ।

निष्ठापूर्वक राजनीतिमा होमिएका बुवा पात्रले प्रजातन्त्र ल्याउन जेलनेल भोगे । ऐनकेन, प्रकारेण प्रजातन्त्र स्थापनाभयो । चुनावहुने कुराले माहौल तात्नथाल्यो । बुवाले मध्यावधि समेत गरेर तीन पटकको चुनावमा टिकट पाउने आशा पाले । बिडम्बना चुनावमा टिकट पाएनन्। नपाउँदा पनि सहेकै थिए । ओकले त केवल भेटेजति सबैलाई राजनीतिमा भन्ने बित्तिकै केही प्राप्त हुन नसक्ने कटु यथार्थ । सम्झाएआफ्ना छरछिमेक र सन्तानलाई राजनीतिले तत्काल लाभ दिंदैन भनेर ।

मनमा परेको गाँठो र भक्कानिएको स्वरलाई आफैंभित्रलुकाएर राखे । अर्कोपटक पालो आउँछ भनेर थुम्थुम्याए। जब अर्को पटक पनि चाकडी र चाप्लुसीका अगाडि उनको इमानदारिता धुलिसातभयो अनिभने उनी भित्रभित्रै धमिराले मक्काएको काठझैं भइरहेका थिए ।

यसैबिच देशमा विद्रोहको आगो सल्कियो । आफ्नै दुःखजिलो गरेर दुई छाकको गर्जो टारिरहेका बुवा पात्रलाई विद्रोहीले कलिलो छोरो र श्रीमतीका सामुन्नेबाट खसीलाई झैं घिसार्दै लगेर परालले छोपेर आगोलाइ दिए । आफ्नो प्रियजनको लासजलिरहेको, बालक छोरो र श्रीमतीले त्यो दृश्य निरिहताकासाथ हेरिरहेको ।

ओहो ! यस्तो कारुण दृष्य लेखकले कहाँबाट टिपेर ल्याए ? के यो कल्पनाहो त ?

आज यस्तो लाग्नु स्वभाविकहो । तर दृष्य वास्तविक पनि हो । रामलालका पात्रहरु यही समाजका उपज हुन् । केहीवर्षअघि हाम्रै समाजमा घटेका घटना हुन् यी ।

यस्तो आततायी घटनाको बज्र परेपछि समाजमा केही समयकालागि आँट, साहस र इमानदारिताले घुँडा टेक्यो । मानिसका दिल र दिमाग दुवै रन्थनिए । कति रोगले त कति शोकले थला परे । त्यही कारण, शूल बनेर मुटुमा गढ्यो कतिपयको ।अन्ततःतिनीहरुको प्राण जानुको कारण नै त्यही बन्यो । के रामलालका पात्रको मात्रै यो नियतिहो ? होइन । आजको हाम्रो क्रुर राजनीतिको सत्य हो यो ।

बा-आमा अस्ताउँदा घाम या जुन जस्ताभएका छन् । सर्दै गएका बेला घाम जुनले कुन बेला नेटो काट्छन् थाहा हुन्न । घाम र जुन त भोलिपल्ट उदाउँछन् । तर बा-आमा कहिल्यै उदाउँदैनन् गएपछि ।

रामलालका पात्र कौशिला र कुमार भट्टको सम्बन्ध विच्छेदको मुद्धा विचाराधिन थियो, अदालतमा । जसै फैसलाको समय आयो न्यायाधिशको चित्तमा पर्यो । उनको धारणा यस्तो थियो– कुमारले श्रीमतीमाथि दुई–चार लाञ्छना लगाए त के भयो, श्रीमतीले पो सहनुपर्ने । यसै घटनाकी छोरी पात्रले पनि बा-आमा सँगै नहुँदाआफू अधुरो हुने भाव पोखिन् । बाल मनोभावले त्यसो भन्नु स्वभाविक होला तर कौशिलालाई इमोशनल बढी, तार्किक कुरा कम गरेर हुन लागेको सम्बन्ध विच्छेद रोकियो । फुट्नु टुट्नुभन्दा जुट्नु कताहो कता उत्तम हो ।कौशिलालाई यसरी बुझाउन खोजियो । र, सम्वन्धविच्छेद हुन दिइएन । कौशिलाले चाहे जस्तो जिवन जिउन पारम्परिक सोच बाधक बन्यो ।

छोराको सपना शिर्षकमा छोराले बा-आमासँग भन्यो, “सँगैका साथी कोही बेलायत गए, कोही क्यानडा । कोही युरोप उडे, कोही जापान । प्लानमा अष्ट्रेलिया गए कोही, कोही डिभि परेर अमेरिका । आकाश पनि कति स्वच्छन्द भैदियो उनीहरुका लागि । न आफूलाई डिभि पर्छ न प्लानमा जापान जान जुर्छ (पेज न.२०८ ) ।” बा-आमाको एक मात्र सपना हुन्छ– छोराको हेरविचार गरियो, अब आफ्नो गरोस्भन्ने । उता छोराको सपना जसरी पनि देश छोड्ने भन्ने हुन्छ । त्यसरी नै छोडिने भए बा-आमा । यो रामलालले लेखेको कथामात्र होइन । नेपालको अहिलेको वास्तविकता र नियति पनि हो ।

नेपालको वर्तमान अवस्था छर्लङ पार्न लेखक सफल भएका छन् । यो कथाका पात्रहरुलाई नियाल्दै गर्दा धेरैले कथाको पात्रभित्र आफूलाई पाउने छन् । यसलाई पनि लेखकको सामर्थ्य वा सफलतामान्न सकिन्छ । क्षेत्रियताका हिसावले पनि रामलालको पुस्तामा सूदुरपश्चिमबाट उदाएकाहरु औंलामा गन्न सकिन्छ । यस हिसाबले पनि रामलालहरुको लेखनी परख गरिदिएर अझ उन्नत रचना पस्किने हौसला दिइनुपर्छ । भन्नैपर्ने कुरा, रामलालका पात्रहरु अब अलि समृद्ध भइदिएहुने । कति दुःखी, गरिव र असहाय मात्रै हुनु बरा ।

Add a Comment

Your email address will not be published. Required fields are marked *